एक दिन एक जना स्वास्नीमान्छे घरको ढोका ढकढक्याएर अनुरोध गर्दै थिइन् । काम खोज्दै हिँडेकी कुनै काम गर्न पाइन्थ्यो कि ? स्वास्नीमान्छेको प्रश्न अन्त्य हुन पाएको थिएन । कुन्नि के सम्झेर हो घरको लक्ष्मी जङ्गी हालिन् । यस्तो बैँसैमा घर घर काम खोजी हिँड्ने स्वास्नी मान्छेहरुको चाला अर्कै हुुन्छ, खुरुक्क यहाँबाट गई हाल्नु । स्वास्नीमान्छे प्रतिक्रिया विहीन बाटो लागिन । बैँसै भएर पनि त्यो स्वास्नीमान्छेको गालामा सुःखका रङहरू पोतिएका थिएनन् । दुब्लो अनुहार, क्लान्त देह र दुःखै दुःखका रेखाहरूले बुनिएको रेखा चित्रमा बनाइएको एउटा सुन्दर अनुहारको आकृति थियो ।
यसरी घर घर काम खोज्दै हिँड्नु पर्ने अवस्था कसरी आइ प-यो होला ? सोध्ने आँट गर्दा गर्दै घरको आँगन नाघेर अर्कै घरको आँगनतिर लागि सकेकी थिइन् । त्यो रेखा चित्रको आकृति फेरि अचानक एक दिन देखा प-यो । बाग्मतीको किनारमा दुई चारवटा स–साना पलास्टिकका घर बनाएर बसेका मध्ये ती स्वास्नीमान्छेको बस्ने छाप्रो पनि त्यही मध्येको एक रहेछ ।
बाग्मतीको ढल निकास र फोहोर मैलाबारे एउटा एनजीओको अनुरोधमा तथ्याङ्क तयार गर्ने सिलसिलामा बाग्मतीको किनारै किनार लखतरान भएको बेला उनै स्वास्नी मान्छेसँग जम्काभेट भएको थियो । नजिकै सलल बग्न नसकेको बाग्मतीको दुर्गन्ध, भुस्याहा कुकुरहरूको जुलुस, झिँगा भन्केर उधुम मच्चिएको ठाउँमा साथीको सङ्केत यहाँबाट हिँडि हालौँ कि भन्ने थियो । यहाँको स्थिति पनि बुझी हालौं न त भनेर हिँडिरहेका पैतालाहरूमा ब्रेक लगाएको थिएँ । “कति भो यहाँ बस्नु भएको” ? तिनै स्वास्नीमान्छेले जवाफ दिइन अँ वर्ष दिन नाघ्यो होला “कहाँबाट आउनु भएको हो नि” ? भनि हाल्न अन्कनाई अलि अप्ठ्यारो मान्दै– ए उतै त हो नि रोल्पा सोल्पा भनेर टुङ्ग्याइन् । बुझ्न गाह्रो भएन द्वन्द्वको मारले रोल्पा रुकुम तिरबाट विस्थापित भई नेपाल देख्न आएकी रहेछन् ।
प्लास्टिकका घर वरिपरि स–साना वालबच्चाहरू रोइरहेका थिए । कता कता एकतमासले विरक्तिएको हुण्डरी चल्यो । “यहाँ आउनुको कारण चाहिँ ? प्रश्न तेस्र्याउने शैली पत्रकार वा सुराकीको जस्तै लागेर होला “अँ दुःख भो राजधानी हेर्न भनेर कुराको बिट मार्न खोज्दै थिइन् । हुन सक्छ पत्रकार वा सुराकीको निहुँमा यस्तै प्रश्नहरूको जवाफ दिँदा दिँदा वाक्क भइ सकेकी हुनु पर्छ । स्वास्नीमान्छे र ऊसँगैका छिमेकीहरूको हाउभाउले त्यही बुझाउँथ्यो । तथ्याङ्क तयार गर्ने सिलसिलामा दुई चार पल्टको भेटघाट पछि आफ्नो मन खोलेर अतीतको पर्दा उघार्न थालिन् । रोल्पाको कुनै विकट गाउँमा उनका श्रीमान शिक्षक थिए । श्रीमानको शिक्षक नोकरी र खेती किसानको आम्दानीले जीवनको आरोहावरोह राम्रै ढङ्गले उक्लिरहेको बेला श्रीमानमाथि सुराकीको आरोप लागेछ । कहिले सुरक्षा फौज त कहिले जनमिलिसियाको धरपकड, केरकार, बन्धक र अपहरणपछि जनमिलिसियाहरूको हातबाट मुक्त भए लगत्तै सुरक्षा फौजको पालामा घरबाट केही कुरा बुझ्ने निहुँमा लगिएको उनका श्रीमान फेरि घर फर्केनछन् । गाउँकै खोक्से खोलामा मृत अवस्थामा फेला परेको श्रीमानको लाससँगै उनको पहाड पनि गल्र्याम्मै ढलेछ । अनि लागिछिन् उनी जस्तै पीडाले छटपटिएका दुई चार जना साथी सँगी भेला गरेर काठमाडाैं सहर । उनका दुई जना भल्टाङ भुल्टुङ् र आफ्नो पेट पाल्न बाग्मतीको किनारमा बालुवा चाल्ने साथै घर घरमा गएर घरायसी काम गर्दै जम्मा गरेको माना मुठी चामलले जीवनको रथ गुडी रहेको रहेछ । वास्तवमा उनका श्रीमान इमान्दार र गाउँका सोझा शिक्षक थिए । उनी भन्दै थिइन्, “सोझो हुनाको मूल्य चुकाउनु प-यो मेरो श्रीमानले ।”
६ महिनापछि उनै साथीसँग त्यही प्लास्टिकले बारिएको सानो बस्तीमा पुगेका थियौँ । उनै स्वास्नीमान्छेको बारेमा सोधियो । तर उनी त्यहाँ थिइनन् । उनका छिमेकीहरू भन्दै थिए, उनी त गइन् । अप्रत्याशित उत्तर सुनेर प्रश्न दोहोरियो “कहाँ गइन् त ?” उहीँ त हो नि । उत्तर नबुझे झैँ गरेर प्रश्न गर्दा वस्तिको अलि बूढी मान्छेले भनिन् “जसले उनको श्रीमानको हत्या ग-यो उसैको विरुद्धमा लड्न हिँडिन् ।” साथीको आँखीभुइँ माथि माथि उचालिएको थियो । प्लास्टिकको वस्तिमा उभिएर संवेदनशील र त्यस अवस्थाको कानूनको विरुद्धमा कुरा गरिरहेका थियौँ । गाउँका सोझासाझा मान्छेहरूलाई आठवर्षे द्वन्द्वले अपत्यारिलो ढङ्गमा धेरै कुरा बुझ्ने बनाई सकेछ । उनका छोरा छोरीबारे जिज्ञासा राख्दा उही बूढीमान्छेले जवाफ दिइन् – ललितपुरको कुसन्तीमा एक जना कलियुगकी सत्य आमा छिन्, उनैकहाँ जिम्मा लगाई दिइन् ।
अब मात्र घर घर चहार्ने स्वास्नी मान्छेको अतीत र वर्तमान छर्लङ्ग भयो । माया र प्रतिशोध सँगसँगै हुर्केर झ्यागिँदो रहेछ । के ती स्वास्नी मान्छेलाई आफ्ना फूल जस्ता छोरा छोरीहरूको माया नलागेको होला र ? पक्कै लागेको हुनु पर्छ, तर श्रीमानको छातीमा ताक्ने बन्दुकप्रति पनि उत्तिकै प्रतिशोध जागेपछि उनलाई युद्धको मैदानले निम्त्याई छाडेछ । त्यही दिन थाहा भयो उनको नाम पबिसरा रहेछ । सायद यतिखेर पबिसरा युद्ध मैदानमा युद्धरत थिइन् । एक तमासले बाग्मतीको किनारमा बतास चल्यो । प्लास्टिकका घरहरू फर्फराउन थाले । मानौँ पबिसराले युद्ध जितेर उसको वस्तिमा विजयको झण्डा फरर्फराइ रहेछ ।
प्लास्टिकले बारेको वस्तिबाट ओझेल परेपछि एक अर्कामा एउटा उत्सुकता जाग्यो । को हुन त ती कलियुगकी सत्य आमा पबिसराका टुहुरा छोरा छोरी पाल्ने आधुनिक जननी ? मातृत्वको मैदानमा रुखो पैताला बजार्दै ढोका ढकढक्यायौँ । त्यस्तै ५५ की अली गहुँ गोरो वर्णकी एक जना स्वास्नीमान्छे ढोकामा देखा परिन् । कसलाई खोज्नु भो ? यसपल्ट साथीले वाक्य फुटाया,े ‘तपाईले टुहुरा टुहुरी नानीहरूलाई पाल्नु हुन्छ रे भन्ने कुरा सुनेर हेर्न आएका हौँ ।’ उत्तर सुनेर भित्रै आउने सङ्केत गर्दै ढोका खोलि दिइन् । झण्डै पन्ध्र जनाको जहानलाई चारवटा कोठा भाडामा लिइएको रहेछ । एघार जना त तीन वर्षदेखि १६ वर्षका नानी मात्र थिए । सबै टुहुरा टुहुरीका साझा आमा र हेरचाह गर्ने दुई जना सहयोगी गरेर बढेमाको परिवार थियो । कुराकानीकै सिलसिलामा भरखरै दुई छोरा छोरी थपिएका बारे प्रश्न राख्दा अरू बच्चाहरू भन्दा केही फरक स्वभावका दुई बालखलाई देखाउँदै साझा आमाले भनिन्, ‘भरखरै मात्र यति ठूलो परिवारमा आई पुगेर होला झ्यामिन सकेका छैनन् ।’ कुनै सङ्घ संस्थाबाट सक्दो सहयोग जुटाउने आश्वासन दिएर सामूहिक आमाको त्यो साहसबाट जीवनमा केही गर्नु पर्छ भन्ने महान् पाठ सिक्दै बाटो लाग्यौँ ।
गच्छे अनुसार आनासुकी सहयोग छोड्न नसकेकोमा छुकछुक लागि रह्यो । कम्पासको सियो जस्तो चलायमान र कर्कलाको पानी जस्तो जीवन । कहिले पोखिन्छ भन्ने थाहै नभएर पनि कत्रो सङ्घर्ष, प्रतिशोध र विस्मातको भुमरीमा पिल्सेर मात्र जीवनको अन्त्य गर्नु पर्ने जीवनको अत्यहिन शृङ्खला । पबिसरा आफ्नो श्रीमानसँग गाउँमा बस्थिन् । दुई जनाको लालाबालासँग दुःख सुःखले जीवन बिताउनु सायद जीवनको सम्पूर्णता थियो । तर त्यो दिन सधँै त्यसरी नै रही रहेन । उनी आज कुन उकालीको भञ्ज्याङमा बन्दुक बिसाएर खुई गर्दै होलिन् ? एकातिर श्रीमानको मृत्युको रागछ । अर्कोतिर छोराछोरीको मायाले आफ्नो मुटु हिउँको ढिका झैं पग्लेर असरल्ल हुँदो हो । तर पनि प्रतिशोधको मधुर मूच्र्छनाले उनका नशा नशामा रङ चढाएपछि मृगशावक झैं ती युद्ध मैदानका पहाड र थुम्काथुम्कीहरू नाघ्दी हुन् ।
पबिसराले त्यो विद्रोहको रङ जन्मसिद्ध लिएर आएकी थिइनन् । जब उनको श्रीमान अनाहकमा मारियो । गाउँमा बस्न नसक्ने स्थितिको सिर्जना भएपछि विस्थापित हुनु प¥यो । ठूलठूला राजा महाराजा र नेताहरू बस्ने गगनचुम्बी महलको ओतमुन्तिर वास बस्नु प-यो । बाग्मतीको दुर्गन्धले बाँच्ने आशाको अनुहारमा कालो लेदो पोत्यो । भलाद्मी आँखाहरूको गिद्धे दृष्टिले पटक पटक बलात्कृत हुनु प-यो । चोथाले आइमाईहरूको लाञ्छना सहनु प-यो । एउटा आइमाईको सहने शक्तिले मानवीय बोझ बोक्न नसक्ने भएपछि सायद पबिसराले निर्णय लिइन् । सहरभरि गाइँगुइँ हल्ला हुन थालेको थियो । पत्थरको देवतालाई पसिना आएको छ रे ! चन्द्रागिरि डाँडामाथि बादलको गुजुल्टो देखिनु अशुभ लक्षण हो ।
अर्को पल्ट बाग्मती किनारमा पुग्दा प्लास्टिकका घर र ती विस्थापित मान्छेहरूको अनुहारहरू कतै देखिएनन् । बाग्मती नदीको लेदोमा मोटा मोटा बुट जुत्ताका डोबहरू मात्र देख्न सकिन्थ्यो । हुन सक्छ त्यो प्रतिशोधकै पदचिन्हहरु थिए ।
(स्रोत : सत्यतथ्य मासिकमा प्रकाशित )