……. कोटेश्वर, थिमी, नयाँ बाटो …. कोटेश्वर, …… ल ल अाउनुहोस् ……. जानैलाग्यो …… (ढ्याक, ढ्याक) कोटेश्वर, थिमी ……. “भाइ कौशलटार जान्छ ?” “ जान्छ जान्छ” “नमस्ते प्रशान्तजी (नमस्ते) सन्चै हुनुहुन्छ नि ?” मेरो साथी रमेश प्रश्न सँगसँगै म सँग हात मिलाउँदै मेरो छेउको खाली सिटमा बस्छ ।
“म त सन्चै छु । तपाइलाइ नि ? जागीरे भएपछि त भेटघाटनै बन्द भयो । कहाँ बेपत्ता हुनुभएको थियो ?” म प्रश्न माथी प्रश्न गर्छु । गाडी गुड्न शुरू गर्छ । “कहाँ प्रशान्तजी फुर्सदनै हुँदैन । तपाइले पनि त काम गर्न थाल्नु भयो रे नि होइन र ? मलाइ तिर्थले भनेको थियो ……..” मेरो साथीको भनाइ टुङ्गिन पाएकै थिएन, चालकको सहयोगी (खलासी) को छेउमा उभिएको १०।११ वर्षको केटोले हिन्दि गीत गाउन थाल्यो “तु चिज वढी है मस्त मस्त ……..”
“भाइ तिमी कति कक्षामा पढ्छौ ?” रमेश प्रश्न गर्दछ । “छैन । ३ मा पढ्दै थिएँ । पढ्न अल्छि लाग्यो । छोडिदिएँ । बरू खलासी हुन सजिलो रैछ, त्यसैले काम सिक्न अाएको ।“ उ उत्तर दिन्छ र फेरी अर्को गीत गाउन थाल्छ “हम तुम एक कमरामे बन्द है ……….”
“भाइ तिमिलाइ राजमती वामती गाउन अाउँछ ?” म प्रश्न गर्दछु । “अाउँदैन । त्यस्तो छोट्टा गीत पनि गाउने हो र ? यस्तो पो गाउनु पर्छ त .. चोलीके पिछे क्या है, चोलिके ……… “ उ जो नेवारी समुदायको हो, अाफ्नै संस्कृतिलाइ अवहेलना गर्दछ र हिन्दी गीतका विकृत संस्कारलाइ अँगाल्दछ ।
“भाइ तिमिलाइ गोपाल योन्जनको देशले रगत मागे मलाइ वलि चढाउ गाउँन अाउँछ ?” “छ्या त्यस्तो पाखे गीत पनि गाउँछ ? गीत त यस्तो पो हुन्छ त …. “ फेरी गाउन थाल्दछ “मै लैला लैला चिल्लाउँगा कुर्था फाडके …….”
गाडी घ्याच्च रोकियो । हेरें कोटेश्वर अाइपुगेछ । “हवस्त रमेशजी, म अहिले विदा हुनु पर्यो, पछि भेटघाट गर्दै गरौंला ।“ “हुन्छ विदा होउँ ।” म रमेशसँग विदा भएर अाफ्नो गन्तव्य तर्फ लाग्दछु । बाटाभरी म मित्रराष्ट्रबाट भएका अार्थिक, सामाजिक, भौगोलिक तथा साँस्कृतिक अतिक्रमणको बारेमा सोचिरहन्छु । मलाइ थाहा थिएन, साँच्चैनै साँस्कृतिक अतिक्रमणको परिणाम साह्रै भयावह हुँदो रहेछ । व्यक्ति अनि समाजले अाफ्नो अस्तित्वनै विर्सिएर राष्ट्रियतानै हराउँदो रहेछ ।
कोटेश्वर २०५८ । ०२ । ०२
(स्रोत : Prashant’s Blog )