~धनु लेकाली~
म दुलही भई भित्रदा
कुमारीत्वको माया गरेन,
कोखमा फूलाउँदा तिमीलाई
लाज र सौन्दर्यको माया गरेन
तिम्रो मुखमा मिठो पार्न
जे पनि गर्न तम्से
एक टुक्रा खाना पाउँदा
तिम्रा मुख सम्म पु¥याए,
सबथोक सम्झेर तिमीलाई
जलाए मेरा जवानीहरु
ढलाए मेरा रहरहरु
गलाए मेरा सपनाहरु
बिर्सिए मेरा भोग
बलिदान गरे निद्राहरु
तर कुनै फिर्ताको अपेक्षा बिना
खनाईरहे मेरा ममता
मेरो मातृत्वको मेरो ममता
तिमीलाई ठूलो बनाउन
तिमीलाइै मान्छे जनाउन
खै के बाँकी राखे र
मेरो कोखको टुक्राको लागि ।।
आज स्वयम्भू पशुपतिका
पेटी सडकमा लडिरहदा
भुसिया कुकुर साथी मान्दै
हाँसीरहेछु खुसी बनेर
आफ्ना सन्तानको कल्पनामा,
फालेका फाहोर भित्रका
भोजनहरु खोज्दै,
ज्यान बचाउनको लागि
हात थाप्दै दौडिरहेछु
मानब भिडहरुमा
तिरस्कार र बेदनालाई
अमृतमय स्वागतमा
दिनहरु ढलिरहेछ,
प्राण बचाई रहेछु
म तिम्री आमा,
म बाँचिरहेछु
तिमीलाई दिने ममता
दिलभरी साँच्दै
मरेकी छैन,सरेकी छैन
कसैले हरेको छैन् ।
यो चिसो सिरेतोमा
भोकै नाङगै,
सडक पेटीमा ढलिरहदा
तिम्रो याद आएको छ छोरा
तिम्रो पहिलो गुरुमा बन्दै
बोल्न सिकाए,
पढ्न सिकाए
दौडन, हाँस्न,
भोकालाई बाड्न
माग्नेलाई दिन,
नैतिकता र कर्तव्य पनि सिकाए
मैले तिमीलाई सिकाएको
नैतिकता सिकेनौ ?
मैले सिकाएको कर्तव्यको बोध
बिर्सियौ या भुल्यौ,
म डाँडा माथी हल्लिरहँदा
मर्ने दिन गनिरहँदा
तिमीलाई सम्झना आएन ?
आऊ छित्तै, म भएको ठाँउमा
मलाई जिउँदै जलाउन आऊ
तिम्रो हातबाट जल्ने रहर छ
तिम्रो हात देखी जले भने
माया गर्ने मन मर्नेछ
खुसीले पंख झर्नेछ
चिसो थाहा पाउने छाला
भोको महसुश गर्ने पेट
स्वाद पाउने जिब्रो
दुनियाको कुरा सुन्ने कान,
पापीहरु देख्ने आँखा
भिक्षा माग्ने हात
दौडिरहने खुटा
सबैलाई बिश्राम हुनेछ
न चिसो थाहा पाँउछु
न भोक, न तिरस्कार
न घाम न पानीनै
म खुसी रहनेछु ।
जिबन्त सम्म पनि
मेरो अनुरोध
मलाई कात्रो नलिनु
किनकी जिउँदो हँुदा
नाङगो बाँचे,
जिउँदो हुँदा पाएको भए
जाडो छेक्ने थियो,
पानी तार्ने थियो,
मलाई पिण्ड पनि नदिनु
बाँच्न सम्म सधैँ
भोक भोकै बाँचे
त्यही बेला पाएको भए
किन सडकमा माग्थे र
त्यसैले आऊ मेरो बाबु
जिउँदै जलाउन आऊ
तिम्रो हातबाट जल्ने रहर छ ।
धनु लेकाली
भकिम्ली एक, म्याग्दी
हालः त्रि.वि. कीर्तिपुर नेपाल ।।
December 28, 2014
(स्रोत : Koteli Samaj)