त्यो बतासको एउटा गीत चोरेर
मैले लेखेको एउटा कविता
अक्षरहरुको विच
कालो भएर उभिएको छ
मन्दिरबाट कुनै चोरले भेटी चोरेपछि
गरिबको चुल्हो बलेर अघाएको पेट जस्तै मेरो कविता
मन्दिरमै चढाएर बगेको दुधको सेतो रङ्ग चोरेर
त्यतै कतै छेउको नालिमा धमिलिएको छ
घोषणा पत्रहरुको कालो अक्षर चुहिएर
टल्किरहेको आमाको अनुहारको आभा चोरेर
लेखेको आशाको यो कविता
गाउँको नक्शा भुलेर जानेहरुको
पदचापसँगै हराएको छ
आज फेरी कसो-कसो बाटो भुलेर आएका एकहुल मानिसहरु
मेरो आगनीमा जम्मा भएकाछन्
र फेरी मैले माफीको एउटा कविता
लेखिदिएको छु उनिहरुको लागी
आस्थाकै अर्को एउटा कवितामा
आगो सल्काएर
कालो उभिएको छु ।
मैले लेखेको कवितामा
निर्रवस्त्र उभिरहेकी छिन् कुमारी आमा
र भर्रखरै ज्युँदै गाडिएको छ नवजात छोरीसँगै एउटा कथा
आदिम उभिएर मान्छे
गाडिरहेछन् आफ्नै भ्रुण
र खिया लागेर पत्र पत्र बनेकाछन्
क्रान्तिका आदिम स्वरहरु
मैले लेखेको कवितामा
आकाश नियालेर खोज्दै थिएँ
हराएको एउटा चम्किलो तारा,
सुसाउन छाडेको नदी खोला
र युग सजाउने सपनाहरु
तर मैले गिट्टी कुट्दै गरेका साना नानीहरुको आँखाको भाव चोरेर
जिवन गित लेखेको कवितामा
आज फेरी एउटा हाँसो हराएको छ
र हेर्दा हेर्दै पाना भरि
इश्वरको दुर्भाग्य कोरिएको छ
सक्ने भए उभ्याउने थिए एउटा बहस
मन्दिरको त्यो छिँडीमा र जलाउने थिए लासहरु
जो भोकै मरेका थिए मैले लेखेको कवितामा ।
– तेजविक्रम कार्की, चन्द्रनिगाहपुर-१, रौतहट
September 21, 2013
(स्रोत : Tej Bikram’s Notes )