पत्रकार: राष्ट्रको चौथो अंग। म आफैलाई देशको कर्मठ नागरिक सम्झिन्छु र ऐना हेरी टाई मिलाउँछु। सोच्छु, देश र जनताप्रति मेरो ठूलो कर्तव्य छ। मन त लाग्छ नि देशलाई विकासको बाटोमा धकेल्न तर के गर्नु ! आफू परियो लुते पत्रकार, धकेल्ने बल नै छैन। म चाहन्छु, नारी र पुरूषमा समानता होस्। नारी पुरूषसँग काँधमा काँध मिलाएर हिँडुन् । तर, नजिकै टाँसिन गयो भने त्यही नारीले तर्साउँछिन् र पो त ! तैपनि मेरो कार्यालयमा जब मान्छेहरू कामका लागि आउँछन्, अनि म नारीलाई नै प्राथमिकता दिन्छु।
यसलाई उल्टो अर्थमा नलिनु होला। मेरो विचार पवित्र छ। म जस्ता जनआन्दोलन २०६२/६३ सँगै श्रमजिवी पत्रकारहरूले आआफ्नो तह र तप्काबाट लोकतन्त्रको पक्षमा कलम चलाइरहे, अनि लोकतन्त्रको प्रतिध्वनि गुनगुनाइरहे। लोकतन्त्रको आगमन पनि भयो। त्यसको आगमनसँगै मनन गर्थें, अब भने निर्धक्कका साथ सत्यतथ्य, निष्पक्ष र विश्वसनीय सूचना प्रवाह गर्न पाइने भइयो।
साथीहरू गुनासो गर्छन्- सूचना प्रवाहको त कुरै छोडौं आफ्नो ज्यान समेत गुमाउनु परेको छ धेरैले। आन्दोलनमा लागेका सबैका सपना पुरा भएका छन् र पत्रकारहरूको हुने? कुरो बुझ्न र चित्त बुझाउन जान्नुपर्छ नि ! यत्रो क्रान्ति गरेर आएको सरकारलाई जाबो २-४ जना मारिए भन्दैमा अत्तो थाप्ने प्रतिक्रियावादी काम गर्नु त भएन नि। सिधा कुरा, हेर्नुस आफू त सत्तावादी। सरकारमा जो छ जसको सिता खाई उसैको गुण गाइ। चिन्ताको कुरै छैन। प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको हेर्दा मेरा साथीहरूलाई अहिले गणतन्त्रमा पहिलेको निरंकुशतन्त्रको झझल्को आउँछ रे। राजनितीक दलका भातृ संगठन, सशस्त्र समूह, फटाहा, जाली, गुण्डा, देशद्रोही र तस्कर सबैले स्वतन्त्रताको स्वाद चाखेका बेला यसो भन्न मिल्छ र? पत्रकारले पनि त जान्नु पर्यो नि स्वतन्त्रताको उपभोग गर्न। कसैलाई मन नपर्नबाहेक अरू सबै कुरा लेख्न, बोल्न, सुन्न र सुनाउन कसले रोकेको छ र?
राम्राराम्रा मिठामीठा कुरा लेख्नु नि। लुकाएर पढ्ने कुरा लेख्नु। सुटुक्क भन्ने कुरा भन्नु नि ! त्यसो गर्नेको ज्यान गएको छ? जान्ने भएर पुराना कुरा खोतलीखोतली अप्ठेरोमा पार्न काम किन गर्नु त !
यसैले साथी हो राम्रो कुरा लेख। मीठा कुरा खाऊ, अरूलाई नसताऊ ! अरूको कुरामा टाउको नदुखाऊ। अनि पो हुन्छ त सुख ! हैन त?
(स्रोत : Dainikee.com)