नियात्रा : धम्पुस यात्रा र लालीगुराँस जस्तै चोखा मनहरू

~तुलसी प्रवास~Tulasi Prawas

धेरैले भनेका छन् – जीवन एउटा यात्रा हो । जीवनका हरेक क्रियाकलापहरू यात्रामा निस्कँदा भेटिने संयोग मात्र हुन् । मानिसको जीवनमा कतिबेला कुन अवस्था आउँछ, केही थाहा हुँदैन ।
जीवनरूपी यात्रामा यात्रा गर्दा झनै आनन्द आउँदो रहेछ । सैनिक आवासीय महाविद्यालय, पोखरामा पाँच वर्षको यस बसाइमा धैरै यात्राहरु भए । महाविद्यालयको वार्षिक क्यालेण्डरमा उल्लेख भए अनुसार पोखरा वरिपरीका डाँडापाखाहरू खुब चाहारियो । अन्यत्रै भए त कहिलेकाहिँ दिक्क पनि लाग्दो हो तर पोखरा वरिपरिका डाँडापाखा जहाँ गए पनि सुनैलो अवसर झैँ लाग्छन् । यस वर्ष पनि नेपालकै सुन्दर पर्यटकीय गाउँ धम्पुस जाने अवसर मिल्यो १०० जना विद्यार्थी १० जना शिक्षक र अन्य सैनिक तथा गैरसैनिक कर्मचारीहरूको साथमा ।

धेरै भएछ पैदल नहिँडेको । हाम्रो यात्रा हेमजाबाट पैदलै शुरु भयो । उकालो बाटो, जंगलको बीचबाट हाम्रो यात्रा अगाडि बढ्यो । मोटरबाटो खनिएको भएपनि हामी कहिले पुरानो गोरेटो त कहिले मोटर बाटो हुँदै अगाडि बढिरह्यौँ । जंगल पार गरिसकेपछि एउटा रमाइलो गाउँमा पुगियो । त्यस गाउँलाई अस्ताम भन्दा रहेछन् । जता हेरे पनि सुन्दर दृश्य, त्यसमाथि हाम्रा उत्साहित विद्यार्थीहरूको गीत बाटोमा गुञ्जदै गयो । कहिले पेटका आन्द्रै छिनाल्ने खालका चुट्किला, कहिले मनै रमाउने गीतहरू त्यस सुरम्य प्राकृतिक छटाहरूमा बडो मेल खान्थे । हामी अगाडि बढ्दै गयौं । धम्पुस गएर मात्र बिसाउने उद्देश्यले हिँडेका हामी जाडो मौसममा पनि पसिनै पसिना भयौं ।

उत्तरमा सेताम्य हिमाल, दक्षिणमा कास्की नौडाँडा, लुम्ले लगायत पर–परसम्म देखिने सुन्दर पहाडी श्रृंखलाले हाम्रो यात्रामा थकान महसुस भएको थिएन । डाँडामा पुग्दा महाविद्यालयका सम्पर्क अधिकृत सेनानी जितेन्द्र गुरुङ र सुबेदार बिनोद खत्रीले पसिनै पसिना हुँदै हामीलाई भेट्नुभयो । उहाँहरूसँगको हिडाइ हामीलाई कठिनै भयो । एउटा बहाना बनाएर म त पछाडि लत्रिहालेँ । विचरा ! राजु सर भने जितेन्द्र सरलाई साथ दिन्छु भन्दै सकी नसकी उहाँलाई भेट्टाउने प्रयास गरिरहनुभयो । धम्पुस पुगेपछि उहाँले व्यक्त गरेको पीडा बडो हाँसोलाग्दो थियो । जितेन्द्र सरको हिँडाइलाई हामी सबैले मनमनै प्रशंसा गरिरह्यौंँ । आखिर सैनिक तालिम गरेको मान्छेसँग हामीले के सकिन्थ्यो र ?

जे होस्, यात्रा रमाइलो भयो । दिनको ३ः३० बजेतिर धम्पुस पृथ्वीनारायण मा.वि.को प्राङ्गणमा पुग्यौँ । विद्यालयमा पढाइ भइरहेपनि सबैजना हाम्रो जम्बो यात्राटोलीलाई अनौठो मानेर हेरिरहेका थिए । १०० जना विद्यार्थीहरूको एउटै पोशाक, अनुशासित, शिष्ट र भद्र व्यवहारबाट साँच्चै बाटोमा पनि सबैले अनौठो मानेको आभाष पाइन्थ्यो । हुन पनि आजभोलिको यो छाडा वातावरणमा हाम्रा विद्यार्थीहरूमा पाइने यो विशिष्ट गुण नै
थियो ।

विद्यालयको प्राङ्गणमा खाना तयार हुँदै थियो । विद्यार्थीहरू बसेर थकाइ मार्दै थिए । साथीहरू पनि सबै आ–आफ्नै तरिकाले रमाइलो गर्दै थियौँ । मलाई भने अरुभन्दा पनि राती सुत्ने अवस्थाको चिन्ता लाग्न थाल्यो । हेडमास्टरसँग सबै कोठाहरू हेर्ने निहुँले जितेन्द्र सरलाई लिएर त्यस विद्यालयका हेडमास्टरको साथमा कोठाहरू अवलोकन गर्न लाग्यौं । विदेशीहरूको सहयोगमा निर्मित विद्यालयका कक्षाकोठाहरू बडो आकर्षक तरिकाले सजाइएको रहेछ । त्यसरी सजाइए पनि जताततै फोहोर अनि राम्रोसँग सदुपयोग नभएको जस्तो पाइयो । सबै कोठाहरू हेरिसकेपछि सबैलाई सुत्ने बन्दोवस्त मिलाएर हेडमास्टरलाई धन्यवाद दिएर हामी आफ्नो कामतर्फ लाग्यों ।

जितेन्द्र सर भने हामीलाई सबै व्यवस्था मिलाएर रमाइलो गर्नुहोला है भन्दै पोखरा फर्कनुभयो । उहाँको अनुपस्थितिले मन खिन्न भएपनि उहाँको आफ्नो कार्यव्यस्ततालाई हामीले स्वीकार्न बाध्य भयौँ ।
साँझ पर्न लागेको थियो । हिमालका टाकुराहरूमा सुनौला घामका किरणहरू देखिन्थे । अन्यत्र जताततै अँध्यारो हुन लाग्दा पनि हिमाल भने प्रस्टै देखिन्थ्यो । साँझको खाना खाएपछि हाम्रो रमाइलो कार्यक्रम सुरु भयो । बीचमा आगो बालेर चारैतिर घेरो लगाएर विद्यार्थीहरू बसे । आ–आफ्ना प्रतिभाहरू सबैबाट प्रस्तुत हुँदै गए । धम्पुस बजारमै घर भएका हाम्रा अभिभावक एवम् पृथ्वीनारायण मा.वि.का शिक्षक सोमबहादुर गुरुङले हाम्रो साँझलाई अझै रमझमपूर्ण बनाउने तयारी गर्नुभएको रहेछ । त्यहाँको आमासमूहका आमा, दिदी, बहिनीहरुले हाम्रो स्वागत गर्ने कार्यक्रम रहेछ । काँधमा मादल भिरेर आमासमूहको टोली हामी भए ठाउँ आइपुग्यो । मैले कार्यक्रम सञ्चालनको दैलो उघारैँ एउटा मुक्तकबाट –
पारी हे¥यो माछापुच्छ«े वारी सुन्दर गाउँ रैछ,
स्वर्गलाई नि बिर्साउने धम्पुस यसको नाउँ रैछ ।
जसले जे–जे भनेपनि भन्नलाई स्वतन्त्र छ,
म त भन्छु हरेक मानिस बुद्ध बन्ने ठाउँ रैछ ।।

परर्र तालीको गड्गडाहट्सँगै नाचगानको कार्यक्रम सुरु भयो । हाम्रा विद्यार्थी भाइहरू पनि नाचगानमा रमाउन थाले । आमा समूहबाट हाम्रै स्वागतका गीतहरू गाइए…
घट्टे खोला पुल, धम्पुस आउने मायालाई सम्झना लालीगुराँस फूल धेरै बेरसम्म हामी नाचिरह्यौं । आमा समूहलाई धेरै धन्यवाद लिएर बिदा गरिसकेपछि हामी केहीबेर रमाइलो गरेर सुत्ने तरखरमा लार्यौं । मौसम जाडोकै भएपनि हामीले रमाइलोसँग रात बितायाँै । भोलिपल्ट बिहानै उठेर धम्पुस माथिका डाँडाहरुमा पुग्ने योजनाअनुरुप हामी बिहानको नास्ता खाएर उकालियौं । उकालो सिँडी, बाटोको दुवैतिर लहरै उभिएका चन्दनका रुखहरूले हामीलाई साँच्चै अनौठो उर्जा दिइरहेका थिए । अझ लालीगुराँस फुल्ने समय भएका भए त कति रमाइलो हुन्थ्यो होला । तैपनि कताकति फुल्न लागेका लालीगुराँस टिपेर हाम्रा विद्यार्थीहरू रमाउदै हिँडिरहेका थिए । कहिले गीत गाउदै, कहिले हाँस्दै हामी अष्ट्रेलियन क्याम्प पुग्यौँ । विदेशी नाम राखिए पनि त्यो सुन्दर डाँडो साँच्चै मनमोहक रहेछ । त्यहाँ पुग्दा देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्ध याद आयो । ह्ृदयको भित्री कुनाबाटै आवाज आयो– “नेपाल, सुन्दर, शान्त, विशाल….!” । हामी नेपाली भएर पनि यस्ता सुन्दर डाँडा आजसम्म पुग्न नसकेकोमा आफैलाई धिक्कार्दै केही बेर टहलिन थाल्यौँं । साँच्चै त्यहाँको सुन्दरतालाई शब्दमा व्यक्त गर्नै नसकिने लाग्यो मलाई ।

अष्ट्रेलियन क्याम्पको केही बेरको बसाइपछि हामी पुनः धम्पुस फर्कियौंँ । खाना तयार रहेछ । खाना खाएर हिँड्ने तरखरमा थियौं । त्यति नै बेला महाविद्यालयका प्रिन्सिपल खेमराज देवान पनि टुप्लुक्क आइपुग्नुभयो । पृथ्वीनारायण मा.वि.का शिक्षकहरूसँग सानो औपचारिक कार्यक्रम सम्पन्न गर्यौँ । प्रिन्सिपल सरले महाविद्यालयको तर्फबाट पृथ्वीनारायण मा.वि.लाई सानो मायाको चिनो प्रदान गर्नुभयो । उहाँहरूसँग सामूहिक तस्विर खिचिसकेपछि हामी आ–आफ्नो झोला भिरेर ओरालो झर्यौँ । पूरै यात्राभरि सन्तोष सर र म सँगै जस्तै रह्यौँ । पुष्प सर र श्याम सर भने आफ्नै सुरमा हुनुहुन्थ्यो । डोलराज सर आरुणि सर र बसन्त सरलाई भने उकालो ओरालोले छुँदो रहेनछ । जे होस् हिँडाइमा खासै कष्ट कसैलाई भएन । बेला–बेलामा भोलभद्र सरकोे ढाड दुखेको रमाइलो ओैषधि पनि चाख्दै रमाउँदै रमाउँदै ओरालो झरियो । हामीसँगै यात्रामा रहनुभएका सैनिक कर्मचारीहरू प्रेम बहादुर अधिकारी, मनराज भण्डारी लगायत गैर सैनिक कर्मचारीहरूले पनि हाम्रो यात्रा सम्पन्न गर्नमा सुमधुर भूमिका निर्वाह गर्नुभयो । मनभरि धम्पुसको स्मरण बोकेर त्यहाँको आमा समूह, पृथ्वीनारायण मा.वि. परिवार र सोमबहादुर दम्पतिलाई विशेष धन्यवाद दिदै हाम्रो यात्रा सम्पन्न भयो । अझैपनि मनैमनले भन्दै थियो–
घट्टे खोला पुल फेरि आउँला, टिपेर राख हैं लालीगुराँस फूल ……..!

(स्रोत : Hamrojourney.blogspot.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.