~गोपाल झापाली~
तिम्रो छाती
सगरमाथालाई जित्ने उचाई लिईरहेको बेला,
मेरो छातीमा
दशगजाका जंघेपिल्लर चिच्याईरहेका छन् ।
तिम्रो त्यो कलिलो ओठमा
भोगको परागशेचन भईरहेको बेला,
‘मेरो माटो’ बोल्ने ओठहरुमा
सलहको ताँती लागि रहेको छ
अब तिमी आँफै भन,
म तिम्रो मादक कटिको गीत गाएर बसौं कि मेरो छाती तर्फ हेरौं ?
एउटा मिराजको भ्रममा बाँचेको त्यहि मृग न हो मेरो मन पनि,
जो आफ्नो सुगन्ध तिम्रो पोल्टामा खोजी रहन्छ ।
अर्थात, त्यहि मिराजबाट प्यास मेट्ने आशक्ति मृग बन्छ ।
तर, गण्डकी र कोशीहरु तिर्खाले प्याक–प्याक भएको बेला,
म बाट तिमी कसरी प्यास मेट्न सक्छेउ ?
अब तिमी आँफै भन,
म तिम्रो त्यहि कुवामा जलक्रिडा गरेर बसौं कि
ती कोशीका मुखहरुमा पञ्चामृत लगाउँ ?
तिमी विवेकको रजश्वला भएको बेला
समयको दोभानमा पखालिँदी हौं,
अनि आफूलाई कञ्चन भएको भ्रमको बर्को बेर्दी हौ ।
कसैले देख्यो कि भनेर आफैं समिर्दी हौ पनि ।
तर मेरा आस्थाका जनै, धोती र कन्दनीहरु
लिलामी चढ्न लागेको बेला
म किन लोभिन्थेँ र तिम्रो सिमलु छाती र मादक पुठ्ठाहरुमा ।
अव तिमी आँफै भन,
तिम्रो ईन्द्रणी यौवन आफैं सम्हाल्छौ की
म अर्कै क्षितिजमा बन्धक बनौं ?
(स्रोत : Ekabita.blogspot.com)