कथा : धब्बा

~विद्या सापकोटा~Bidya Sapkota

‘मेरी आराधना नाच्ने छे’ सम्झदैंमा मन प्रफुल्लित हुदै थियो । अफिस त बिदा लिएको हुँ तर कैहिल्यै छिटो निस्कन सके पो । म उस्ती सुस्त त छैन तर बाहिर निस्कने मामलामा सधैं यस्तै हुन्छ । आमा भन्नुहुन्थ्यो ‘यसले छिटो भनेर जिन्दगीमा कैहिल्यै गर्न जानिनु अहिले छोरीले भन्न थालेकी छ । धन्न मेरा पति त्यसो त भन्दैनन् भन्यो तर हाँसेको भरमा बाबुछोरी कुरा मिलाइरहेका हुन्छन् ।
छोरीको स्कूलको बार्षिकोत्सव थियो । सकेसम्म घरको काम छिटो निम्ट्याएर हामी स्कूल पुग्यौं । कार्यक्रम शुरु भैसकेछ । यसैपनि पहिलोपटक हामी अविभावक बनेर कुनै समारोहमा जादैं थियौं त्यसमा पनि हाम्री छोरी जमेर नाची ।
“देख्यौ भावु बच्ची कसकी हो” आराधनाको बाबा फुरुक्क थिएँ ।
“त्यो त हो ।”
आफ्नी छोरीलाई चुम्न हामीबीच अदृश्य प्रतिस्पर्धा चल्दैं थियों ।

“वाह ! नानु वाह ।” कतै सुनेसुनेजस्तो लाग्ने स्वर मेरो कानैमा आएर बल्ड्याङ खायो ।
“नानु बधाइ छ सधैं जित्नु । आफ्नी मामूले जस्तै जिन्दगीलाई नै जित्नु ।” साखिले पल्टदैं कोही हामीतर्फ अगाडी बढ्यो ।
के भन्नु न के भन्नु अलमल्ल परें म । मेरा पतिका आँखा ‘तिमी चिन्छ्यौं’ भन्ने शैलीमा मलाई निहार्दै थिए ।
त्यसको अनुहार सम्झनै पर्ने खालको थिएन तर म कसरी बिर्सन सक्थे ।
“ए तपाई यहाँ कसरी ” यो नसोधि नहुने प्रश्न थियो मैले सोधें ।
“तिमीलाई थाहा छैन यो बोर्डिङ मेरै हो । ……। खुसी लाग्यो आराधना तिम्री छोरी हो भन्ने थाहा पाएर । साह्रै प्यारी बच्ची छ ।” अग्रसर भएर बोल्यो ऊ।
मलाई बोल्नु थिएन तर जंगली भएर भाग्ने कुरा पनि आएन ।
“उहाँ मेरो पति ।”
उसको साहित्यिक नाम घायल पछिल्ला दिनमा अनमॊलमा आएर अड्कियथ्यो पछि के के बन्यो कि मलाई थाहा थिएन ।
“उहाँ चाहिँ मिस्टर…………” औपचारिकता पुरा गर्न खोज्दैथें म ।
अदबसाथ मेरा पतिसँग हात मिलाउदैं ऊ आफैं बोल्यो “म चाहिं घायल । ”
सोचें फर्केर घायल नै भएपनि पैसा चाहिं कमाएछ ।
“आज एकदिन बिदा लिएको धेरै काम भ्याउनु छ, जाउँ न भन्या ।” एकाएक कहिल्यै नउठेको रिस उम्लेर आयो उसको हात झड्कादैं आरधनाको बाबालाई ताने मैले ।

मेरो कलेजको अन्तिम बर्ष चल्दै थियो । खूव रमाइलो गर्नुपर्ने खुला मिजासकी केटी म । त्यसमा पनि कलेज जीवनका अन्तिम क्षणहरुमा छौं भन्ने आभास हुदैंमा मन चंचल भएर आउथ्यो । आकाक्षांमा रुझ्दै हिड्थे म । लाग्थ्यो साथीहरु बीच सबैभन्दा प्यारी मै हुँ । हुनपनि मलाई केही खास बनाइदिएको थियो भर्खरै मात्र थालेको कामले । हुन त त्यो जागिर थिएन मात्र मेरो रुची थियो । म एउटा एफ.एम.मा कार्यक्रम चलाउन थालेकी थिएँ । त्यो थोरै साहित्यिक र सन्देशमूलक कार्यक्रम थियो । मेरो भाग्य मान्नुपर्छ कार्यक्रम छिटै चर्चित भयो । धमाधम श्रोताहरुको चिठी इमेल आउन लागें । बिस्तारै धेरैजना मेरा श्रोताप्रशंसक बनेर उदाए । कोही हराए केही नयाँ आए तर एकजना सज्जनका प्रेमले भरिएका पत्रहरु र दुइचार रचनाहरु मेरा लागि आइरहें/आइ नै रहें । ती साहित्यप्रेमी थिए भावुक थिए पत्रको पुछारमा लेखिएको हुन्थ्यो ‘उही घायल’ ।

मेरो कक्षा चलिरहेको थियो, कसैले खबर दियो कलेज गेटमा कोही मलाइ पर्खेर बसेकॊ छ । थोरै लजाउदै धेरै गम्कदै एकजना केटो उभिइरहेको रहेछ आफ्नै उमेरको । अचम्म लाग्यो पहिले कहिँ कतै नदेखेको मान्छे मलाई भेट्न आएको रे । तल्काल थाहा भयो ऊ उही रहेछ मेरो प्यारो श्रोता ‘घायल’। हामीले एकसाथ चिया पियौं । केही गन्थन गर्यौं । म सानैदेखी बाबाको जागिरको पछि लाग्दैलाग्दै हुर्किएँ गाउँको बारेमा खास जानकारी थिएन । उसले सकेसम्म सुनायो बुझायो । सधैं अरुको प्रशंसक बनेर घुम्ने मलाई आफ्नो प्रशंसकको रुपमा उसलाई भेटेर खुसी लाग्यो । जादाँजादैं उसले भन्न भ्यायो “तिम्रो स्वरका जादु छ तिमी बास्तव मै राम्री छौं भावना ।”

त्यसपछिका दिनहरुमा ऊ अरु जोशका साथ लेख्न थाल्यो । उसका रचना राम्रा हुन्थे तर बढी नैं निराशावादी । ऊ दुःखी थियो मलाई पनि दुख छ परिस्थितिबश उसले उच्च शिक्षा लिन पाएन । बाबा भन्नुहन्थ्यो ‘दुःख/पीडा कहाँ कसलाई हुदैन र मात्र जीवनलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।’ मैले त्यही सिकें त्यही भने उसलाई पनि अरुलाई पनि । थोरै प्रभाव यसकै हुनुपर्छपछिल्ला पत्रको अन्तमा लेखिन थाल्यॊ ‘कसैका मनका मल्हमले घायल रहिरहन पाइनँ अब म अनमोल ।’

केही समयपछि मैले एफ.एम. छोडें । मलाई त्यो दुनियाँ ती मान्छेहरुसँग चासो पनि रहेन रपनि उसको चासोमा म परिरहें । उसका काम थिए-थिएनन् संयोग पर्यो-परेन म जान्दिन बेलाबखत ऊ मेरो बाटोमा आइरह्यो ।आफ्ना रुची चाहना बिवशता जगजाहेर गरिरह्यो ।पढाइरह्योगाउँठाउँका मान्छे निस्वार्थी हुन्छन् मायालु हुन्छन् । उसलाई सुनि रहँदा लाग्थ्यो सबैकुराको ज्ञाता उही नै हो ।

बिस्तारै हामी साथी जस्ता भयौं । अनेक बहानामा ऊ मेरो घर बाटो कलेज झुल्किरहन्थ्यो अनि धाराप्रवाह बॊल्न लाग्थ्यो । भन्थ्यो शहरमा प्रेमको किनबेच हुन्छ । शहरमा यो हुन्छ ऊ हुन्छ । मानौं ऊ मेरो बस्तिको बारेमा पि.एच.डी. नै गर्दैछ ।
म पनि प्रेम गर्थे/गर्छु गाउँलाई मेरो देशलाई । मलाई पनि आफ्ना गाउँ-गाउले मन पर्छन् । मेरा आफ्नाहरु पनि गाउँ मै बस्छन् समयको ताँदोमा घुम्दैघुम्दै म यहाँ आइपुगें । गाउँका आफ्नै समस्याहरु छन् त्यस्तै शहरका जटिलता र गुनासाहरु । कुनैपनि ठाँउ र मान्छेहरुको बारेमा नजरअन्दाज गर्दै मनलाग्दो तरिकाले परिभाषित गरेको र एकतर्फि दृष्टिकोणले मात्र हेरेको मलाई मन पर्दैनथ्यो, पर्दैन । फेरी जहाँ बस्यो त्यहीको बदख्याइ गर्नु किन ?
तर उसले बुझे पो ? म सुन्थे, सुन्नु मेरो बाध्यता बन्यो । आफ्नो श्रोता/गाँउले साथी म गुमाउन चाहन्नथे । अझ भनुँ म लगाउन चाहन्नथे ‘स्वार्थीपनको टीका’ ।

पढाइ पनि सकिदै गयो । ‘तेइस बर्षे उमेरलाई बेला नभएको भनिन्न नानी, अव बिहे गर्नुपर्छ’ आमा गनगन गरिरहनुहुन्थ्यो । त्यस्तैमा अर्को विपत्ति आइलाग्यो ।
“मनैदेखि चाहेमा जे पनि सम्भव छ” मैले बोलेको यही वाक्य यति भारी पर्ला अझ यसकै आडमा कसैले मलाई नै चाहला भन्ने त मैले रत्तिभर सोचेकै थिइनँ तर त्यही नै भयो ।
ऊ सुनाउन थाल्यो ” भावना ! म तिम्रो दिवाना भैसके । ”
“म तिमीलाई अति प्रेम गर्छु । ”
“यो शहरमा मेरो घर हुँदो हो त ……………”
“………………………………।”
प्रेम हुनु र नहुनुलाई पनि उसले गाँउ र शहरसँगै जोडेर हेर्यो । मैले उसलाई साथी जरुर मानें | यो बाहेकका कुनैपनि सत्य मैले महशुस गरेकै थिइनँ | गर्ने सम्भावना पनि शून्य बराबर नै थियो । ऊ मेरो रोजाइ थिएन । मेरो सोचाइको छायाँछवी न उसको शरीरमा थियो न अरु केहीमा ।

जीवन चलचित्र जस्तै हो भन्दैमा तीन घण्टामा सकिनेवालामा त थिएन । भन्नु र गर्नु/ हुनु र देखिनु फरक कुरा हो । म सम्झाउन खोज्थें मेरो दुर्भाग्य उसलाई त्यही प्रेम नजर आउथ्यो । जे बोल्थे नारीसुलभ लज्जा भन्ने लाग्थ्यो । ऊ मेरो अघिपछि घुमिरह्योघुमि नै रह्यो ।
“भावना ! मैले जत्ति खुसी तिम्लाई कसैले दिन सक्दैन । ”
“भावना ! तिमी शहरकी पढेलेखेकी मान्छे हैं सोचेर भन । ”
“भावना ! तिमी मै मेरो ज्यान अल्झेको छ तर तिम्रो खुसी देख्न म बाँच्नेछु । ”
” ……………………………………॥ “

जसरी कसैलाई प्रेम गर्न सजिलो छैन त्यसैगरी घृणा गर्न पनि । कसैलाई नालायकीको पगरी गुथाउने हक मलाई थिएन फेरी सहनुभूतिको पैरोमा आफैंलाई पुर्न पनि त सक्दिनथेंं । नजानिदो पाराले संकटको भुमरीमा फस्दै थिएँ म । बोझिलो लाग्न थाल्यो समय । अरे बाबा कसलाई के भन्ने उसलाई त सम्झाउनु नै बेकार थियो हरेक कुराको गलत मतलव निकाल्छ । अन्यौल नै अन्योलको अबस्थामा म सरिताकोमा पुगें । ऊ मेरो सबैभन्दा मिल्ने साथी थिई | त्यहाँ पुगेर त झन् मेरा हातखुट्टा लुला भएँ । ऊ आफैंलाई हराएर बसेकी थिई । लागुपदार्थको पूर्व दुर्व्यसनी उसको लोग्नेको रगतमा एच.आइ.भि. देखियो रे ।
दिक्क लाग्यो मन भरिएर आयो । ‘सब ठिक हुन्छ पीर नगर’ सान्त्वनाका फोस्रा शब्द ओकलेर फर्किएँ ।

“भावना ! के भयो तिम्लाई ” के के न भएछ जसरी चिच्याउने अरु कोही नभएर अनमोल नै थियो ।
मेरो हातको झोला खोस्दै फेरी बोल्यो ऊ “हिडं म केहीपर छोडिदिन्छु ।”
हतास अवस्थामा आत्मिय साथले आभारी भएँ म ।
“ए ! के भयो भनन ।”
ढाँट्ने कुरै के थियो रत्यसमा पनि साथीसँग बताउन खोजें कुरा नसिद्धिदैं ऊ बोल्यो ।
” भावना ! तिम्रा साथीहरु कति धेरै छन् हैं ” गदगद हुदैं सोचेंमेरो दुःखको कत्रो फिक्री छ यसलाई त्यसैले कुरा मोड्दैछ ।
“अँ किन र ” कुरा नबुझे झैं गरें ।
“तिम्रा पनि धेरै केटा साथी छन् कतै ……। तर केही छैंन ।” त्यो उसैको आवाज थियो ।
“तिमी रिसायौं मैले त ठट्टा गरेको ।”
निमेषभर मैं मेरो आस्थाको पर्खाल गल्र्यामगुर्लुम ढल्यो । कम्पन छुटेर आयो । साहाराको नाममा उसले छोएको आफ्नै हात सिकसिक लागेर आयो । सरिताको पतिमा देखिएको भाइरसभन्दा कयौं गुणा हानिकारक भाइरसहरु उसको मनस्थितिमा सलबलाइरहेको पाएँ मैले । त्यो भन्दा ठूलो अपमान अविश्वास र तिरस्कारपूर्ण शब्द अरु के नै हुनसक्थ्यो

त्यसपछि मेरो वास्ताको विषय ऊ कहिल्यै बनेन । मेरो बेवास्तालाई उसले उही पुरानो विभेद गाउँ-शहरत्यागी-स्वार्थी सँगै जोडेर बुझ्यो । मेरो स्वाभिमानप्रतिको त्यो आघातसदासयताप्रतिको त्यत्रो अपमानलाई हल्काफुल्का ठट्टा हो भनेर म कसरी भुल्न सक्थें, सुनेको थिएँ प्रेम आदर्श हुनुपर्छ अन्धो हैन । मेरो त प्रेम नै थिएनउसको आत्मविश्वासलाई भर्खरै छाम्न मात्र खोजेथें । बस् जीवनमै पहिलोचोटी विश्वासमा ठेस लाग्योसकियो ।

आफ्नो कुरा सकेर मैले पतिको मुखमा हेरें ।
“मान्छेको मनस्थिति मै ऐंजेरु फुलेपछि कसको के लाग्छ र” प्रेमका आभाहरु उनको अनुहारभरी छताछुल्ल थिएँ ।
छोरी निदाइसकेकी थिई ।
“राजा …………” अतीतको त्यो धब्बा मेरी छोरीको प्रतिबिम्बमा सर्न लागेको आभासले ककि्रदैं पुनः घोप्टिएँ म उनको छातीमा ।
“अरे छोड न हाम्रो प्रेमलाई अझ मजबुत पार्न भगवान्ले निमित्त पठाएका हुन् क्या त्यसलाई ।” आफ्नो अंगालोलाई अझैं कसिलो पार्दै उनी बोले ।
भोलिपल्ट विहानै हामी आफ्नी बच्चीको लागि अर्को स्कूलको खोजीमा निस्कियौं ।

हालः शंकरदेव कलेज काठमाण्डौं
nirjala0008@gmail.com

(स्रोत : KhassKhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.