कथा : मौन स्वीकृति भविष्यलाई

~आचार्य प्रभा~acharya Prabha

अनायस ढोका कसैले ढक्ढक्याएको कारणले ऊ निन्द्राबाट ब्युँझी । ढोकामा उसकै अफिसको मित्र अनायस उभिएको पाउँदा ऊ असमन्जसमा परी किनकी ऊ कहिल्यै पनि उक्त मित्रसँग आँखासम्म जुधाएर बोल्दैनथी त र आज अनायस आफ्नो घरको अगाडि उक्त मित्रलाई पाउँदा ऊ अन्योलमा पर्नु स्वभाविक थियो पनि ।

जुनाले हत्तपत्त उसलाई नमस्ते गरी अनि भित्र पस्न आग्रह गरी । राजीव पनि संकोच मान्दै भित्र पस्यो र कोठाको चारैतिर दृष्टि फ्याँक्न थाल्यो । भित्तामा तस्बिरहरु झुन्ड्याइएका थिए जुन तस्बिरहरुमा ‘जुना’ र उसका स्वर्गीय श्रीमानका रमाइला पलहरुका दृश्यहरु मुस्काइरहेका थिए । ती तस्बिरहरूलाई हेरेर राजीवका आँखाहरू रसाइसकेका थिए । ऊ भित्रभित्रै आफ्नै मनसँग कुरा गरिरहेको थियो ।

आखिर ‘दैवले पनि यस्तै अन्जान र निर्दोष मान्छेहरूलाई मात्र सजाय दिँदोरहेछ’ भनी । यसरी आफ्नै मनसँग आफंै राजीव हराइरहेको बेला अनायस जुनाको उपस्थितिले राजीव झस्कन्छ । जुना हातमा कप प्लेट लिएर उसको अगाडि चिया लिने आग्रह गर्दै छेवैको सोफामा बस्छे । उसलाई कता कता अप्ठ्यारो महसुस पनि भइरहेको हुन्छ र मनमा कौतुहलता पनि जागिरहेको हुन्छ ।

‘आज राजीव किन मेरो घरमा अनायस आयो ?’ भनी तर पनि ऊ सोध्न सक्दिन र मौन बनेर बस्दछे । यत्तिकै बीचमा राजीवले त्यो कोठाको सुन्यता भंग गर्छ । ‘जुनाजी म तपाईंलाई एउटा ‘सरप्राराइज’ दिन आएको’ जुना झस्किन्छे र प्रश्न गर्छे कस्तो सरप्राराइज ? के म थाहा पाउन सक्छु ? राजीव भन्न थाल्दछ ‘जुनाजी तपाईंको श्रीमान् हाम्रो अफिसको एउटा योग्य कर्मचारी हुनुहुन्थ्यो हामी उहाँको सधैं सराहाना गर्छौ तर उहाँ अफिसको निम्ति योग्य भए पनि आफ्नो कुलतको कारणले चाँडै हामीबाट बिदा हुनुभयो त्यसैले हामी प्रत्येक बर्ष उहाँको सम्झनामा अफिसमा सानो सम्झनारुपी कार्यक्रम गर्दछौं यस पटक भने तपाईं पनि हुनुहुन्छ र तपाईंलाई पनि हाम्रो अफिसमा त्यही सन्दर्भमा स्वागत गर्न चाहन्छौं । म यही खबर गर्नआएको हुँ अन्यथा नलिनु होला अहिले म गएँ ।’

राजीवको कुराले जुना मौन बनी । उसलाई कता कता खुसी पनि लाग्यो भने आफ्नो अतित बल्झिएर पनि आयो । उसलाई बल्ल मात्र थाहा भयो कि आफ्नो श्रीमान् बितेको भोली पाँच बर्ष पुग्नेछ भनी । भोलिपल्ट बिहानै जुना अफिस जानको लागि तयारी भई । उसलाई सदाझैं त्यो दिन रङीन लुगा लगाउन मन लागेन । उसले फिक्का रंगको साडी लगाई ।

सदाझंै उसलाई त्यो दिन शृङारपटार गर्न मन लागेन मानौं उसलाई साँच्चै त्यो दिन आफू बिधुवा भएको आभाष भयो । ऊ अन्य दिनभन्दा बेग्लै देखिएकी थिई । अफिसमा सबै कर्मचारीहरू भेला भइसकेका थिए ।

एउटा कोठामा कार्यक्रमको तयारी भइरहेको थियो । उक्त कोठाको भित्तामा जुनाको स्वर्गिय श्रीमानको तस्बिर टाङिएको थियो । फूलमाला अबिरले तस्बिर सजिएको थियो । सबैजनाले उक्त तस्बिरमा सम्बेदनाका अबिर र माला चढाइरहेका थिए । जुना पनि त्यहाँ पुगी । सबैले जुनालाई एकैसाथ हेरे उसको मुहार मलिन थियो । आँखामा आसुँ छचल्किएको थियो । राजीवले जुनाको त्यो स्थिती अझ गहिरिएर मलिन भै हेरिरहेको थियो । सबै जना उक्त तस्बिरको नजिक भएर पूजा गर्न थाले । राजीव पनि तस्बिर नजिक गएर पूजा गर्न थाल्यो । जुना आफ्नो स्वर्गीय लोग्नेको तस्बिरमा पूजा गरिसकेर तस्बिरमा ढोग गरेर के शिर उठाइरहेकी थिई राजीवको हातको फूल र अबिर जुनाको शिरमा ठोक्किएर उसको सिउँदोभरी छरिन पुग्यो । सबैजना किंकतव्यबिमूढ बने ।

राजीवले नतमस्तक बनेर जुनालाई माफी माग्दै भन्यो । ‘जुनाजी वास्तवमा यो अप्रत्याशित घटना भयो त र म वास्तविक जीवनमा नै तपाईंको सिउँदो रङिएको हेर्न चाहन्छु । ‘जुना अन्योलमा परी । राजीवलाई भन्ने शब्दहरू ऊभित्र थिएन । ऊ मौन बनी अनि एकपटक राजीवलाई पुलुक्क हेरेर निहुरी । सबैले मौन बनेर जुनालाई एकटकले हेरिरहेका थिए । जुना बाहिरिन खोजिरहेकी थिई । सबै मित्रहरूले उसलाई त्यहीँ रोके र एउटी महिला मित्रले जुनालाई भन्न थाली ।

‘जुनाजी आज हामी तपाईंलाई एउटा अनुरोध पनि गर्न आएका छौं के तपाईं हाम्रो अनुरोध स्वीकार गर्नुहुन्छ ?’ जुनाले आश्चर्यचकित हुँदै सबैतिर नजर फ्याँक्दै भनी । ‘कस्तो अनुरोध ?’ उही महिला मित्रले फेरि कुरा अगाडि बढाइन् । ‘जुनाजी हामी चाहन्छौ कि तपाईंको यत्ति लामो जीवन अब उसो एक्लो नबनोस् किनकि यो समाज र यसको रीतिरिवाजहरु विधुवाहरूको इच्छा बिपरित छ । हामी त्यो चाहँदैनौ ।

जुना नतमष्तक बनेर त्यो महिलाको कुरा सुनिरही । उसका आँखा अगाडि अतित सल्बलाउन थाले । उसलाई राजीवको केही ब्यवहारको झझल्को आयो । ऊ त्यो अफिसमा संलग्न भएको बर्ष दिनभित्रमा राजीवबाट निक्कै मद्दत अनि सामिप्यता पाएको महसुस गरेकी थिई जुनाले । बल्ल मात्र उसलाई आभाष भयो कि राजीव पहिलेदेखि नै ऊप्रति आकृष्ट भएको रहेछ भन्ने । ऊ किंकर्तव्यविमूढ बनी र उसले मौन भाषामा नै सबैलाई बिदा मागी । जुना त्यहाँबाट निस्केर घरतिर लागी । घर पुगेर कपडा फेरि । आफ्नो सिउँदोमा लागेको रातोरङ टक्टक्याउँदै ऐना अगाडि उभिरहेकी थिई । ऐनाबाट नै फेरि उसले ढोकामा राजीवलाई खडा भएको देखी ।

ऊ राजीवतिर फर्की अनि प्रश्नसूचक नजरले राजीवलाई हेरी । राजीवको हातमा एउटा बन्द खाम थियो । उसले त्यो खाम जुनातिर अघि बढाउँदै भन्यो । ‘जुना यो तपाईंलाई मेरो अनुरोध पत्र ।’ जुनाले कुनै प्रत्युत्तर नदिई उक्त खाम थापी । राजीव त्यो खाम जुनाको हातमा थमाएर फक्र्यो । जुनाले हातमा खाम लिएर राजीव ओझेल नभइन्जेलसम्म हेरिरही ।

बल्ल मात्र जुनालाई कता कता राजीवप्रति मायाको अँकुर पलाएझैँ लाग्यो । तर पनि ऊ विवश थिई आफ्नो अतित सँगाल्न । ऊ असमन्जसमा परी भविष्य कसको हातमा सुम्पने भनी ? जुनाले केही क्षणपश्चात उक्त खाम खोली । खामभित्र अन्य केही लेखिएको थिएन केवल चार हरफ कवितामय लहरहरू लेखिएका थिए ।

‘आउ आज म तोडिदिन्छु समाजको यो बन्धन पर्साउन चाहन्छु म तिम्रो पीडा र क्रन्दन । बसाउँ हामी नयाँ युगको संसार । आज दिनेछु साथ अब म खुलेर यो समाज माझ ।’ जुनाले ती हरफहरू पढी तर पनि उसलाई कता कता असहज लाग्यो किनकी उसले भविष्यको बारेमा त्यस्तो केही सोचेकी थिइन । अनायस उसको जीवनमा आएको परिवर्तनले ऊ असमन्जसमा परी । ऊ एक्लै सोचमा डुबिरही । राजीवलाई के उत्तर दिने ? अन्योलमा अल्झिएर उसले राजीवको त्यो प्रस्तावलाई मन भित्रभित्रै थाँती राखी अनि मनमनै भनी ‘मौन स्वीकृति भविष्यलाई ”।

अस्तु …

(स्रोत : श्री रुपरेखा)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.