कथा : नक्साको पुरुष

~सञ्जय बिष्ट~

‘‘पर्दैन, होस् त्यस्तो काम,’’ आमाले भनेकी थिइन् उसलाई।
‘‘विचारालाई साह्रै दु:र्ख भयो, हामीले हेर्न सकेनौँ…’’ वर्ष दिनअघि एकैचोटि राम्रो ओहोदामा पुगेकी बहिनीले पनि थपेकी थिई।
हुन पनि राम्रै ओहोदामा पुगेपछि अवकाश ग्रहण गर्ने बाबुको पेन्सन थियो। त्योभन्दा राम्रो ओहोदामा पुगेकी आमाको नोकरी अझै सात-आठ वर्षै थियो। तुलनात्मक दृष्टिकोणमा अझ माथि पुगेकी बहिनीको पनि घरदेखि टाढ़िने छॉंटकॉंट देखिँदैन्थ्यो। त्यसलै उसलाई उसका कतिजना साथीहरूझैँ घुमिहिँड़्दा हुन्थ्यो।
तर पोहोर मार्च महिनाको पहिलो दिन प्रेमकुमारले स्थानीय गैर सरकारी अङ्ग्रेजी स्कुलमा गणित शिक्षकका रूपमा नियुक्ति लियो।
प्रेमकुमार। झन्डै-झन्डै नामजस्तै मान्छे। मृदुभाषी, अल्पभाषी। अल्पभाषी भएकैले पनि मृदुभाषी। रिसाउनु कहिल्यै नजान्ने। कुनै दिन कसैले नराम्रो केही भनिदिए पनि उठेका रिसहरू जम्मै अनुहारसम्म आइपुग्दा रूप फेरेर दु:ख बनिहाल्ने। दु:खी देखिने, त्यो पनि केही क्षणलाई मात्रै।
‘‘सिधा सर’’ केटाकेटीले महिना दिनमै विशेषण पनि दिइहाले उसलाई। एउटी मिसले सुनाएकी थिई।
सुनेर पी.के. सर मुसुक्क हॉंसेको थियो।

अनुहारजस्तै सफा हृदयको सिधा प्रेमकुमारलाई जुँगाचाहिँ औधि मन पर्छ, पुराना दक्षिण भारतीय सिनेमाका अधिकत्तर नायकहरूको जस्तो घोप्टे बाक्लो। नआउने पनि होइन जुँगा उसको तर रेखी बस्न थालेदेखि नै खौरने गरेकोले दिन बिराएर जुँगा नखौरी सक्दैन ऊ। बानी अब बाध्यता भएकैले पनि उसलाई जुँगा साह्रै मन पर्छ।
शिरमा फेटा बॉंधेको, चौड़ादार छात्तीको अग्लो कदको, कम्मरमा तरवार पनि झुन्डाएर उभेको जुँगे मान्छेको ठुलो नक्सा, ठुलो फ्रेममा रहेछ भित्तामा, ठूलो स्टुडियोको। साथीसित साथी गइदिएको उसले देखेको थियो। त्यो दिन देखेपछि, स्टुडियोको भित्ताको फ्रेमको त्यो जुँगे पुरुषले उसको मस्तिष्क भएर आँखामा घरिघरि आउन थालेको थियो।
पहिलो महिनाको वेतन थापेकै दिनको बेलुकी ऊ एक्लै त्यो स्टुडियोभित्र पस्यो।
भित्तामै रहेछ त्यो नक्साको पुरुष।
‘‘कति?’’ सोध्यो प्रेमकुमारले।
‘‘केको?’’ सोधियो ऊ।
औँलाले देखायो प्रेमकुमारले। देखायो मात्रै। त्यसको भनेन ।
‘‘हेर्नुपर्छ,’’ भनेर नक्साछेउ गई अनि फ्रेमको तल्लो भागमा टॉंसेको कागज नियालेर ‘‘फोर्टी टु फिफ्टी’’ बताई।
‘‘ज्यू!’’भन्यो प्रेमकुमारले।
‘‘फोर थाउजन्ड टु हन्ड्रेड फिफ्टी,’’ उही बताई अर्कै पाराले।
गभियो प्रेमकुमार।
‘‘तपाईँ लानैहुन्छ भने फोरसम्ममा मिलाइदिन्छु?’’ केटीले भनी।
ब्यालिस सय पचास पनि प्रेमकुमारलाई महँगो लागेको थिएन मूल्य नक्साको। अझ यसो भनुँ—त्यो क्षण प्रेमकुमारमा सस्तो-महँगोको भावना नै थिएन।
सिटिङरुममा सजाउँछु—सोचेर प्रेमकुमारले गोजीमा हात हालिसकेको थियो।
निक्कै सङ्घर्षपछिको ठुलै अभीष्ट प्राप्त गरेको अनुहारको प्रेमकुमारले आमा, बहिनीहरूलाई ‘‘ई यो ल्याएँ,’’ देखाएर भन्यो बेलुकी।
‘‘कहॉंबाट?’’ सोधी बहिनीले।
‘‘स्टुडियोबाट’’ बतायो उसले।
‘‘किनेर!’’ बहिनी छक्क परी।
‘‘चार हजारमा’’ हॉंकसित भन्यो प्रेमकुमारले।
‘‘के भनेर हालेको पैसा यस्तोमा?’’ नाक खुम्च्याई बहिनीचाहिँले।
‘‘हो त अन्त’’ थपिन् आमाचाहिँले।
व्याख्यातीत थियो महत्त्व फ्रेमको नक्साको पुरुषको। उसले केही बताउनै सकेन।
तर गोजीबाट पैसा निकालेर उसले आमालाई ‘‘ई’’भन्यो।
‘‘हँ?’’
‘‘तलब थापेँ,’’ बतायो प्रेमकुमारले।
‘‘राख् तँ आफै, कति पाउँछस् र तँ? पर्दैन दिनु,’’ लिनु मानिन आमाले।
छोरीको ‘‘त्यति नाथे पैसाले तिमी आफैलाई महिनाभरि पुग्दैन होला, के दिन्छौ आमालाई’’ सुनेर ‘‘त्यै त’’ थपिन् आमाले।
सुनेर प्रेमकुमारको शरीरमा कुनि कस्तो तरलता फैलियो। फैलिएर त्यो तरलताले बिस्तारै आँखा र जिभ्रोमा प्रवेश गर्यो।
मौन बाबु सुनिरहेथ्यो खालि।
तर कुनि किन छोरा निक्कै पहिलेदेखि पछि दिन्छु म पनि—विचारको भएको थियो। छुट्याएको रुपियॉं उसले आमालाई थाौ मनाएको थियो।
पहिलोचोटि आफूले कमाएको रुपियॉंबाट केही घरको निम्ति भनेर आमालाई दिएर सधैँ केले-केले थिचिरहेको अनुभव गरिरहने प्रेमकुमारले आफूलाई त्यो क्षण त्यो अदृश्य भारमुक्त हलुका र एकदम स्वस्थ अनुभव गरेको थियो।
तर त्यो हलुकापन स्वस्थपनले ऊभित्र बॉंचिरहनै पाएन। बहिनीको राक्षसरूपी ‘त्यति नाथे’ अघिल्तिर उभेर उसको मानसिक सन्तुष्टिको कलिलो बालकको घॉंटी पक्रेर क्रमश: जोड़-जोड़ले कस्न थाल्यो।
त्यो रात प्रेमकुमारलाई लामो समयसम्म निद्रा लागेन, दृष्टि एकोहोरो खुट्टापट्टिको भित्तामा झुन्डाएको नक्साको जुँगे पुरुषले तानिरह्यो।
बत्ती निभायो उसले।
आँखा पनि चिम्म गर्यो।
तर नक्साको नक्सा खिचिसकेथ्यो आँखाले। आँखाले खिचेको नक्साको नक्सा बन्द आँखामा छात्ती फुलाएर उभिरह्यो।
त्यो ट्युशन पनि गर्छु— एम.एस.सी. गोल्ड मेडलिस्ट प्रेमकुमारले चितायो।
दुई दिनपछि हो त्यो रातको, ‘‘पर्दैन, पटक्कै पर्दैन। स्वाङ पार्नु पर्दैन। गति देखाउँछ…’’ आमा धुमधाम कराएकी थिइन्।
‘‘पर्दैन रातितिर,’’ बहिनी पनि रिसाएकी थिई।
तर अर्कै मनस्थितिको भइसकेको प्रेमकुमार त्यसको भोलिपल्टदेखि बिजुलीको उज्यालोमा कोठाको फ्रेमको नक्साको पुरुषलाई एकपल्ट राम्ररी हेरेर ब्याङ्क म्यानेजरका मसिना दुई छोरीहरूलाई ट्युशन पढ़ाउन घरबाट निस्किएको थियो।

कुनै आरक्षणभित्र नपर्ने प्रेमकुमारले हेरेका राम्रा ठाउँका विज्ञापनहरूमा अधिकत्तर महिला र केही जनजाति,अनुसूचित जनजाति र पछौटेवर्गहरूकै निम्ति आरक्षित थिए। त्यसैले यो वर्ष दिनभित्रमा आफ्नो शैक्षिक योग्यताले भ्याउने दुईवटा ठाउँमा मात्रै आवेदन पठायो उसले। आवेदन पठाएको एउटाले उसलाई अन्तर्वार्ताको निम्ति बोलाएन पनि। बोलाएको एउटामा एउटी केटीले पाई—उसले पछिबाट सुन्यो। त्यसैले हिजोसम्म पी.के. सर स्कुल पनि गइरह्यो। ट्युशन पनि धाइरह्यो।
हिजो बेलुकी स्कुलबाट घर पुगेपछि प्रेमकुमारलाई काम गर्ने केटोले एक ग्लास जुस दियो।
‘‘ब्रेड छ?’’सोध्यो केटोलाई।
‘‘टोस्ट बनाइदिऊँ?’’केटोले सोध्यो।
‘‘जाम छैन?’’सुनेर शिर तलमाथि, तलमाथि भयो केटोको ।
साढ़े छ बजीतिर ‘‘जान्छु’’ बाबुलाई भन्यो प्रेमकुमारले।
आमा आएकी थिइनन्।
बहिनी आइपुग्ने समय भएकै थिएन।

‘‘राम्रो गरेछ दुवैजनाले,’’हँसिलो अनुहारकी म्यानेजरले दैलैमा बताई।
पसेर बसेको मात्रै उसलाई ल्याएर देखाई पनि हाली।
ठिक्कैको गरेका रहेछन्। हेरेर ‘‘राम्रो गरेछ,’’भनिदिए सरले।
खुशी अनुहारका दुवै छोरीहरू उनीहरूछेउ आएर उभिएका थिए।
‘‘बस’’ पी.के. सरले भने उनीहरूलाई।
नौ बजलाग्दा भित्रबाट आफ्नो श्रीमानको अघइघि कोठामा आएकी म्यानेजरले ‘‘आजु एति, जाऊ तिमीहरू,’’ छोरीहरूलाई भनी।
छोरीहरू उठेपछि सोफामा बसेकी म्यानेजर कराई, ‘‘सुरेन्द्र’’।
अनि जग र ग्लासहरू पनि राखिएको ट्रे लिएर खुबै होशियारीपूर्वक हिँड़ेर सुरेन्द्र टेबलसम्म आइपुग्यो।
‘‘यस्तो लिन्न मेडम,’’बतायो प्रेमकुमारले।
‘‘आजु लिनुपर्छ,’’भनी म्यानेजरले।
प्रेमकुमारले ‘‘हैन म्याम,’’ पनि भन्यो।
म्यानेजरले ‘‘अलिकति मात्रै’’ अनुरोधकै भाकामा भनी।
‘‘आजु मात्रै सर, खुशीमा।’’ म्यानेजरको श्रीमानले पनि थपे।
यस्तै बाध्यतामा प्रेमकुमार अघि पनि दुई-तीनचोटि परेको थियो। हिजो म्यानेजर अनि उनको श्रीमानको अनुरोधलाई पनि बाध्यताकै रङ्ग दलेर उसले ग्लास उठायो।
प्रेमकुमारले पहिलोचोटि आफ्नो नाड़ीको घड़ी हेर्दा दस दस भएको थियो।
‘‘डिनर यतै गर्नुपर्छ,’’म्यानेजरले भनी।
‘‘होइन, दु:ख नगर्नुहोस्,’’ रसिलो आँखाले हेरेर उसले म्यानेजरलाई भन्यो।
म्यानेजरले टेबलमाझको बोतल उठाएर प्रेमकुमारको ग्लासतिर बढ़ाउँदा ‘‘हैन म्याम, यत्तिले मलाई ज्यादा पनि हुन्छ,’’ उसले रुन्चे स्वरमा भन्यो।
‘‘नसुर्ताउनुहोस् सर, ड्राइभरलाई नजानू भनेको छु,’’ भनेर म्यानेजरले अलिकति थपिदिई फेरि।
केही बेर अघिसम्मका हतारहरूले हराउँदै गइरहेथ्यो प्रेमकुमारबाट।
एघार बजीतिर उसले घरमा फोन गर्यो।
बाह्र बजलाग्दा उसले म्यानेजर र उसको श्रीमानसित बिदा लियो।
बाहिर निस्केपछि उसले सड़कलाई निक्कै परसम्म हेर्यो।
सड़कका छेउछाउ उभिएका खम्बाका बिजुलीहरूले सड़कलाई पहेंलो उज्यालो पारेको थियो।
‘‘सक्छु, दु:ख नगर्नुहोस्,’’ ड्राइभरलाई भनेर ‘‘नाइट ट्याक्सी भेटिए लैजाउँला नत्र आधा घण्टामा पुगिहाल्छु हिँड़ेर पनि,’’ देलौमा उभिएका स्वास्नी-लोग्नेलाई भन्यो।
उज्यालो क्रमश: घट्दै गएर क्रमश: बढ़्दै जान्थ्यो एउटा बिजुली-खम्बादेखि अर्कोसम्मको दुरीमा। त्यो बढ़्दो-घट्दो, घट्दो-बढ़्दो उज्यालोमा हिँड़िरहेको प्रेमकुमारको शरीरमा अभूतपूर्व स्फूर्ति सञ्चारित थियो र थियो मस्तिष्कमा नक्साको उही पुरुष।
हावाघर अघिल्तिरको घट्दो उज्यालोमा पुगेको थियो ऊ।
मान्छेका चार-पॉंच आकृति उठेर हावा घरदेखि सड़कमाझ आए। सड़कको माझमा उभिएको प्रेमकुमारलाई ती आकृतिहरूले चारैतिरबाट घेरेका थिए। अघिल्तिर र पछिल्तिरको समान दुरीबाट आएको मधुरो उज्यालोमा आकृतिहरूलाई चिन्न खोजेर ‘‘को हो?’’ घॉंटीभित्र बोल्यो प्रेमकुमार।
‘‘समा,’’ भनेर एउटा आकृतिले आफ्नो हातको बोतल जोड़सित भुइँमा फ्यॉंक्दा चर्को आवाजमा फुट्योे।
समातेर, तानेर आकृतिहरूले उसलाई हावाघरमा पुर्यायो।
त्यतिन्जेल भाग्नु र कराउनु शब्दै पनि उसको स्मरणबाट हराइसकेको थियो। विरोध असम्भव नै बुझेर हावाघरको भुइँमा लड़ेको उसले ती आकृतिहरूलाई पाश्विक वृत्तिमा आफ्नो शरीरका वस्त्रहरू च्यात्न दिइरह्यो।
एकपछि अर्को आकृतिले उसको शरीरका प्रत्येक अङ्गहरूलाई यातना दिएपछि प्रेमकुमारले प्राय: प्राय: आफ्नो चेतना हराइसकेथ्यो।
त्यही अर्धचेतन अवस्थामा उसले लामो सङ्घर्षपछि उसको शरीर छाड़ेर उठ्नेको क्रोध र कम्पनपूर्ण स्वर सुन्यो,‘‘साला हिजड़ा’’।
अनि घुँड़ासम्मको बुटको त्यही आकृतिद्वारा निवस्त्र गुप्ताङ्गमा गरिएको प्रहारले प्रेमकुमारमा रहेको थोरै चेतना पनि हरायो।

आँखा खोलिँदा साना-साना टेप रिकार्डर, क्यामेरा र मोबाइल फोनहरू समाएका मान्छेहरू, एउटा हातमा डायरी र पेन पक्रेकी इस्पेक्टर, साथी-भाइ र नर्सहरूद्वारा घेरिएको पायो आज प्रेमकुमारले आफूलाई।
अनेक प्रकारका प्रश्नहरू सोधिरहेका थिए तिनीहरू। उत्तर दिनसक्ने अवस्थामै थिएन प्रेमकुमार। उसको शरीरका अधिकांश भागहरूमा आगोले पोलेको जस्तो असह्य पीड़ा थियो।
एकजना दुब्ले सिकुटे पुरुषले अस्पतालमै आएर प्रेमकुमारको बाबुलाई भन्यो,‘‘नसुर्ताउनुहोस् तपाईँ, के गर्नुपर्छ यसको विरोधमा हामीले निर्णय लिइसकेका छौँ।’’ गम्भीर दृष्टिले प्रेमकुमारलाई हेर्यो अनि थप्यो, ‘‘प्रतिवाद जुलुस र जनसभा आइतबार नै हुनेछ।’’
सॉंच्चै त्यतिन्जेल पुरुषमाथिको त्यस्तो अमानवीय व्यवहारको विरोधमा ‘पुरुष अस्तित्व सुरक्षा समिति’-लेे शहरका भित्ताहरूमा टॉंसेको आगामी 25 अगस्ट 2050- आइतबारको प्रतिवाद जुलुस र जनसभाका पोस्टरहरू धेरैले पढ़िसकेका थिए।

(स्रोत : Paniphoto.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.