शिर पनि दुख्यो आज पाऊ पनि दुख्यो
माया सँग जोडिएको नाउँ पनि दुख्यो
कुन ठाउँमा मलम लाउँनु देखिंदैन घाऊ
तिम्रो हाम्रो बिछोडमा गाउँ पनि दुख्यो ।
*
मेरी बैनी मेची भए म त दिदी काली
उनि र म ओत लाग्ने हाम्रो एउटै पाली
पहल गर्छन दुस्मनले छुटाउन हाम्रो नाता
अब तिम्रो खैरात छैन शोसक र जाली ।
*
लटरम्म फलेको हाँगो झैँ ढल्किंदैछ तिम्रो जवानी
दनदनी बलेको आगो झैँ सल्किंदैछ तिम्रो जवानी
लट्ठ पार्दै चौबाटोमा मन लोभ्याउँछौ दुनियाँको
छैन लाज बिना संकोच पल्किँदैछ तिम्रो जवानी।
*
बिहानी त्यो प्रहर सँगै जागेर हेर
हिम्मत सँगै आत्मबल मागेर हेर
मोति हैन हिरा फल्छ परिश्रम रोपे पछि
पौरखी भै एक जुट लागेर हेर |
*
तिमीलाई आफ्नो संझी नभेट्नु नै गल्ति भयो
तिम्रो माया अन्तर मनले नदेख्नु नै गल्ति भयो
हानिएको मट्यान्ग्रो झैँ टाढिए छौ छितिज सरी
तिम्रो दिलमा मेरो नाम नलेख्नु नै गल्ति भयो
*
पात्रो कोरी साईत हेरी कैले लिन हिन्छौ तिमी
सजाउँन चुरा पोते भन कैले किन्छौ तिमी
प्रतिक्षामा जिन्दगी यो धड्किदैछ तिम्रो लागि
हक जताई यो अधिकार भन कैले छिन्छौ तिमी
(स्रोत : Shabdahar )