आज ऊ अफिसबाट छिटै निस्केको छ । टाढैबाट उसले बुढो माग्नेलाई आफूतिर आउँदै गरेको देख्यो । “हजुर…दया गर्नुस्” बुढोले अनुनयपूर्वक ऊतिर हात फैलायो । माग्नेलाई पैसा दिन भनी पर्स निकाली हेर्यो ऊसँग बीस रुपिँयाभन्दा सानो नोट थिएन । माग्नेलाई तातो भात ! बीस रुपिँया त के दिनु । उसले चित्त सानो गर्दै सोच्यो । भएको बेला सधैँ दिएकै छु, आ …होस् पछि कुनै दिन दिउँला । उसले पर्स खल्तीमा राख्यो र भन्यो “आज त पैसै छैन ।” ऊ माग्नेको काँतर स्वरबाट पन्छिन छिटोछिटो हिँड्यो । “हजुर… हजुर… ।” बोलाई बोलाई माग्ने त्यो बुढोको बोलाहटमा उसलाई रीस पनि उठ्यो ।
बैंकबाट पैसा निकालेको दिन माइक्र्रॊमा चढेर आफ्नो पर्स गुमाउने मुख्र्याँई त्यो बेला गरेन उसले । त्यसैले बसस्टप पुगेर ट्याक्सी खोज्दै उसले आफ्नो खल्ती छाम्यो । ऊ झसँग भयो उसको पाइन्टको खल्तीमा पर्स थिएन । बाटोभरी आँखा लाउँदै ऊ अत्तालिँदै फर्कियो । कतिबेला कसले उडाएछ उसले चाल पाएन । यदि बाटोमा खसेकै भए पनि नोटले भरिएको पर्स कसले बाँकी राख्थ्यो । ऊ किँकर्तव्यविमूढ उभिरहँदा माग्नेले आफ्नो टालेको खास्टोभित्रबाट उसको खसेको पर्स ऊतिर बढायो । “बाबु पैसा दुरुस्त छकि छैन राम्ररी गन्नुहोस् ।” सँकोचले उसका आँखा झुके । धन्यवाद पनि भन्न सकेन उसले । उभिरहेको उसलाई लज्जित छाडेर बुढो भने अरुका अगाडि फेरि हात फैलाइ मागिरहेकोथ्यो “हजुर दया गर्नुहोस् ।”
ललितपुर
mdhsusma@yahoo.com
(स्रोत : KhassKhass.com )