~लिओ बुसकाग्लीआ~
अनु : गौतम “उदय”
बसन्त लाग्यो ! पालुवा पलाउन थाल्यो ! यसै क्रममा एउटा ठुलो रुखको कुनै हाँगामा “फ्रेडी” नामको पातले पनि जन्म लियो | अन्य सयौँ पातहरु पनि त्यही रुखमा जन्मे | सबै सकुशल हुर्के, बढे ! साथीसाथी मिलेर घामका किरणहरुसंग खेल्नु, सितल हावाका झोक्कामा गीत गाउँदै नाच्नु कम्ता रमाइलो थिएन यिनीहरुको जीवन र दिनचर्या !
यो रुखको सबैभन्दा ठुलो पात “दानियल” र “फ्रेडी” एकदम मिल्ने साथी थिए | दानियलले धेरै कुराहरु जानेको थियो | बेलाबेलामा चराचुरुंगी, घाम, जुन, हुरी, बतास, आदिका साथै बगैचा र फूलबारीको सुन्दरताको निम्ति आफूहरुको महत्व, भूमिका र कर्तब्य सम्बन्धि दार्शनिक कुराहरु पनि गर्थ्यो | पातको जुनी लिन पाएकोमा “फ्रेडी” मख्ख थियो |
ग्रिस्म लागेपछि पार्कमा मान्छेको चहलपहल ह्वात्तै बढ्यो | दानियलले फ्रेडीलाई भन्यो “ल अब हामी सबै मिलेर यिनीहरुलाई छाहारी दिनु पर्छ, किनकि अरुलाई छाहारी दिन सक्छौं भनेर नै हामीलाई जन्माइएको हो, अनि मान्छेलाई खुसी पार्न सक्यौं भने मात्र हामी जिउनुको सार हुन्छ” |
थुप्रै बुढाबुढीहरु त्यही रुखमुनी बसी आफ्ना पालाका रमाइला रमाइला कुरा गर्न थाले | केटाकेटीहरु पनि रुखको वरिपरि चल्ने, खेल्ने, दौडिने, लड्ने, हाँस्ने रुने गर्न थाले | यसरी ग्रिस्मयाम हरेक प्रकारले “आहा !” भन्ने भयो |
बिस्तारै सरद लाग्दै गयो अनि, पातहरु रंगीबिरंगी बन्न थाले | कुनै राता भए, कुनै पहेंला भए, फ्रेडीचाहिं बैजनीरंगको भयो | जेजस्ता रंगका भए पनि सबै एकदमै सुन्दर थिए |
यत्तिकैमा एकदिन एउटा अनौठो घटना घट्यो | चिसो हावाको झोक्का चलेर केही पातहरुलाई रुखबाट चुँडेर उडाइदियो | “ला.. के हुन लाग्यो !” भनेर सबै थर्कमान भए !
“समय परिवर्तनशील छ, हाम्रो पनि अब आफ्नो घर परिवर्तन गर्ने समय भयो | कसैकसैले यो प्रक्रियालाई “मर्नु” भनेर पनि भन्छन !” दानियलले निर्धक्कसंग भन्यो |
“ जो पनि मर्छ त ?” फ्रेडीले अचम्मिदै सोध्यो | “हो, सबैले मर्ने पर्छ !” फेरि निर्धक्कसंग भन्यो दानियलले |
“म त मर्दिन !” फ्रेड़ीले सुनायो दानियल अनि सबैलाई |
यत्तिकैमा एकपछि अर्को गर्दै फ्रेडीका साथीहरु हाँगाबाट छुट्टिएर फत्रकफत्रक खस्न थाले र हेर्दाहेर्दै पुरै रुख नै नाङ्गो देखिन थाल्यो |
आफ्नै आँखाअगाडि यी सबै परिदृष्यहरु घटेकोले फ्रेडीले डरले अत्तालिंदै “ ला अब के गर्ने होला ?” मलाई त एकदम डर लाग्यो !“ भनी दानियललाई भन्यो |
“कहिलै नभएको र आफूलाई थाहा नभएको घटना पक्का हुने नै भयो भन्ने थाहा पाएपछि सबै डराउँछन् | तर बसन्त सकिएर ग्रिस्म लाग्दा, अनि एबंरीतले शरद् लाग्दा त तिमी डराएका थिएनौ त ! परिबर्तन र यसले पार्ने प्रभाब त अकाट्य छ |” दानियलले भन्यो |
फ्रेडीले मलिन स्वरमा फेरि सोध्यो “ त्यसो भए बसन्त लागेपछि हामीहरु फेरि ब्युँझेर आउछौं त ?”
“त्यो त मलाई थाहा छैन, तर नयाँ जीवनको सुरुआतचाहिं फेरि हुन्छ | जीवन सधै बाँचिरहन्छ, हामीहरुचाहिं त्यही जीवनका एक हिस्सा हौँ |” दानियलले जवाफ दियो |
“मर्नै पर्ने भए हामी जन्मेको के सार भयो त ?” फेरि सोध्यो फ्रेडीले |
दानियलले भन्यो “अरुको लागि ! छाहारीको लागी ! हावाको झोक्कामा साथीसंग खेलेको, संगै गाएको, नाचेको, रमाइलो गरेको, रंगीबिरंगी भएको, बुढाबुढी केटाकेटीको रमाइलो हेरेको सबै बिर्श्यौ ? यहाँभन्दा पनि अझै के चाहियो त ?” यी दुईबिच यस्तै गल्फाती चले |
त्यही दिन दिउसो मुस्कुराउंदै दानियल पनि हाँगाबाट खस्यो | त्यत्रो हाँगामा अब फ्रेडीमात्र बाँकी रह्यो |
भोलिपल्ट बिहानैदेखि हिंउ पर्न थाल्यो | सिरेठो चल्यो र त्यसैले फ्रेड़ीलाई पनि उडायो | उसले दुखेको अनुभब नै गर्न पाएन | खस्दै गर्दा फ्रेडीले जिन्दगीमा पहिलो पटक त्यो रुख पुरै देख्न पायो | “जीवन चक्र चलिरहन्छ, कहिलै अन्त हुँदैन” भन्ने दानियलका वाक्य पनि झल्झली सम्झ्यो !
फ्रेडी कमलो हिउँमा खस्यो, अनि आँखा चिम्लेर चिरनिद्रा निदायो | त्यसपछि के भयो केही चाल पाएन | तर जमिन र रुखहरुका हाँगाले नयाँ जीवनका तानाबाना बुन्न शुरु गरिसकेका थिए |
(यो कथा “The Fall of Freddie the Leaf: A Story of Life for All Age” बाट नेपालीमा रुपान्तर गरेको हुँ |)
(स्रोत : My Sansar)