(मन्दाक्रान्ता)
आशा नै हो मनुज सुखको चेतना सत्य बीज
आशा नै हो सुख सयलको भावनाजन्य बीज
आशा नै हो सकल मनको कर्म माधुर्य भक्ति
आशाले नै हृदय तलमा राख्छ आरोग्य शक्ति ।।
हुन्छन् पीडा जति पनि यहाँ आशले हर्न सक्छन्
सारंगीका सरस रवले त्रास नै मर्न सक्छन्
होलान् पक्कै फरकपनका त्रास सन्त्रास सारा
आशाले नै सहजसितले गर्न सक्छन् सहारा ।।
भोग्दाभोग्दै मन नियतिका याचना पूर्ण हुन्नन्
आशा बोक्ने सुजन सबका चाहना चूर्ण हुन्नन्
भित्री आत्मा सरस जसका आशमै छन् घनिष्ठ
हार्दैनन् ती सबल मनका व्यक्ति संस्कारनिष्ठ ।।
होलान् नौला अवधि जगमा आशको रास बोक्ने
रोलान् कोही भुवन पटको चक्र केही नसोच्ने
बाँच्ने सारा सुदृढ मनका व्यक्ति उल्लास खोज्छन्
डर्ने आफै तरल मनका त्रासमै व्यर्थ मर्छन् ।।
यौटा भित्री तहभरि सधैँ आश होस् आँटयुक्त
भुल्ने पीडा विगत दिनका पास होस् कर्मयुक्त
सोच्नै गाह्रो जब नियतिले क्रूर आक्रोश छर्छ
आशा आफैँ मन सुमनमा ढुक्कले फुल्न सक्छ ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

