कथा : घातक पाइला

~जितेन्द्र तुलाधर~Jitendra Tuladhar

…….र त्यस पछि उनका पदचिन्हहरुलाई पछ्याउदै म हिड्न थाले छाँया सरी……..तर म छाँया त होइन उनको र पनि किन हो म छाँया बनी रहेछु ? ………अन्धकारमय रात्रीमा उनले लगाएको पाउजुको सुमधुर आवाजलाई कुकुरहरुको भुकाईले बिद्रोह गरिरहेछ । एक अपरिचित र अन्जान नारीको पिछा गरिरहेकोछु म, को हुन भन्ने थाहा नपाईकनै । यस्सो हेर्दा चिने जानेको जस्तो पनि लाग्छ तर थम्याउँन सक्दिन । …………नाना भातीका शंका उपशंकाहरु उब्जिरहेछन् मनमा । भुत प्रेत वा आत्मा जस्ता चिजहरु प्रति त मेरो विश्वास छैन तर नभएरै पनि डर भन्ने चिज चाँहि छ लुकेर बसेको अन्तरमनको कुनै कुनामा ।………

…………. उनलाई भेटाउन म जति प्रयास गर्छु, त्यतिनै विफल हुन्छु । मेरो गतिमा उनको पाईला पनि अगाडि बढ्छ उही रफ्तारमा ……….. घरबाट गाँउलाई टाढा छाडेर म बन पुग्ने बाटोबाट हिडिरहेको थिएँ । कुकुरहरुको आवाज मत्थर र झ्याँउकिरीको झ्याँउ झ्याँउ आवाज चर्किरहेको थियो । क्याररररर आवाज आउँछ एक्कसी, म टक्क रोकिन्छु र चारैतिर हेर्छु । केही छैन, कोही छैन सिवाय अध्याँरो र सेतो लुगा लगाएकी ती आईमाई । ……….म पुनः पाईला चाल्छु । केही समयको हिडाई पछि उनी टक्क रोकिन्छे र थुचुक्क बस्छे ………अगाडि जाउँ की नजाउँ म दोधारमा पर्छु किनकी अगाडि चिहान छ र त्यही थुचुक्क बसेकीछे उनी । …….म कहिल्यै चिहान गएको थिइँन । ठाऊँ एकदम उराठ लाग्दो कस्तो कस्तो देखिन्थ्यो । जमिनबाट केही निकाल्दै थिईन् उनी, हातका नङ्ग्राले कोट्याउदै । ………

…………..म अगाडि सरेँ हिम्मत गरेर, मलाई अचानक खोकी लाग्यो । खोकेको आवाजले उनी झस्किन् र उनको झस्काईले मलाई पनि झस्किन विवश पा¥यो । …….पछाडि फर्केर उनले म तर्फ हेरीन् । उनलाई देखेर मलाई के गरुँ, के बोलुँ जस्तो भयो । उनी अनुतीर्णा रहिछे । मेरो अनुहार रातो पिरो भयो । नचिनेको जस्तो गरी मैले सोधें “तिमी को हौ र यहाँ यति राती एक्लै किन ?”……….प्रश्नको जवाफ उनले दिन चाहिनन्, बदलामा त्यस्तै प्रश्न म तर्फ तेर्साई र म अनुतरित भएँ । ………मलाई थाहा थिएन मैले उनलाई कुन उद्देश्यले पछ्याएँ र को ? को जवाफ मैले दिन उचित ठानिन वा चाहिँन, विवशतावश…………

……………. अनुतीर्णा उमेर यस्तै अन्दाजी २७ वर्ष, कुरुप भन्न पनि नमिल्ने र कुनै अप्सरासगँ दाज्न पनि नमिल्ने । उनको बारेमा मलाई थाहा भएरै पनि मैले वारम्वार कर गर्दा उनले बताइँन् । उनी विवाहित रहिछिन् तर विधुवाई, उनको पोईले नासोको रुपमा दुई स–साना छोरीहरु छाडेर गएका रहेछन् । ‘ कसरी मर्यो ’ को जवाफ उनले लामो दिई –“ मर्न र मार्न आज भोली धेरै सजिलो भएको छ, हामी त सोझा मान्छे जहाँ पनि च्यापिन्छौं, पिल्सिन्छौं नै ……….मर्यो रे गोली लागेर तर गोली कस्को ? आर्मीको की माओबादीको ? केही थाहा भएन । तर खाई मर्यो रे भन्छन, मलाई पटक्कै विश्वास छैन । यी हेर मैले सिन्दुर पुछेकी छैन, चुडिया फुटाएकी छैन ।…….” उनले आफ्नो हात देखाईन् र मैले हेरँे । हो, उनले सिन्दुर पुछेकी थिइनन् तर कपडा चाहिँ किन सेतो वर्खी बारेको जस्तो ? यो प्रश्न मैले सोध्न सकिनँ तर विश्वास नहुनुको कारण सोधें । “ किन भने त्यहाँ जति मान्छेहरु मारिएका थिए–तिनीहरुको टाऊको थिएन । कसको लास हो चिन्न गाह््रो थियो । एउटा लास बोक्यो, ल्याइयो र जलाइयो, मेरो श्रीमान्को नाममा अन्तिम दाहसंस्कार पनि गरियो तर त्यो जलाइएको लास मेरो श्रीमान्को नै हो भन्ने के प्रमाण ? अहँ मेरो श्रीमान् मरेको छैन । भन्नुस न तपाईलाई कस्तो लाग्छ ? ”…………..

…………उनको प्रश्नले मलाई झस्कायो नराम्रोसगँ, मैले आफ्नो अनुहार छामे, पसिना खलखल्ति आईरहेको रहेछ । बत्ती बालेँ, रातको ३ बजेको रहेछ । सँगै राखिएको एक गिलास पानी घुटु घुटु पिएँ । अनि उठेर झ्यालबाट परपरसम्म नियालें तर त्यहाँ केवल मौनता र अन्धकार मात्र थियो, ती आईमाई थिइनन् वा भनौं मेरी श्रीमती थिइनन् ।…………..

……….. कोठामा केवल म थिएँ र म भर्खर उठेको खाटमा एउटी आईमाई अस्तब्यस्त लडिरहेकी थिई । ……..मैले सोचें ‘ के साच्चैं अनुतीर्णा म मरेको सम्झेर विधुवाई………….।’ मैले ऐना हेरें, त्यहाँ मैले म पाईनँ, एउटा धोखेवाज र विश्वासघाती पुरुष सिवाय, जो आफ्नी पत्नीलाई एक बर्ष अगाडि एक्लै छाडेर आएको थियो, एउटी केटीको पछि लागेर । विचरा अनुतीर्णा मेरो पर्खाईमा बसिरहेकी होली यस्तरी नै ……….तर म भने ……..मलाई माफ गर अनुतीर्णा, मलाई माफ गर । …………..

……………र त्यस पछि म सुत्न सकिनँ र खाटमा पल्टिरहेँ । झिसमिसे उज्यालोमा उनी उठिन् र म तर्फ हेरिन्, मेरो आखाँ निदाएको देखेर उनी आफ्नो शरीरलाई आवरणले ढाकी केही नबोली हिडी । आखाँले निदाएको अभिनय गरे पनि शरीर पूर्ण रुपमा निदाएको थिएन । ………मनमा नानाथरी कुराहरु जन्मिन्छन्, मर्छन् र फेरी जन्मिन्छन् । भनिन्छ, मनले कुरा नखेलाएको कुनै क्षण हुदैन । आज मेरो मन पनि नानाभाती कुराहरुमा रुमलीरहेको छ । सपना, सपना त आउथ्यो, जान्थ्यो तर आजको सपनाले मलाई मेरो होस उढाईदिन विवश पारेको छ । अनि विवश पारेको छ, एक चोटी सोच्नलाई, सम्झनलाई एक बर्ष अगाडिका कुराहरु, जसलाई म अहिले सम्म बिर्सी रहेको थिएँ वा भनौ सम्झन नै चाहेको थिइनँ । ………….

……….. पाइलाहरु त्यही चिर परिचित बाटोबाट हिडिरहेका थिए, फरक यति थियो कि पहिला यी पाइलाहरुको गति यस्तो थिएन । पहिला हतारिएर चल्ने पाइलाहरु आज एकदम फुर्सदिला जस्ता देखिन्थे । जुन दुरी पार गर्न १५ मिनेट लाग्थ्यो, आज झण्डै दोब्बर लाग्यो ।………..थाहा छैन, मैले पाइलालाई दोह्याई रहेको थिए वा पाइलाले मलाई ।……… म गेट भित्र छिरेँ । ‘ नमस्ते सर ’ कसैले भन्यो मैले सुनेर पनि नसुनेझैं गरेँ, सायद त्यस बेला म आफ्नै कुरा सुन्न ब्यस्त थिएँ वा भनौं अरुको कुरा सुन्ने मेरो फुर्सद थिएन । …….दश बजिसकेको थियो तर उनी आई पुगेकी थिइनन् । अरु आए वा आएनन् त्यसको हेक्का ममा थिएन । म सोच्दै थिए त्यही कुराहरु जुन म अघि देखी सोचिरहेको थिए । कसैले पछाडिबाट ‘ गुड मर्निङ्ग सर ’ भनेको सुने, उनी रहिछिन् । मेरो अगाडि बसी, मुसुक्क मुस्कुराईन् । मबाट पनि त्यही मुस्कुराहटको अपेक्षा गरेकी थिइन् । तर उनको चहानामा म चल्न सकिनँ, कारण मेरो मन मुस्कुराउन मानिरहेको थिएन । ………..

…………मैले दिनभरि पढाएँ तर के पढाँए मलाई नै थाहा भएन, पढ्नेहरुले के पढे र बुझे त्यो अर्को कुरा हो । घर फर्किने बेलामा उनी मसँगै हिडिन् वा म उनीसँग हिडे, कुरा एउटै हो । प्रायः हामीसँगै फर्कन्थ्यौँ तर किन हो किन आज असजिलो लागिरहेको थियो । साविक भन्दा आज म थोरै बोलेँ, थोरै हाँसे र थोरै खाएँ तर साविकभन्दा आज मैले धेरै सोचें । ………..छुटिने बेलामा उनले ‘ बाई भोली भेटौँला ’ भनी, भेट्नु त थियो नै मैले हुन्छ भन्नु आवश्यक ठानिन । छुटिने बेलामा म जहिले पनि फर्केर हेर्ने गर्थेँ तर आज हेरिनँ । बिर्सेर होइन, सम्झेर हेरिनँ । …………….
……………… म कोठा भित्र पसेँ, प्रायः एक्लै बस्ने कोठामा आज आफूलाई एकदम एक्लो पाएँ । सायद, यस्तो एक्लोपनको आभास मैले कहिल्यै गरेको थिइनँ । ……… शिक्षक, जो सतमार्गमा अरुलाई हिडाउँछ तर के ऊ स्वयम् त्यस मार्गमा हिडिरहेको छ ? प्रश्न मैले आफैतर्फ तेर्साएँ । जो आफै पथभ्रष्ट छ , त्यो अरुको पथप्रदर्शक कसरी बन्न सक्ला ? वा बनी हाले त्यसले देखाएको बाटो कतिको सही होला ? ………
…………..अनुतीर्णा माथि मैले जे गरेँ त्यो न्याय होइन, म मान्छु, मान्न विवश छु तर जे म अहिले गरिरहेको छु, त्यो न्याय हो त ? जोसगँ जिन्दगीभर सँगै जीउँने र मर्ने बाचा बाँधेर विवाह बन्धनमा बाधिएको थिएँ, जग्गेमा सात फेरा लगाएको थिएँ, सिउँदोको सिन्दुर रंगाएको थिए, त्यसलाई, त्यसको विश्वासलाई घात गरेर हिडेको यो मान्छे, के आज एक निर्दोष युवतीसगँ आफू अविवाहित भएको झूटो अभिनय गरेर न्याय गरिरहेको छ ? …………. आज कसैको सपनाले विपनामा यस्ता कुराहरु सोच्न मलाई वाध्य पारिरहेको छ । गल्तीहरु माथि गरेका गल्तीहरुमा म कुन गल्तीलाई सच्याउँ ? अनुतीर्णालाई पूनः अगाँलु त नयाँ अनुतीर्णाको कथा जन्मिन्छ, आस्थासगँ विवाह गरु त अनुतीर्णा माथिको अन्यायको एउटा नयाँ अध्याय थपिन्छ । म दुबै गर्न चहान्न थिएँ, जुन असम्भव छ । ……….

…………….बेलुकी मैले खाना पकाइन, पेट भोको भए पनि मनमा यस्तै कुराहरु टम्म भरिएका थिए । सायद, पेटको भोकमाथि त्यसले विजय प्राप्त गरेको थियो । ……….. आस्था आफूलाई नयाँ परिचय देऊ भनिरहेकी थिई, आफ्नो सिउँदो रंगाई देउ भनिरहेकी थिई तर म आफू नै आफ्नो वास्तविक परिचय लुकाईरहेको छु भने उनलाई दिने नयाँ परिचयको आधार के ? उनलाई म भ्रमको भुमरीमा कतिन्जेल राखिंराख्न सक्छु ? जब त्यो भ्रमको भुमरीबाट उनी उम्किन्छिन् र वास्तविकता थाहा लाग्छ, तब के होला ? ………….
……………अहँ म अब अर्की अनुतीर्णालाई जन्माउन चहान्नँ । मैले निधो गरेँ, म गाऊँ नै फर्कन्छु र अनुतीर्णालाई अँगाल्छु । माफी माग्छु, आफूले गरेका गल्तीहरुको प्रायश्चित गर्छु, चाहे मलाई माफ गरुँन या नगरुँन । जाने निधो त गरे तर आस्था, उनलाई केही बताउने हिम्मत मसगँ थिएन, बताऊँ पनि कसरी ? ………. म विहान सवेरै शहरलाई छाडेर आफ्नै गाऊँतर्फ लागे जसरी म एक बर्ष अगाडि गाऊँमा अनुतीर्णालाई छाडेर शहर पसेको थिएँ । ………… मेरो निर्णय सही या गलत त्यो म भन्न सक्दिनँ तर पनि मलाई अनुतीर्णाको मायाले तानिरहेको छ तर आस्थाको आकर्षणले पनि खिच्न छाडेको छैन । म आफ्नो एउटा गल्ती सुधार्न गइरहेको छु, एक बर्ष ढिलै भए पनि । तर आस्था, जब म गाऊँ गएको थाहा पाउँली, के गर्ली ? मलाई माफ गर आस्था मलाई माफ गर ………….।

…………कुनै अद्वश्य शक्तिले ताने जस्तो अनुतीर्णाको मायाले तानिरहेको अनुभव ममा भईरहेको थियो । म चाँडो भन्दा चाँडो गाउँ पुग्न चहान्थेँ, जहाँ मैले अनुतीर्णालाई एक शब्द नबोली एक्लै छाडेर आएको थिएँ । म भोग्न तयार थिएँ – अनुतीर्णाले दिएका जुन सुकै सजाय, प्रायश्चितको रुपमा । ………. आत्मग्लानीले मेरो मन पग्लिएको थियो मैन पग्लिए जसरी । मैन पग्लन राप चाहिन्छ, ताप चाहिन्छ । हो, मसगँ पनि छ पश्चाताप – मेरा ती गल्तीहरुप्रति, अनुतीर्णा प्रति मैले गरेका अन्यायप्रति, आफ्ना दुई साना सन्तानहरु प्रतिको बेवास्ताप्रति …………। जति जति म गाउँको नजिक पुग्दै थिएँ, त्यति त्यति नै मेरो मनमा भावनाका तरंगहरु झन् झन् तरंगित हुदै गईरहेका थिए ।……………….

………….. पछाडि कोही कसैले लखेटिरहेको जसरी म भाग्दै थिएँ वा अगाडि केही पाउने मृगतृष्णामा भौतारीरहेको थिएँ । मेरा पाईलाहरु लर्खराउँदै थिए । असन्तुलित हिडाई, असन्तुलित मन, असन्तुलित विचारहरु बोक्दै म एउटा यात्रामा निस्किएको यात्री जसरी बेथकान हिडेको हिडेकै – हिडेको हिडेकै छु । हिड्दा हिड्दै हिड्ने ठाउँ पनि सकिएछ र मेरो गन्तव्य पनि आईपुगेछ । गाउँलेहरुले बाटामा के के कुराहरु सोधे र मैले के के बताएँ, त्यसको हेक्का ममा थिएन । थियो त केवल अनुतीर्णाको तस्विर ……..।

…………………म घर भित्र पसेँ, उनी त्यहाँ थिइनन् । किन, कसरी, के कारणले ? आदि इत्यादि प्रश्नहरु तेर्सिए – एउटा ठूलो पर्खाल सरी । ……. अनुतीर्णामाथि जुन आरोपहरु लगाइदै थिए, त्यसप्रति मेरो मनले पटक्कै विश्वास गर्न सकिरहेको थिएन । तर एक मनले सोचेँ – ‘ यदि म त्यस्तो गर्न सक्छु भने उनी किन गर्न सक्दिनन् ? उनको पनि मन होला मेरो जस्तै, उनको पनि इच्छा होला मेरो जस्तै ………’ । अनि अर्को मनले भन्दैथियो – ‘ उनले त्यस्तो गर्दिनन् । उनी पतिब्रता आइमाई हुन, उनले त्यसलाई तोड्दिनन् ………..’। ‘…….के स्वास्नी मान्छे मात्र पतिब्रता हुन जरुरी छ ? के पुरुष पत्नीब्रता हुनु आवश्यक छैन ? छ भने मैले त्यो गरे ? गरिन भने उनले गर्नु अनिवार्य छ ? ………..’ म भित्रको दोमन मनले यस्तै प्रश्न प्रतिप्रश्नहरुको थुप्रो लगाइदियो । प्रश्नहरुको थुप्रोमा म स्वयम् पुरिन्छु कि भन्ने डर पनि लाग्न थाल्यो……….. । ‘ सत्य के हो ? ’ त्यो त बुझ्नु थियो नै, त्यसैले सत्यको खोजीमा म उनको माईतीमा जाने निधो गरेँ । ………………..

……………एक घण्टाको पैदल बाटो थियो तर मलाई पाँच मिनेटमा पुगुँ जस्तो लागिरहेको थियो । सायद सत्य थाहा पाउने मेरो त्यो उत्कर्ष अभिलाषा थियो, अनुतीर्णाको मुखबाट ………. म त्यहाँ पुगे, एउटा सन्नाटा थियो – भयंकर र डरलाग्दो । सन्नाटावीचमा कोलाहल थियो, रुवाबासीको । एकछिन त म अलमल्लमा परेँ, के भइरहेको छ यहाँ ? …………. आँगनमा मेरी अनुतीर्णा सुतिरहेकी थिईन् । म त्यहा आएको छनकसम्म उनले थाहा पाउन सकेकी थिइनन् । उनलाई त्यहाँको कोलाहलले ब्यूँझाउन सकेको थिएन । कारण, उनी सुतिसकेकी थिईन् कहिल्यै नब्यूँझने गरी, चिर निद्रामा ……..। त्यहाँ कसैको मन आफ्नो वशमा थिएन, आफ्नो मन आफ्नै वशमा नभएकाहरुले अरुलाई के सम्झाउलान्, बुझाउलान् ? ……………………

……………..परपुरुषसगँ लागेको, पतिव्रता धर्म तोडेको आरोपमा माइतीमा गलहत्याएकी मेरी अनुतीर्णा आफ्नै गाऊँमा पनि चैंनले बस्न पाइनन् । त्यहा पनि समाजले उनलाई त्यही आरोप लगायो, जुन निराधार हो भन्ने कुरा उनको निर्दोष लासले बताईरहेको थियो ।…………..सायद, समाजको कटु वचन, निराधार आरोप, आफ्नो पतिको आफूप्रतिको वेवास्ताजस्ता कारणले उनले आत्महत्याको बाटो रोजिन् । उनी सामु स्पष्टीकरण पेश गर्ने मौकासम्म मलाई उनले दिईनन् । म अनुतीर्णाको नजरमा दोषी, अपराधीकै रुपमा रहेँ र रहिरहनेछु । म उनी सामु प्रायश्चित गर्न चहान्थेँ तर प्रायश्चित त म गर्छु नै उनी बिनै भए पनि जिन्दगीभर । उनको मृत्यूको प्रमुख दोषी म हुँ, मैले नै उनलाई आत्महत्या गर्न विवश पारेँ । यदि म उनको मायालाई लत्याएर नहिडेको भए सायद यस्तो दिन देख्नु पर्ने थिएन । ………….

………….. उनको शरीर खरानी भयो, सांसारिक दुःखबाट उनले मुक्ति पाइन् । अब बाँकी छ त केवल उनको याद र उनको यादलाई ताजा राखिँराख्ने दुई साना नानीहरु – जसलाई हुर्काउने, बढाउने जिम्मेवारी ममा थियो । म त्यो जिम्मेवारी पूरा गर्न सक्छु या सक्दिन थाहा छैन । उनीहरुलाई म बुबाको छत्र छायाँ त दिन सकुँला तर आमाको ममता र स्नेह कसरी दिउँ ? एउटा कठोर ढुङ्गाको हृदय भएको मान्छेले माया ममता कसरी दिन सकुँला ? अनुतीर्णाको अनुपस्थितिमा त्यो दायित्व पूरा गर्नु मेरो धर्म थियो, त्यो धर्मबाट विमुख हुन कदापि मिल्दैन । मैले आफ्नो धर्म निर्वाह गर्ने निधो गरे र आफ्ना साना नानीहरुलाई च्यापेर म मेरो गाउँ घर फर्केँ ।…………..

………..समय गतिवान छ । न त्यो कसैको लागि रोकिन्छ न त कसैका लागि छिटो नै चल्छ । समय व्यतित हुदै गयो तर समयसँगसँगै मैले आफूलाई डोर्याउन सकिनँ । अरु वेदना र दुःखलाई मेट्न सके पनि अनुतीर्णाको यादलाई मैले मेट्न सकिनँ । अनुतीर्णा मेरो जीवनको एउटा नमेटिने पाटोको रुपमा रह्यौ र रहिरहनेछिन् । ……..बाल बच्चा हुर्काउनु कत्तिको गाहो कुरा हो, मैले यि पाँच – छ महिनामा बल्ल अनुभव गरे । …………घर समाजले अर्की ल्याउन पहिल्यैदेखि सल्लाह नदिएका होइनन् तर कान्छी स्वास्नी न अनुतीर्णा जस्ती स्वभावकी नै होली भन्ने कुराको ठेगान थियो न त छोरीहरुले उनबाट अनुतीर्णाको जस्तै माया र स्नेह पाउलान् भन्ने कुराकै । सायद त्यो सम्भव थिएन र त्यसै कारणले मैले त्यस तर्फ सोचेको पनि थिइन तर आज सोच्न विवश भएको छु । कारण, उनीहरुलाई आमाको शीतल छहारीको अभावमा चर्को घाम पानीको सामना गर्न नपरोस भन्ने मेरो ध्येय थियो । अर्कातर्फ मबाट उनीहरुको राम्रो स्याहार सुसार पनि हुन सकिरहेको थिएन । ………..

……….. के गर्ने, के नगर्ने को दोधारमा रुमलिरहेको बेला मलाई आस्थाको सम्झना आयो र आस्थालाई सबै कुरा बताएर उनी सामु मातृत्वको भिख माग्छु भन्ने सोचेर म शहरतिर लम्कें । तर मलाई थाहा थियो, मातृत्व भिखमा पाउने चीज होइन । ……… मैले उनलाई त्यति धेरै समयसम्म सँगै रहेर पनि आफ्नो वास्तविकता लुकाएको छु, उनलाई भ्रममा राखेको छु । जब मेरो वास्तविक अनुहार ऐनामा उनले स्पष्ट रुपमा देख्छिन्, तब ? ………. म कति स्वार्थी मान्छे ? आफूलाई चहियो भने कसैलाई अँगाल्ने र छाड्ने ………। सायद, ममा पनि पुरुष हुनुको अंहकार थियो र त्यही अंहकारको कारणले अनुतिर्णाको ज्यान लियो ।……… आस्था पढे लेखेकी शिक्षित आइमाई हुन्, त्यसैले मैले गरेका गल्तीहरुलाई माफ गरी मेरो वर्तमानलाई स्वीकार गर्छिन भन्ने झिनो आशा थियो र त्यहीँ आशाको साहाराले मलाई आस्थासम्म पुग्न हिम्मत दिइरहेको थियो ।……………..

…………..प्रायः आवत जावत भइरहने हुदाँ म आस्थाको डेरा चिन्थे । त्यसैले सोझै आस्थाको डेरातर्फ लम्कें । उनको डेरामा पुगेर ढोका घचघच्याएँ । त्यहाँबाट एक अपरिचित पुरुष निस्क्यो र म झसङ्ग भएँ । सायद, आस्थाले विवाह गरी होली भन्ने कुरा मेरो मनले सोच्यो । …….. केही नबोली टल्वाल्ल परेर बसेको देखेर सायद उसलाई अचम्म लाग्यो र सोध्यो –“ कसलाई खोज्नु भएको होला ?” “………अँ आस्थालाई ” मैले छोटो जवाफ दिएँ । “ ए उनी भित्रै छिन् ” उसले भन्यो र मलाई पनि भित्रै आउन अनुरोध गर्यो । जाऊ कि नजाँऊ म दोधारमा परेँ र पनि गएँ ।………….

……………. डेरा उही थियो, कोठा उही थियो तर फरक थियो त त्यहाँको सजावट । नयाँ जीवनको शुरुवातसगैँ कोठालाई पनि नयाँ रुपमा सिँगारी होली, मेरो मनले मनमनै सोच्यो । ……. आस्था भान्सामा थिइन क्यारे, त्यो अपरिचित युवक भान्सामा गयो र उसको आस्थालाईसगैँ ल्यायो । उनले मलाई एकोहोरो आश्चर्य चकित भावमा हेरिन् र हेरिरहिन् र मैले पनि हेरीरहेँ । ………..“माफ गर्नुहोस् मैले त तपाँईलाई चिन्न सकिँन ” उनले बोली फुटाइन् । उस्तै मुहार, बोली ब्यवहार, उस्तै मृग नयनी आँखा तर …….. तर पहिला भन्दा फरक आस्था । …….. फरक यस अर्थमा कि अब उनी अरु कसैकी भइसकेकी थिइन्, त्यसको प्रमाण उनको रङगिएको सिउँदोले बताइरहेको थियो । आस्थाले आज मलाई नचिनेको जस्तो गरिरहेकी थिईन, सायद उनको त्यो बाध्यता थियो । लामो समयको मौनतालाई चिर्दै मैले सोधेँ –“ तपाँई आस्था हो ?” “ हो तर तपाँई ? ” उनले आश्चर्य चकित भावमा फेरि प्रतिप्रश्न गरिन् । “ म …..म……” म केही बताउन सकिरहेको थिएन । “ उहाँ मेरो श्रीमान्, हाम्रो विवाह भएको दुई बर्ष भयो । यहाँ एक हप्ता अघि मात्र डेरा सरेर आएको ……..” उनले बताउदै गईन् र मैले सुन्दै गएँ । मैले बल्ल बुझे ती आस्था मेरी आस्था होइनन् । मनले एक प्रकारको शान्ति पायो र त्यस पछि म त्यहाँबाट स्कूलतर्पm लागेँ, केही थाहा पाउँछु की भन्ने आशमा………….।

……………म स्कूल भित्र छिरेँ, त्यहाँ उनी थिइनन् । जब मैले त्यहाँबाट वास्तविकता थाहा पाएँ, म छाँङ्गाबाट खसे जस्तो भएँ, ठूलो बज्रपात मेरो टाऊकोमाथि बज्रन पुगेको जस्तो अनुभव मैले गरेँ । ………..यस्तो होला जस्तो मलाई लागेकै थिएन तर कल्पनै नगरेको कुरा भइसकेको थियो, त्यसलाई स्वीकार गर्नु बाहेक अर्को कुनै विकल्प थिएन । उनले मेरो नाममा एउटा पत्र छाडेकी रहिछन्, त्यो पत्र खोलेँ र पढेँ …………..

‘………… कसै प्रतिको चोखो मायाको फल यस्तो पाउँछु सायद मैले त्यो सोचेको थिइनँ । निश्चल प्रेममा यस्तो घात हुदोँ हो त अब उपरान्त कसैले प्रेम गर्दैनन् ……..’ आँखाबाट बरर आँशु बग्यो, मन भक्कानिएर आयो । आफूलाई समाल्दै मैले फेरि पत्र पढेँ ‘ मलाई छाडेर गएकोमा मलाई दुःख छैन, दुःख छ त केवल तपाँईले मलाई, मेरो मायालाई बुझ्न नसक्नुमा…….. मैले तपाँईलाई चोखो माया दिएको थिए, आफ्नो सर्वस्व सुम्पिएकी थिए । सगैँ जीउने र मर्ने सपना साँचेकी थिएँ तर त्यो सपना आज चकनाचुर भएको छ, शिशा फुटेसरी मेरा सपनाहरु टुक्रा टुक्रा भएका छन् । म तपाँईप्रति जति समर्पित भएको थिएँ, तपाइँ हुन सक्नु भएन। ……..मर्नु – जीवन संघर्ष देखि भाग्नु हो, त्यो मलाई थाहा छ तर म संघर्ष देखि डराएर मर्न गइरहेकी छुईन् । म बाँचेर तपाँईको सम्झनालाई मेट्न सक्दिँन, त्यो मेट्नको लागि म स्वयम् मेटिनु जरुरी थियो । तड्पी तड्पी दिन प्रति दिन अलि अलि मरेर बाँच्नु भन्दा मलाई त्यो नै उचित लाग्यो ।…………. अफसोच यसमा छ कि जसको यसमा कुनै दोष छैन, म त्यसलाई पनि मार्न गइरहेको छु । अपराध हामीले गर्यौं होला तर मेरो पेट भित्रको बच्चाको कुनै अपराध थिएन । म निरअपराधीलाई मार्ने अपराध गर्न गइरहेको छु । सायद, त्यो अपराधको सजाय म नर्कमा गएर भोग्ने छु ।……….. अन्तमा, यस जन्ममा म तपाँईकी हुन नसके पनि अर्को जन्ममा तपाँईकै हुन पाँउ । उही अभागिनी आस्था ’

………. म भक्कानो फुट्ने गरी रोएँ, म यसरी कहिल्यै रोएको थिइन । मेरो आँखाबाट बलिन्द्र आँशुका धाराहरु चुहिरहेका थिए, जसले मैले गरेका अपराधहरुलाई सायदपखाल्न खेजिरहेका थिए तर मैले गरेका अपराधहरु पखालेर पखाल्न सकिने खालका थिएनन् । ……. मलाई उनको पत्रको प्रत्येक शब्दले घोचिरहेको थियो । अनुतिर्णाको वाणले घायल मेरो मन आस्थाको तीरले झन् क्षतबिक्षत भयो । म अनुतिर्णाको अपराधी, म आस्थाको अपराधी, म मेरा सन्तानहरुको अपराधी …….मेरो अपराधको बदलामा दिइने जुनसुकै सजाय पनि मेरो लागि कम हुनेछ । मैले गरेका अपराधहरुको प्रयश्चित गर्नु सिवाय म अरु केही गर्न सक्दिन थिए । प्रायश्चित गर्नको लागि मसँग लामो जिन्दगी बाँकी थियो, त्यो जिन्दगी हरहालतमा जीउँनु मेरो वाध्यता थियो । म नमरुन्जेल सम्म मेरा अपराधहरुको प्रायश्चित गर्ने छु र गरिरहने छु । जन्म जन्मान्तर सम्म ………..।

जितेन्द्र तुलाधर
बुंगमती, ललितपुर

(स्रोत : Majheri )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.