पत्रपत्रिका भन्नुहोस् या भन्नुहोस् टेलिभिजन
रेडियो भन्नुहोस् या भन्नुहोस् अरु कुनै सामाजिक सञ्जाल
जताततै उठिरहेको छ झिल्का
तर निभाईरहेछ कोही
जो आगोको मात्रै होइन उज्यालोको पनि विपक्षमा छ
आगो,
त्यो, मानिसको सबैभन्दा पुरानो र बृहत भाषा हो
मानिसले पत्ता लगाएको
जसद्वारा उसले गर्यो प्रकृतिसँग संवाद
र, भयो संसार उसको लागि यति सुन्दर
अपरिहार्य छ —
भाषा,संवादको निम्ति
संवाद, परिवर्तनको निम्ति
परिवर्तन, समाज र मानिसको निम्ति
संवाद हिडाइको निम्ति बालकको चारपाउले जमिनसँग गरेको पहिलो स्पर्स हो
प्रत्येक खेल एउटा भाषा हो
जस्तो, साम्यवादी भाषा हो — चेस
समाजवादी भाषा — फुटवल
पुँजीवादी भाषा — क्रिकेट
सामन्तवादी भाषा — मार्सल आर्ट
र चक्रिय भाषा — चेतना
संवाद पानीले छेपेर निभाउनु नसक्ने डढेलोतिर आगो सल्काई पठाउनु हो
लेउ लाग्छ, ढुङ्गा र पानीको विचमा
ढुङ्गा र पानीको संवाद भएन भने
विजुली चम्किन्छ, चट्याङ पर्छ
आकाश र पृथ्वीको संवाद भएन भने
संवाद भएन भने माटोसँग
जति ठुलो नै किन नहोस्, ढल्छ रुख
यस्तो पर्खाल हो संवादहिनता
हरेक विनासको लागि त्यो नै पर्याप्त छ
संवाद ब्रेललिपीले औंलाको आँखामा फैलिरहेको उज्यालो पहिचान गर्नु हो
प्रजातन्त्र भन्नुहोस् या भन्नुहोस् लोकतन्त्र
गणतन्त्र भन्नुहोस् या भन्नुहोस् संविधान
सबै भाषा हुन्
कि,अफशोस् यस कुराको लागि छ
अझै हुन सकेको छैन संवाद
अब,सायद मानिस भित्रैबाट सबैभन्दा पुरानो भाषा निस्कनु बाँकी छ …।
March 30, 2015
(स्रोत : *१४ चैत्र शनिवार,२०७१, इ-समता प्रकाशित )