ब्यस्त सडकको एउटा कुनामा एकजना महिला काखमा नानी राखेर ओहोरदोहोर गर्ने मानिसहरूसँग भीख मागीरहेकी छे । कसैकसैले मात्र उसलाई ध्यान दिन्छन् । तर म भने उसको दीन दरिद्र अवस्थाले द्रवित भएर सोध्छु— “बैनी, नानी रोइरहेको छ । दुध खुवाए हुँदैँन ?”
“यो काखको नानी मेरो नानी होइन, मेरो लोग्ने हो ।” उसको जवाफ सुनेर छक्क पर्दै म सोच्न थाल्छु, उसको दिमागी तन्तुहरू पनि खुस्केको हुनु पर्छ ।
“काखको नानी कसरी तपाईँको लोग्ने हुन्छ ?” म सोध्छु ।
ऊ केही बेर निर्निमेष दृष्टिले पर टाढा हेर्छे र मलाई । भन्छे— “यो काखको नानी मेरो लोग्ने हो । हामी लोग्ने स्वास्नी यहाँबाट हजारौँ किलोमिटर टाढा हिमालयको फेदिमा बस्थ्यो । खेती किसानीका साथ भेडा पालन हाम्रो पेसा थियो । त्यहा हामीले पचास वर्षभन्दा बढि सँगसँगै बसेर छोराछोरीहरू हुर्कायौँ । ठूला भएपछि छोराछोरीहरू गुडबाट उडेको बचेराझैँ टाढा गए । कहाँ गए ? फर्केर आएका छैनन् ।”
“खोइ त तपाईँको लोग्ने ?”
“इ, मेरो काखमा ।”
“होइन के भनिरहनु भएको छ ? यस्तो नानी पनि कसरी तपाईँको लोग्ने हुन्छ ?”
“यो त्यो दिनको यती हिमतालको जलको फल हो ।”
“कस्तो फल ?” म सोध्छु ।
“त्यो दिन म मेरा भेडाका पाठाहरू हराइरहेकाले हिउँले सधैं ढाकिरहने हिमरेखाभन्दा माथिको अग्लो स्थानमा पनि गएँ । त्यहा मैले यतीका पाइलाहरू देखेँ । ती पाइलाहरू पछ्याउदै जाँदा एउटा हिमतालमा पुगेँ । थाकेको र प्यास पनि लागेकोले त्यसको पानी खाएँ । पानी खानासाथ म ६० वर्षकी बूढी १७ वर्षकी तरुनी भएछु । त्यही तालको सङ्गलो पानीमा आफ्नो रूप हेरेर दङ्ग पर्दै म घर फर्किएँ । घरमा मेरो लोग्नेले मलाई चिनेनन् । मैले सबै कुरा बताए पछि उनी पनि त्यहा जाने भए । भोलिपल्ट बिहानै उनी त्यता गए । तीन दिनसम्म पनि उनी फर्केर नआएकोले खोज्दै म त्यही हिमताल पुगेँ । त्यहा मेरो लोग्ने त सानो नानी भएर किनारामा लडिरहेका थिए । उनलाई बोकेर म गाउँ फर्किएँ । गाउलेहरूले हामीलाई चिनेनन् । हाम्रो कुरा पनि पत्याएनन् र त्यहा बस्न दिएनन् । त्यसपछि आफ्नो लोग्नेलाई बोकेर म महिनौ हिडेर यहा आइपुगेकी छु । यहा जीविकोपार्जनको केही उपाय नहुँदा मागेर गुजारा चलाइ रहेका छौँ ।”
उसको कुरा सुनेर म ‘विश्वास गरुँ, कि न गरुँ’को स्थितिमा पुगेर उनीहरूलाई हेरेको हेरेकै हुन्छु । अहा, साँच्चै त्यो हिमताल छ ? यौवन दिने हिमताल भए …
(स्रोत : Paniphoto.com)