संसारकै सबैभन्दा ठुलो बृद्धाश्रम
मेरो देशमा छ
बृद्धाश्रम –
जसको उत्तरआधुनिक तिर्थस्थलहरु छन् –
भारत
चीन
बेलायत
अमेरिका
जसको एउटै छ सिद्धान्त
कि देश बनाउनु
उत्तरआधुनिक देउताहरुको तथास्तु चाहिन्छ
जसको –
खलामा हुन्छ सधैं दाइँ
कहिले खेतमा हुदैन रोपाइँ
संसारकै सबैभन्दा ठुलो वृद्धाश्रम
तपाईको देशमा छ
वृद्धाश्रम –
जहाँ झ्यालहरु छैनन्
ढोकाहरु मात्रै छन्
यो वृद्धाश्रम हो कि बन्द गोदामघर ?
प्राय सबै बेखबर छन्
जहाँ –
प्रेटोल र डिजेलको ट्याङ्करहरु जस्तै
थिङ्क ट्याङ्करहरु रातारात आयात हुन्छन्
जहाँ –
पुराना सामान जस्तै
खपाउ हुन्छन् पुराना विचारहरु
जसले कायम राख्छ देशमा शान्ति र अमन चयन
संसारकै सबैभन्दा ठुलो वृद्धाश्रम
उहाँको देशमा छ
वृद्धाश्रम –
जो खासमा वृद्धाश्रम होइन
सधैं ढाँट्छ,
इन्डिया बाट विदेश जानु सस्तो पर्छ भन्दै
इन्डिया लगेर अलपत्र पारे जस्तो
बाटैमा अलपत्र पार्छ
जो –
अक्सर परनिर्भरता छाद्छ
र यो देशको झन्डाले मुख पुस्छ
कसैले सोधे
‘रातोमा फोहोर देखिदैन’ भन्छ
जो –
सामान्य लहरेखोकीले जब आक्रान्त हुन्छ
तब घोर्ताप्रे खोज्नु
उत्तरआधुनिक तिर्थस्थल जान्छ
फर्केपछि
तीर्थयात्रा औचित्यपूर्ण भएको घोषणा गर्छ
संसारकै सबैभन्दा ठुलो वृद्धाश्रम
हाम्रो देशमा छ
वृद्धाश्रम –
जसले खोकेको छ
जसरी बजेको छ महाभारतमा
द्रोणाचार्यको प्रश्नको उत्तरको साटो
युधिष्ठिरको जवाफमा शंख
र छोपेको छ काँडेतारहरुले बाटोहरु
जहाँबाट घाम झुल्किन्छ
जसले –
बोकेको छ कोर्नग्राफ घडीमा समय
ज्वारीकोटको गोजीमा समाज
बर्माकोटको गोजीमा देश
जसले –
पारेको छ सबैभन्दा ठुलो टेण्डर
ल्याएको छ वैदेशिक लगानीको ओइरो
बनाएको छ यति सुन्दर शान्त देश
संसारकै सबैभन्दा ठुलो वृद्धाश्रम
हाम्रो देश नेपालमा छ
तर यसको नाम भने अर्कै छ
र त युवाहरु देशबाहिर छन् …|
June 25, 2014
(स्रोत : पाण्डुलिपि पत्रिकाको बर्ष १ अंक २, २०७१ मा प्रकाशित )