सपनाहरुको घोषणा पत्र लिएर
तिमीले मझेरी टेके पछि
आज मेरो आँगनीमा गणतन्त्र आएको छ
र यो गणतन्त्र भनेको तिमीले लगाएको सुकिलो लुगा रहेछ !
तिमीलाई थाहा छ कि छैन ?
तिमीले कुल्चि आएको यो धुले सडकमा
बर्षौ देखिको मेरो पुर्खाको पसिना लुकेको छ
यसैले किन किन हिजोआज तिमीले मेरै छाती,
कुल्चेर आए जस्तो लाग्छ
तिमीलाई थाहा छ कि छैन ?
तिमी चढी आएको गाडीको तेल
हजारैा छोरा छोरीको रगतले भरिएको छ
यसैले किन किन मलाइ हिजोआज तिम्रो हाँसो पनि
त्यही गाडीको धुँवा जस्तै लाग्न थालेको छ
सपनाहरुको घोषणा पत्र लिएर
तिमीले मझेरी टेके पछि
आज मेरो आँगनीमा गणतन्त्र आएको छ
र यो गणतन्त्र भनेको तिमीले लगाएको सुकिलो लुगा रहेछ !
मैले भनेको थिएँ तिमी फर्केर आउँदा
एउटा जुन मुस्कुराउँन सकौं
आँखाहरुमा लागेको अध्यारोलाई पखाली
एउटा सुन्दर विहानी विउझिन सकौं
यहाँ बग्ने नदी खोलाहरुमा जागरणको धुनहरु बज्न सकुन्
यहाँ निर्धक्क जिवनले वनपाखा भरि फूल्न सकुन्
मैले भनेको थिए तिमी फर्केर आउँदा
त्यो उत्साहको गित गाउन सकौ
तर उहि पुरानो छ हावा, जो तिमीलाई छोएर अझै चल्दै छ
उहि पुराना छन् नदि खोला, जो बर्षौ देखिको उदासी बग्दैछन्
हराएर समयले आफ्नै फेरो, पुछ्न सकेका छैनन् अझै यि आँसुहरु
निरासाको झ्यालबाट अझै चिहाउँदै छिन् बुढी आमा
सुदुर सम्म फैलिएको त्यो गोरेटो हेरेर
दलिनमा सिउँरिएको त्यो चप्पलमा
फेरीएको छैन चुँडिएको एउटा ऐतिहासिक फित्ता
पुछिएको छैन अझै त्यो रगतको टाटो
त्यही गोरेटै गोरेटो हुँदै तिमी कुल्चि आएका छौ कयन सपनाहरु
र तिनै सपनाहरुको घोषणा पत्र लिएर
तिमीले मझेरी टेके पछि
आज मेरो आँगनीमा गणतन्त्र आएको छ
र यो गणतन्त्र भनेको तिमीले लगाएको सुकिलो लुगा रहेछ !
– तेजविक्रम कार्की, चन्द्रनिगाहपुर-१, रौतहट
October 9, 2013
(स्रोत : Tej Bikram’s Notes )