संस्मरण : नौडाँडा र ‘पागलबस्ती’

~सरुभक्त~Sarubhakta

मलाई कालो मोसो दल्ने योजना रहेछ

०६७ मङ्सिरको अन्तिम शनिबार । बिहानको समय । पोखराको महेन्द्रपुलस्थित दीपशिखा होटलको सभाकक्षमा मेरो उपन्यास ‘समय त्रासदी’माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको थियो । साहित्यकार राजेन्द्र चाँपागाईं ‘आहत्’ को अध्यक्षतामा केही महिनाअगि मात्र ‘र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपाल’ जन्मेको थियो, जसले प्रत्येक महिनाको अन्तिम शनिबार कुनै न कुनै किताबमाथि यस्ता परिचर्चा आयोजना गरिरहन्थ्यो । गहन बौद्धिक विमर्शको कार्यक्रम हुने भएकाले र्‍यान्डमका कार्यक्रमहरुमा बौद्धिक लेखक, प्राध्यापक र बुद्धिजीवीहरुको उपस्थिति थोरैमा धेरै हुन्थ्यो ।

यसपालि ‘समय त्रासदी’ को पालो परेको थियो । त्यसमाथि चेतभक्त सुवेदीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रको प्रस्तुतिपछि र्‍यान्डमको परम्पराअनुरुप प्रश्नोत्तर कार्यक्रम । जिज्ञासुका कति प्रश्न कार्यपत्र प्रस्तोतामाथि । कति प्रश्न लेखकको उपस्थिति भयो भने लेखकमाथि ।

म उपस्थित थिएँ । त्यसैले स्वाभाविक रुपले प्रश्नहरु ममाथि पनि गरिए । धेरैको जिज्ञासा ‘समय त्रासदी’ को लेखनसन्दर्भमाथि थियो । कति प्राध्यापकले मेरो समग्र औपन्यासिकताबारे पनि चर्चा गरे । चर्चाको क्रममा बहिनी क्षेत्र केसीले समय लिएर एउटा छोटो कथा नै भनिन्- “सरूभक्त दाइ, तपाईंं मलाई चिन्नुहुन्न । म पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा नर्सिङ अधिकृतको पदमा कार्यरत छु । यो ०५० सालको कुरा हो । त्यस दिन मेरो डयुटी नभए पनि एक जना परिचित बिरामी भेट्न म अस्पताल पुगेकी थिएँ । अस्पतालको इमरजेन्सीमा एउटी युवती रोइरहेकी थिइन् । उनको निधारको चोटमा तीन-चार टाँका लागेको थियो । मैले उनलाई रोएको देखी ‘के भयो बहिनी ? कहाँबाट आएकी ?’ भनेर सोधें । उनले भनिन्- ‘मेरो घर पूर्व पर्छ इलामतिर । म साथीहरुसित पोखरा घुम्न आएकी थिएँ । सरूभक्तको उपन्यास ‘पागलबस्ती’ को नौडाँडा भन्ने ठाउँ हेर्न जाँदा बाटोमा गाडी दुर्घटना भयो ।”

अप्रत्याशित रुपमा क्षेत्र केसीका मुखबाट यो मार्मिक कथा सुन्नुपर्दा म हतप्रभ भएँ । घटना २०५० को थियो तर २०६७ मा म के गर्न सक्थें ? मनमा लाग्यो, त्यो दुर्घटनाको खबर त्यही समय पाएको भए कति जाति हुन्थ्यो ! म अरु केही गर्न नसके पनि दुर्घटनामा परेकी बहिनीलाई भावनात्मक सहयोग र सेवा गर्न सक्थें ।

त्यसपछि मैले यो कथा कहिल्यै बिर्सन सकिनँ । सधैं मनले भनिरहृयो- ती युवती को थिइन् ? कस्तो मनले ‘पागलबस्ती’ को नौडाँडा हेर्न गएकी होलिन् ? दुर्घटनापछि कस्तो मन लिएर इलामतिर फर्किन् होला ?

विक्रमाब्द २०४८ मा ‘पागलबस्ती’ प्रकाशित भएपछि मेरा धेरै ज्ञातअज्ञात पाठकहरुले ‘पागलबस्ती’ र नौडाँडालाई पर्यायका रुपमा हेरेका छन् । पछिल्ला केही वर्षहरुमा मेरा कति पाठकहरुले भेटेर वा फोन गरेर ‘पागलबस्ती’ को नौडाँडा कहाँ पर्छ ?’ भनी सोधेका पनि छन् । अनि पागलबस्ती परिकल्पित बस्ती मात्र हो भन्ने जान्दाजान्दै कुनै संवेदनाद्वारा तानिएर नौडाँडा भ्रमण गरिरहेछन् र त्यहाँ साँच्चै नै पागलबस्ती थियो भन्ने अनुभूति गरिरहेछन् । परिकल्पित बस्तीलाई सत्य सम्झने पाठकहरुको यो गहन संवेदनाको मनोवैज्ञानिक अर्थ के हो ? मनोविज्ञहरु नै जानून् । मैले जानेको कुरा के हो भने जीवनको गहन अर्थबोध गर्न खोज्दा यथार्थ र परिकल्पनाका सीमा हराउँछन् । मानिसको जीवनमा कति यथार्थ परिकल्पनाजस्ता लाग्छन्, कति परिकल्पना यथार्थजस्ता । जीवनमा कति यथार्थ र परिकल्पना भिन्न लाग्छन्, कति यथार्थ र परिकल्पना समान लाग्छन् । सायद जीवन यथार्थ र परिकल्पनाभन्दा महान् छ । त्यसैले हामी कहिले यथार्थमा परिकल्पना बाँच्छौं, कहिले परिकल्पनामा यथार्थ बाँच्छौं ।

संवत् २०४८ मा ‘पागलबस्ती’ प्रकाशित भएपछि म लामो समयसम्म नौडाँडा गइनँ । कहिलेकाहीँ कार्यवश कुस्मा, बागलुङ वा अरु गाउँतिर जाँदा नौडाँडालाई मैले गाडीबाट देखें मात्र । एकपल्ट मलाई रहर लाग्यो- एउटा क्यामेरा बोकेर वा कुनै व्यावसायिक क्यामेरा म्यान लिएर नौडाँडा जाउँ अनि पागलबस्ती बसाइएको ठाउँको फोटो खिचेर उक्त उपन्यासको आगामी संस्करणको आवरणमा प्रयोग गरुँ । तर मेरो यो रहर सधैं रहरमै सीमित रहृयो । ‘पागलबस्ती’ बारे नौडाँडावासी के सोचिरहेका छन्, तिनले मेरो यो उपन्यास पढेका पनि छन् कि छैनन्- मैले कहिल्यै जान्न पाइनँ । साँच्चै भनुँ भने मैले जान्ने प्रयासै गरिनँ ।

संवत् २०५३ मा ‘संरक्षण कविता यात्रा’ सुरू भयो, २०५५ मा ‘संरक्षण कविता आन्दोलन’ । मैले संरक्षण कविता आन्दोलनको कार्यक्रम नौडाँडा र वीरेठाँटीमा राख्नु आवश्यकता सम्झेँ । २०५७ असार २९ गते आन्दोलनका केही कविहरुसित म नौडाँडा पुगें ।

‘पागलबस्ती’ रचना गरिएको समयमा नौडाँडा बजार असाध्य सुन्दर लागेको थियो । लजहरुमा पर्यटकहरु भरिभराउ हुन्थे । माथि मुस्ताङतिरबाट आएका घोडा-खच्चरहरुका कल्याङमल्याङ पनि सुनिन्थे । पोखराबाट तल्लो हेमजा, माथिल्लो हेमजा हुँदै सुइँखेतको फाँट छिचोले पनि नौडाँडा पुग्न लेवादेको उकालो चढ्नुपथ्र्याे । मलाई यो उकालो रमाइलो लाग्थ्यो । नौडाँडा बजार पनि व्यवस्थित थियो । बाटोमा ढुङ्गा बिछयाइएका थिए । बजारको बाटो हिँडेपछि ढिकुरपोखरीको एउटा मनोरम ढुङ्ग्यानी उकालो आउँथ्यो । म ढुङ्गेघरको पिँढीमा थकाइ मार्दै परको फेवाताल र पागलबस्ती प्रदेश हेर्न मन पराउँथें ।

यसपालि नौडाँडा पुग्दा भने नौडाँडा बजार सुन्दर होइन, उजाड लाग्यो । पुराना लजहरु गायब थिए । केही घरमा लजका बोर्ड झुन्डयाइएका थिए तर पाहुना थिएनन् । लाग्थ्यो, पुरानो नौडाँडा बजार पागलबस्तीझैँ बिस्तारै अवशेषमा परिणत हुँदैछ ।

यो उजाडताको प्रत्यक्ष कारण थियो । नौडाँडा बजारपछाडिबाट गएको पोखरा-बागलुङ राजमार्ग । यस्ता राजमार्गहरुले हाम्रा गाउँघरमा कति नयाँ बजार बसेका छन् भने कति पुराना बजार उजाडिएका छन् ।

हामी आन्दोलनका कविहरु सुनसान नौडाँडा बजारको एउटा पुरानो लजमा वास बस्यौं, जुन लामो समयदेखि पाहुनाविहीन थियो । असारको महिना, पहिलेदेखि नै पानी सिमसिमाइरहेको थियो । हामीले लजमा खुट्टो टेकेपछि सिमसिमाइरहेको पानीले तेज गति पक्रियो ।

मुसलधारे वषर्ा । कतै घुम्न जाने कुनै सम्भावना रहेन । हामी कविहरु साँझदेखि अबेर रातिसम्म कविता र अन्य साहित्यका विविध पक्षमाथि विचारविमर्श गरी बसिरहृयौं ।

रातभर परेको मुसलधारे वर्षाले भोलिपल्ट सुन्दर बिहानी जन्मायो । कविहरु लजमा चिया पिएर नौडाँडावरिपरि छरिए- कविता खोज्न, कविता रच्न । त्यसै दिन मध्याहृनमा स्थानीय मर्निङ स्टार विद्यालयमा आन्दोलन कविता गोष्ठी राखिएको थियो । यस कार्यक्रमका लागि मैले उक्त विद्यालयका संस्थापक एवम् प्राचार्य फणीन्द्र अधिकारीसित पहिले नै कुरा मिलाइसकेको थिएँ ।

आन्दोलनका कविहरु को, कता लागे मैले याद गरिनँ । म भने सरासर नौडाँडा बजारबाट राजमार्गतर्फ ओर्लें । एक ठाउँमा ‘नाउडाँडा’ लेखिएको बोर्ड देखें । यो नौडाँडाको वास्तविक नाम हो वा परिवर्तित, संशोधित- मैले जानिनँ तर सधैं नौडाँडा मानिएको ठाउँलाई ‘नाउडाँडा’ मान्न मेरो मनले रूचाएन ।

नौडाँडा बजारमुन्तिर पोखरा-बागलुङ राजमार्ग सोझो र सुन्दर देखिन्थ्यो । छेउपट्टि रुखको हरियालीले राजमार्गको सुन्दरता वृद्धि गरेको थियो । अनायाश मैले आˆनो दृष्टि पागलबस्ती बसाइएको ठाउँमा पुर्‍याएँ । पर फेवातालको सिरानमा विस्तारित त्यो खाल्टो परेको ठाउँ आˆनो विशिष्ट भूबनोटले मनमोहन देखियो । मलाई त्यो मनमोहक दृश्यमा हराइरहुँ वा कतै बसेर कविता लेखुँ- दोधार भयो । अन्ततोगत्वा कर्तव्यले तान्यो । म उपन्यासकार मनले होइन, कवि मनले माथिपट्टिको नौडाँडा बजार हेर्दै कविता खोज्न थालें । बिम्बहरु टिप्न थालें ।

बिहान भोजन गर्ने बेलामा हामी कविहरुले एकअर्कालाई भेटयौं । लेखिएका कविताबारे कुरा गर्‍यौं र भोजन गर्‍यौं । अनि झोला बोकी लजबाट बिदा भएर विद्यालयतर्फ लाग्यौं । विद्यालयमा कार्यक्रम सम्पन्न गरी त्यसै दिन अर्काे दिनको कार्यक्रमका लागि वीरेठाँटी पुग्नु थियो हामीलाई ।

मर्निङ स्कुल पुग्दा फणीन्द्र सरलगायत अन्य शिक्षक-विद्यार्थीहरुले हामीलाई हार्दिकतापूर्ण स्वागत गरे । विद्यालयको चउरमा संरक्षण कविता आन्दोलनको कविता गोष्ठी आरम्भ भयो । त्यस कार्यक्रममा विद्यालयका शिक्षक-विद्यार्थीबाहेक केही नौडाँडावासीहरुको पनि उपस्थिति रहृयो । असारको रोपाइँ, व्यस्त महिना, सबैको उपस्थिति सम्भव थिएन ।

आन्दोलन कविता गोष्ठी सफलतापूर्वक सम्पन्न भयो । हामी विद्यालयमा खाजा खाएर बिदा भयौं । केही शिक्षकहरु हामीलाई बिदा गर्न तल राजमार्गसम्म आए ।

विद्यालयबाट राजमार्गसम्मको छोटो हिँडाइमा एक जना रैथाने शिक्षकले कुरा झिके- ‘सरूभक्त दाइ, तपाईंं ठीक समयमा नौडाँडा आउनुभयो । अलि अगाडि आउनुभएको भए तपाईंंलाई अप्ठयारो पर्न सक्थ्यो ।’

‘किन र भाइ ?’ आश्चर्य मानी मैले सोधें ।

‘त्यस्तै कुरा थियो… ,’ उनी बोल्दाबोल्दै अन्कनाए । कुरा खोल्न चाहेनन् ।

‘भन्नु न, अप्ठयारो मान्नु पर्दैन… ।’ मैले उनलाई प्रोत्साहित गरें । कुनै विशेष कुरा होला भनी म अलि अधीर पनि थिएँ । अरु शिक्षक र कविहरुले पनि उनलाई उत्साहित पारे ।

‘तपाईंंको पागलबस्ती छापिएपछि त्यसबेला यहाँका युवाहरु तपाईंंसित असाध्यै रिसाएका थिए ।’ शिक्षकले कुरा खोले ।

‘किन र ?’ मैले सोधें ।

‘नौडाँडामा पागलबस्ती बसाएर यो ठाउँकै बेइज्जती भयो भनेर… ,’ शिक्षकले भने ।

‘बेइज्जत गर्‍यो भनेर रे ? मैले त असाध्यै मन परेर पो यो ठाउँमा पागलबस्ती बसाएको थिएँ ।’ मैले वास्तविकता खोलें ।

‘त्यो तपाईंंको भावना होला तर त्यस बेलाका युवाहरुले बेइज्जती नै महसुस गरे । त्यस बेला तपाईंं आउनुभएको भए तपाईंंलाई कालो मोसो दल्ने योजना थियो ।’ ती शिक्षकले अन्तिम कुरा खोले ।

‘ए, हो र ? यस्तो योजना थाहा पाएको भए म त्यसैबेला आइहाल्थें नि ।’ मैले सबैलाई मुखैले हँसाउँदै भनें तर मन हाँसेन । हामी शिक्षकहरुसित बिदा लिई बागलुङ जाने बसमा सवार भयौं ।

‘कालो मोसो दल्ने योजना !’ मैले नौडाँडा, वीरेठाँटीको त्यो यात्राबाट र्फकेपछि धेरै दिनसम्म सम्झिरहें । मलाई पागलबस्ती नौडाँडामा बसाएको अभियोगमा कालो मोसो दल्न चाहने त्यस बेलाका युवाहरु कोको थिए होलान् ? अहिले तिनीहरु के सोच्तै होलान् ? मनमा खसखस लागिरहृयो । त्यसपछि पनि म एक-दुईपल्ट नौडाँडा पुगें तर पागलबस्तीका सन्दर्भमा कसैसित केही कुरा भएन ।

२०६५ साल । एक दिन ढिकुरपोखरीका युवा साहित्यकार रामचन्द्र अधिकारीले मलाई ‘साहित्यिक चौतारी’, ढिकुरपोखरीको तर्फबाट कार्यक्रममा ‘प्रमुख अतिथि’ बन्ने निम्ता दिए । मैले सहर्ष स्वीकार गर्दै भनें- ‘ढिकुरपोखरीको नौडाँडासित मेरो पहिलेदेखिको सम्बन्ध छ नि, थाहा छ कि छैन ?’

उनी थाहा पाएकै अन्दाजमा हाँसे । तोकिएको दिन बिहान हरिचोकमा जम्मा भई पोखराका तीन-चार दर्जन साहित्यकारहरुका साथ म नौडाँडातर्फ लागें, रिजर्भ बसमा सवार भएर । बस ढिकुरपोखरी गा.वि.स. भवनछेउ अडियो । हामी सभाकक्षतर्फ लाग्यौं ।

साहित्यिक चौतारीको कार्यक्रम आरम्भ भयो । मैले कार्यक्रममा उक्त संस्थाद्वारा प्रकाशित ‘बिसौनी’ पत्रिकाको लघुकथा विशेषाङ्क विमोचन गरें । त्यसपछि लघुकथा वाचन र मन्तव्यको क्रम चल्यो । कार्यक्रमको अन्तमा मेरो पालो आयो । मलाई महसुस भयो- कार्यक्रममा नौडाँडा र ढिकुरपोखरीका गण्यमान्य र अरु धेरै व्यक्तिहरुको उपस्थिति छ । त्यसैले मैले मौकाको सदुपयोग गर्दै पागलबस्तीबारे नमागिएको स्पष्टीकरण दिनुपर्छ । परिकल्पित पागलबस्ती क्षेत्रमा पागलबस्तीबारे बोल्न यसभन्दा उपयुक्त समय अरु के हुन सक्छ ?

मैले मन्तव्यको प्रारम्भमै यस क्षेत्रमा आˆना थोरै तर अविस्मणीय भ्रमणहरुको चर्चा गर्दै नौडाँडा बजारमा पहिलोपल्ट वास बस्ता कसरी ‘पागलबस्ती’ रचना गर्ने प्रेरणा प्राप्त भयो भन्ने यथार्थ सुनाएँ । साथै यो प्रेरणाका लागि नौडाँडाप्रति आभार प्रकट गर्दै भनें- ‘मलाई यो ठाउँ मन परेर यहाँ पागलबस्ती बसाएको हुँ । त्यसैले मलाई विश्वास छ, जजसले पागलबस्ती मन पराउनेछन्, तिनले नौडाँडालाई पनि मन पराउनेछन् ।

कार्यक्रमको समाप्तिपछि मलाई लाग्यो, नौडाँडाले मेरो कुराको मर्म बुझ्यो । मप्रति आत्मीयता प्रकट गर्दै केहीले भने- तपाईंले गर्दा हाम्रो ठाउँको चर्चा भएको छ । हामीलाई त खुसी लागेको छ ।

म धन्य भएँ । लाग्यो, अब मैले कसैलाई स्पष्टीकरण दिनु पर्दैन । नौडाँडा भन्दा मानिसहरु ‘पागलबस्ती’ सम्झनेछन्, ‘पागलबस्ती’ भन्दा मानिसहरुले नौडाँडा सम्झनेछन् । समयको गतिसँगसँगै यो सम्झनेहरुकोे सङ्ख्या बढ्दै जानेछ, बढ्दै जानेछ ।

(स्रोत : Onlinekhabar.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.