विपत्तीले यतिबेला
फाटेर गह्रा
चिरा परेको छ
झरेर पैह्रो
बाँध थुनिएको छ
र आफै गर्लम्म ढलेको छ
त्यसैले आउ बोकेर
घन, झ्याम्पाल, छिनो
ल्याउ गुडाएर
एस्काभेटर, डोजर
पुर्नु छ धाँजाहरु
अनि उमार्नु छ वीउविजन
खोल्नु छ बाँधहरु
अनि सिंचाइ गर्नु छ खेतबारीहरू
र निर्माण गर्नु छ
छुट्टै आयामताको- मेरो देश
उधिनेर भग्नावशेषहरु
खोज्नु छ / निकाल्नु छ
पुरिएका प्राचिन अवशेषहरू
मजवुत तरिकाले
ठडाउनु छ तीनै धरोहरहरू
युगौँ-युगसम्मको लागि
र लेख्नु छ नहिच्किचाई
फेरि पनि
स्वार्णिम अक्षरले विश्वमा
सुन्दर, शान्त, विशाल- मेरो देश
त्यसैले आउ अब
एकरति ढिलो नगरी
बस्ती-बस्तीबाट
गाँउ-गाँउबाट
शहर-शहरबाट
लिएर आफ्नो कला, सीप
भरेर आफूभित्र जोश, जाँगर
रँगाउनु छ / सिँगार्नु छ- मेरो देश ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )