~दिनेश ‘रवी’~
बांगिने बेला छ। बांगोहरुकै मेला छ। जती बांगो र नांगो होइन्छ उती सभ्य र इमान्दार भइन्छ। नत्र उदांगो हुनुपर्छ। स्वास्नि छोराछोरी हुँदा पनि रुनु पर्छ। घिउ झिक्ने बांगै औंलाले हो। जे जती झांगिएका छन् बांगो बिरुवाहरु नै हो। सिधा विरुवा त हाँगा बिहिन भएर बाँच्नुपर्छ। एक्लिएर अग्लिनु पर्छ। समुहबाट अलग्गिनुपर्छ।
विचारको मखुण्डो ओढेर म आँगनमा लम्पसार हुन्छु। बांगो हुनुपर्ने तानाबाना बुन्छु। मेरो हावभाव देखेर तपाईंले भन्नुहोला कि यसले पिएको छ। या धङधङी लागेको हुनुपर्छ। त्यस्तो सत्य -रामाराम होइन। गोजिमा एक सुकी छैन। म जस्तो माग्नेलाई कस्ले जाग्ने झोल दिन्छ र? कामलाग्ने मान्छे पनि होइन। भनौ न- फिरन्ते उमेर बच्चा छु। संसार नचिन्ने कच्चा छु। गुच्चा खेल्ने उमेरमै चुच्चा कुरा गर्न चाँही सच्चा सिकारु हुँदैछु।
यो पिउनु भन्ने कुरा पनि पाउनु नै हो। जब यसको अंगालोमा पुगिन्छ तब मुतको न्यानोले अनौठो लोकमा डुबिन्छ। पीर ब्यथा छ आलो र यसको पालो। कती आनन्द थोरै तान्दा के नै बित्यो र वियाँलो। कविहरु त्यो पिउँदै यो कविता भट्ट्याउँछन्। भट्टिले भट्ट्यानमा योगदान दिएको छ। वास्तविक र सदाबहार साहित्य निर्माण गर्ने धुम्रपान र मद्यपानले ठुलो भूमिका खेलेको छ। अहिले पुरस्कार गुठी मध्ये कुनै एकको ध्यान यता गए ठालु संस्थाको भालु कर्तव्य ठहरिन्थ्यो। नाम चलेका कविहरुले यिनै पान गरेर कविता दान गरेका थिए। ज्यान गयो त वजिया कालको कला छ यो। अब पनि यसले हानी गर्छ भनेर बस्ने हो? लागेको बानी छुटाउनु हुन्न। हिंडेको बाटो टुटाउनु हुन्न।
जाँडरक्सिले मित्रतालाई मौलाउन दिन्छ। रकमको जानेबाटोलाई पहिल्याउन दिन्छ। यसका अनेकौ नामाकरण छन्। जसको संस्करण भइरहेको छ। यसको रोचक पक्षलाई यहाँ फुकाईन्छ। कुनै समयमा शिवजीको प्रिय पेयपदार्थ भएकोले यसलाई सोमरस भनियो। अहिले कोक र पेप्सिको जमाना भए जस्तै उहिले परमात्मा ओमकै हाराहारीबाट सोमरसले स्थान जमायो। ईतिहासकारहरु पार्वतीले यसलाई पहिलो पटक आविस्कार गरेको मत राख्छन। वंशावली अनुसार भने दक्षको यज्ञबाट शिवजीले सतिदेवीको मृतदेहलाई बोकेर पृथ्वी भ्रमण गर्दाखेरी नै शिवले धोकेको दावी गरिएको छ। छ्याङ, रक्सी, रम, बियर, व्राण्डी, ह्विस्की, निगार, तोङ्वा जे जती नामका भएपनि तिनको काम उस्तै छ। तिनले पार्ने प्रभाव पनि दुरुस्तै मिलेको छ। पिउनेहरुले आ-आफ्नो कारण पोख्छन्। कोही घरको भाँडभैलोबाट मैलो भएको मन पखाल्छन। कोही दिनभरिको व्यस्तताबाट मिलेको तनावसंगै धन पखाल्छन। कोही वियोगको सागरबाट तर्किन यही छर्किन पुग्छन्। कोही आनन्दको वायुपंखी घोडामा चढ्न रमाउँछन् र एक गिलास त हो नि भनी समाउँछन्। त्यसो त संसारमा खान नहुने कुरा के छ र! जान नहुने ठाउँ कहाँ छ र!
ठर्रादेखी भर्रासम्म तनतनी तान्नहुने र साना ठूला सबैको मन छुने भएपछी विद्युतिय संचार माध्यम विज्ञापन नभएपनी केही छैन। जुन कुरालाई जती लुकाईन्छ उती नै त्यसको महत्व बढेर जान्छ। अहिले जे जती पद र पदक पाएका छन् त्यसको पछाडि सबैलाई यही पिउनुले उचालेको छ। भोजमा होस् या मोजमा होस्, पार्टिमा होस् या पाटिमा होस्, भुइँमा होस् या बुईमा होस् सबैको होसहवास यसैमा छ। यो विना न काम हुन्छ न माम हुन्छ।
यो खोकिको औषधी पो त भनी ङिस्स हाँसेर कोटभित्र बोकेर हिंड्नेहरु चानचुने मान्छे छैनन्। आईमाईलाई आफ्ना छोराछोरी प्यारो भए झै यो वस्तु पुरुषहरुलाई प्यारो छ। पुरुषका लागि यही नै आफ्नो बच्चा हो। खोकिलामा हालेर नबोके तिनिहरुको जीवन नै नरक हुन्छ। अरु दिन भन्दा फरक हुन्छ। हरहर बासना आउने यसको हरकले तडकभडक बढाउँछ। पिउँदा अलिकता लडाउँछ त के भो र? शारिरिक फैलावट बढाउँछ नि।
यो पिएर न त मातेँ न त छादेँ। हल्लनु त रहर हो। भुइँमा छुनु त आफ्नै शहर हो। एक दुई पटक बल्ड्याङ खानु त योग जस्तै भो। यसमा मौलिकता छ। लौकिकता छ। छाद्दा पेटको फोहोर लेउ जान्छ। त्यो गाडीमा छादेको जस्तो पनि होइन। बिरामी हुँदा छादेको जस्तो पनि रहेन। खाँद्नु र छाद्नु अलग कुरा हो। यसलाई पिउनुमा दाँज्ने हो भने जिउनु बेकार छ। यसरी सारांशमा हेर्दा पिउनु महानता हो। पिउनेहरुको रुची गहनता हो। बरु छिट्टै पिउनेहरुलाई पुरस्कारको ब्यबस्था गरे सरकारको नाम रहन्थ्यो।
मैले आँगनमा बसेरै यामानको कुरा लडाएँ। मेरो योग्यता अझ बढाएँ। यस्तो महान विचारक भएकोले मलाई बधाई छ। यतिखेर पिउनेहरुकै दाईँ छ।
(स्रोत : (“टिलटिले घैटो” ब्यङ्ग निबन्ध संग्रह-२०६२ बाट ))