ऐंजेरुले आहत चित्तोद्यानहरु
इन्द्रिय मार्गसम्म कुरुप फैलिंदा
सत्व-भूमि वैषम्य हुँदैछ दिनदिन,
नव चिन्तनहरु
अस्वस्थ पुरातन चिन्तनको
सङ्क्रमित अवचेतनामा वशीकृत भै
लोलुप, प्रशक्तीसंगै
रंगिन दुनियाँको मोहान्ध बन्दैछन्,
मानौ अब,
सम्यक खोज कसैबाट हुँदैन बरु,
चेत-बिद्वेषको हरेक धार र लहरहरुमा उभिएका छन् चिन्तक।
युगका अघिल्ला पद्चरहरु
उपल्लो चुडाबाट खिस्स हाँस्छन्
अवनामी हाँसो,
असंगतीको हाँसो
मिथ्यापरस्त हाँसो,
यहाँ,
क्षिति र थितिको
असामञ्जस्यता बढेको बेला
पुरातन, अर्वाचीन र
नवोदित दर्शन युद्धले
बिद्रोह अनिवार्य बनिरहँदा,
असङ्गत चिन्तनका बिभेदकारी
युद्धक बिमानहरुले
भोका नाङ्गाहरुको
शिर माथि अझै पनि चक्कर काट्न छाडेका छैनन्।
हर सेकेण्ड
स्क्यानिङ गर्दै मेरो मस्टिष्क
माइक्रोसफ्टले बन्देज गरिरहेको बेला,
हरेक दिन म पिछडिन्छु
हरेक अर्को दिन म पुरातन हुँदैछु,
इन्द्रियले फेरी,
चिन्तन अद्यतन गरी
हरेक दिन जिन्दगीको नयाँ प्रारुप तयार गर्नुपर्छ यहाँ।
तर देश गुडेन,
अभिहित शासकहरु
चेत-शुन्य बंगुर झैं
भुस खाइरहेका कुधी युगद्रष्टाहरु लाग्छन्,
त्यसैले,
नपुङ्षक विल्पारीबादको
सोथरमा मस्त
मृत्यु कुरिरहेका यिनिहरुलाई छाडि,
ऐँजेरु फाँड्दै
चैतन्य मार्गको सहगामी हुन
चलायमान चेतनाको युगाह्वान गर्दै,
भोलिका नव आँकुराहरुको
जीवन रेखा कोरी रङ पोत्न,……. बसेको छु यहाँ एकाबिहानै देखि।।
**
रहन राई
भोजपुर
(स्रोत : Shabdahar )