म टाकटुक च्यातिनु चाहन्छु नहुनु- को बोधताबाट
म टाकटुक टुकि्रनु चाहन्छु भेलिनु-को बोधताबाट
यो अलिकति आफैँप्रतिको विरोध
म मूला जिन्दगी पनि बाँच्न सकिन
यो अलिकति अरुप्रतिको प्रतिरोध
अरुहरु पनि बाँचेनन् मूला जिन्दगी !
र, बाँचे मुला-हिजा जिन्दगी !
यो अलिकति युगप्रतिको आक्रोश
जसले मान्छेलाई हिज नै मारेर आएको छ मृत्तसागरको छेउ-
अनि त म बग्छु अमेजन उकालो -उकालै -उ कालो
कालो रङ्गमा-
माथि जिगमिषा हिउँझरीमा लेकालीफूल भएर फुल्छ !
अरुले हिँडेका साँघुरो बाटो भत्काउँदै
भत्काउँदै परम्परित स्थापत्यहरु
यसका डोबहरु मेटाउँदै
यथास्थिति आदिम मान्यताहरुको प्रतिपादन !
प्रमात्रा भौतिकी अन्तिम सत्य नभए बराबर
आगततिरको अन्वेषण वैयक्तिकताल-
”शिवले गाँजाको या कक्कडको चिलिममा
भैरवले जाँडको बटुकोमा
भगवतीले रेटिएको रगतको तालीमा
मासर्ियसले पाइपको मिठासमा
कलरिजले आन्सीयन्ट मयारिनरमा
शेलीले चन्द्रमामा
पोपले सुनको जलपात्रमा
भट्टले एकमुखे रुद्राक्षमा
पाएका भए शान्ति
किन देवताहरु प्रश्न उठ्दा शान्तिको
ढुङ्गामा कोपरिएको मूर्तिमात्र भइदिन्छन्
किन जिउँदा दिग्गजहरु
भित्रभित्रै सेरिएर
स्वासमाथि स्वास फेर्छन्
मृत्युको
हाम्रै मरेको कानमा थुतुनो ल्याएर”
तसर्थ म-
जिकिर
जिगीषा
जिजीविषा
जिज्ञासा
एक कुम्लो बोकेर जिङ्गि्रङ्ग जिवनले
कैफियतसहितको छोटो जवाफमा
ठ्याक्कै उल्टो नौलो आविष्कारको प्रतिपादन
अमेजन !
तिमी मरुभूमिमा ओएसिस खोज्छौ
म ओएसिसमा मरुभूमि खोज्छु
तिमी अस्तित्वको दाबीमा
साबातको बैला उत्सव खोज्छौ
म साबातको बैला उत्सवमा
अस्तित्वको दाबी खोज्छु
तिमी हिमाल आरोहण माग्छ खोज्छौ
म आरोहण हिमाल माग्छ खोज्छु
तिमी चिहान नपाएका तक्माहरु खोज्छौ
म तक्मा नपाएका चिहानहरु खोज्छु
तिमी कारागारभित्र प्रतीक्षा
त्यो अन्तिम फैसलाको खोज्छौ
म अन्तिम फैसलाको प्रतीक्षा कारागारभित्र खोज्छु
हो, हामी यहीबाट छुट्टियौं, छुट्टिनु थियो-ले
र म मान्छेको पुनरान्वेषणमा विपरीत लाग्दा
पुरानो मान्यता/ पुरानो विचार
पुरानो आस्थाप्रतिको विद्रोहको प्रतिवहन
अर्थात् यसो भनौं नयाँ दृष्टि भङ्गिमाको वहन
म,
मिति सम्झनुले बिस्रेर खरीको बोट सम्झेर
आत्मदाहको फब्लेंटोमा
फुटेकाहरु हो !
पारिस्थिकीको खोपीमा दुर्भिक्षको अरिङ्गालले चिलेर
अर्धमृतहरु हो !
मान्छेको प्रतिकृति अ-मान्छेको रुपरङ्गमा पोतिएर
रहेकाहरु हो !
किट्सको यो सबै चीज हो र केही पनि होइनले
निलिएकाहरु हो !
धर्मशास्त्रले प्रतीकात्मक ढङ्गले
क्राइष्टलाई कहिले भेडाको पाठो
कहिले सर्प
कहिले चट्टान
कहिले िसंह
र अनेकन् नाउँबाट सम्बोधन गरेकोलाई
युगको अवस्थितिको उद्बोधन गरेर
पानी सुकेर झारपात उम्री अन्धकार बनेको
बेचल्तीको गहिरो अन्धकूपजस्तो
अन्धपरम्पराले अन्धा भएकाहरु हो !
म भन्छु-
तिमीहरुको जिन्दगी अप्ठ्यारोमा फलेको फसर्ी
न उँधो न उँभो
हो, यही दोधारबाट म अब बुद्धिको खेतीपाती गर्छु
मनको खेतीपाती गर्छु
जीवन सप्रन्छ तबमात्र बुझेर उँधो जान मन नलाग्दा
या उँभो जान मन लाग्दा,
तेसो र म मजस्तै भएर बाँच्न खोजें
खोज्दा –
रङ्गको निर्मिती अन्तरिम सान्निध्यतावाद चाहिएको छ
कारण समानताजस्तो असमानता
समानान्तरजस्तो विपरीतजस्तो
जस्ताको रुपमा भेटघाट गराउनु
विचारहरुको एकमुष्ट अधिरोहण
उभौली बगाइ !
म अमेजन उकालो बग्छु
मनको सुमेरुपर्वतमा
छैठौं इन्द्रीयको
सुमेध्य इन्द्रेणी लागेको एक बिहान
सुमेरुमहासागर भेट्न
साँधसिमानाले छेकथुन गर्न
सरहदमा समयको सिक्रीले बाँधिराख्न
‘म’को प्रतिचिन्तनलाई
नसकेर
गाउँबाट निक्लेर
विश्वगाउँ पुग्न हिँड्दा
म उकालो बग्छु
लिलामी जिवन ! -ले
गोर्जियस सिम्पोजियम र आयनको मलामी हिँड्दै
हेफेस्टसले आफ्नी आमा हेरीलाई बाँधेकोलाई फुकाउँदै
भुल्दै डायोनिससको प्रभावमा परेर
नदीबाट दूध र मह झिक्ने वाकिक तरुनीहरु
काटेर हलुका पंख एक पवित्र चीज सम्यक विवेचनले
म अमेजन उकालो बग्छु
उडन तश्तरी
बरमुडा त्रिकोण
अन्धकूप
आइन्सटाइनले फलाकेको
”हामीले अनुभव गर्न सक्ने
सबैभन्दा सुन्दर चीज हो – रहस्य”
पुनरावृत्तिमा फलाक्दै फलाक्दै
लामो गृष्म ऋतुको एक साँझ
विलुप्त भयो एटलान्टिस टापू
समुद्रले रङ्ग बदलेर एकाएक
महा शून्यता ! महा शून्यता !
कथालाई अ-कथामा भेट्दै
म अमेजन उकालो बग्छु,
‘उत्तरआधुनिक ऐना’ मा
कत्ति उत्तरआधुनिक !
उत्तरसाक्षीको उभौली हँसाइ
डा. गोबिन्दराज भट्टराईको
जिन्दगीहरुको बगिरल्ल बगुन्द्रोमा
अ-मान्छेहरुको भीडमा
धीत मरुन्जेल हाँस्न पाएको
यौटा सग्लो जिन्दगी !
भेटेर संगै उनी र म बाँकी आगतयात्रामा निक्लिएका छौं
असुन्दरताको धोद्रेसिमल फोरेर
नयाँ पिपल उमारेर
मनको ढुङ्गेनपहाडमा,
मध्यरात
बौद्धिक गवेषणाले पनि
नसकेर सम्भोग गर्न बरमुडा त्रिकोणलाई
अन्धकूपभित्र
यौटा आत्मश्लाघी भ्यागुतो
बारीको कान्लोमुन्तिरै मधुरो स्वर निकालिरहेछ
टिक टिक टिक टिक् टिक् िट
तेस्कारण
म बग्छु अर्थात् म खेल्छु
म खेल्छु अर्थात् म बग्छु
चिद्वैषम्यताको लातीले हानेर भू-गोललाई
गोल गर्नु टाउकोको गोलपोष्टमा
उकालो खेल्छुबग्छु,
डा. गोबिन्दराज भट्टराई सिर्जनाको एउटा
अभिघात सिद्धान्तमा उपे्रुको मलाई बेसी मन पर्छ
र म पनि संगै उपि्रुन्दै कराउँदै
म अमेजन उकालो बग्छु-
”लामो बर्षात् थामिएपछि ठूलो बाढी ओर्लिएपछि हेर्नू-
नदीले कति ठाउँमा पुरानो मार्ग छोडेको हुन्छ
नयाँ मार्ग लिएको हुन्छ
कति गग्रेनी बगरलाई मलिलो माटो ल्याएर
ढाकिदिएको हुन्छ ।
खेत बगिसकेको पुरानो बगरमा उभिएर
मा
न
स
एकछिन विलाप गर्छन्
फेरि नयाँ र मलिलो बगरतिर ओर्लिएर
खेती गर्न थाल्छन्
ठीक यस्तै रहेछ सभ्यताको नदी
भनौं इतिहासको नदी
अर्थात् सृजनाको नदी पिन
पुराना खेतबारी बग्दै गर्छन्
त्यसको छेउमै नयाँ बन्दै गर्छन् ।”
नयाँ बन्नुले पुरानो भत्किनुले-
वर्तमानको गज्याङगुजुङ स्थितिबाट
चारभन्ज्याङ्को भद्रगोल जेलभित्रै थुनिइनु नसकेर म
भन्ज्याङबाहिर पर पर
विचारको वि-चार भएर
अमेजन उकालो बग्छु,
म अमेजन उकालो बग्छु
विकीर्ण मनोद्वेगले !
वापतको भान अन्तरिमले !
चिद्वैषम्यताले !
प्रतिरङ्ग संस्कृति म सँगै बग्छ-
परम्पराको सिको सिक्सिको लागेर
बोधोहरुको बोधिबृक्ष र खण्डवदाह!
नदी उँधोमात्र बग्छ भन्नु अधकल्चो
अमिल्चो एकलकाँटे दर्शन !
-मा आजसम्मन् जीवन पनि अधकल्चो मात्र भयो
जडत्वमा स्थिरत्वमा फोसिल मात्र भयो
र मान्छेभित्रको मान्छे मर्यो
तसर्थ यी अपूर्णतामा पूर्णताको सम्यक् गवेषण
नयाँ आविष्कार प्रयोगको परीक्षण
संशोधन पुनः संशोधन हुँदै
अनन्तताको यौटा सक्कली बिम्ब !
मौलिकतामा मनकन्थे रङ्गीक बगाइ !
आऔं,हामी सबै बगौं अमेजन भएर उकालै -उकालो -उ कालो
ऐन्द्रिक संवेदन र चिद्वैषम्यताले रङगीता
भेट्दै,मान्छे भेट्तै
भेट्दै सग्लो व्यक्तिसँगको व्यक्ति बाँचौ,
हातले छामछामछुमछुम छाम्दा अमेजन ‘म’ लाग्छ
इन्द्रियले देख्दा नदी जीवन हो बाक्लो संवेधताको अंग सङ्गित
गतिमा मनोवैज्ञानिक उद्रेक कुँदेर अथाह स्रोतबाट
म कवि भएँ
अमेजन नदी कविता भयो
उकालो बग्नु सत्वको कार्यकलाप भो
आजको मेरो अपहरणबाट भोलिको मुक्ति खोज्दा
आज मेरो विचारको बैनाबट्टाबाट भोलि सरसापट मांग्दा
आयाम, आविष्कार,आवेग,आत्मप्रबोधता, आत्मद्रोह !
अमेजनको ‘अ’ मा आकार प्रकार थपिइएर आएको ”विचलन”
चलन अल्छी लागेर विचलन चलेको हुँ है,
क्रोचेको मनको झ्याल घरक्क खोलेर बाहिर हेरें-
बूढो वोधिवृक्षको जरा सुकेर फिनिक्स चरोले गीत गाउन छाडेको थियो
आकासभरि कालो बादल लागेको थियो पल्लो क्षितिजको अनुहारमा दिग्दाह टाँसेर
गाउँदै मृत्युको गीत गाउँदै बाँझो यौवन बोकेर समय दौडदै थियो मेरो अघि अघि
छेकारो काटेर रोक्न म पछि पछि अमेजन भएर दौडिरहेछु
मुटुलाई अलपत्रै चरीकोट र कोतपर्वमा छोडेर तिमीले देख्यो कि !
नदेखेको भए देख्नुपर्छ, अब तिमीले बाध्यतालाई विधाता नमानीकन देख्नुपर्छ
देख्नुपर्छ विपरित आँसुलाई शिष्ट आक्रोशमा बदलेर विपरिततिर
देख्नुपर्छ मनको विज्ञानको विद्रोहको हुरीले जसले बूढो बोधिवृक्षको जरा उखेलेर लैजाओस्
या तेस्मा हरिया पातहरु पलाइदिन सकोस् जीवन उमार्न सकोस,
तिम्रो सुलसुलेको मृत्यु मीठो अस्वीकरणमा दु:खको सगरमाथा खस्छ
”सगरमाथा नाङ्गै देखिन्छ” भएर ठिङ्ग उभिन पनि मन छैन
ज्ञापक र ज्ञापितको अस्थिर सम्बन्धले हिडेर पर पर पुग्दै
योगले अगणित अनुभूतिमा गवेषण,निर्माण र प्रयोगले
विसंगतिबाट संगति अनि गति हुँदै
म अमेजन उकालो बग्छु, आहा, मीठो संवेधता !
टुकि्रन्दै जोडिन्दै जीवन विरोधाभास हो !आभास हो ! भास हो !
जोडिन्दै टुकि्रन्दै जीवन सिमसार हो ! सिम हो ! सार हो !
सिम ————-सार जीवनमा म अनाहक यस्तरी भासिन्छु कियस्तरी भासिन्छु कि
विरुपाक्षझैं, यहाँबाट निक्लन कदापि सक्दिनँ फेरि
र यहीँभित्र मेरो ‘म’ अलपत्रै मर्छ लाटिएर संवेग वेग बौरन्दै
अनि म अमेजन भएर उकालो लाग्छु
(लामो कविताको एक अंश पाठकीयताको लागि।)