“मोन्टेनेग्रोे” युगोस्लाभियाको एउटा राज्य । खण्डित भइसकेको र हुने क्रमको देशको एउटा सानो ठाँउ । सर्बियन र अल्बेनियनको बस्ती रहेको यो सानो ठाँउ युरोपकै सुन्दर सामुदि«क किनार “सी बिच” को सुचीमा पर्छ । हो, मैले तिमीलाई पहिलो पटक भेटेको पनि यहिं हो ।
तिमीलाई भन्नै सक्तिन म, कति रोमान्चित भए‘ तिमीसँगको पहिलो भेटमा । ‘पहिलो’ शब्द यसै पनि रोमान्चक हुने गर्छ । जहाँ पनि पहिलो राम्रो हुने गर्छ । दुई क्लासमा ‘पहिलो’ हुँदा हजुरबुबाले मेरो बुबालाई दिएको ‘चार आना’को ढ्याक बुबाले जीवनमा पाएको पहिलो ढ्याक भन्दै आजसम्म हामीलाई सुनाउनुहुन्छ । त्यसैले होला पहिलोको सबैमा रहर बढेको । सामान्य जनजीवनदेखि लिएर अन्तराष्ट्रिय स्तरमा नै पहिलोको चर्चा निकै हुने गर्छ ।
तिम्रो कुरा गर्दा गर्दै म त धेरै टाढा पुगेछु । तिमीसँगको यस्तै महत्वपूर्ण पहिलो भेटघाट ‘स्पर्शबाट नै भयो । तिम्रो ‘स्पर्शको कल्पना मैले धेरै गरें तर तिमी त मेरो देशभन्दा निकै टाढा थियौ । तिम्रो वरिपरी यति धेरै मान्छेहरु सल्बलाएको देख्ता तिम्रो महत्वको सानो अनुमान लगाएँ । तिमीलाई छुदै म तिमीभित्र पसें तिमीलाई समाएँ तर तिमीलाई कहाँ बाँध्न सक्थें र म ? तिमीले मलाई च्याप्यौ । म तिमीभित्र डुबें । आहा ! तिमीसँग यसरी नै सधै खेल्न पाए
साँच्चै तिम्रो टुंगो कहाँ होला ? मैले धेरै टाढासम्म हेरें तर अहँ पटक्कै भेउ पाइँन ।
तिमीसँग खेल्दा खेल्दा थाकेर तिम्रो किनारमा आएँ ।
आहा ! कति राम्रो तिम्रो किनार । स—साना ढुंगा अनि पटक पटक तिमी रिसाएर छालको रुपमा आउदा चिल्लिएका ती ढुंगा ।
तिम्रो छाल अनि मान्छेको जीवन उस्तै उस्तै ।
जीवनमा आउने सुखको छाल, दुःखको छाल, परिवर्तनको छाल, मिलन विछोडको छाल अनि बेला बेलामा आउने तिम्रो छाल उस्तै ।
किनारमा बसेर म तिमीलाई हेर्दैछु । तिम्रो मीठो नुनिलो गन्ध जीउभरी टाँसिएको छ ।
छेउमा एउटी गोरी आईमाई । उ “सन प्रोटेक्शन लोशन” लगाएर उत्तानो परेर घाममा शरीर डढाउँदै थिई । म भने “सन” बाट डराउँदै थिएँ । पुलुक्क हेरी मलाई । उस्को हेराइको अर्थ कुन्नि के हो तर मेरो कलुषित मन । ‘जुन वस्तुलाई जुन भावले हेरिन्छ चिन्तन गरिन्छ त्यो त्यहि रुपमा अनुभव गर्न सकिन्छ ।’ चाणक्य वाक्य र मेरो सोचाइ त्यो आइमाई प्रति । पक्कै पनि कालो भनेर हेपेर हेरेकी होली । कालो त्यसै पनि हेपिएको जात र अझै पनि हेपिने जात । काला र गोराको भिन्नता सबै कुरामा स साना “अपरच्युनिटी” देखि लिएर ठूला ठूला निर्णयहरुमा भएको भिन्नता । “ए केटी त काली रैछ” भनेर बिहा अस्वीकार गर्ने कतिपय युवा जमातले गर्ने गरेको भिन्नता देखि लिएर संसारकै सबैभन्दा विकसित अनि “किङ कन्ट्रि” दाबी गर्ने देशले कालो प्रति हेरिने हेय दृष्टि अझै पनि उस्तै छ । कालाका राजा “नेल्शन मण्डेला” अझै पनि एक्लै छन । त्यसैले होला गोरो छालाप्रतिको मोह हामीमा बढेको ।
तिम्रो किनारमा अर्की सत्तरी बर्ष जतिकी बुढि मान्छे । गोरी हजुरआमा । अर्धनग्न पोशाकमा । घुडाँभन्दा छोटो लगाएको देख्ता लाजले टाउको निहुराउने मेरी हजुरआमा र लगभग नाङगै बसेकी गोरी हजुरआमामा कति भिन्नता । मेरी हजुरआमाले यो देख्नु भएको भए लाजले बिलाउनु हुन्थ्यो होला । थोरै भएपनि जीवनको उतारचढाव देखेकी त्यो गोरी हजुरआमा र मेरी हजुरआमा बीचको मानवीय स्वभाव त एउटै हो । तर परम्परा अनि ठाउँले ल्याएको दुइ बीचको भिन्नता । गोरी हजुरआमा हजुरबा सँग टाँस्सिइ अनि हजुरबाको गालामा “च्वाप्प” “किस” खाई । बिचरी मेरी हजुरआमा अझै हजुरबाको छेउमा बस्न लजाउनु हुन्छ ।
एउटी सानी बच्ची आई तिमीसँग खेल्न । आहा ! मैले पनि तिमीलाई यहि बेलादेखि छुन पाएको भए ! पटक्कै डर छैन १ बर्षे केटीमा । कति फरक यहाँका बच्चा बच्चीको हुर्काइ र मेरो देशका बच्चा बच्चीको हुर्काइमा ।
अर्कोतिर एक यौवनले उन्मुक्त्त अठार बीस बर्षे केटी । सँगै उस्तै उमेरको केटा । यौवनको छाल अनि तिम्रो छाल उस्तै । दुवै क्षणिक । “यौवन” कति सुन्दर र क्षणिक हुन्छ । त्यसैले होला हरेकको चाहना युवा नै रहिरहने । युवा नै रहने चाहनामा आज करोडौको लगानी पनि छ । तर समय नै त हो । यौवन सधै रहिरहने भए यसको क्षणिक आनन्दको महत्व पनि त हुने थिएन । पत्तै नपाइकन आउने तिम्रो छाल अनि आखाँ झिमिक्क पार्दा अन्त्य हुने यौवनको छाल उस्तै ।
केटाले “च्वाप” “किस” केटीको गालामा अनि बिस्तारै तिमीभित्र बिलाएको दृश्य मेरो आँखाभरी छरियो । अनि त्यहि आँखाभित्र रहेको अर्को दृश्य कति फरक । हेर्ने एउटै आँखा अनि चलचित्रको पर्दामा झै फेरिने ठाउँ अनुसारको दृश्यहरु । मेरो ठाउँकी भारी बोक्दै गरेकी “रिङचेन”ं (शेर्पा नाम) । यौवनमा रमाएकी यो केटी अनि यौवन भार भएकी “रिङचेन”ंको पीडा । कोही केटाले “ओहो कति राम्री” भन्दा पुरै शरिर लाजले रगताम्य पार्ने “रिङचेन”ं अनि यो केटी । “कसैले बिहा नगर्ने पो हो कि” भन्ने “रिङचेन”ंको पीडा अनि एक पछि अर्को “ब्यायफ्रेण्ड” खोज्ने यो केटी । एउटै शारिरीक बनावट अनि एउटै प्राथमिक आवश्यकताका महसुस गर्ने यी दुइ मानव शरीरमा कति भिन्नता ।
तिमी र म साँच्चै उस्तै हुन पाए ! मेरो जीवन पनि तिम्रो जीवन जस्तै बग्न पाए, मेरो चाहनाहरु पनि तिमी जस्तै निर्धक्क छरिन पाए अनि म पनि तिमी जस्तै स्वतन्त्र हुन पाए । स्वतन्त्रताको पर्यायवाची तिमी अनि हरेक बन्धनमा बाँधिएको मान्छेको जीवन ।
तिम्रै कारणले होला यो ठाउँमा मानिसहरुको चहलपहल पनि बढेको । किरासरी सलबलाएका छन मान्छेहरु तिम्रो वरिपरि । कति भाग्यमानी यहाँ वरिपरी बस्ने मानिसहरु तिमीसँग चाहेको बेलामा रम्न पाउने । प्रातकालीन स्नान तिमीबाट शुरु गरेर अन्त्य पनि तिमीबाट नै गर्न पाउने ।
तिमीसँगका भेटघाटको रहर पुरा नहुदै छुटिने समय पनि भयो । भुरर्र चरा जस्तै उड्ने समय । कहाँ पर्खिन्छ र ! समय भन्दा पछि हिडने मेरो हजुरबाको “समय सँगै हिडन पाइँन भन्ने गुनासो । समय सँगै हिडने मेरो बुबाको समय अगाडि जान पाँइन” भन्ने गुनासो । समय अगाडि जान खोज्ने मेरो समयलाई जित्न नसकेको गुनासो । तर समयले कसलाई टेर्छ र ? मान्छेको स्वभाव सबैलाई आफ्नै बन्धनमा बाँध्न खोज्ने । आफ्नो नाडिमा बाँध्दैमा कहाँ बाँधिन्छ र ?
सिङ्गै पृथ्वीको झण्डै दुइ तिहाइ भाग ओगटेर गजधम्म परेर बसेको तिमी मेरो मातृभुमिबाट धेरै टाढा छौ । त्यसैले तिम्रो स्पर्शको न्यानो अनुभुति मुटुभरी सँगालेर तिमीसँग बिदा हुन बाध्य छु ।
अलि पर पुगेर एकपटक तिमीलाई फर्केर हेरें । टाढा टाढा सम्म देखिने तिमी भन्दै थियौ “फेरी कहिले भेट्ने त ?”
कोसोभो
अगस्ट २००३
(स्रोत : Pardesh.com)