संस्मरण : आखैंमा ककनी

~तिब्वत दर्लामी~Tibbat Darlami

एकानी दुवानी मायाँ बस्यो नि
दुनियाँको आँखा छल्न जाउँ न ककनी ।

कुनै एक नेपाली फिल्मको गीत हो यो । कहिले काँही रोमान्टिक मुड आउदा गुन्गुनाउने गर्छु । राजधानी काठमाण्डौंबाट उत्तरपूर्बी इलाकातिर जम्मा तीस किलोमिटरको दूरीमा अवस्थित यो ककनी पुग्ने अवसर चै बल्ल यसपाली जुर्यो । तर यो अवसर कुनै माया पिरती बसेर होइन न कि दुनियाँको आखाँ छल्नको लागि । नेपाल युथ फाउण्डेशनले बिगतका बर्षहरुमा झैं यो बर्ष पनि आफ्ना कर्मचारीहरुका लागि रिट्रिट तथा टिम बिल्डीङ कार्यक्रमको ब्यवस्था गरेको थियो र गन्तब्य स्थल बन्यो ककनी ।

तेह्र फेब्रुअरीको गोधुलि साँझ हामी साठी जनाको एउटा डफ्फा ककनी डांडामा अवस्थित स्काउट अन्तराष्टिय तालिम सेन्टरको आँगन परिसरमा सुस्ताउन पुग्यौं । तिनपिप्लेबाट झण्डै तीन घण्टाको ठाडो पैदल यात्राबाट त्यहाँ पुग्दा सबैको अनुहारमा भोक र थकाइ त प्रष्ट झल्किन्थ्यो नै तर थकाइभित्रको मीठो आनन्द अनुभुति पनि सल्बलाइरहे झैं देखिन्थ्यो । उपत्यकाभित्रको धुलो धुवाँ र प्रदुषणले वाक्क दिक्क बनाएको तन मनलाई सुस्तरी छोएर पुनर्ताजकी बनाईरहेको थियो ककनीको चिसो हावाले ।

स्थानिय मकै भटमास र गुन्द्रुकको अचार साथमा काठमाण्डौंबाट लगेको म्याङ्गो जुसले हाम्रो भोक प्यासलाई बिश्राम दिने प्रयास गर्यौं र लगत्तै सोम पनेरु ज्युको छोटो मीठो उत्प्रेरक मन्तब्य सुन्ने अवसर पायौं । उहाँको मन्तब्य सुनिरहँदा यस्तो लाग्थ्यो कि अघिसम्मको सारा थकान र आलस्यताहरु दूरदूर भैसके र नयाँ उर्जा संचार भइरहेछ हाम्रो मनमस्तिष्कमा कुनै भाइरस स्क्यानपछिको रिफ्रेस कम्प्युटर जस्तै ।

अफिसियल कार्यतालिका अनुसार अव पालो क्याम्प फायरको थियो साथमा हल्का डिङ्कस र स्न्याक्स । वरीपरी गोलो घेरा बनाएर बसेका हामीलाई बीचमा दनदनी बलिरहेको आगोको लप्काले न्यानो बनाइ रहेको थियो नै अझ हल्का हल्का लगाईरहेका वाइनको चुस्कीले झन माहौल गरम बन्दै थियो । यो गरम माहौललाई रोमाञ्चकता थप्न सुरु भयो अन्ताक्षरी गायन । सुनिता म्याडम र सचिता म्याडम लगायत महिला टोलीको नेतृत्वलाई राजु सर, ललित जी, राजीभ जीले सवाल जवाफमा टक्कर दिईरहनुभएको थियो । अन्ताक्षेरी गीतको भावानुसार छिनमा हाँस्ने, छिनमा नाँच्ने र छिनमै भावुक हुने त भइ नै हाल्यो । तर अर्को रोमाञ्चकता के थियो भने दाङ र नेपालगञ्जबाट आउनुभएका साथीहरुले थारु सँस्कृती र भाषामा आधारित गीतहरु गाएर बातावरणलाई अझै अविस्मरणिय बनाउनुभयो । यो रमाईलो माहौल यति लम्बिएछ कि उता डिनरको लागि ढिलो भैसकेछ र एकैछिनको लागि ब्रेक गरेर हामी डिनरको लागि हतारियौं ।

ककनीमा यो पहिलो रातको डिनर । यसमा पनि ट्राउट माछा बिषेश । साथी रामबाबु राई जीले बताए अनुसार ट्राउट माछा पालन नेपालमा कास्की जिल्ला र नुवाकोटको ककनीमा मात्रै हुन्छ रे । यस्तो माछा ब्यावसाय २१ डिग्री भन्दा कम तापक्रकम हुने स्थानमा मात्रै सम्भव छ अरे । नेपालमा पाइने असला माछा भन्दा अलिक बिकसित हुदो रहेछ ट्राउट माछा । यसकोे स्वाद नौलो थियो मेरो लागि । त्यसैले यो डिनर स्पेसल रह्यो ।।

डिनर खत्तम भएपछि डान्स फ्लोर ओपन भैसकेको थियो । रातो–पँहेलो–हरियो झिलिमिलि डिस्को लाइट । हिन्दी र अँग्रेजीको रिमिक्स डानिसङ नम्बर गीतहरु । मन्सा म्याम,सुनिता म्याम र अञ्जिता म्याडमहरु कम्मर लच्काउदै अगाडी सर्नुभयो । तरुण पुस्ताका साथीहरुलाई कस्ले रोकोस ? उमेश, जीतेन्द्र, कुसुम, राजीभ, कृति, सृष्टि, पासाङ, कमला र लक्ष्मी जीहरु स्टेजमा पुग्नुभो । त्यसपछि त सबै जना झुम्मिन थाल्यौं । कोही भन्दा कोही किन कम होस ?मानौं हामी नाच्नकै लागि ककनी उक्लेका हौं । साइत भ्यालेन्टाइन डे को इभ पनि परेछ । यही रात ठमेलको डान्स तथा डिस्को थेगहरु युवा युवतीहरुले भरिभराउ हुँदो हो । एकैछिन ककनीबाट ठमेलको परिदृश्यहरु पनि कल्पिएँ । यो पँक्तिकारले पनि जानी नजानी हात खुट्टाको लय मिलाउने प्रयास गर्यो । जे होस अघि भर्खर पेटभरि खाँदेको डिनर अव सजिलै घट्नेवाला थियो ।

धेरैबेर नाच्दा नाच्दै सायद हामी थाक्यौं र सुस्ताउन थाल्यौं । यहि बिचबाट राजु धमला ज्युले एउटा सायरी भन्नुभयो ।

संसारमा मान्छे नै यस्तो जीब हो
आउ नाचौं आज त भ्यालेन्टाइन इभ हो ।

वाह वाह वाह…. भन्दै तालीको बर्षा भयो । बाबुराम अँकल एउटा कविता वाचन गर्न तम्सिनु भयो । यो पँक्तिकारले पनि केही सायरीहरु भन्न भ्यायो । उता पासाङ थापा जी पनि सायरीहरु कथ्दै वाचन गर्दै हुनुहुन्थ्यो । यस्तो लाग्थ्यो कि हामी सबै जना आँसु कवि हौं । छिनको छिनमै श्रृङ्गारिक सायरी कथेर सुनाउथ्यौ र वातावरण रोमाञ्चक बनाउथ्यौं । अघिसम्मको डिस्कोको माहौल अव त साहित्यिक पो बन्न थाल्यो । मानौं यो कुनै साहित्यिक गोष्टी नै हो ।
रात छिप्पिदै थियो । करिब आधाआधी साथीहरुलाई त निन्द्रादेबीले आफ्नो बसमा पारिसकेको थियो । हामी कतिपय साथीहरु अझै रमाइलो गर्ने मुडमा थियौं । अघिसम्मको साहित्यिक माहौल अव दोहोरीमय बन्दै थियो । राजु सर र उमेश सरको सवाललाई पासाङ कमला र लक्ष्मी जीहरु जवाफ फर्काउदै हुनुहुन्थ्यो ।

आँधी खोला उर्लेर आयो
आउने थिइनं मायाले बोलायो ।

जसो गरे पनि जे गरे पनि हाम्रो मन त नेपाली नै हो । हामी भित्र नेपाली पन छ । नेपाली पनको मायाँ छ हामीलाई । सायद यस्तै छनक दियो यो दोहोरीमय माहौलले । किन भने अघि डिस्को डान्समा जति नै उफ्रे पनि घिन्ताङ मादल र दोहोरीको यो भाकाले हामीलाई आफ्नैपनमा बाँधिरहेको आभास हुन्थ्यो । मादल र झ्याउरे भाकामा हाम्रो कम्मरको लचकता नै बेग्लै हुन्छ भन्ने कुरा राजु सरको उठ–बस स्टाइलको नाचले प्रष्ट पारिरहेको थियो । दोहोरी गाउदै नाच्दै गर्दा समयले रातको १२ बजिसकेछ । एकै रात क्याम्प फायर, अन्ताक्षेरि, डिस्को, साहित्यिक र दोहोरी । जे होस यो साँझ कलरफुल भयो । कुनै बहुरङ्गबादी कविले कल्पिने परिदृश्य भन्दा कम रहेन यो रमझम । त्यसपछि भने भ्यालेन्टाइन डे को शुभकामना बाँडेर हामी बिछ्यौना खोज्नतिर लाग्यौं किन भने अर्को दिन केही महत्वपूर्ण कार्यक्रमहरु पूरा गर्नुछ ।

………………………………………………………………………………………………………………..

फेब्रुअरी चौध तारीखको बिहान उसैपनि चञ्चल थियो । उदाउँदो घाम पनि रातो गुलाबको पत्र जस्तै देखिन्थ्यो । चीसो सिरेटो प्रेमिल बनेको थियो । आज संसारभरको प्रेमी प्रेमिकाहरुले आफ्नो प्रिय मान्छेलाई मायाँ दर्शाउने दिन, प्रेम दीवस अर्थात भ्यालेन्टाइन्स डे । कसोकसो त्यो चिसो सिरेटोमा फुरुरुरु उडेर आयो मेरी भु.पु. मायालुको तस्वीर अनि मेरो मनको दैलोमा ट्यास्स टाँसियो । भ्यालेनटाइन्स डे को साइत पारेर उनले पठाएको प्रेमिल प्रस्तावलाई मेरो तर्फबाट आँखा चिम्लेर स्वीकारोक्तीको ल्याप्चे लागेको दिन । जति बिर्सन खोजे पनि हरेक साल मेरो मनको गोरेटो हुँदै आइपुग्छ यो दिन । अतीतलाई सम्झेर मात्रै पनि नहुने । बर्तमानमा मेरी जीवन सङ्गीनी छिन् मेरो अँगालोभरी । जो मेरो हर दुःख सुखकी साथी, मेरो आड भरोषा, जीवन यात्राको सहयात्री । जब म अतीतमा बिनाअर्थले रुमल्लिदै समय बर्बाद पारिरहेको हुन्छु त्यतिबेला खबरदारी गर्न आइपुग्छे मेरी उनि । मोबाइलको म्यासेज बक्समा गएर लेखे– “ह्याप्पी भ्यालेन्टाइन्स डे । आइ लभ यु ।” र सेन्ड गरेँ ।

सन्दर्भ रिटिटकै । हिजो रातीको क्याम्प फायरको आगो निभिसकेको रहेनछ क्यारे । त्यसमा केही टुक्राटाक्री छेस्काहरु जोडेर फुक्दै हुनुहुन्थ्यो कुसुम जी, सरद जी र राजीभ जी । म पनि उहाँहरु सँगै सामेल भएँ । राजीभ जीले आगो ताप्दै गरेको तस्वीर खिच्नुभयो र फेसबुकमा अपलोड गर्नुभयो । फोटोको क्याप्सन “फुर्यो भ्यालेन्टाइन डे को आगो ताप्दै” । त्यसपछि अफिसियल कार्यतालिका अनुसार पूरै दिन टीम बिल्डीङ सम्बन्धी कार्यक्रममै बित्यो । साँझ पख एउटा कल्चरल नृत्यले मन लोभ्यायो । सुमित्रा, कृति, लक्ष्मी, पासाङ र कमलाजीको टिपिकल नेपाली नृत्यले मेरो झैं अरु सबैको मन जितेको हुनुपर्छ र झल्झली आँखैमा बसेको हुनुपर्छ पक्कै ।

………………………………………………………………………………………………….

रिट्रिटको अन्तिम दिन अर्थात पन्ध्र फेब्रुअरीको बिहान । साथी अर्जुन पाण्डे र सरद शर्मा जीहरु अझै निदाइरहनुभको थियो । म बिउझिदा सात बजिसकेको थियो । कस्तो कस्तो टाउको रनन भएर दुखे झैं भयो । सायद चीसोले पो हो कि ? सायद अर्ध निन्द्राले पो हो कि ? कतै स्ट्रोबेरीबेरीको रक्सीको कमाल पो हो कि ? कतै त्यो बार्बीक्यु काँचै भएर पो हो कि ? यस्तै हो कि ? हो कि? पाराको अन्र्तमनको शँकाहरुमा एकछिन घोत्लिएँ र चुपचाप बाथरुममा छिरेर नुहाइवरी फ्रेस भएँ । त्यसपछि त अघिसम्मको टाउको दुखाई ओम…स्वाहा!

अफिसियल कार्यतालिका केही थिएन । हामी हतार हतार ब्रेकफाष्ट टिपेर ककनी बजारलाई एक चक्कर लगाउन हिड्यौं । ग्रुपमा थियौं रामबाबु सर , दीपक सर, उमेश सर, अर्जुन सर, जीतेन्द्र सर, सञ्च तामाङ जी र म । स्काउटको अन्तराष्टिय तालिम सेन्टरबाट तलतिर झर्दै ककनीको प्राकृतिक सौन्दर्यलाई आखैंले टिप्न थाल्यौं । सुन्दर शान्त र रमणिय बातावरण । पारीपट्टी देखिने अन्नपूर्ण, मनास्लु जस्ता सुन्दर हिमश्रृङ्खालाहरुले जो कोहीको मनलाई आनन्दित बनाउदो हो । तर हामीलाई मौसमले त्यति राम्रो साथ दिएको थिएन । चैत बैशाख को याम हुदो हो त ती वरपरका जँगलहरुमा लालि गुराँस कति फुल्थे होलान् ? दृश्याबलोकनको लागि ककनी अति चर्चित ठाउ रहेछ भन्ने कुरा यहाँ सञ्चालित ठुला ठुला रिसोर्टहरु, होटल रेष्टुरेन्ट, भ्यु पार्कहरु देखेर पनि अनुमान लाउन गाह्रो परेन। आन्तरिक तथा बाह्या पर्यटकहरुको लागि नगई नहुने एक गन्तब्य स्थल पो रहेछ ककनी ।

ट्राउट माछाको फार्महाउस हेर्ने चाहना हुँदाहुँदै पनि हाम्रो साथीहरुले स्ट्रोबेरी खोज्नतिर बढी मन लगाउनुभयो । स्ट्रोबेरी सोध्दै खोज्दै जाँदा हामी एकजना कृषकको स्ट्रोबेरी पाक्ने बारीमै पुग्यौं । देख्यौं कि मकै कोदो फल्ने बारीका पाटाहरुलाई आलुको जस्तै ड्याङ बनाउदा रहेछन् । देख्यौं त्यहाँ त लटरम्मै स्ट्रोबेरी पाकीरहेका छन् । हाम्रो मुख उसै रसायो । यही स्ट्रोबेरीको रक्सीले हिजोको रात हाम्रा साथीहरुलाई रमरम बनाएको थियो । नेपालीहरु रक्सी बनाउन ज्यादै सिपालु । मकै कोदो चामल, गहुँ, आँप, केरा, स्याउ, मौवा, खर्बुजा सबैको रक्सी बनाउन सक्छन् नेपालीहरुले । कृषक भाई तामाङ रहेछ । उसले बताए अनुसार यो स्ट्रोबेरी काठमाण्डौं लगेर बेच्दा प्रतिकिलो रु. २५० पाइन्छ रे । तर उसले हामीलाई प्रतिकिलो २०० सयमै दिए । मन लागेजति आफैले टिपेर खान पनि पायौं । फर्किदा एकजना बहिनीले एक मुठा हरियो रायो साग दिपक सरको हातैमा राखिदिइन् । सर एडमण्ड हिलारीको स्मारकलाई पृष्ठभुमी पारेर फोटो खिच्न पनि भ्यायौं । करिव बाह्र बजेतिर लन्च सकेपछि एउटा सामुहिक फोटो सेसनमा हामी सन्जोज सरको क्यामेरामा कैद भयौं र काठमाण्डौं फर्किन हतारियौं ।

यो रिट्रिट कार्यक्रमको ब्यवस्थापकिय जिम्मेवारी सम्हालिरहनुभएका रिस्व गोर्खाली सरलाई अव पक्कै पनि चयनको महसुस भएको हुनुपर्छ । यस्तो कार्यक्रमको सँस्कार बसाउनुहुने राजु सरप्रति आभारी भयौं । आफु उपस्थित हुन नसकेपनि कार्यक्रम ब्यवस्थापनमा अप्रत्यक्ष रुपले सहयोग पुर्याउनुभएकोमा राजन पण्डित जी धन्यवादको पात्र बन्नुभएकोछ ।

ककनीबाट काठमाण्डौं फर्किदा फर्किदै यति चै भन्न मन लाग्यो..
ककनी बजार घुम्दाखेरीमा
दिल बस्यो नि ए हजुर इस्ट्रोबेरीमा ।

(स्रोत : Fyangkhola )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.