लेख्दिन भो म कविता नयाँ बर्षको
धेरै मसी र अक्षरहरु खन्याइसकें
सेता पन्नाहरुमा,
ती मेरा कविताहरुको अबमुल्यन भयो
पुराना बर्षहरु झैं, यो साल पनि,
तिमी आयौ, गयौ
चुपचाप चुपचाप
न पदचाप सुनें
न कुनै सर्सरहाट नै
पोहोर परार जस्तै,
न कुनै परिवर्तन
न शान्तिको श्वास
हरेक पलहरु अँध्यारोमै बिते
अविश्वासमा बिते अनि
घात र प्रतिघातमा बिते,
त्यसैले आज तिम्रो लागि
लेख्ने कविताका लागि
न म सँग कुनै शब्द छन्
न कुनै अक्षरहरु नै,
अभिलाषाहरु तोडिए
लाखौं सपनाहरु टुटे
जुन तिमी आउनु अघि देख्ने गरेको थिएँ
गुराँसै गुराँसले तिमी आउने गोरेटाहरु सजाएको थिएँ
तर तिमी त तिनै फूलहरु कुल्चिएर गयौ
न बिम्ब रहे तिम्रा, न प्रतिबिम्ब नै,
नयाँ साल तिमी त केवल
शुभ कामनाका शब्दहरुमा
खिया लागेको किलामा सीमित रह्यौ
पुराना कितावका गाता झैं
च्यातियौ चैत मसान्तहरुमा
त्यसैले त,
नहोस् पोहोरको जस्तै, यो नयाँ वर्ष
राजधानीको फोहोर जस्तै यो नयाँ वर्ष
नलेख ए कविहरु, बात दोहोरिने नयाँ वर्ष
प्रतिगामीहरुको त्यो, रात दोहोरिने नयाँ वर्ष,
हरिया बाँसका खप्टेराहरुमा नआए हुन्छ नयाँ वर्ष
पहिचानका अप्ठेराहरुमा त नछाए हुन्छ नयाँ वर्ष ।
(स्रोत : Chakrapath )