कथा : मेजोँ चान्स

~सञ्जु बजगाईं~Sanju Bajgain

हरेकदिन जर्जकोटलाईनको बाटो भएर युनिभर्सिटी जानु पर्छ । देब्रेतिरको निलो रङ्ग पोतिएको घरको भित्तो हप्तैपिच्छे नयाँ–नयाँ सूचनाले भरिएको हुन्छ । फ्रान्सको यो ब्यस्त शहरको चाला हेर्दा लाग्छ यत्तिका सूचना पढ्ने फुर्सद कसको होला ? आजसम्म कसैले एक मिनेट उभिएर कुनै सूचना पढेको त के, हेरेकोसम्म मैले देखेको छैन !

म पनि त्यस्तै हुँ । हतारमा निस्कन्छु र हतारमा फर्किन्छु ।

आज बिहानैदेखि झलमल ! म घर बाहिर निस्कदा क्याफे तथा रेस्टुरेन्टका रङ्गीन छाताहरुले जर्जकोटलाईन रङ्गमञ्च जसरी सिँगारिई सकेछ । मे महिनाको पहिलो हप्तै यस्तो रौसिएको घाम ! समुद्रका छालहरु उर्लिने भए सुन्दरीहरुका पिडौलामाथि ! आफै पनि रोमाञ्चित भएँ अलिकति ।
“म पनि सुन्दरी नै त हो नि !” हिड्दा हिड्दै मनले भन्यो अनि ब्यागभित्रको सानो ऐना हेरुँहेरुँ लाग्यो ।

तर आँट पुगेन । अस्ट्रेलियन आईसक्रिम कर्नरको कालेले मैतिर आँखा लगाउँदै थियो ।

“मोरो हप्सी ……!” रीसको पारोले सय डिग्री काट्यो ।

“के तपाईं फ्रान्स, स्वीटजरल्याण्ड, क्यानडामा बसोबास गर्नुहुन्छ र छुट्टी मनाउन भियतनामको ‘हो चि मिन्ह’ सिटी जाने बिचारमा हुनुहुन्छ ? के तपाईको लगेजमा अलिकति ठाउँ खालि छ र अरु अलिकति वजन लैजानका लागि राजी हुनसक्नु हुन्छ ? सम्पर्क गर्नुहोला……’मेजोँ चान्स’….।”
निलो घरको भित्तोमा पनि ठूल्ठूला अक्षरहरुले भरिएको रातो ब्यानर टाँगिएछ । परैबाट पढें सूचना । बल्ल थाहा लाग्यो निलो भित्तो भएको घर ‘मेँजो चान्स’ नामक संस्थाको रहेछ । छुट्टीको मौसमको शुरुवातमै टाँगिएको यो सूचना ब्यानरले मान्छेलाई राम्रै तान्न सक्ने देखें मैले ।
“छुट्टी मनाउन नेपाल जाँदैहुनुहुन्छ भनेर लेख्नु नि……………!” लाग्यो सन्तेको नाममा एउटा पार्सल त पर्ने थियो होला कसैको खाली लगेजमा !

भाग्य भए पो ! बाटै छेक्न आईपुगेको सन्तेको अभागी अनुहारको झझल्को पन्छाउँदै अघि बढे म ।

मौसम राम्रो त मनोवाद पनि राम्रो ! सन्तेको अभागी अनुहार पनि राम्रो लाग्यो एकैछिन । मेट्रोबाट बाहिर निस्कदाको मान्छेहरुको भीड राम्रो, जीप्सीको बाजा बजाई राम्रो, जँड्याहा मगन्तेहरुको भिख मगाई पनि राम्रो । सब राम्रो । युनिभर्सिटी आईपुगिन्जेल जे–जे भेटिए सब राम्रा लागे आज ।

अझ युनिभर्सिटीको महौल झनै राम्रो ! क्लासमा पुग्दा त सबका सब मिनी स्कर्टमा ! मिनी स्र्कट हिजो साँझ नै ड्रेसिङ्ग रुममा निस्किईसकेका थिए क्यारे ! हुनत यी गोरीहरुलाई मिनी स्कर्टको अर्थ मेरै हिसाबको लाग्छ भन्ने के छ ? पिँडौला देखाउने मौलिक संस्कार हाम्रो कहाँ हुनु ? भर्खरैदेखि आधुनिकताको नाममा संस्कारलाई मिच्न थालेका छौ । तर यी फैसन कन्सियस छन् । सिजनेवल लुगा लगाउँछन् ।

“हाई एभा ….!” सधैंजस्तै सरासर उसकै पछाडीको सिटमा गएर बसे ।

एभाको नजिक पुगेर आज मलाई सबथोक राम्रा लागे कसरी भनुँ ? उसको निन्याउरो अनुहार, मनभरि बन्द हुन बाध्य उसका तरुनी रहरहरु मलाई कहिल्यै राम्रा लाग्दैनन् । मौसमको फेरबदलले उसलाई बदल्ने तागत राख्दैन । तर पनि सन्तेभन्दा कति हो कति भाग्यभानी छे । अहिलेका लागि उसलाई सन्तेसँग दाँजेर चित्त बुझाएँ ।

मभित्रको संवेदना एभासँग चुम्बकीय पारामा टाँसिएको छ शुरुदेखि नै । फरक ऊ, फरक म अनि फरक अरुहरु ! मलाई उसको फरक शारीरिक बनौटले धकेल्दैन बरु तानिरहेको छ । के म उदार चरित्रको प्रयोगात्मक अभ्यासमा लागेकी हुँ त ? यो प्रश्न आफ्नै ईमान्दारीताको जाँच गर्न धेरै अगाडिदेखि आफैंभित्र उठेको । यसको तत्कालिन मौलिक जवाफ छैन मसँग । तरपनि एभासँगको सामीप्यता मन परिरहेको छ मलाई ।

“फर्सीका मुन्टाजस्तै हुनु नि अङ्गहरु ! चटक्क टिप्यो फेरी पलाउने !”

एभालाई देख्यो कि यही स्वैरकल्पना घुम्छ मेरो मस्तिष्कमा । कहिलेकाहीं सपनीमा सन्तेलाई बोकेर आजाद उडेजस्तो !

“के संझनु त्यस अभागीलाई ? हप्ताभरीको बसाईमा कति राम्रा सपनीहरु उसकै कर्कश आवाजले बिथोलिएका थिए ।” एभासँग नजिकिँदा सन्तेलाई बिर्सन खोजे एकैछिन ।

“चार बजे भिक्टोरियन कयाफे है, लास्ट समर हामी सबको ।” क्लास शुरु हुन नपाउँदै ग्याम्जे

‘मेसेज’ बाँड्दै हाम्रो सिटसम्म आईपुगी सकेकी थिई ।

“भिक्टोरियन क्याफे, नो…… म आउन्न ।” उसको प्रस्ताब मैले सिधै नकारे ।

“मेरो पनि ‘मेजो चान्स’ मा एपोईन्टमेन्ट छ ।” एभाले पनि ईन्कार गरी ।

तीन बजे क्लास सकियो । हामी लाग्यौ आ–आफ्नै बाटो ।

………………………………..

“ईट वाज अमेजिङ्ग ………!” बेलुकी आठ नबज्दै ग्याम्जेले ट्वीट गर्न भ्याई सकिछ ।

“होप… लास्ट टाईमको जस्तो पक्कै भएन होला ।” मैले लेखिदिएँ ।

रीस त मलाई दिउँसो नै उठेको । भिक्टोरियन क्याफे नरोजेकी भए के थाहा म पनि जान्थे कि ? फेरी जसलाई निषेध छ उसैलाई चहार्नु पर्ने भएभरका क्याफे ! यो सालको ‘न्यू ईयर ईभ’मा कत्रो सास्ती पाएकी थिई । टर्की मूलको उसको बाबु तीस बर्षदेखि फ्रान्स बसे पनि कस्तो कट्टर ईस्लाम रहेछ । आईपुग्यो टुप्लुक्क ! उसैले देखि पहिले । चुस्की लाउन ठीक्क पारेको वाईन ग्लास भुँईतिर बजारेर कुदी । आधाघण्टा ट्वाईलेट रुङ्दा कस्तो बेहाल भएको मोरीको !

“थ्याङ्क्स गड, …….अन्त्यत ‘मेँजो चान्स’ले मलाई चान्स दियो ।” एभाले पनि फेसबुक ‘स्ट्याटस’ लेखि सकि छ ।

यी ट्वीटर, फेसबुक, स्काईप सब ‘टाईम किलर’ भएका छन् । मनले माने पो ! चासो लागि जान्छ । ‘मेँजो चान्स’ को कुरा के होला ? एभालाई समेत चान्स मिल्ने ! फेरी पार्सल पठाउने सूचना हिजै हो मैले पढेको । त्यही ठाउँमा उसले काम पाई । सानोतिनो काम मलाई पनि मिले सन्तेलाई राहत हुने थियो ।

फेरी उही सन्तेको अनुहार मेरो ल्यापटपको स्क्रीनभरि आयो र मलाई बिथोल्यो ।
“कङ्ग्रयाचुलेशन……! म ‘मँेजो चान्स’ को अफिस नजिकै बस्छु । म तिमीलाई तिम्रै अफिसमा आएर अर्को एकपटक बधाईदिनेछु ।” बधाई दिने बहानामा एभाको ‘स्ट्याटस’ को कमेन्ट बक्समा आफ्नो कुरा लेखिदिएँ ।

“सन्ते, भोली कसले देखेको छ र…… ?” मैले लामो श्वास ताने । मेरो अन्र्तध्वनिको अनुगुञ्जन सन्तेसम्म पुर्याउँन चाहन्थे शायद म ।

सन्तेको जीन्दगी बदल्न पाए के चाहियो मलाई ? श्वास मैले जस्तै गरी फेर्छ । अक्सिजन तान्यो कार्वनडाईअक्साईड फाल्यो । बिचरा ! उसको घरै मुन्तिरबाट मान्छे बोकेर सयौ चारपाङ्ग्रे पनि कार्बन फाल्दै कुदिरहेकै होलान् अहिले पनि । तर को रोकियो आजसम्म उसका लागि ? बिटाका बिटा पैसा बोकेर कति व्यापारी कुदे, कति लुटेरा कुदे, कति नेता कुदे, कति भ्रष्टाचारी कुदे । सन्तेका कानमा केवल गाडीको झर्को लाग्दो हर्न मात्र बज्दो छ उहिल्यैदेखि ।

सबथोक बिना मार्क, बिना लेबलको ब्यापार भएको हो त आजभोली ? नाफा हुनुपर्ने ! आत्मियता, विद्धता, मित्रता, संवेदनाको किनबेच कसरी संभव भएको ? तर पनि यी खैरेहरु गोर्खाली ईमान्दारीताको कुरा गर्छन् प्रसङ्ग पर्दा । ग्लोवल वार्मिङ्गले सगरमाथाको हिउँ पग्लिएको नाप्न सक्ने यिनीहरुको क्षमताले घट्तै गएको आत्मियताको लेबल कहिले ठम्याउँला ?

सन्तेसँग जोडिएर कुराहरु कहाँ–कहाँ पुगे । लग आउट गरीसकेकी थिईन फेसबुक अकाउण्टको नोटिफिकेशनमा रातो बल्यो ।

“थ्याङ्स डियर ! यदि तिमीलाई ‘मेजो चान्स’ हेर्न र बुभ्न मन भए अर्को हप्ताको मंगलबार आउ ।” एभाको जवाफ थियो । ……………………………………
मंगलबार बिहान नौ नबज्दै रिसेप्सनमा पुगें ।

“मिस एभालाई भेट्न सक्छु ?” खुब उत्साहित थिएँ म ।

अफ्रिकन मूलकी काली रिसेप्सनिस्टले मलाई घुरेर हेर्दै सोधी – “तिम्रो एपोईन्मेन्ट छ ?”

“एपोईन्टमेन्ट त छैन तर तिम्रो क्लासमेट भेट्न आएकी छ भनिदेउ न ।” मैले कालीलाई बिनम्रतापुर्वक भने ।

त्यसले पर्खन आग्रह गरी ।

रिसेप्सन भब्य लाग्यो । सफा । भित्ताहरु निलो रङ्ग पोतिएका ।

– “कल्पना गर कि तिमी अपाङ्ग छौ र सबलाङ्गहरुले गर्ने अधिकांश काम तिमी जीवनभर गर्न असमर्थ छौ…….।

–“निलो अर्थात आशावादी रङ्ग !”

– “हाम्रो आम्दानीको तीन प्रतिशत एडमिनिस्ट्रेटिभ काममा खर्च हुन्छ र बाँकी सबै रकम ‘मेजो चान्स’ मा बस्नेहरुका लागि छुट्याईन्छ………।”

यस्तै–यस्तै कुराहरु लेखिएका थुप्रै बोर्डहरुका साथै फोटोहरु पनि भित्तामा झुण्डिएका थिए ।
फोटोहरु हेरेपछि एकातिर सही बाटो पैल्याएँछु भन्ने लाग्यो भने अर्कोतिर बोर्डमा लेखिएका कुराहरुले ईमान्दारीता र संवेदनशीलताको हद केले नाप्ने भन्ने शंका उत्पन्न गरायो । यी दुई भिन्न कुराबीच एकैछिन म रन्थनिएँ । कताकता डर पैदा भो । मेरो परिचयले मेरो राष्ट्रको नक्सा बोक्छ । सन्तेको दुर्भाग्य ! म कुन शब्दले बुझाउँला ? मेरा आँखाका निर्मल नानीहरुमा जीवित सन्तेको श–शरीर उपस्थिती पानी भएर बग्न खोज्यो एकैछिन ।

“हे….! आउ भित्र ।” रिसेप्सन हलमा बसिरहेकी म एभाको आवाजले झस्किदै उठे ।

हामीले संबोधनमा गाला जोडाजोड गर्यौ ।

“बधाई…..मुरी–मुरी बधाई !” भित्रै हृदयबाट बोले म ।

ऊ उस्तै थिई । हिजो जस्तो त्यस्तै । मात्र उसको जिम्मेवारी परिर्वतन भएको थियो । तर म ? किन–किन हिजो जे थिएँ त्योभन्दा भिन्न महशुस गरिहेकी थिएँ । हिजोसम्म हलुङ्गेको थालमा भातका सिताहरु टिप्थे, प्रत्येक छाक कहाँ हुनु ! कहिलेकाहीं भोकै बस्ने संझौता गर्थे । आङ्गको लुगा सधै सग्लो कहाँ हुनु ! अनि चप्पलजुत्ताको के कुरा, खालीखुट्टा गाईबस्तुसँग गोठाले लुकामारीमा खेल्थे । कसरी पत्याउँनु कहाँ त्यो उपेक्षित जीन्दगीको जर्जर पाटो कहाँ अहिलेको अर्थ बोकेको दैनिकीको उर्वर पाटो ! आखिर सबैभन्दा महत्वको के त ? प्रश्नले मनमा जाल हान्यो । त्यसकै तरङ्गलाई खेलाउँदै मेरो सबलाङ्ग शरिर एभाको पछि लाग्यो ।

हामी मुखामुख भएर बस्यौं । उसको कुर्सी र मेरो कुर्सीलाई बिचको टेबलले अलग्याएको थियो । म विश्वास गर्न सकिरहेकी थिईन । म सबलाङ्ग, ऊ खुट्टा नभएकी अपाङ्ग, उसको पद, अनि ‘मेजोँ चान्स’ कसरी एकै ठाउँ संभव भैरहेछ ?

“तिम्रो अफिस कस्तो भब्य रहेछ ।” बोले म ।

“साँच्चै हगि ! तर हेरन अर्को हप्ता म भने भियतनाम जाँदैछु ।”

उसले योजना सुनाउँदै थपि –“त्यहाँ मजस्ता थुप्रै अभागीहरुलाई सहयोग गर्नु छ ।”

“तिमी कसरी यहाँ आईपुग्यौ ?” थोरै आश्चार्य मिसिएको थियो मेरो आवाज ।

“यो संस्था नै अपाङ्ग, असाहयहरुका लागि हो त नि !” उसले मेरो आश्चार्य भङ्ग गरी ।

“योजना त मेरो पनि छ ।” अलिकति अड्किएँ अनि भने– “तिमीले जस्तो धेरैलाई त होईन तर

एउटालाई भने पक्कै सहयोग गर्ने छु ।” “को हो त्यो स्पेशल ?” साथी न हो ! ठट्यौलो पारामा सोधि उसले ।

“सन्ते ! सन्त बहादुर क्षेत्री ! तर उसलाई सबैले बधुँवा भन्छन् ।” मैले सन्तेको नाम भनेँ ।
आफ्नै देशमा आफ्नो नामको सग्लो रुप हराएर बाँचेको सन्तेको पुरा नाम यो बिरानो मुलुकमा कसैले ध्यान दिएर सुनिदिदै थियो ।

“हेरन, बिचरा बर्षौदेखि कस्तो पीडा शहेर बाँचेको छ ।” आफूले देखेको सन्तेको दैनिकी एभाका आँखामै टाँसौलाझैं गरी मैले भने –“पाँच बर्षको उमेरदेखि गोठमा पशु जस्तै बाँधेर राखेका छन् ।”
आलो घाउ चह¥याए जस्तै भो मलाई यति सुनाउँदा ।

“मान्छेलाई बाँधेर राखेको ……..! किन ?” उसका आँखा दुईगुणा ठूला भए ।

“मानसिक र शारिरीक अपाङ्ग छ त्यसैले बाँधेर राखेको । मैले भने ।

“तिमीले केही गरिनौ त उसका लागि ?” उसले सोधि ।

“मैले मात्र हैन अरु कसैले केही गरेका छैनन् उसका लागि ।” मैले भने ।

“उसका आमाबाबु छैनन् ?” एभाले अर्को प्रश्न गरी ।

“आमाबाबु दुवै छन् तर सन्तेलाई बिहान बेलुकीको खाना बाहेक अरु केही दिन सक्ने सामथ्र्य छैन उनीहरुसँग । सन्तेको उपचार गर्दा भएको सम्पत्ति सबै सकेर रित्ता भई बाँचेका छन् ।” मैले थपें ।

म सबथोक सुनाउन चाहन्थे एभालाई ता कि सन्तेको उद्धार हुन सकोस् । सन्तेलाई देखेका दिनदेखि मेरो मनमा शान्ति छैन । केही घोच्ने बस्तुले चिथोर्दो छ भित्रभित्रै । मेरी फूपुले सन्तेको घरछेउ बसाईं नसरेकी भए म सन्तेको दुर्भाग्यमा भाग लिने थिईन । मैले सन्तेको मात्र होईन सन्तेकी आमाको पनि प्रतक्ष्य दुर्दशा देखेकी छु । एउटी आमाले आफ्नै सन्तानलाई पशु सरह बाँधेर राख्दा उसको मन कति बाँचेको होला ? आमा हुनुको कर्तब्यलाई बिर्सन नसकेर ऊ पल–पल मर्दै बाँचेकी थिई जसको म आज पनि अन्दाज मात्र गर्न सक्छु ।

‘आफ्नो सन्तानलाई किन गोठमा बाँध्नु भएको त ?’ मैले सन्तेकी आमालाई सोधेकी थिएँ ।
जवाफमा उसले भनि – ‘दिनभर काम गर्न निस्कनु पर्छ । लिएर जान मिल्दैन । घरभित्र छोडे केही राख्दैन सग्लो । हामी बाबुआमा बाहेक अरु मान्छे छेउ परे राक्षसले जस्तो टोक्न झम्टिन्छ । यहाँ यो गाईबाच्छोसँग एकोहोरिएर बस्छ त्यसैले यहीं बाँधेको ।’

यस्तो सुन्दा कस्ले भन्न सक्ने ऊ बाँचेकी छ ? ऊ त सन्तेका खातिर सास फेरिरहेकी छ ।
“तिमीसँग उसको फोटो छ ?” मैले सुनाएको नपत्याउँदो सत्य तस्वीरमै भए पनि हेर्न आतुर भई एभा ।
“झझल्को छ तस्वीर छैन ।” मैले भने ।

तस्वीर नभएपनि सन्तेको जीवन्त पीडा मैभित्र बाँचेको छ । मैले पहिलो पटक उसलाई देख्दा गाईको बाछोछेउ ओछ्याएको गुन्द्रीमा लमतन्न परेर निदाएको थियो । पाखुरामा दाम्लोले बेरेर किलामा बाँधिएको थियो । पातलो मैलो कम्बलले जीउ ढाकिएको भएपनि अनुहार भने राम्ररी देखिन्थ्यो । फुस्रो र मैलो देखिएको उसको अनुहारमा उसकै काला लामा नङले चिथोरेर खत मज्जाले देखिन्थे । कपाल फोहोर बेरिएर लट्टा परेको थियो । छेवैमा स्टीलको एउटा थाल र लोटा लडिरहेका थिए । गरीब हुनुको अर्थ राम्ररी बुझेकी भएपनि अपाङ्ग हुनुको पीडा यो हदसम्म मैले कहिल्यै देखेकी थिईन । जे मैले देखें त्यो मानविय मूल्य विपरीत थियो ।

त्यो निरीह गरिबीको मूल्य ईमान्दार भएर चुकाउँदै थियो । मानव र पशुबिचको दोहोरो संसार शब्दमा ब्यक्त गर्न नसके पनि उसका आँखाहरुले उद्धारको याचना गरेको प्रष्ट देखिन्थ्यो । दोस्रोदिन मैले चकलेटको प्याकेट लगेर दिएँ । डर थियो मलाई उसको राक्षसी स्वभावको । तर त्यसले चकलेटको प्याकेट स्वीकार्यो । ओल्टाई पल्टाई गर्यो । उसकी आमाले एउटा खोलेर खान दिई । चकलेटको गुलियोपनले त्यो खुब रमायो । त्यसले हातखुट्टा नचायो । चिच्यायो । बाँधेको दाम्लो चुँडाउँलाझैं गरी किनैबेर वर र पर गर्यो । यो सब छेउमै बसेकी सन्तेकी आमाले आँशुका धारा बगाउँदै हेरिरही ।

शहनशिलताको अन्त्य नदेखेर सन्तेकी आमालाई मैले सोधें – ‘यस्तो सबै भोगेर पनि जिन्दगी चलाईरहनु भएको छ हगि !’ उसले भनि – ‘दिनभर त हाँस्छु पनि । खेतका गरा, काँल्लामा बस्तुभाउ चरेको हेर्छु , छेउछाउमा चराचुरुङ्गीको चिरबिराहटले के–के भनेर जान्छ । माथितिरको आकाश पनि राम्रो लाग्छ । यिनै कुराले पो डोर्याईरहेको होला प्राण धान्न ।’

उसको कुराको अनुगुञ्जन कानैमा ताजै छ अहिलेसम्म । यस्तै कुराले डोर्याएर होला म पनि यहाँसम्म सन्तेको पीडा सुनाउन आईपुगेकी छु ।

“तिमीलाई लाग्दैन उसको उपचार गर्न सकिन्छ ?” मेरो कुराहरु सुनेपछि समाधानतर्फ लागेकी हुनु पर्छ एभा ।

मैले यस्तै मौकाको पर्खाईमा थिएँ जहाँ कसैले सन्तेलाई डोर्याउन सक्ने नयाँ बाटोका बारे बोलिदियोस् । यो मौका मलाई पहिले मिलेन । घरतिरकाले त भने– ‘यस्ता कयौ सन्तेहरु छन् कतिलाई हेरी साध्ये ?’ त्यो बेला निरीह लाग्यो आफ्नै उदेश्य । तर मेरो लामो प्रयासपछि आज हाम्रो बिचमा सन्ते आईपुगेको थियो ।

“खर्च जुटाउन सके उपचार पक्कै गर्न सकिन्छ ।” मैले भने ।

अपाङ्गलाई सबलाङ्ग बनाउन सक्ने को भगवान् हो र ? तर सन्तेलाई मानवीय जीवन दिएर कमसेकम मानवीयताको न्यूनतम ईज्जत राख्न चाहन्थ्यौं हामी । सन्तेका लागि यो भन्दा ठूलो उपचार के हुनु ?

हामी दुई साथी ‘मेँजो चान्स’ भित्र सन्तेलाई ‘चान्स’ दिन निकैबेर घोत्लियौं ।

“म यहाँ अफिसमा अनुकुल मिलाएर यो कुरा राख्ने छु ।” केहीबेर अडिएर एभाले टेबलको कलम टोक्दै बोली– “मेरो पहिलो तलब उसैलाई दिन्छु के त्यो मान्छेलाई तत्काल घरभित्र राख्ने कुनै उपाय छ ?”

उसको कुराले म अवाक् भएँ । उसको परिश्रम कसरी स्वीकार्नु ? ऊ आफैं अपाङ्ग थिई । म त केवल ‘मेजोँ चान्स’ को सहयोग जुटाउने ध्याउन्नमा एभालाई माध्यम बनाउन चाहन्थे ।

“म तिमीलाई त्यति दुःख दिन चाहन्न मिलेसम्म ‘मेजोँ चान्स’ भित्र सन्तेको कुरा पुर्याईदेउ त्यो नै उसका लागि ठूलो हुनेछ ।” एभाको आग्रह स्वीकार्न नसक्दा एक पाईला पछि सर्न बाध्य भएँ ।
“काम गरे तलब बाह्रै महिना आईजान्छ तर तिम्रो सन्तेको जीवन बाह्रै महिना चल्ला भन्ने के ठेगान ?” उसले टेबलमा राखेको ग्लोवलाई एक फन्को घुमाई र भनि – “यो महिनाको अन्तिम दिन सन्तेलाई मैले दिने रकमको चेक तिम्रो हातमा दिनेछु । एभाको निर्णय सुन्दा मानवतालाई उकास्न मानवताकै धरौटी राखे जस्तो लाग्यो । आफू बाँधिए पनि सन्ते फुकुवा भएको खुशी बोकेर कुर्सीबाट म उठें । टेबुलको ग्लोब भने मन्द गतिमा अझै घुमिरहेको थियो ।

(स्रोत : Paniphoto.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.