(उपजाति)
आमा ! सबेरै घरमा उठाऊ
चिया र नास्ता पनि साथ ल्याऊ
पानी तताऊ अलि खान्छु होला
ल है त आमा यति गर्नु होला ।।
थिएन तातो दुध त्यो हिजोको
चिनी बढी थ्यो अनि त्यो चियाको
चाडै गरे है अबदेखि आमा
साह्रै ढिली छ्यौ घरको कुरामा ।।
आमा ! कता छन् कपडा मिलाऊ
ढिलो कतै हुन्छ सबेर आऊ
उठाउँदै फेरि नबिर्स है त
पैसा न पुग्ला अलि खर्च है त ।।
मोजा हरायो घरि त्यो कुनामा
पाइन्न चाँडै सजिलै त आमा
लौ बेर होला अनि के म खाऊँ
मिठो नखाई अनि के म जाऊँ ।।
हेर्नू न आमा अलि बोर लाग्यो
टाढा कतै घुम्न विचार जाग्यो
थोरै लुकाई बरु खर्चबर्च
सुटुक्क है भोलि बिहान खर्च ।।
गल्ती त आफैँ पनि हुन्छ आमा
गाली नगर्नू म त रुन्छु आमा
त्यो काम सारा म त के गरूँ नै
आमा तिमी नै गर है बिहानै ।।
मिठो खुवाऊ मसिनो खुवाऊ
राम्रो मलाई जहिलै बनाऊ
आफू नखाई पनि खान लाऊ
राम्रो नलाई पनि झन् सजाऊ ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )