कथा : तस्विर भइसकेको मान्छे

~विभोर बराल~Bibhor_Baral

मलाई थाहा थियो घरका सबैलाई खुसी पार्ने उपाय त्यसैले पहिलो तलब हात परेकै दिन दगुरेँ फोटो स्टुडियो तिर ।

‘आम्मै कति ठूलो !’, हजुरआमा चकित परेर चिच्याउनु भयो। हजुरआमाको चिच्याहट सुनेर पिताजी र आमा दौडिँदै बैठक कोठामा आउनु भयो। अब हामी चारैजना मख्ख पर्दै बैठककोठाको उत्तरपट्टीको भित्ता तर्फ हेर्न थालेका थियौँ । भित्तामा झुन्डिएको थियो ५ फिट अग्लो हजुरबुवाको तस्विर। सेतो रंगको मयलपोस सुरुवालमा सजिनुभएको हजुरबुवा मुसुक्क हाँसिरहनुभएको थियो। हजुरबुवाको निधारमा थियो तीन धर्के तिलक र हातमा उही परिचित कालो लठ्ठी । हजुरबुवा त्यसलाई जादुको लठ्ठी भन्नुहुन्थ्यो । बाल्यकालका मेरा उत्कृष्ट छुकछुके दिनहरूमा अनेकौँ पटक त्यही लठ्ठीको जादुले मैले दिउँसै झलमल्ल ताराहरू देखेको थिएँ। ती दिन सम्झिँदै गर्दा कति बेला मेरो दाहिने हात टाउकोमा चलमलाउन पुगेछ पत्तै भएन । हत्त न पत्त हात तल झारेँ । कसैले देख्यो कि भनी यसो यता उति हेरेँ । लौ पिताजी पनि आफ्नो टाउको सुम्सुम्याउँदै हुनुहुँदो रहेछ । ह्वार्र हावा चल्यो र मेरो हाँसोको चंगा फिर्-फिर् गर्दै वेगले अकासियो।
‘के हाँस्छस्, तस्विर भइसकेको मान्छे कहिल्यै फर्किँदैन !’ हजुरआमाको अप्रत्यासित ब्यथित उद्गारले मन चरक्क चोइटियो। हाँसोको चंगा चेट भएर भुइँमा पछारियो। सबैका आँखा रसाए। हिक्का छुट्ला जस्तै भयो। तस्विर तिर हेरेँ, हजुरबुवा भने अझै मुस्कुराइरहनु भएको थियो। मलाई लाग्यो अब उहाँले लठ्ठी उठाउँदै भन्नुहुनेछ, ‘तँलाई बजिया !’

बीबीए सकिने बित्तिकै पिताजीले एउटा सहकारी संस्थामा लेखापालको जागिर लगाइदिनुभयो। जागिर त के भन्नु, यसो समय कटाउने मेलो थियो। घरका सबै खुसी नै थिए, आफ्ना भने अरू नै थिए सपनाहरू। घन्टौँ फेसबुकमा झुन्डिन्थेँ। विदेश उडेका साथीभाइले पोस्ट गरेका एल्बमहरूमाथि माउस घुमाउँदै हरेक दिन गर्थेँ युरोप अमेरिकाको फेसबुके सयर। अफिसमा पनि मनग्य फुर्सद निस्किन्थ्यो। इन्टरनेटमार्फत सबै पक्का गरिसकेको थिएँ। विदेश पुगे पछि गर्ने सानाभन्दा साना कुराको विस्तृत योजना बनिसकेको थियो। तर सबथोक कम्प्युटरको पर्दामा मात्र सीमित थिए। वास्तविक संसारमा त एक से एक तगाराहरू मेरो बाटो ढुकेर बसेका थिए ।

हजुरबुवा बितेपछि घर त्यसै शुन्य जस्तै भएको थियो। त्यसमाथि म थिएँ एक्लो छोरो, वंश अघि बढाउने एकमात्र कूलदीपक। हाम्रो परिवार पनि चानचुने कहाँ हो र ! पूरै देशले मानेको सनातन हिन्दु धर्मका प्रखर अनुयायी नम्बरी पंडितका सन्तान हामी। पिताजीलाई कति पटक भन्न खोजेँ म उच्च शिक्षाआर्जनको लागि युरोप जान चाहन्छु भनेर। तर हिम्मत जुटाउनै सकिनँ । हिन्दुस्तानसम्म भएको भए सायद पिताजी मानी पनि हाल्नु हुन्थ्यो। तर कुरो पर्यो युरोपको। हजुरबुवाको शब्दकोशमा युरोपको परिभाषा हुन्थ्यो- हिन्दु धर्मको निन्दा गर्ने, गाई खाने तथा सर्वदा पापकर्ममा लिप्त हुने म्लेचस्छहरूको कृडाभूमि। त्यसैले लामो समय मेरा योजनाहरू कम्प्युटरभित्रका तारहरूमा गुजुल्टिएर बसे।

एकदिन अचम्मै भयो। घरमा एकजना ‘राजा’ले आकस्मिक पाउकष्ट गरे। हाम्रोलागि राजाको अर्थ हुन्थ्यो, हजुरबुवाको पालादेखिको जजमान जो अकूत सम्पतिको मालिक पनि होस्। यी दुई सर्त पूरागर्ने हरेक ब्यक्ति हाम्रो लागि राजा। यस्ता राजाले बिरलै हाम्रो घरको भ्रमण गर्थे । र, त्यो दिन त्यस्तै दुर्लभ मध्येको एक थियो। यी राजा अलि आधुनिक थए, थुप्रै ब्यापार ब्यावसायमा हात हालेका। कुन चाहीँ पार्टीको तर्फबाट समानुपातिकमा चुनिएर सभासद पनि भएका। मेरो धनुष्टण्कार नमस्कार ग्रहण गरेपछि उनले पिजाती समक्ष मेरो बारे केही जिज्ञासा राखे, ‘छोरोलाई आधुनिक विषय पढायौ कि आफूजस्तै संस्कृत मात्र?’

‘हैन राजा साहेब, ब्यापार पढ्छु भन्यो, लौ मनलागेको पढ् भनेर छोडिदिएँ,’ पिताजीले विनम्र निवेदन गर्नु भयो।

‘भलो गर्यौ पंडित’, राजा खुसी भए, ‘अब यसलाई नेपालमा राखेर नबिगार, विदेश पठाइदेऊ।’

म झसंग भएँ, ती राजाले त चिताउँदै नचिताएको कुरो भनिदिए। राजा अझै बोल्दै थिए, ‘देशको अवस्था तिमीहरूलाई थाहै छ, छाडातन्त्र छ, बाँच्नै मुस्किल।’ राजाको गला अवरुद्ध भयो । के सम्झिए कुन्नि अलिअलि गर्दै उनको मुहारलाई कालो बादलले झ्याप्प छोप्यो।

हजुरआमा र आमा पिताजीको छेउमा उभिएर कुरो सुनिरहनु भएको थियो। राजाको कुरोले तीनैजनाको मुहार नीलोकालो पारिदियो। म भने कस्तो प्रतिकृया जनाउने ठम्याउनै सकिरहेको थिइन। सोचेँ आफ्नो दुनो सोझ्याउने यो सर्वोत्तम समय हो, यस्तो अवसर फेरि कहाँ पाउनु। त्यसपछि मैले खुलस्त पारिदिएँ सबैकुरा । उत्तरी युरोपमा रहेको चर्चित विश्वविद्यालयले मेरो आवेदन स्विकृत गरिसकेको थियो। भिजाको लागि आवेदन दिँदा बैँक खातामा पच्चिस लाख देखाउनु पर्थ्यो । राजाले जोशिँदै भने, पंडितको छोरोको भविष्य बन्छ भने म छ महिनाको लागि पचास लाख राखिदिउँला खातामा। त्यति गर्नु राजाको लागि मुस्किल होइन भन्ने हामीलाई राम्रैसँग थाहाथियो। केही दिनदेखि छापाहरूका हेडलाइनमा राजा छाइरहेका थिए- नक्कली भ्याट बिलको प्रयोगगरी करोडौँ कर छली गर्ने सभासद!

पिताजी हजुरबुवाको तस्विरलाई हेरेर टोलाइरहनु भएको थियो। मलाई लाग्यो हजुरबुवाको जादुको लठ्ठीले यौवनकालमा पिताजीका अनेकौँ सपनाहरू गायब पारिदिएको हुनुपर्छ। हजुरआमाले बिस्तारै पिताजीको हात समाउनु भयो र भन्नुभयो, ‘उड्न दे यसलाई आफ्ना सपनाहरूको पछाडि। अहिले यसलाई बाँधिस् भने जिन्दगीभर तँलाई सराप्नेछ।’

मेरी प्यारी हजुरआमा, मैले गर्ल्याम्म अँगालो हालेँ । मेरो दायाँ हातमा झरेका आँशुका थोपाहरू नाडी हुँदै कुहिना तिर बग्न थाले। थाहा पाउन मुस्किल थियो कुन थोपा हजुरआमाको हो कुन मेरो।

***

युरोप युरोपै थियो, नेपाल थिएन। गुगल म्यापमा क्लिक गर्नु र साँच्चिकै यहाँको माटो टेक्नुमा फरक त हुने नै भयो। युरोपको हावापानीमा भिज्न मलाई निकै समय लाग्यो। हरघडी मथिंगलमा घरको सम्झना नाचिरहन्थ्यो। यस्तो बेला स्काइपले निकै ठूलो गुन लगायो।

स्क्रिनमा तीनैजना अटाउनु भएको थियो र प्रश्नमाथि प्रश्न गर्दै हुनुहुन्थ्यो। म अकमक्क परेर सुनिरहेँ। पिताजीले जुक्ति निकाल्नु भयो, एकपटकमा एकजना मात्र बोल्ने। वरिष्ठताको क्रम अनुसार पहिलो प्रश्न सोध्ने अवसर हजुरआमाले पाउनु भयो। अघि रौसी रौसी के के सोधिरहनुभएको हजुरआमा अहिले त पूरै चुप लाग्नु भयो। नेपालमा इन्टरनेट त कछुवा गतिको न हो, भिडियो तिरमिर तिरमिर धमिलो। हजुरआमा हाँस्नु भएको हो कि रुनुभएको बुझ्नै गाह्रो। मौनता तोड्दै हजुरआमाले झ्वाट्ट भन्नु भयो, ‘बाबु तँ पनि तस्विर भइस् !’ म खङ्ग्रङ्ग भएँ। आँसुको मूल फुट्यो, दुबै आँखा ढपक्कै ढाकिए। भन्न चाहन्थेँ, म पढाइसकिए पछि फर्की हाल्छु नि हजुरआमा। तर बोली नै फुटेन। हजुरआमा स्क्रिनबाट ओझेल हुनुभयो।

बदलिएको जीवनतालिकासँग हामी सबै अभ्यस्त हुनथाल्यौँ, बिस्तारै सबै सामान्य लाग्न थाल्यो। सुरुमा दैनिक हुने भिडियो वार्ता हप्ता हुँदै महिनामा झरेको थियो। मेरो संघर्ष आफ्नै ढंगले चल्दै थियो। पढाइ त चुनौतीपूर्ण थियो नै, मैले थप अर्को चुनौती निर्माण गरेको थिएँ- जागिर खोज्ने। उता पिताजी भन्नु हुन्थ्यो, फटाफट पढाइ सकाएर नेपाल आइज। म भन्थेँ, नेपाल पक्कै फर्किन्छु तर दुईचार वर्ष काम गरेको अनुभव सँगालेर।

युरोपमा देशै पिछे फरक भाषा अनि भाषाको ज्ञान बिना राम्रो काम पाउन झन्डै असम्भव। त्यसैले म यहाँको भाषा पढ्न थालेँ। स्काइपमा भेट हुँदा आमा भन्नु हुन्थ्यो, ‘हजुरआमालाई दमले निकै सताएको छ । पिताजीलाई डाइबिटिज र प्रेसर दुबैको औषधी खानुपर्ने भएकोले अचेल निकै गल्नु भएको छ। म पनि पहिले जस्तो छुइन । उमेरसँगै शरीर कमजोर हुँदै गएको छ, घाँटी र ढाडका हड्डी खिइएका छन्। छिटै आइज बाबु।’

म भन्थेँ, ‘म त्यता आउने होइन तपाईँहरू यता आउने हो। भर्खर अस्थाइ नोकरी लागेको छ, यो स्थाइ हुने बित्तिकै म यहाँको स्थाइ वासिन्दा हुनेछु। यहाँ औषधि उपचार निकै राम्रो छ। पैसा पनि खास पर्दैन। अब धेरै छैन, केही समय प्रतीक्षा गर्नु । हामी सबै सँगै हुनेछौँ।‘

विश्वबजारमा छाएको वित्तिय संकटले मलाई पनि सास्ती दियो। स्थाइ जागिर पाउनै सकिएन। भर्खर दुई दिन भयो, एउटा सफ्टवेर कम्पनीमा सहायक लेखापालको जागिर पाएको त्यो पनि अस्थाई। त्यस कम्पनीका शाखाहरू थुप्रै देशहरूमा थिए। हाल मैले आफ्नो अध्ययन अनुसारको काम नपाए पनि निकट भविष्यमा स्थाई भई मेरो पदोन्नति समेत हुने सम्भावना प्रचुर थियो।

म एक्सेलमा फर्मुला सेट गर्दै थिएँ, मोबाइलको घण्टी बज्यो।

‘हेलो… हेलो…‘, उताबाट आवाज नै आएन। मैले फोन काट्नै आँटेको थिएँ, मसिनो स्वर सुनियो, ‘बाबु!’

‘आमा, किन फोन गर्नुभएको अनलाइन आउनुस् न म कम्प्युटरमै छु ।’

‘एउटा दुखद खबर छ बाबु। हजुरआमाले हामीलाई छोडेर जानुभयो।’ आमाले अड्की अड्की भन्नुभयो।

मेरो आँखा अगाडि अँध्यारो छायो। मुटु फुट्ला जस्तै भयो। बेस्कन चिच्याएर ह्वाँ ह्वाँ गरेर रुन मनलाग्यो। तर आवाज घाँटी भित्रै सुक्यो। काँपेको आवाजले सोधेँ, ‘कहिले आमा, कसरी?’

‘आज दिउँसो तीन बजे। यहीँ बैठककोठामा हुनुहुन्थ्यो । खाजा बनाउन जान्छु है भनेर भान्छामा गएकी थिएँ। चियामा दुध नहाल है भन्नु भएकोले कालो चिया र खाजा लिएर गएकी त प्राण गइसकेछ। कति सजिलै जानुभयो। हाम्रो पनि गति यस्तै होस् ।’ आमाले सुँक्क गरेर फेरि बोल्न थाल्नु भयो, ‘ल बाबु अब तेह्र दिन पछि मात्र सम्पर्क होला । यहाँको चिन्ता नलिएस्। अहिलेलाई राखेँ ।’

काम जोरो आएझैँ मेरा हातगोडा थर् थर् काम्नथाले। फेसबुकमा हजुरआमाको मात्र तस्विरहरू भएको एउटा एल्बम बनाएको थिएँ- ‘प्यारी हजुरआमा’। हजुरआमा विभिन्न मुद्रामा हुनुहुन्थ्यो। एउटा तस्विरमा गएर अडिएँ। हजुरबुवाको तस्विर अगाडि हजुरआमा उभिनुभएको थियो। उस्तै मुस्कान अझ हातमा लठ्ठी पनि । मैले नै खिचेको थिएँ त्यो तस्विर । हजुरबुवाको नक्कल गर्न हजुरआमाले तीन धर्के चन्दन पनि लगाउनु भएको थियो। क्या हाँस उठ्ने। झल्यास्स सम्झेँ, हजुरआमा त तस्विर भइसक्नु भयो। तस्विर भइसकेको मान्छे कहिल्यै फर्किँदैन। आँसुका थोपाहरू कुहिनाबाट नाडी तिर बग्न थाले। अब यी थोपाहरूमा हजुरआमाका आँसु कहिल्यै मिसिने छैनन् ।

(स्रोत : अभिव्यक्ति साहित्यिक पत्रिका)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.