पैह्राले घर भत्कियो र पुरिए सारा कुरा तत्क्षणै
हेर्दै ध्वस्त बने अनेक टहरा भाँडाकुँडा घर्घरै
बाटो बन्द भयो दगुर्न नसकी हेर्दै लडे झन् कति
साँच्चै प्राकृत आपदाबिच परी लाखौँ भयो दुर्गति ।।
सारा सोत्तर छन् यहाँ मनुजका आफन्त पर्नेहरू
कोही बोल्न नपाउँदै क्षणमहाँ प्राणान्त गर्नेहरू
बोल्दैनन् अब खै कतै मनहरू हेर्दै सबै शून्य छन्
बाँकीका मनभित्र त्रास सहसा लुक्दै अझै बस्दछन् ।।
एक्लो जीवनझैँ बचे कति जना ढिस्को बन्यो सम्पदा
बाक्लो मानव गाउँको बतनले झेल्नैपर्यो आपदा
जे भो दुर्गति भुल्न खोज्छ मनले देऊ सहारा यहाँ
उस्तै जीवन बाँच्न सक्छ तनले नेपालका काखमा ।।
देऊ पाल पुगेन ढाक्न सबमा हामी खुला बस्दछौँ
देऊ खान कतै निकै दिन भयो भोका भई भन्दछौँ
छैनन् बन्धु कतै कहाँ हृदयका पीडाहरू पोखियून्
आऊ मानवता लिएर अब ता आशाहरू देखियून् ।।
धर्तीका सँगमा बसेर अहिले केही कुरा सिक्दछौँ
लामो जीवन बाँच्न खोज्छ मनले आकाश नै हेर्दछौँ
छैनन् चिर्बिर खै कतै तरुलता पंक्षी कता छन् कता
वासन्ती क्षण खै कहाँ गगनमा लुक्दै छ देखिन्न ता ।।
सानो कोकिल छैन वृक्ष नजिकै के भो चिँचीँको ध्वनि
एक्लो ढुक्कुर बोल्छ दुःख सहँदै बाँचेँ कसोरी भनी
आफ्नो नीड बनाउने प्रकृतिमा रम्ने कुरा खोज्दछ
उस्तै जंगल खोज्न डुल्छ कहिले हाँगाहरू रोज्दछ ।।
लाग्यो जंगल डढ्न, खोज अब लौ पानी कुलेसो कतै
भाग्यो सिर्जनको नयाँ अवधि नै आत्तेस गर्दै कतै
देऊ साथ अझै सकिन्छ नवता पार्ने कुरा देशमा
मान्छेले जति गर्न सक्छ सब ती हुन्छन् सबै शेषमा ।।
(स्रोत : रचनाकार स्वयम् ले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )