‘ए सेतु तेरो गाईले काँबाट बाच्छा पाउँछ भन् तो ?’
मैले सेतुलाई सधै यही सोधेर हैरान पार्थेँ।
अनि कहिलेकाहीं त उसले रिसाएर आफ्नो च्यातिएको मैलो फ्रक उल्टाउँदै भन्थी ‘यी ह्याँबाट …… देखिस् ?’
अनि म पनि उसलाई बारीका डल्ला उचालेर अनि झारपात भाँचेर त्यसैले हिर्काउन दौडिन्थे। तर भेट्न सक्दिनथेँ। ऊ मभन्दा जेठी हो कि कान्छी हो याद छैन। तर हामी गोठालो जाँदा पनि धेरैजसो सँगै हुन्थ्यौँ।
राता, सेता, नीला अनि काला टालाहरु बेरेर उसले पुतली बनाएकी थिई। ऊ झिंजा भाँच्न गएका बेला मैले त्यो पुतलिको धोति फुस्काइदिएँ। हामी त्यो बेला ‘घरकुली’ खेल्दै थियौँ।
ऊ आइ। रोइ। कराई। अनि मेरो कपाल तान्दै भनी ‘ला बरु मेरो कट्टु फुस्काइदे।’ उसले आफ्नो त्यो मैलो फ्रक माथि फर्काइ। मैले हेरेँ, त्यहाँ कट्टु थिएन।
भनेँ ‘तेरो कट्टु त कौवाले लगेछ, सेतु।’ मैले उसको आङभरी उल्टै बारीको धुलो फ्याँकी दिएँ।
अघिल्लो दिन हामीले बुलबुले पँधेरामा सँगै नुहाएका थियौँ। नुहाइसकेर त्यहाँ सुकाएको कट्टु उसले त्यहीं भुलिछ। ‘काले त भैगो, कमिनीको पोइ।’ यसरी मलाई गाली गर्दै ऊ पधेरातिर दौडिई।
मलाई गाउँमा सबैले ‘सेतुको पोइ’ भनेर जिस्क्याउँथे तर उसले भने मलाई ‘कमिनीको पोइ’ भनेर गाली गर्थी। हाम्रो घर नजिकै एकजना कामी बाजेको घर थियो। उनकी छोरी ‘बिना’ पनि हाम्रै उमेरकी थिइ। तर गाउँभरीमा सेतु र म मात्रै सँगसँगै खेल्थ्यौँ। सधै सँगै हुन्थ्यौँ।
ऊ अहिले कहाँ छे थाहा छैन। उसँग मैले कति वर्ष बिताएँ, त्यो पनि थाहा छैन।
हामीसँग बाख्रामात्रै थिए। गाइ, भैसी, गोरु केही थिएन। किनकी हामीसँग जोत्नका लागि जमीन केही थिएन। सेतुहरुका भने धेरै गाइगोरु, अनि भैसीहरु पनि थिए। बाख्राहरु पनि थिए।
हामी धेरैजसो गाइवाख्रा लिएर बनमा जान्थ्यौँ। घरको सिरानमै बन थियो।‘झपरेटा बन’ भन्थे। अनि कहिलेकाहीं हामी नजिकैको गहिरो चिरातिर गाइवाख्रा लैजान्थ्यौँ। अलिअलि याद छ, त्यो चिरो धेरै गहिरो छ अरे, अनि फराकिलो पनि उस्तै छ अरे। अहिलेसम्म त्यो चिरो कसैले पनि नाघ्न सकेका छैनन् अरे। तर हाम्रा बाजे (बुवाका बुवा) ले भने त्यो २२ हात चौडाइको चिरो नाघेका अरे। गाउँमा सबैले सुनाउँथे।
बनमा गोठाला गएका बेलामा मैले अरुहरुलाई खुब सताउँथेँ। गाइगोरु लखेटीदिने। किराहरु छोेपेर उनीहरुको शरीरमा हालिदिने, खुब रमाइलो लाग्थ्यो। एकदिन आफ्नै गाउँले फुपुको नाता पार्नेलाई मैले ‘डेढीग्वाल’ भन्ने (वर्षायाममा पाइने किरा) उनले लगाएको म्याक्सीबाट भित्र छिराइदिएँ। पछि खुब पिटाइ पनि खाइयो।
वर्षाको समयमा म जंगलमा खसेका सालका पातहरु बटुल्थेँ। त्यसमा धेरै त्यस्ता जंगली किराहरु (धेरैजसो त्यही डेढीग्वाल) लाई छोपेर राख्थेँ अनि ती केटीहरुलाई बोलाएर ‘यहाँ हात हाल त च्याउ निस्किन्छ भनेर हात हाल्न लगाउँथे उनीहरुले किरा समातेपछि चिच्याउँदै भाग्थे, म भने हाँस्दै भाग्थेँ।’ जंगलमा गोठाला भएको बेला हामी धरैजसो डण्डीवियो खेल्थ्यौँ। हार हुनेहरुले एउटामात्रै शब्द उच्चारण गर्दै लामो समयसम्म एकैसासमा धेरै लामो दुरी पार गर्नुपर्ने हुन्थ्यो। त्यसो हुँदा उसले कतै सास लिन्छ कि भनेर हामीलाई पनि दौडिनुपर्ने हुन्थ्यो।
एक दिन,
अजम्वरी काठको सानो लठ्ठी। त्यसमा रवरको (त्यो बेलाको हात्तिछाप) चप्पल काटेर बनाइएको पाङ्ग्रा। त्यो चप्पललाई भने हामी गद्दीवाल चप्पल भन्थ्यौँ। तर हाम्रो हुँदैनथ्यो, गाउँमा कतै फालिएका चप्पल ल्याएर हामीले त्यसलाई गोलोगरी काटेर, अझ त्यसमा बीचबीचमा बुट्टाजस्तो बनाएर पाङ्ग्रा बनाउथ्यौँ। त्यसरी बनाइएको मोटर भाइले मस्तसँग दौडाइरहेको थियो। बीचबीचमा आवाज पनि निकाल्थ्यो गाडी कराएजस्तै। म पनि त्यस्तै धुलोमा खेल्दै थिएँ। त्यो चप्पलको मोटर फालेर भाइले दौड्दै आएर भन्यो ‘खाना देऊ न भोक लायो।’ भित्र पसेँ। यताउता हेरेँ केही भेटिनँ। सबै भाँडा रित्ता थिए। एउटा भाँडामा मकैको पीठो थियो, सायद। त्यो पहेँलो थियो। अलिअलि याद छ। भाईसँग नभेटिएको भने धेरैवर्ष भइसक्यो अहिले।
हाम्रो घर सानो छाप्रो थियो। त्यो पनि हाम्रो जग्गा थिएन। ऐलानी थियो। अहिलेसम्म पनि दर्ता जमीन छैन हाम्रो। भित्र पस्दा पनि निहुरिएर पस्नुपर्थाे। अरुका घरमा झ्याल हुन्थे, त्यत्रै हाम्रो घरको ढोका थियो। अरु घरका ‘मोकेला’ हाम्रा घरमा झ्याल थिए। मैले त्यही झ्यालबाट भाइलाई भनेँ ‘ऐले दिदी आउँछे अनि खाम्ला।’
भाइ भुँइमा पछारिएर रुन थाल्यो। उसलाई भनेको चिज तुरन्तै चाहिन्थ्यो। दिदीहरु, आमाबुवाहरु कता गएका थिए याद भएन। एउटी दिदीचाहीं ठूला बाजे (गाउँका बाहुन, जो गाउँकै धनी थिए) उनको घरमा काम गर्न गएकी थिइ। त्यहाँ उसले भाँडा माझ्ने काम गर्थी। कहिले आमा अनि कहिले दिदीहरु पालो त्यहाँ काम गर्न जान्थे। जुठोभाँडा, कपडा धुने, घरगोठ सफा गर्नेदेखि लिएर बाहुनका छोराछोरीलाई खुवाउने पिलाउनेसम्म काम गर्नुपथ्र्याे। कहिलेकाहीं आफूसँगै लगेका बेला हामी बाहुनकै छोराछोरीसँग खेल्न थाल्थ्यौं, दिदीले भाँडा माझ्थी। कम्लहरी नै थिए, दिदी र आमाहरु। मेरा चारवटी दिदीहरु छन्। तीमध्ये तीनवटी दिदीहरु आमाको पहिलो घरबाट थिए, भने एउटी दिदी, म अनि एउटा भाई पछिल्लो बाबुबाट जन्मिएका थियौँ। तर सधै हामी एउटा आमबाबुका छोराछोरीजस्ता भयौँ। ती मध्ये माहिलीचाहींको मृत्यु भइसकेको छ।
हामी सधै मकैका च्याँख्ला (गाउँमा त्यसलाई दर्रे भन्छन्) पकाएर खान्थ्यौँ। हाम्रो घरमा चामलको भात पाकेको मैले धेरै समयपछि मात्रै थाहा पाएको हुँ। कहिलेकाहीं ढिडो (आटो) पनि हुन्थ्यो। तर डिढो भन्दा च्याँख्ला अलि माथिल्लो कोटीको मानिथ्यो। त्यसैले आटो पाकेको दिन म सधै रुन्थें, कान्छी दिदी पनि त्यस्तै गर्थी, भाइ पनि। अनि बल्ल फेरि त्यो ‘दर्रे’ पाक्थ्यो।
दिदीले हामीलाई भुलाउनका लागि बनाइदिएको त्यो मोटर पनि भाइले खान नपाएको रिसले भाँचिदियो। ऊ भुँइमै लडिबुडी गर्दैथियो। मैले के दिने होला भनेर सोचिरहेँ। सायद जाडोको महिना थियो क्यार। केही उपाए भएन खानका लागि। मकैका च्याँख्ला पकाएर खाने ‘आइडिया’ पनि फुरेन। सायद म पाँच वर्षको थिएँ, ऊ तीन वर्षजतिको हुँदो हो।
के ख्वाउने त्यसलाई ? भोक त आफूलाई नि लागेको थियो। तर म भोक खटाउन माहिर छु, अहिले पनि। त्यै बेलामा एउटा कुखुरा हाम्रो आँगनमा देखियो। अनि मलाई अर्कै ‘आइडिया’ आयो। त्यो कुखुरालाई घरभित्र लैजाने र त्यसलाई मार्ने। भाले थियो कि पोथी त्यो भने याद भएन।
भाइलाई फकाएर चुप लगाएँ। अनि एक दुईवटा मकैका गेडा छर्दै त्यो कुखुरालाई भित्र पुर्याएँ। ढोका लगाएर त्यसलाई छोपेँ अनि त्यसको मलद्वारबाट एउटा काठ किलाएर त्यसलाई मारेँ। अनि भाईलाई काँचै मासु खुवाएँ। भाइ फेरि खेल्न निस्कियो। मलाई भने डर लाग्न थाल्यो। भरे थाहा पाए भने के भन्लान् भन्ने डर लाग्यो। अनि त्यसलाई कपडाले बेरेर डरी (अन्न राख्न बनाइएको माटोको भाँडो)भित्र हालेँ।
साँझ सबैजना आए। बुवा भने आएनन्। उनी रक्सी खाएर कतिबेला आउँथे केही थाहा हुँदैनथ्यो। सधैजसो, आएर आमा, दिदीहरु, अनि हामी सबैलाई पिट्थे र घरबाहिर निकाल्थे। हामी नजिकैको ‘बोई’को घरमा जान्थ्यौँ। तर धेरैजसो घरमा आउँदैनथे, त्यसैले बुवासँग हाम्रो अझ त्यसमा पनि मेरो धेरै सम्बन्ध भएन। मलाई याद भएसम्म म धेरै कममात्रै बालेको छु, बासँग आजभोलि त भेट नै हुँदैन।
रक्सी खाने अनि घरमा आएर आमालाई पिट्ने बुवाको नित्यकर्म जस्तै थियो। उनी सधैभरी यस्तै गर्थे। छुटाउन र रुन खोज्दा पिटाई हाम्ले नि खुब खान्थ्यौँ। धेरै त आमाले सहन्थिन्। अनि धेरै भयो भनेमात्रै घर छोडेर हिंड्थ्यौँ। आजपर्यन्त उनी त्यस्तै गर्छन्। बुवा मसँग कहिल्यै राम्रोसँग बोलेनन्। मलाई नजिक पर्न पनि डर लाग्थ्यो। सधै आमालाई पिट्ने भएका कारण मैले सानैदेखि बुवालाई कहिल्यै राम्रो मानिनँ।
कहिलेकाहीं त हँसिया, खुकुरी वा खुर्पा जे भेटिन्छ त्यसैले हिर्काउँथे बुवाले। बुवा घर आउने बेलामा दिदीहरुले सधै घरमा भएका सबै काट्ने भाँडाहरु नभेटिने ठाउँमा लुकाउँथे। ससाना कुरामा निहुँ खोजिरहन्थे बुवाले। खाना मीठो नमीठो, नुन लागेको, बढी भएको, पानी थोरै भएको, धेरै भएको, खाना थोरै हालिदिएको, कम हालिदिएको यी सब निहुँ हुन्थे आमाले पिटाइ खाने। यहाँसम्मकी हाँसे पनि पिटाई खान्थिन्, बोले पनि पिटाई खान्थिन। अनि चुप लागेपनि रिसाइस्? भनेर पिटाई खान्थिन्। जे गरेपनि सुख हुँदैनथ्यो।
मैले घर नछोड्दासम्म सायद त्यस्तै कुनै दिन थिएन, जुन दिन हाम्रो घरमा झगडा नपरेको होस्।
कयौँपल्ट त रक्सी खाएका बुवालाई दिदीहरुले डोरीले बाँधेर पनि राखेका छन्। धेरैपल्ट हामीले ढोका पनि खोलिदिएनौँ। तर पनि उनी जर्वजस्ती ढोका खोलेर भित्र पस्थे र हामी निदाएको बेलामा पनि आमालाई पिट्थे। हामी पनि रुँदै बाहिर निस्किन्थ्यौँ। कहिलेकाहीं छिमेकीलाई बोलाउँथ्यौँ। पछिपछि त कोही पनि आउन छोडे। वुवालाई झनै मनपरी हुन्थ्यो।
कहिलेकाहीं धेरै भयो भने हामी त्यही बुवा पिउन भएको स्कूलको हेडसरको घरमा पनि जान्थ्यौँ। अनि अर्काेदिन हेडसरले बुवालाई त्यहीं बोलाएर बेस्सरी गाली गर्नुहुन्थ्यो। अनि फेरि हामी घरमा(स्कूलको कोठामा) जान्थ्यौँ। हेडसरका छोराहरुले पनि हामीलाई राम्रो मान्नुहुन्थ्यो। ती हेडसर अहिले स्वर्गीय भइसक्नुभो। कहिलेकाही स्कूलका शिक्षकहरु आएर बुवालाई गालि गर्थे। केही दिन घर शान्त हुन्थ्यो, तर फेरि उस्तै हुन्थ्यो।
केही बेरपछि दिदीहरु जम्मा भए। आमा पनि आइन्। दिदीले बाहुनको घरबाट (वासी) भात लिएर आएक रैछे। चामलको भातलाई हामीले ‘सेतो भात’ भन्थ्यौँ। दिदीहरु बाहुनका घरबाट आएपछि त्यो खानका लागि हामी भाइ बहिनी खुब लड्थ्यौँ। पछि आमा र दिदीहरुले हामीलाई अलिअलि भाग लगाएर दिन्थे। त्यो दिन पनि हामी खुब लड्यौँ। र अन्तमा फेरि त्यसैगरी ‘सेतो भात’को भाग लाग्यो।
सेतो भात खानका लागि दशैं नै कुर्नुपथ्र्याे। अनि तिहारमा पनि खान पाइन्थ्यो। तीजमा भने दिदीहरुलाई बाहुनकै घरबाट अलिकति दही र केरा पठाइदिन्थे। त्यो पनि साँझ उनीहरुले खाइसकेपछि दिदीहरुले लिएर आउँथे। अनि दिनभरी व्रत बसेका आमा, दिदीहरुले खाइसकेपछि बल्ल त्यो हाम्लाई दिन्थे। हामी दिदीहरु बाहुनका घरमा काम गर्न जाने बेलामा जहिल्यै सँगै जानका लागि झगडा गथ्र्याैँ। त्यहाँ गएपति बाहुनका छोराछोरीले खानेबेलामा ‘सेता भात’ खान पाइन्छ भनेर। तर दिदीहरुले लैजान मान्दैनथे। बाहुनका केटाकेटी त हामीसँग खुब खेल्न मन पराउँथे। तर अरुले राम्रो मान्दैनथे कि सायद। त्यसैले दिदीहरु हामीलाई थाहै नदिइ जान्थे। तर साँझ फर्किने बेलामा भने ‘सेतो भात’ खानका लागि हाम्रो फेरि झगडा हुन्थ्यो।
धेरै समयसम्म सेतो भात खान पाइएन भने त हामी बिरामी भएको बाहाना पनि गथ्र्यौँ। कम्तीमा बिरामी भएको बेलामा ‘माड’ भएपनि चामलकै हुन्थ्यो। पहिला माडको झोलमात्रै पिएर त्यसमा बचेको चामलको सिता फेरि गनीगनी बराबर बनाएर दुई भाइले खान्थ्यौँ। जब सेतो भात खान पाइन्थ्यो अनि लाग्थ्यो, हामी पनि जिम्दार हौँ। किनकी बाहुनका छोराछोरी पनि हामीजत्रै थिए, र हामी सँगै खान्थ्यौँ।
कहिलेकाहीं बाहुनका घरमा पाहुना आएका बेला अलि धेरै भात पाक्थ्यो। र धेरै बच्थ्यो पनि। त्यो बचेकोजति भात सबै त्यहाँ काम गर्न जाने दिदी अनि आमाले लिएर आउँथे, रातीमा। दिदीले हाम्रा लागि त्यो भातलाई तताइ दिन्थी(भुटिदिन्थी)। कहिलेकाही तेल हालेर कहिले चिउरीको घिउ हालेर। अनि आफ्ना लागि भने आटो पकाउन थाल्थे। त्यो भात भुटेको कराईको वरीपरी हामी दिन भाइबहिनी हुन्थ्यौ, हाम्री कान्छी दिदी, म अनि भाई। भाग लगाएमा तलमाथि पर्छ, भनेर तीनैजनाले त्यही एउटै कराइमा खान्थ्यौँ। एउटाले एक गासँ खाएपछि मात्रै अर्काेले खान्थ्यौँ। बराबर होस् भनेर। एउटा खाँदाखाँदै तीर्खा लाग्यो भने सबैले खान रोकिनुपथ्र्याे। एउटाले केही गरी एक गाँस बढी खाएमा अर्काेदिनको उसको एक गाँस कट्थ्यो। हामीले त्यस्तो नियम पनि बनाएका थियौँ।
म सधै सोंचिरहन्थेँ बाहुनका घरमा सधेभरी पाहुना आइरहून्, त्यहाँ धेरै भात पाकिरहोस्, धेरै भात वासी होस्। अनि त्यो ‘सेतो भात’ हाम्रो घरमा आओस्। तर कैलेकाहींमात्रै त्यस्तो हुन्थ्यो।
सेतो भात खानका लागि हामी कहिलेकाहीं भागेरै भएपनि मामाघर जान्थ्यौं। मामा घर भन्नेमात्रै हो, त्यहाँ आमाका बुवाआमा मात्रै थिए, मामा त अन्तै बस्नुहुन्थ्यो, अहिले पनि राम्रोसँग याद छैन मामाको अनुहार। उहाँहरुको पनि आफ्नै जमीन थिएन। प्यूठान स्वर्गद्वारी गुठीको स्वामित्व रहेको देउखुरीको जमीनमा उहाँहरु सानो छाप्रो बनाएर बस्नुभएको थियो। पछि उहाँहरु लमही बजारनजिकैको रातोडाँडामा सर्नुभयो। त्यो पनि ऐलानी थियो। अहिले त्यहाँ थुप्रै घरटहराहरु भएका छन्। त्यो सब अतिक्रमण गरेर बनाइएका हुन्। पटकपटक लमही नगरविकास समितिले त्यो वस्ती डोजर लगाएर उठाएपनि सफल भएन अहिले त्यहाँ बाक्लो वस्ती छ। कतिपटक बाजेबोइलाई भेट्न जाँदा म छाप्रोहरुमा अलमलिएको छु।
अहिले उहाँहरु बितिसक्नुभएको छ। पछिमात्रै थाहा पाएँ। भर्खर पिच भएको राजमार्गको छेउमै थियो बाजेहरुको छाप्रो। गाडीहरु दौडिएको हेर्न मलाई खुब मज्जा लाग्थ्यो। अलकत्रा बिछ्याइएको सडकमा गाडीको पाङ्गा रगडिएर निस्किएको वासना अनि त्यसमा गाडिबाट निस्किने डिजलको कालो धुवाँको वासना खुब मन पथ्र्र्याे। यहाँसम्म कि म जिल्लाको हापुर गाविसबाट हिंड्दै पनि लमही पुगेको छु। करिब ५० किलोमीटरजति पर्छ। बिहानै ५ बजे हिंडेका हामीहरु साँझका ६ बजेतिर बाजेको घरमा पुगेका थियौँ।
चैलाहीमा त्यो बेला डिष्टिलरी पनि थियो। त्यहाँ प्रत्येक घण्टामा घण्टी बज्थ्यो। त्यो बजारभरी सुनिन्थ्यो। त्यो रक्सी बनाउने ठाउँ हो भन्ने थाहा पाएपछि हामी त्यहाँका केटाकेटी मिलेर गेटपालेलाई छक्याएर रक्सीका सीसीहरु चोथ्र्याै अनि बजारमा त्योसँग साटेर भेली खान्थ्यौँ। खुब मजा हुन्थ्यो। एकदिन गेटपालेले पिटेपछि भने म त्यहाँ जान छोडेँ।
बाजेबोइका घरमा सिन्की(गुन्द्रुक)मा अलिकति टमाटर हालेर बनाइएको झोल मलाई खुब मन पथ्र्यो। त्योसँग मैले टन्न भात खान्थेँ। किनकी हाम्रो घरमा चामलको भात खान पाइँदैनथ्यो। हाम्री आमाको एउटामात्रै दाई हुनुहुन्थ्यो। अग्लो धेरै अग्लो। अलिअलि याद छ मलाई। उहाँका दुइवटी श्रीमति थिए। त्यसैले आमाबुवासँग छुट्टिएर बस्नुभएको थियो।
बाजेबोइले जाँडमा हाल्ने औषधी(त्यसलाई लारु पनि भन्छन्) त्यही बनाएर बेच्नुहुन्थ्यो। अनि त्यसैबाट आएको पैसाले गुजारा चल्थ्यो। बाजेले दिनभरी बनबाट केही दाउरा अनि जडिबुटी खोजेर ल्याउनुहुन्थ्यो अनि बोइले त्यसलाई पिसेर जाँडमा हाल्ने औषधी बनाउनुहुन्थ्यो। त्यो किन्न धेरै मान्छे आउँथे। त्यो औषधी हालेपछि अन्नबाट बनेको जाँड राम्रो हुन्थ्यो। पछिसम्म पनि उहाँहरुले त्यो बनाइरहनुभयो। मेरी आमाका चार जना दिदी बहिनी थिए। मामाले धेरै मतलव नगरेपछि आमाबुवालाई दिदी बहिनीहरुले सहयोग गर्थे। करिब पाँच छ वर्ष भयो म कसैसँग पनि भेट भएको छैन्।
…
त्यो दिउँसो मारिएको कुखुराको रगत भने भुँइमा कता कता छिटा परेको रैछ। दिदीहरुले के को रगत हो भनेर सोधीखोजी गर्न थाले। आमा पनि आत्तिन थालिन्। पछि मैले सबै कुरा भनेँ। सबैजना खुब डराए। आमाले मलाई बेस्सरी कुटिन्। दिदीहरुले भने छेकेर बचाए। एउटी दिदीले मलाई आफ्नो काखमा लुकाएर राखी।
अर्काेदिन त्यहाँ गाउँका धेरै मान्छेहरु जम्मा भए बुवा पनि थिए। सायद रक्सी खाइसकेका थिए, बुवाले। त्यो कुखुरा छिमेकी बस्नेतको घरको रहेछ। सबै मिलेर त्यो कुखुरा मारेको पैसा तिर्नुपर्छ भने। म चुपचाप पर बसेको थिएँ। डरले काम्दै। खै कति रुपैयाँ तिरे कि तिरेनन् थाहा भएन तर बुवाले मलाई खुब पिटे। मलाई छेक्न खोज्दा आमा र दिदीहरुले पनि कुटाइ खाए। त्यसपछि मैले मासु कहिल्यै खाइँन। आजपर्यन्त खाएको छैन। र जीवनभरी साकाहारी नै रहने प्रण गरेको छु अहिले।
सेतो भात पाक्ने घर
‘दिदी आज ताले घरमा सुत्न जाम् न’ मैले धेरैपटक साइली दिदीलाई यही भनेर हैरान पार्थेँ। कहिलेकाहीं त दिदीलाई पनि वाक्क लाग्थ्यो कि पीर लाग्थ्यो कुन्नी अनि भन्थी ‘हिंड् उतै बाहुनको घरमा गएर सुतम्ला।’ धेरैपटक ती बाहुनको घरमा गएर बसेको छु। हाम्रो सानो छाप्रो थियो, झिंजाले बारेर माटोले लिपेको, त्यसैले ताले घरमा बस्ने रहर थियो।
उनका दुइटा छोराछोरी थिए। छोरीको नाम प्रतिभा हो, छोराको नाम याद भएन। तर मैले उसलाई ‘बाबे’ भन्थेँ। सबैले बाबु भनेको सुनेर। अहिले उनीहरु कता छन् कुन्नी। उनीहरु सानै छँदा उनकी आमा बितेकी हुन्। त्यो बेला मलाई अलिअलि याद छ। सपनाजस्ता मधुरा यादहरु अझै उस्तै प्रष्टजस्तो लाग्छ। उनकी आमा बितेपछि जलाउनका लागि सायद खोलातिर लैजादै थिए। ‘उल्टो शंख’ बजिरहेको थियो। धेरै मान्छे लाम लागेका थिए। पहिलोचोटी मैले त्यो ‘मलाम’को लामलाई याद गरिरहेको थिएँ। सबैजना रोइरहेका थिए। तर बाबे र प्रतिभाको भने मलाई याद छैन, त्यो बेला उनीहरु केके गर्दैथिए।
हामी हाम्रो घरमा भाइ, म अनि कान्छी दिदी थियौँ। हामीलाई पनि डर लाग्यो। मरेको मान्छे ‘मसान’ हुन्छन्, ‘भूत’ बन्छन् भन्ने हल्ला थियो। र तीनले केटोकेटीलाई खान्छन् भनेर डर हाल्दिन्थे गाउँघरमा। डर लागिरहेको थियो। हाम्रै घरअघिबाट त्यो मलाम अघि बढ्दै थियो। दिदीले ढोका लगाई। तर मलाई भने हेर्न मन लागिहाल्यो अनि मैले जर्वजस्ती त्यो सानो छाप्रोको झ्याल(मोकेला)बाट चियाएँ। तै पनि मैले चियाइरहेँ। पछि दिदीले त्यहाँ पनि कपडा कोचेर छोपिदिइ।
हामी केहीबेर चुपचाप बसिरह्यौँ। गुटमुटिएर। त्यो ‘उल्टो शंक’ अझै बजिरहन्छ। म अहिले पनि कहिलेकाहीं मलाम जाँदा त्यही दिनको खुब याद आउँछ।
सेतो भात पाक्ने घरमा मान्छे मरेपछि मलाई त्यहाँ जान डर लागिरहन्थ्यो। मलाई अहिले पनि भात देखेँ भने त्यही सानो छँदाको याद आउँछ, सेतो भातको। त्यसैले अहिले आएर मैले चामल खानै छोडेँ। अहिले पनि भात नखाएको धेरै वर्ष भइसक्यो। ‘भात’ छोड्नुको त अरु पनि कारण छन्, तर कुनै रोगले भने होइन।
(स्रोत : Setopati.com)