~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~
फूटकर आफ्नै रचनाहरु निस्किएका पत्रिकाका स-साना कटिङ्गका टुक्राहरुलाई व्यागमा राखे, केही छाप्न बाँकी,केही लुकाएका उसका रचनालाई क्रमबद्ध रेकर्ड फाइलमा सुरक्षित गरे र व्यागमा हाले । प्रकाशन गृहमा पुगे ।
……… पव्लिकेशन्सको गेटमा छिर्न भन्दा अगाडि बल्ल बल्ल प्राप्त गरेको अनुमती पत्र देखाए । आलिशान भवनमा रहेको पव्लिकेशन्समा आफूलाई असुहाउदो महसुस गरे। जुत्ता मात्र खोल्न सकेँन च्यातिएको मोजा र बासी गन्धलाई पनि छोड्नु पर्ने भो ।
“भित्रै जाँदा हुन्छ “अलिक च्याठ्ठिएर बोलिन् नानी । सायद् मोजाको दनदङ्गी बाँकी रहेछ क्यारे ।
“हुन्छ” ढोका खोले । एयर कन्डिसनमा कुलिन कोठामा प्रवेशसँग मेरा शरीर लजायो,झोला लजायो र मोजाको बाँकी अस्तित्व लजायो ।
“बस्नुस् कवि ज्यु” यहि एउटा कविको पद बाँकी थियो त्यो लजाएन ।
मैले धन्यवाद दिए र बसे । आरमदायी कुर्सीमा बस्दाको छुटै मज्जा लाग्यो ।
रचनाहरुको पोका राखिदिए ।
“राम्रो लेख्नु हुदो रहेछ कवि ज्यु । काव्य र आख्यानमा तपाईंको दखल र लेखन शैली मन पर्यो । छाप्न चाहनु हुन्छ ।”
“हजुर” मैले भने ।
“हेर्नुस् कवि ज्यु हामी व्यवसायी हौ । छाप्नु अगाडि हाम्रा केही शर्तहरु छन् जुन तपाईंले मान्नु पर्ने हुन्छ ।
“के के होलान् ?” मलाइ जिज्ञासा बढ्यो ।
“तपाईंको रचनालाई किताव रुप दिदा आधा लगानी तपाईंको र आधा हाम्रो हुनुपर्छ । त्यो नभए छापी सके पछि तपाईंले पाँच सय प्रति पाउनु हुन्छ अरु पारिश्रम पाइदैन ।पुरस्कार दिलाउनका लागि हुने खर्च तपाईंको र त्यसबाट प्राप्त रकम आधा आधा हुनुपर्छ । रोयल्टीमा तपाईंको हक हुन्न । बिमोचनको खर्च तपाईंकै । बोलाएका प्राज्ञहरुको खर्च तपाईंकै । ………….. यो हुनुपर्छ । ……….. त्यो हुनुपर्छ ।”
शर्त माथी शर्तको खेतीमा म रम्न सकिन । बाहिर निस्के ।
“यो पव्लिकेशन्स राखिएको घर कस्को हो ।”भव्य भवनको गेटमा बसेको पालेलाई सोधे ।
“पहिले भाडामा अहिले पव्लिकेशन्सले किनेको हो ।”
सडकमा निस्किएर पनि पव्लिकेशन्स हाउस र शर्त बीच म अझै तालमेल मिलाउन खोज्दै थिए ।
बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’
०६८-०७-२०
(स्रोत : Shabdahar )