कथा : रङ्ग-आर्शिवाद रगतको

~विद्या सापकोटा~Bidya Sapkota

धानका बालाहरु लहलह झुल्न लागेका थिए । पहेंला फाँट, सुगन्धि मौसम मन त्यसै रमाउथ्यो । चाडबाडको माहौल, घरघरमा रौनक बेग्लै थियो । पल्लो कमेरेडाडाँमा र वल्लो रातोमाटेमा उत्तिकै चहलपहल देखिन्थ्यो । आ-आफ्ना घर-करेसा लिपपोत र सरसफाइमा होडबाजी नै चल्न लागेको थियो । पधेँरा-कुवामा शहर गएका, विदेशिएका को-को आफन्तहरु गाउँ भित्रिए हिसाबकिताब चलिरहेको हुन्थ्यो । बच्चाहरुको भिन्न झुण्ड नयाँ कपडा लगाएर कसको बाबाले के ल्याए भन्दै घरघर चाहर्न थालेका थिए । माथि पिपलडाँडामा युवाको अर्को मण्डली पिङ हाल्ने लठारो बाट्नको लागि झुत्तिन लागेका थिएँ । नहोस् पनि किन जो बडादशैं आइसकेको थियो ।

ऊ एउटै थियो, यी सबबाट बेखबर । बस्तीको छेउ भएर बग्ने सामरी खोलो झण्डै-झण्डै सङ्लो देखिए पनि बर्खे भेलले बगाएका बलौटे फाँटहरु एकतमासको सान्नटा बोकेर फैलिरहेकै हुन्थ्यो । लमतन्न बगरको झण्डै बीचमा तेर्सिएको ठूलो ढुङ्गामा अडिएर घोरिइरहन्थ्यो ऊ अर्थात् भानुवीर। पश्चिमको चीसो सिरेटोले हान्दा बिगतले झन्झन् झस्काउथ्यो तर पनि त्यो बगर, त्यो खोला अनि आफू अडिइरहेको बढेमाको ढुङ्गासँग खुब प्यार थियो, अनौठो लगाव ।

बूढी विछ्यौनामा पल्टेर सुकसुकाउन थालेपछी केही थाहा नपाए झैं बत्तिन्थ्यो ऊ खोलाको तीरैतीर अनि भलाकुसारीमा घण्टौं-घण्टा ब्यस्त हुन्थ्यो त्यही निर्जिव ढुङ्गोसँग । उसलाई छुट्टै शान्ति मिल्थ्यो त्यहाँ बसेर चिहाउँदा, त्यो भेलले निलिरहने बगर र आफ्नो अवस्था उस्तै लाग्थ्यो ‘उजाड तर शान्त’ । आँखा घुम्थे फनफनी, हराएकी छोरीको झिनो प्रतिक्षामा ।

उसकी पनि एउटी छोरी थिई, नवमी कै दिन जन्मेकी ‘भवानी’ । “बा! बा! हाम्रोमा नी खसी काट्ने अनि नयाँ लुगा लगाउने ।” झुम्कैझुम्का भएको रातो घाँगर लगाएर ऊ गाँउको फन्को लगाउँथी । त्यही छोरीको खुसीमा चुर्लुम्म डुबिदिन्थे उनीहरु । कति मीठो र सम्मोही थियो, त्यो पल त्यो सन्तुष्टि ।

समय चलायमान छ; भोगाइहरु एउटै रहदैनन् । हेर्दाहेर्दै भवानी ठूली भई, उसका सपना ठूला भए । उसको गाँउमा हुने एस.एल.सी. सम्मको पढाई सकियो । त्यस्तै अर्को दशैमा टीकाको साईत पारेर, निधारभरी रातो अक्षता र शिरमा पहेंला जमरा सिउरेर बाबुको नाम राख्ने, ठूलो नाम कमाउने आशिर्वाद शिरोधार्य गरेर निस्किई ऊ, सपनाको खोजीमा । सम्झदैंमा आँखा रसाएर आए, भित्र कता-कता बेजोडले दुख्यो । ठीक त्यसैगरी मन भारी भएर आयो जसरी भवानीलाई पूलपारीसम्म पुर्याउन आउँदा ती तीन मनहरु भक्कानिएका थिए ।

समय एउटै रहेन, देशमा द्वन्द्व बढ्यो । ज्याजती, हत्या र अपहरणका विश्रिङ्खल खबरहरु जोडतोडले बज्न लागे । दिन बिते, हप्ता महिना र बर्ष हुदै बर्षैबर्ष बिते । सपनाको महल सिगार्न, बाबुको नाम राख्न गएकी ऊ कहिल्यै फर्किन । ‘एकदिन जरुर आउछे’ आशाको त्यन्द्रोसँगै ती जोइपोई बूढा हुदै गए भक्कानिदै सम्हालिदै रहें । त्यो खोला त्यसरी नै बगिरह्यो । हरेक बर्खे भेलले त्यो फाँटलाई निलिरह्यो ।बिशेष चाडपर्वको बेला ती जोइपोइ बौलाउन खोज्थें । पीडाले असह्य हुदाँ आमाचाहिं ‘तिम्लाई कत्ति न ठूली बनाउन परेथ्यो मेरो काख उजाड्यौ’ भन्दै उफ्रिन्थिन् बाबुचाहिं तपतप आशु बगाएर धुमधुम्ती बसिरहन्थे केहिबेर मै निरुपाय बनेर गुट्मुटिदै रुन्थे धित मरुन्जेल । हुदाँहुदै घरमा एककिसिमको सान्नटा छाइसकेको थियो । काम नपरिकन दुईजना एक अर्कासँग बोल्न छाडेका थिए, अथक वेदनाले एक अर्काको आँखामा हेर्ने शक्ति जुटाउनै मुस्किल पर्थ्यो ।

कसैलाई दुःख छ भनेर समयको गति नरोकिने रहेछ । बाँच्नुपर्ने बाध्यतामा गालिएर पनि चल्दोरहेछ जीवन । जसोतसो ती बाँचेकै थिए । छोरीको याद मलिन हुदै थियो, देशमा शान्तिको आशा राख्न सकिने वातावरण बन्न लागेको थियो । बिस्तारै गाउँठाउँमा देशी-विदेशी संस्थाहरुले आफ्नो अग्रसरता पनि बढाउन लागें । यसै मेसोमा एउटा प्रोजेक्ट त्यो गाउँमा पनि भित्रियो । गाउँमा ती एक्लै भएकाले संस्थाकी संचालिकाको बस्ने प्रबन्ध भानुवीरकहाँ सुलभ हुन्छ भन्ने गाउँलेहरुले निचोड निकालें । बूढी एककिसिमले टुटिसकेकी थिइन् त्यसैले इन्कार गर्न खोजेकी हुन् तर त्यस केटीको अनुहारमा के देखे कुन्नि, बूढाबूढीले मुखामुख गर्दै फिस्स हाँसेर सहमतिको मुण्टो हल्लाए ।

त्यो त्यै घरमा बस्ने भई । हरकुरालाई पैसासँग जोडेर हेर्ने बडो जंगली पाराकी थिई त्यो । सधैं उसको हातमा एउटा किताब रहन्थ्यो । बूढाबूढीको मन मान्दैनथ्यो त्यसैले के कसो छ बेलाबखत सोधखोज गर्थे । ऊ भने “मसँग सबथोक छ, महिना-महिनामा तपाईले भाडा पनि पाउनुहुन्छ अहिले जानोस्” भन्दै उनीहरुको घायल मुटु जोडले दुखाइदिन्थी तथापि बूढीलाई किनकिन त्यसको खूब माया लाग्थ्यो ।

एकबिहान घाम लागिसक्दा पनि ऊ उठिन । के भएछ हेर्न जानुपर्यो । बूढी डराउदैं छेउमा बसीं । उसलाई हनहनी ज्वरो आएको थियो । दिनभर कामको दौडघूप, नयाँ ठाउँ, खानपान र पानी फेरिदा सायद उसको कमजोर शरीरले सहेन, ऊ थला परी । बूढाबूढीले खूब मन लगाएर उसको उपचार गरें । विस्तारै ऊ तङ्रिदै गई । यो बिरामीले उसैलाई बदलिदियो । अनाथालयमा हुर्के बढेकी उसले बाबुआमाको माया के हो बल्ल थाहा पाउन लागेकी थिई । बिरामीबाट उठेपछी बूढाबूढीसँगै बस्न लागी ऊ ।

उनीहरु उसको खूब ख्याल राख्थे । “हजुरहरुलाई सारै दुःख दिए हैं” सजल नेत्रमा कृतज्ञता जाहेर गर्थी ऊ । “सन्तानले बाबुआमालाई कहिल्यै दुःख दिन्नन् बा ।” बूढी ममताको नदी बगाइदिन्थी ।
लगातार दुइ बर्षसम्म त्यही बसी ऊ । उनीहरुकै सन्तान जसरी नै बसी । बूढाबूढीले बिस्तारै भवानीलाई बिर्सदै गए, उसैमा आफ्नी छोरी खोज्न लागें । ऊ बूढाबूढीलाई बा-आमा भनेर बोलाउँथी । पुरानो घाउँमा खाटो बस्दै गयो । उनीहरु फेरि रमाउँन सिके । ऊ नै भवानी हो, आफ्ना कोही हराएकै छैनन् भन्ने सोच्न थाले । समय गइरह्यो ।

उसको प्रोजेक्टको अन्तिम बर्ष चल्दैथियो, कामको मारामार पनि । भ्याइ-नभ्याइको दौडधूपमा पनि उसको अनुहार प्रफुल्ल देखिन्थ्यो । बूढा उसको चटारो बुझ्थे । कहिलेकाहि त झनक्क रिस उठेर आउथ्यो । यो गएपछी, बूढीको हालत के होला, सम्झेरै कहालिन्थे मन अमिलो बनाउदै कुना फर्कन्थे ।

एकसाँझ बूढाले सबै बेलिबिस्तार लगाउदैं आफ्नी सन्तान बनेर बस्न आग्रह गरें सगैं भन्न पनि भ्याएँ “म कर लगाउदिन, आगे तिम्रो मर्जी ।” ऊ केही बोलिन कामको चटारो छदैंथियो । प्रोजेक्टको अवधि सकियो सबै फर्किए, उसको त जाने खास ठाउँ पनि थिएन त्यसमा पनि बूढाबूढी प्रति खास कृतज्ञ थिई ऊ । उसले निर्णय सुनाइ “बा ! म तपाईहरुसँगै बस्छु ।”

ऊ बसी । आमाछोरीको खूब कुरा मिल्थ्यो । अरुका छोराछोरी जस्तै ऊ पनि माया गर्थी आमा-बालाई, उनीहरुको सुख-दुःखमा सामेल हुन्थी, अर्मपर्ममा चासो राख्थी । बूढाबूढीले आफ्नी बास्तविक छोरीको अनुहार भूल्न लागिसकेका थिए । तर उसको अनुहार बादलले ढाकिन थाल्यो । केही डराए झैं, कतै हराए झैं, केही भुले झै बिचित्रको व्यवहार देखाउन थाली ऊ । दुब्लाएर फुकिढल हुदैं गई । बूढाबूढी छोरीको हालत देखेर भित्रभित्र भक्कानिन्थे । आफूले उसलाई यहाँ राखेर ठीक गरेनौं कि भनेर भन्दै छटपटाउथे केही भन्न भने सक्दैनथे । ऊ नै उनीहरुको सर्वस्व थिई ।

समय घुमिरहन्छ, खेतको डिलभरी अम्बाका बोटहरु झुल्न लागे । भुई काफलहरु पाक्न थालें । आइमाईहरु पछिल्ला दिनहरुमा रमाइलो गर्नपर्छ भनेर बस्तुभाउको घाँसको जोहोमा लागें । ठूलाहरु जुवातास र गफगाफमा त बच्चाहरु पिङ्गमा मग्न । फेरी त्यही मौसम, त्यही चाड-माहौंल फर्किएर आयो । घरघरमा बस्तीबस्तीमा सौहार्दता, उल्लास र उमङ्ग बोकेर दशैं फेरी आएको थियो । भानुवीरको परिवार पनि टिका लगाउँन बसे ।
“नानु ! भन के आर्शिवाद दिऊँ” आमाको नौनी हृदय पग्लियो ।
“हजुरहरु साच्चै मलाई माया गर्नुहुन्छ र आर्शिवाद दिनुहुन्छ भने मलाई यहाँबाट पठाइदिनुस् । यहाँ म रमाउँन सकिन । बिन्ती नाई नभन्नुस्, म हजुरहरुको यस मायाको लायक बन्न सकिन ।” क्वाँ-क्वाँ रुदैं ममताको आँचलभरि पोखिई ऊ ।

अर्को मिर्मिरेमा, बस्ती बिउँझिनु अगाबै तीन मनहरुबीच कोलाहलमय बिगत ओर्लिसकेको थियो । “हाम्रो मायाले तानेछ भने हामी मर्नु अगावै एकबार आएस् हैं…………” बोल्दाबोल्दै बन्द भए ओठहरु । पहेंलो जमरा, रातो अक्षता केहीबेर मै छाया पर्यो । सगुनको दहीको बोगतो रित्तिदा-नरित्तिदै बल्झियो उही रिक्तता…उही सन्नाटा…उही सुसाहट ।

(स्रोत : Madhumas )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.