‘ ……..बुबा, जीवनमा दुईचार साँवा अक्षर पढाइदिनु भयो । आमाको अभावमा आमाको माया दिनुभयो । दुई हात पाखुरामा काम गरेर खान सक्ने बल हालिदिनु भयो । एउटा बुबाको धर्म यहाँभन्दा बढी अरु सायद के हुन सक्थ्यो होला र ……….. !’
चिठ्ठी पढ्दै गरेका दुर्गाप्रसादका आँखाबाट आँसुका मसिना ढिकाहरु तरररर भुइँमा खसे । छोराको चिठ्ठीका शब्दहरुले उसलाई अरु निरीह पा¥यो । हातहरु लगलगाएर काँपे । कमजोर हुँदै गइरहेको आँखाको शक्ति अरु तिर्मिर् हुन थाल्यो । शरीरलाई शिथिलताले अरु विस्तारै लœयायो । छातीभित्र भक्कानो थियो । ज्वालामुखीजस्तो तातो आगोको एउटा डल्लो आएर बुढाको घाँटीमा बस्यो । र, बुढालाई एकचोटि हिरिक्क पा¥यो । बुढा धरमराएर पिँढीमा थचक्क बसे ।
अघि बुढाको औंलाले च्यापिएको चिठ्ठी अझै उसैगरी बुढासँग थियो । बुढाले चिठ्ठीलाई हे¥यो । किन यो पातलो एक टुक्रा कागज पनि गहँु्रगो लाग्दै थियो अहिले उसलाई । गह्रौं बनाइरहेको थियो उसका हातहरु । चिठ्ठीलाई नचाहँदा नचाहँदै पनि बुढाले अगाडि पढ्ने प्रयास ग¥यो ।
‘ ….. बुबा, मैले घरमा बसेर तपाईंहरुको कलह र झगडाको कारण बन्न चाहिनँ । सधैं तपाईंहरुको आँखाको बोझ बनिरहनु भन्दा घर छाडेर हिँड्नुमा नै तपाईंहरुलाई सुख होला भन्ने ठानें । घरबाट हिँड्दा आफू कहाँ पुगुँला ? र के गरुँला ? मैले सोचिनँ । सहर पसें । दुःख गरें । भोक खपें । उसै त पहिल्यै पनि भोकलाई सहने बानी नभएको कहाँ थियो र ! तर धेरैदिनको भोकले अत्याउँदो रै’छ । घर फर्किनु मनले मानेन । भौतारिँदै एकदिन आइपुगें यो विरानो मुलुक । कोलकत्ताको यो ठाउँ । हामै्र पल्लो गाउँको सुबेदार माइलाबासँग आइपुगें यहाँ । सानै देखेर उनले पल्टनमा बर्तन माझ्ने काम लगाइदिए । उनको यै उपकार पनि ठुलो थियो ।
‘सुर्ता नलिस् केटा उमेरले टेकेपछि पल्टनमा लाइदिन्छु’ –भन्थे । यै ठुलो थियो दुख भनेपनि, आशा भनेपनि । तर परदेश भनेको परदेश नै । नरकतुल्य । आफ्नो मुलुकजस्तो नहँुदो रै’छ । दुःख, हेंला, भोक, कष्ट, अपमान यी सबै केलाई रैछ र ? झैं लाग्ने । सहनु पर्ने । हामी नेपालीहरुसँग उनीहरुले गर्ने अपमानको व्यवहारभन्दा बढी अरु के थियो र यहाँ ? सधैं हामी यहाँ कुल्ली, दरबान, ढोके, बहादुर र कान्छा त छौं नि । आफ्नाले त निचोर्छन् । यहाँ त झन् परदेशको कुरा । अर्काको कुरा । पराधीनको कुरा । सजिलो पो कहाँ र ? मन सधैं उस्तै अँध्यारो ।’
चिठ्ठीका शब्दहरुले थिच्दै लगिरहेको थियो बुढालाई । भारी लाग्दै थियो आफ्नै जिउ । छातीमा कतै केही अड्किएझैं बुढा छट्पटिए । दुख्दै थियो छाती । आहत देखिए । चिठ्ठीभित्र छोराको अनुहारलाई एकचोटि छाम्यो । बुढ्यौलीले दिनदिनै खिइँदै गएको बुढाको मनलाई हरिको चिठ्ठीले अरु कमजोर पा¥यो । र छोराका सम्झनाहरु उसको आँखाअघि बतासिएर खेल्यो ।
‘वर्षौपछि भने पनि आज छोराको चिठ्ठी त पायो ।’ मनले एकबाजी सोच्यो ।
चिठ्ठी खोल्नुअघि दुर्गाप्रसादको मनमा विष्मयले खेल्यो । आँखामा आधा आश्चर्य थियो र आधा खुशी । नसोचेकै कुरा थियो । बुढाले आशा हराएको, माया मारिसकेको छोराको चिठ्ठी थियो यो । हराएको दश वर्षपछि छोराको यो चिठ्ठी पाएको थियो उसले । त्यसैले पनि खुशीले आधा आँखा छचल्किएको थियो उसको । र, उसको आँखाभरि छोराको उपस्थितिले खेलेको थियो । छोराका बाल्यकालका सबै सम्झनाहरुले बुढालाई एकछिन रोमाञ्चित बनायो । छोराले टुकुटुकु हिँडेको, कुद्न सुरु गरेको, काँधमा चढेर घोडचढी खेलेको, हाँसेको, खेलेको क्षणहरुको एउटा सुखानुभूति ग¥यो बुढाले । तर छोराको चिठ्ठीको अन्तिम लाइनहरुले बुढालाई फेरि निरास बनायो । र, विस्तारै गाल्यो । चिठ्ठीमा छोराको घर फर्किने खबरको कुनै नामोनिसान थिएन । बरु चिठ्ठीमा उल्टै लेखिएको थियो– ‘….. के गर्नु ! घर फर्किन सकिएन । परदेश लागेपछि घर फिर्नु गाह्रै हुँदोर’छ । अर्काको नुनको सोझो गर्नै पर्ने ।’
बुढाको मन फेरि एकपल्ट हा¥यो ।
‘पाजी, बजिया । बाउआमाको रिसले विदेशमा पुगेर नर्क भोगिस् ।’ बुढा वेदनामै एकपल्ट बर्बरायो । र, छोराप्रतिको अलिकति रोष र धेरै माया एकैचाटि पोख्यो ।
बुढाले मनलाई थाम्ने कोसिस ग¥यो । आँखाको डिलमा बसेको आँसुलाई हातले मिच्यो । र, चिठ्ठीलाई कमिजभित्र घुसा¥यो । पिँढीबाट उठ्ने बल ग¥यो । तर एउटा नातागतले बुढालाई विस्तारै धर्मर्यायो । दलिनको खाँबो नजिकै थियो । सहारा लियो । पिँढी टेकेर उभिँदा दैलोनिर झुण्डिएको जेठी स्वास्नीको फोटोमाथि उसको आँखा ठोक्कियो । धुएँसोले मैलिएकोे र खुइलिन आँटेको काठको फ्रेमभित्र अलिकति हाँस्तै गरेकी जेठी स्वास्नीको श्यामस्वेत फोटोले बुढालाई एकछिन विचलित बनायो । एउटा अपराधबोधले बुढाका आँखाहरु झुके ।
‘पापी, निर्दयी ।’ फोटोको काँचभित्रबाट स्वास्नीको एउटा पातलो आवाज आइरहेको आभास भयो दुर्गाप्रसादलाई । र, स्वास्नी लक्ष्मीले सोधिरहेझैं लाग्यो– ‘छोरा खै ? मेरो चिनो खै ?’
फोटोभित्रको स्वास्नीको त्यो श्यामस्वेत परेको कालो लाम्चो आँखाले दैलो छेकेर आज उसलाई केरिरहेझैं लाग्यो । बर्षौदेखि यो दैलोको फोटोले छोइएर उसले कयौंपल्ट घरको भित्रबाहिर ग¥यो । तर यसअघि यो फोटोको ख्याल उसलाई कहिल्यै भएको थिएन । यही फोटोलाई सामना गर्न किन उसलाई साह्रो परिरहेको छ अहिले ? जीवन आजजस्तो दुविधाग्रस्त उसलाई कहिल्यै लागेको थिएन । बुढाको आँखामा आत्मग्लानी थियो । स्वास्नीको फोटोमा धेरैबेर हेरिरहन सकेन ।
बिजुलीगतिमा झल्याक्झुलुक्क सत्ताइस वर्षअघिको विगतको एउटा चित्र खेल्यो बुढाको अघिल्तिर । फोटोबाट ओर्लिएर दैलोमा पोखियो उसकी स्वास्नी लक्ष्मीको गालाको लालिमा । भर्खरै विवाह भएको त्यो साल खेल्यो उसको आँखाअघि । उसको घरको आँगनमा खेल्यो लक्ष्मीको खुशी । चुल्हामा बज्यो लक्ष्मीको हातको चुरा । ओछ्यानमा खेल्यो लक्ष्मीको खिल्खिलाएको हाँसो ।
विवाहको वर्ष, उसले आँगनमा बनाएको थियो तुलसीको मठ । सारेको थियो तुलसी । तुलसीसँगै हुर्काएको थियो उसले आफ्नो सपना । हुर्काएको थियो खुशीहरु । प्रत्येक बिहान लक्ष्मी पानी चढाउँथिन् तुलसीमा । तुलसीले सिँचाइ पाउँथ्यो । र, अर्को बिहान तुलसीले नयाँ पाउलो हाल्थ्यो ।
अर्को साल लक्ष्मीको कोख पनि भारी भयो । बाहिरै देखियो, पुटुक्क । दुबैको खुशीको सीमा रहेन । फुलेल देखिन्थे दुबै । स्वास्नीलाई जिस्क्याइरहन्थे दुर्गाप्रसाद । स्वास्नी चाहिँ शरमले पग्लन्थी । एकले अर्कोलाई हेर्थे । र, हाँस्थे । त्यो उनीहरुको प्रेमपूर्ण
आलापहरुले यसैगरी बितेको थियो महिना । नवौं महिनाको एउटा रात, जून खसेको पहर लक्ष्मीले छोरालाई जन्म दिई । अबेरसम्म प्रसवले च्यापेपछि लक्ष्मीले जन्म दिएकी थिई छोरालाई । जूनको धमिलो उज्यालोमा दुर्गाप्रसादको आँगनमा पोखिएको थियो एउटा अर्को खुशी ।
बेलुकी खाना खाएर सँगै ओछ्यान गएकी स्वास्नी अचानक पेट दुख्ने व्यथाले छट्पटाएपछि आत्तिएको थियो दुर्गाप्रसाद । यसअघि कहिल्यै पेट दुखेर यसरी उसकी
स्वास्नी छट्पटाएको देखेको थिएन उसले । स्वास्नीले सँगै उसलाई च्यापेर बसी । व्यथाले छोड्लाभन्दा झन्झन् च्याप्दै लगिरहेको थियो उसकी स्वास्नीलाई । सहनै गाह्रो हुनेगरी छट्पटाइरहेकी थिई लक्ष्मी । पसीनाले खल्खली रुझ्दै थिई । जब व्यथाले अरु च्याप्थ्यो, उसकी स्वास्नीले उसलाई बेस्सरी समात्थी र पीडालाई अरु बल गरेर सहने प्रयत्न गर्थी । स्वास्नीको यो अवस्थाले दुर्गाप्रसाद झनै आत्तियो । एकैछिन् स्वास्नीलाई छाडेर ऊ बाहिर निस्क्यो र छिमेकीलाई गुहा¥यो । छिमेकी आइमाईहरुले उसकी स्वास्नीको व्यथा पत्ता लगाइहाल्यो । र, खासखुस चल्यो ।
‘बाउ हुने लक्षण छ है दुर्गे ।’ अनुभवले पाकी एउटी आइमाईले उसलाई भनिन् ।
उसले अहिले बल्ल भने बुझ्यो । स्वास्नीलाई प्रसवले छोएछ । उसलाई अहिले भने अलिकति लाज, डर र सङ्कोचले एकैचोटि छोप्यो । मनमा कुत्कुति खेल्यो । उसलाई पिँढीमा छाडेर केही आइमाईहरु भित्र पसे । स्वास्नीको व्यथाले छट्पटिएको चीत्कारलाई उसले पिँढीमा बसेरै सुन्यो ।
भित्र आइमाईहरु भन्दै थिए ।
‘पहिलोपल्ट यस्तै हो । गाह्रो हुन्छ । नआत्तिउ नानी ।’
‘विस्तारै बल गर ।’
‘आइमाईको लागि त सास्ती नै हो यो व्यथा ।’
‘के गर्नु । लोग्नेमान्छेलाई पो सजिलो ।’
भित्रबाट आएको यस्तै सान्त्वना र संवेदनाका स्वरहरुलाई दुर्गाप्रसादले बाहिर पिँढीमा बसेर सुन्यो । बाहिर रात छिप्पिदो थियो । जूनको उज्यालोमा एकदुई लोग्नेमान्छे आँगनमा उभिएर उसलाई साथ दिइरहेका थिए । तर दुर्गाप्रसाद उनीहरुसँग केही बोल्न सकिरहेको थिएन । स्वास्नीको व्यथाको पीरले बाहिर उसलाई पनि च्यापिरहेको थियो । यो छिप्पिदो रातमा उसलाई अब एउटै मात्र चिन्ता रह्यो, उसकी स्वास्नीको व्यथा कम भइदिए हुन्थ्यो र एउटा नवजात शिशुले जन्म लिइदिए हुन्थ्यो ।
‘बल गर नानी । नआत्तिकन विस्तारै बल गर्दै जाऊ ।’ भित्रबाट आवाज आउँदै
थियो ।
एकैछिनमा त्यो नीरव रातमा दुर्गाप्रसादको घरभित्र नवजात शिशुको एउटा चीत्कार उठ्यो – ‘च्याँहा ….’
‘छोरो र’च ।’ भित्रबाट आएको आवाजलाई उसले सुन्यो ।
कौतुहलता, उत्सुकता र रोमाञ्चले त्यो अँध्यारोमा उसको छातीभित्रको ढुकढुकी बढ्यो । दौडेर भित्र पसुँ र आमा र बच्चालाई एकैचोटि हेरुँ जस्तो भयो उसलाई । व्यथाले छट्पटाइरहेकी उसकी स्वास्नी पनि अहिले शान्त थिई ।
‘लौ नानी, भाग्यमानी रैचौ तिमी ।’ घरभित्रबाट आएको अर्को आवाजलाई उसले फेरि सुन्यो ।
अहिले भने उसको छाती छचल्किएर उठ्यो खुशीको आवेगले ।
‘लौ दुर्गे भाग्यमानी रैचस् तँ ।’ पिँढीमा उभिइरहेकाहरुले भने ।
उसले केही बोल्न सकेन । जूनको उज्यालोमा फिस्स हाँस्यो । भित्र अँगेना जोरेको, आगो फुकेको, भाँडा बसालेको आवाजलाई सुनिरह्यो उसले । आमा र बच्चाको मुख हेर्ने उसको हतारो त्यहाँ अरु एकाधघण्टा लम्बियो ।
‘लौ दुर्गे भाग्यमानी रच’स् । छोरै पाइ’छ नानीले ।’ बाहिर निस्केर पाकी महिलाले भनिन्– ‘बच्चा ठुलो रैच । अल्लि गारो भो नानीलाई । तातो पका’र देका छौ । ख्याल गर्नु । आराम चाहिन्छ । सुत्न देस् ।’
यति कुरा नि धेरै सञ्चो भो दुर्गाप्रसादलाई ।
‘तपाईंहरुको यो गुन बिर्सन्न ठुलीआँ’ ।’ उसले भन्यो ।
घरमा दुर्गाप्रसाद एक्लै थिए । आफन्तहरु कोही थिएनन् । धेरै वर्षअघि उसका बाआमा पहिरोमा परे र बेपत्ता भए । मध्यसाउनको बर्सादको एउटा दिन त्यो पहिरोले उसलाई कसरी छक्यायो, छक्यायो ! उसका बाआमा गुमे र ऊ बाँच्यो । उसको गाईबस्तु, घरगोठ केही बाँकी रहेन । बग्न बाँकी रहेको घरको आधा पाखोबाट गाउँलेहरुले उसलाई निकालेका थिए । उसलाई यो आङ जिरिङग पार्ने घट्नाको अलिअलि सम्झना छ । अहिले पनि झस्काइरहन्छ । बाउआमाको सम्झना आउँछ । र नरमाइलो बनाउँछ । आज बाउआमा भाको भए नि उसलाई यति गाह्रो हुने थिएन । आफै टुहुरो । घरमा जेठोबाठो नभएपछि चिन्ता र सुर्ताले त्यसैत्यसै छोपिहाल्छ । धन्न, गतिला छिमेक छन् । गाह्रो साँगुरो पर्दा हेरिदिन्थ्यो । बाउआमा नभएपछि दुखकष्ट झेलेरै हुर्केको, हिँडेको यो जीवन ।
आडभरोसा दिने कोही भएनन् । काका काकी थ्यो, उसलाई गाउँको यो घर रेखदेख गर्ने जिम्मा छाडेर चितवन झरे ।
अलिअलि पढेको पढाइ छाडेर घर बनाउने ठेकेदारको दैनिक ज्यालादारी मिस्त्रीको काम शुरु गरेपछि प्रेममा भगाएर ल्याएको यो स्वास्नी । शीलस्वभावकी छे । यै स्वास्नी ल्याएदेखिन् उसले सम्हालेको छ जीवन । दायाँबायाँ खर्च जोगिएको छ । त्यसैले बेलाबेलामा स्वास्नीलाई जिस्क्याउँथ्यो ऊ – ‘तेरो माया खुब लाग्छ मलाई ।’
स्वास्नी ओँठ लेप्¥याउँथिन्– ‘उस् । यस्तै होला तिम्रो माया ।’
‘नपत्याएकी ?’ ऊ भन्थ्यो ।
‘हेरौंला नि ।’ स्वास्नी जिस्कन्थी र उसलाई चिमोटिदिन्थी ।
‘आत्था ।’
ऊ अनायासै करायो । उसले दुखेकोे ठाउँनिर हात पु¥यायो । एउटा रातो मसिनो कमिलाले उसको घाँटीनिरको छालालाई चिल्दै रैछ । एउटा विस्मृतिले फेरि उसलाई छक्यायो । दैलोमा झुण्डिएको स्वास्नीको फोटोको अघिल्तिर उभिएर ऊ एकैछिन टोल्हाइरह्यो । र, घरभित्र पसेर थकित मुद्रामा ओछ्यानमाथि डङ्ग्रङ्ग पल्टियो ।
एउटा अतित आएर बस्यो उसको सिरानीमा ।
र, उसलाई फेरि अँठ्यायो ओछ्यानमै, ऐठनजस्तै ।
‘छोरा सानै छ । त्यसलाई हेलाँ हुन नदिनु । मेरो माया दिनुु त्यसलाई । बाबु त भैहाल्यौ अब आमा पनि हुनु । आमाको मायाको कमी हुन नदिनु । मेरो यो जन्मको साथ यत्तिकै रैछ तिमींसँग । मैले तिमीसँग कहिल्यै ठुलो स्वर गरेकी रैछु भने पनि मलाई क्षमा गर्नु क्यारे ।’ वाक्य बस्नुअघिको उसकी स्वास्नी लक्ष्मीको अन्तिम वाक्य थियो यो । स्वास्नीको पहेंलिदै गइरहेको अनुहारबाट आफ्नो जीवनको घाम डुब्दै गरेको उसले देख्यो
। उसलाई लाग्दै थियो उसकी स्वास्नीले उसलाई जीवनको एउटा किनारामा विस्तारै एक्लै छाड्दै छ । र, उनीहरुका हातहरु त्यो किनारामा विस्तारै एकअर्कासँग छुट्दै गइरहेका छन् । सबभन्दा गाह्रो हुँदोरै’छ आफ्नै आँखाबाट आफ्नाहरुको मृत्युलाई हेरिरहनु ।
‘जिन्दगी के र’छ !’ भरङ्ग भयो मन ।
एकटकले उभों छानोलाई नियालिरह्यो उसले । लक्ष्मीको विरहले छोप्यो । हाँस्दै खेल्दै गरिरहेको उनीहरुको जीवनमा नियतिको यो कस्तो दोष लाग्यो ? हरि जन्मिएपछि एउटा खुशी थपिएको थियो त्यहाँ । दुखसुख थियो । आनन्दले बिताइरहेकै थियो उनीहरुले जीवन । छोरो स्वस्थ थियो । लक्ष्मी पनि स्वस्थ थिई । हरि जन्मिएको ५ साल लागेछ ।
एकदिन छिनभरिको पेट दुख्ने व्यथाले लग्यो लक्ष्मीलाई । लामो रोग नि हैन । अचानक पेट दुखेर फœयाक्फœयाक भएकी थिई । आइमाईको व्यथा, मासिकधर्ममा हुने सामान्य पेट दुखाइ होला भन्ने थियो लक्ष्मीलाई । दुर्गाप्रसाद दिउँसो काममा नै थियो गाउँमा । स्वास्नीले बोलाइपठाएपछि आइपुग्यो । साह्रो भइसकेछ । रगत धेरै बगेको थियो । गलेर निस्लोट थिई लक्ष्मी । स्वास्थ्यचौकी लाने तरखर ग¥यो दुर्गाप्रसादले
‘उपचार गर्न लानु पर्दैन ।’ लक्ष्मीले भनिन् ।
लक्ष्मीले छेवैमा तानेर बसायो लोग्नेलाई । र भनिन् – ‘एकछिन् यहीँ बस्नु, मेरो नजिकै ।’
दुर्गाप्रसाद अल्मलियो ।
लक्ष्मीले लोग्नेलाई केही भन्न खोज्दै थिई । सकिनन् । वाक्य बस्यो । आँखाबाट आँसु खस्यो तुरुक्क । उसले छोरातिर पुलुक्क हेरी र शिथिल भई । दुर्गाप्रसादले स्वास्नीलाई छाम्यो । चिसो भइसकेकी थिई । फेरि नियतिले एकपल्ट झुक्यायो दुर्गाप्रसादलाई । लक्ष्मीको मृत्युले दुर्गाप्रसादलाई बेस्सरी टुटायो । उसको जीवनको एउटा बैसाखी टुट्यो । ऊ फेरि जीवनमा एकपल्ट हा¥यो । र, रोयो ।
लक्ष्मीको अस्वाभाविक मृत्युले धेरैदिनसम्म ऊ विक्षिप्तजस्तै बन्यो । आफ्नो भन्दा नि छोराको कारणले उसलाई पिरल्यो । छोराको आँखामा हुर्किरहेको एकाङ्कीपनहरुले उसलाई झनै एक्लोपनको महसुस गरायो । स्वास्नीको सम्झनाले उसलाई तङग्रीन दिएन । उसको बेतिथि देखेर छिमेकीहरुले करबलले उसको अर्को विहे गरिदिए । कान्छी स्वास्नी बिहे गरेपछि उसले अलिकति आफूलाई सम्हाल्यो । कान्छीले घर सम्हाली । बिहेको केही वर्ष त ठिकै चल्यो । सुरुका दिनहरु त कान्छीले हरिप्रति माया जताई । मीठो मसिनो बनाउँथी, हरिलाई बोलाउँथी र खुवाउँथी । करुणाभाव देखाउँथी । छोराप्रति कान्छी स्वास्नीको यो प्रेमपूर्ण व्यवहारले दुर्गाप्रसादलाई द्रवित बनायो । कान्छीप्रति उसको माया जाग्यो । कान्छी आमा बन्न चाहन्थी । आमा बन्ने आफ्नो चाहनालाई उसले प्रकट, अप्रकट रुपमा लोग्ने सामु व्यक्त गरिरही । तर कान्छी स्वास्नीको चाहनाप्रति दुर्गाप्रसाद जहिल्यै पनि उदासिन रह्यो । विस्तारै कान्छीको स्वभाव फेरियो । लोग्नेसँग झगडा सुरु हुन थाल्यो । दिनैजसो झगडा दोहोरिन्थ्यो । कान्छीको रुखोपन बढ्यो । हरिलाई पिटिदिन्थी । जस्तै नभए नि एकचोटि घर बिग्रिएपछि खोट रहँदो रैछ । त्यो खोट फेरि बल्झ्यो । गाउँकाले दुर्गाप्रसादलाई छोरा टुहुरा बनाइस् भन्थे । कान्छी सौतेला छोरालाई देखिसहन छाडेकी थिई । घरभित्र चुल्है बल्न छाडेको थियो । यसले हरिको कलिलो मस्तिष्कमा विस्तारै असर पा¥यो ।
एकदिन हरिले घर छाडेर हिँड्यो । दुर्गाप्रसादले छोरालाई खोज्ने प्रयास ग¥यो । सकेन ।
‘छिमेकमा भए त आउला कि ? दुईचार दिन कतै गएको भए त फर्किहाल्ला कि ।’ दुर्गाप्रसादले सोच्यो । तर हरि फर्केन । फेरि कहिल्यै फर्केन ।
वर्ष मात्र बितेन । वर्षौ बित्यो ।
हरिले घर छाडेको आठ वर्षपछि दुर्गाप्रसादकी कान्छी स्वास्नी पोइल हिँडी । यो चोटले फेरि भाँचियो दुर्गाप्रसाद । सम्हालिने ठाउँ थिएन । परिस्थितिले उसलाई ठग्ने खाली ठाउँ कतै रहेन ।
चिठ्ठीले बुढाको अनुहारमा विषाद् कोरिदियो । आँखाको खुशी हरायो । छातीभित्र थकाइजस्तो महसुस भयो । चिठ्ठी पढ्दापढ्दै उसको आँखाअघिल्तिर जालोजस्तो तिरमिरतिरमिर धर्साहरु उठिरहे । हरि फर्कने आशामा बसेको बुढाको मनलाई हरिको चिठ्ठीले भाँचिदियो ।
‘यो मर्ने बेलामा एकमुठ्ठी पानी पनि खुवाउन नआउने भइस् बाबै ।’ बुढाले खुई काढ्यो ।
बुढाको मन विरक्तियो । र, अलिकति पश्चाताप र आत्मग्लानीले भरिएका आँखाहरुले दैलोमाथि झुण्ड्याएको स्वास्नीको फोटोलाई हेरिरह्यो । र, निष्प्राण टोल्हाइरह्यो ।
(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )