कथा : आदर्श नायक

~सङ्गीत आयाम ~Sangeet Aayam

ऊ गाउँको एउटा आदर्श नायक थियो । उसका कुराहरुलाई गाउँलेले अकाट्य तर्कको रुपमा प्रस्तुत गर्दथे र उसँग नजिक हुने सौभाग्य प्राप्त गर्न कतिपय मानिसहरुको ठूलो आकाङ्क्षा रहन्थ्यो । उसको व्यवहार र क्रियाकलापलाई नक्कल गर्ने प्रवृत्ति एकदमै बढेर गएको थियो । ऊ अत्यधिक लोकपिय हुनाको साथै एउटा नेतामा हुनुपर्ने वर्तमान समय सुहाउँदो गुणहरु पनि प्रशस्त मात्रामा फेला पार्न सकिन्थ्यो । यी सब कारणहरुले गर्दा नै ऊ एउटा आदर्श नायक भएको थियो र यसमा ऊ गौरवान्वित थियो पनि ।

एकदिन एकाबिहानै ऊ गाउँको चोकमा आयो । अनायासै भएको उसको प्रवेशले त्यहाँ उपस्थित मान्छेहरुमाझ चलिरहेको प्रसङ्गको अन्त्य मात्र भएन बरु उसलाई देख्नासाथ उसको चर्चाले आफ्नै प्रकारको ठाउँ बनाइसकेको थियो । यो कुनै अस्वाभाविक कुरा थिएन त्यो त गाउँको प्रकृतिसँग पूर्णरुपमा मेल खान्थ्यो । हातहरु सहज रुपमा उठे नमस्कारका निम्ति उसले अभिवादनस्वरुप हार्दिक रुपमा उत्तर दियो । त्यस चोकमा उपस्थित मान्छेहरुको समूहभित्रबाट एउटा प्रष्ट स्वरले वातावरणलाई केही खुकुलो पार्यो ।

ए तपाई ! हामीलाई खबर गर्नुभएको भए हुन्थ्यो नि ! हामी आइहाल्दथ्यौं किन कष्ट गर्नुभएको ? उसले देख्यो आफ्नो त्यस भक्तको मुखमा सलबलाएको मुस्कानको रेखाले मानौं निकास पाएको थियो । केही समयको मौनतापछि उसले चारैतिर आफ्ना आँखाहरुलाई नचाउँदै डुलायो र हठात् ऊ आफ्नो मूल कुरातिर प्रविष्ट भयो । “मैले विवाह गर्ने निश्चय गरें ।”

कुनै शान्त तलाउमा ढुँगा खस्दा तरङ्ग उठेझैं गाउँको त्यो व्यस्त चोकमा पनि हलचल शुरु भयो । सब आश्चर्यचकित थिए । कोही पनि यो कुरालाई पत्याउन तयार नै थिएनन् । यस्तो महसुस भयो कि मानौं उसको विवाह गर्ने कुरा बिजुलीको कुनै शक्तिशाली झट्का भन्दा ठूलो हो । उसले फेरि त्यही कुरा दोहोर्यायो ।
“मैले विवाह गर्ने निश्चय गरें ।”

आँखा ठूल्ठूला भएको एउटा कालो वर्णको मान्छे अघि सरेर मानौं उसको कुरा काट्दै थियो । “तपाई त विवाह कहिल्यै पनि नगर्ने भनेर बस्नुभएको थियो । त्यस्तो के कुराले यहाँलाई विवाह गर्न प्रेरित गर्यो समाजप्रतिको समर्पणमा त्यस्तो केही विशेष व्यवधान पो आइलाग्यो कि ?”
उसले आफ्नो पहिलाको कुरालाई काट्दै बौद्धिक मन्तव्य दिने अभिलाषासहित दार्शनिक हुन चाह्यो ।
“मेरो विवाह नगर्ने निर्णय समाज सापेक्ष थिएन । विवाह गरेर झन् समाजप्रति बढी समर्पित हुन सकिन्छ मलाई यस्तो लाग्छ । समयको मागअनुसार विवाह गर्नु झन् ठूलो प्रगतिशील हुनु हो ।” यो अकाट्य तर्कजस्तै थिायो । कसैले पनि उसको कुरालाई काट्ने हिम्मत गर्न सकेनन् बरु सहमतिका साथमा केही टाढाबाट आएको धमिलो स्वरले भने आफ्नो मुख खोल्दै थियो ।

“विवाह गर्नु उहाँको अधिकार हो तर विवाह उहाँको पृथक व्यक्तित्व र समाजलाई प्रभावित पारेको अलग अस्तित्व अनुरुप कै हुनपर्दछ ।”

ऊ पढेलेखेको थियो । राजनीतिमा उसको राम्रो रुचि थियो तर एकदमै सक्रिय भएर ऊ कहिल्यै पनि हिंडेन । कला साहित्यप्रतिको उसको लगावको कारणले नै समाजमा उसलाई चर्चाको शिखरमा पुर्याएको थियो । विशेष गरेर कला साहित्यमार्फत नै ऊ बौद्धिक व्यक्तिमा रातारात रुपान्तररित भएको थियो । उसले बेलाबेलामा गर्ने संवाद र परिचर्चाको कारणले परिणामतः उभित्र घमण्डको मात्राले पटक पटक छलाङ मार्ने पनि गर्दथ्यो । उसले सार्वजनिक रुपमै भनेको थियो कि नोकरी नगरेका र नोकरी नपाएकाहरुलाई उसले खासै मान्छेको श्रेणीमा राख्न रुचाउँदैन । एउटा कुरामा भने एकदमै अचम्म लाग्छ कि उसँग त्यस्तो विशिष्ट प्रकारको व्यक्तित्व पनि थिएन न समाजमा उसको कुनै त्यस्तो ठूलो योगदान नै थियो र पनि समाज उबाट अत्यन्तै प्रभावित थियो । समाजले उसलाई आदर्श नायकभन्दा तल हेर्न नै जान्दैनथ्यो ।

उसलाई पहिला पहिला पनि बारम्बार केटी दिन नआएका होइनन् तर उसले कहिल्यै विवाह गर्न नै मानेन । विवाह गर्ने उमेर भने क्रमशः भाग्दै थियो । कुनै उद्देश्यका निम्ति भनेर उसले आफ्नो जीवनलाई आफ्नै प्रकारको यात्रामा ढाल्दै गयो । उसले घरी घरी चर्चित व्यक्तित्वहरुसँग आपुूलाइृ तुलना गर्दथ्यो र विवाह नगर्ने सङ्कल्पमा नै सँधैं मस्त रहन्थ्यो । कहिले लता मङ्गेशकर र वाजपेयीलाई अगाडि सारेर विवाह गरेर के हुन्छ भन्थ्यो भने कहिले पारिजात र भट्टराईको उदाहरण दिएर विवाह नगरेर पनि ठूलो मान्छे भइन्छ भन्थ्यो । परिवारका सदस्यहरुको सँधे एउटै चाहना हुन्थ्यो कि उसले विवाह गरोस् घर बसाओस् तर ऊ आफ्नो मर्जीको मालिक थियो । परिवारको कतै केही सीप नै नलागेर सम्पूर्ण कुरा उसमा नै छोड्न बाध्य भएका थिए ।

विवाहको कुरा परिवारका सदस्यले उसमा छोडे पनि अप्रत्यक्ष रुपबाट उनीहरु सक्रिय थिएनन् भन्न सक्ने आधार भने थिएन । उसलाई केही थाहा नै नदिइकन उनीहरु नातागोता इष्टमित्रकहाँ पुग्दथे र उसलाई मनाउन हरप्रकारका बिन्ती गर्दथे तर सब प्रयत्न निष्फल परिणतिको साथमा अघि बढ्दथ्यो कारण उसले इष्टमित्रहरुसँग यो कुरालाई लिएर कहिल्यै पनि भेट्न रुचाएन र आपुू एक्लै बस्ने मौसमको प्राप्तिमा नै उद्वेलित भैरह्यो ।

हुन त उसलाई विवाहको रमाइलोमा हराउन मन नलागेको भने होइन । विवाहको लगत्तै आउने सुहागरातको सम्झनाले मात्र पनि उसका कतिपय रातहरु बिनानिद्रा समाप्त भएर गएका थिए । उसलाई कुने पश्चाताप थिएन यी खेर गएका रातहरुदेखि । बरु कुनै मीठो स्पर्शले पायः मध्यरातमा स्पर्शित भैरहन्थ्यो । ऊ वैंशको नजािनंदो काउकुतीसँगै र देख्दैगरेका सपनाहरु बीच विवाहको रोमाँचक स्थितिभित्र पाउँथ्यो आफुलाई । तर सैद्धान्तिक आलोकमा आफुभित्र जमेर रहेको व्यक्तित्व मैनझैं पग्लदैं गएको देखेपछि विवाह नगर्ने विचारसँग नजिकको सम्बन्ध फेरि स्थापित भने गरिहाल्दथ्यो ।

एकदिन ऊ घरभन्दा धेरै पर पुग्यो । मनोरम वातावरणको साथमा मङ्सिरको महिना पाकिसकेका धानका बालाहरुझैं मस्त हुँदै झुलेको थियो । ढकमक्क पूलहरुको सुगन्धमा कुनै अज्ञात उज्यालोको आँगनमा प्रवेश गरेजस्तै ऊ आफु मदहोश भएर नाच्न थाल्यो । चिसो हावाको झोंकाले प्रकृतिका हातहरु निरन्तर हल्लाइरहेको थियो । यी सबै कारणहरु उसलाई नयाँ अनुभूतिभित्र आरोहण गर्न पर्याप्त नै थिए । सफा मौसम र शान्त परिवेशको उद्गम आनन्दमा जीवनमा पहिलोपल्ट उसले विवाह गर्ने कुरालाई गम्भीर रुपमा लियो । उसले तत्कालै सम्भुयो कुनै अज्ञात मायालु प्रेमिकाको न्यानो अँगालोलाई र तातो स्पर्शलाई । उसलाई कताकता लाज पनि लाग्न थाल्यो आपुूदेखि नै । सायद ऊ तन्द्रामा थियो उसले आपुूभित्र मुर्झाएको वैंशालु नायकलाई प्रयोगस्वरुप सक्रिय पार्नुपर्छ भन्ने ठान्यो र ऊ जीवनमा पहिलोपल्ट विवाह गर्ने निश्चयमा पुग्यो ।

“मैले विवाह गर्ने निश्चय गरें ।” घरको आँगनमा उसका पाइला पुग्दानपुग्दै निश्चयात्मक अभिव्यक्तिले घरभित्र आफ्नो प्रतिध्वनि छरिसकेको थियो । घरका पारिवारिक सदस्यहरुले एक अर्कालाई एक अर्काले हेर्ने प्रक्रियाको आरम्भ हुन थाल्यो । सबै आश्चर्यचकित थिए उसको विवाह गर्ने कुराले । विवाह गर्ने कुरालाई कसैले पनि पत्याइरहेका थिएनन् । यो कुरा कसरी सम्भव भयो सबैसँग प्रश्न मात्र थियो ।

वास्तवमा परिवारका सबै सदस्य रमाए खुशी भए । तुरुन्तै एउटा पारिवारिक भोजको आयोजना गरियो । उसको विवाहको र भोजको कुरा नातागोताभन्दा बाहिर भने जान पाएन । यस्तो किसिमको निर्णय घरका वरिष्ठ सदस्यहरुबाट भएको थियो । भोजकै क्रममा उसको अङ्कलले विवाहको प्रकृतिबारे चासो राखे जुन कुरा स्वभाविक नै थियो । “विवाह त हुने भयो तर कस्तो प्रकारले विवाह गर्न खोज्दछौ बाबु ?”

उसले आफुलाई एउटा बौद्धिक व्यक्तिको रुपमा प्रमाणित गर्न यो अवसरलाई गुमाउन चाहेन र अरुले पनि सुन्न सकून् भनेर ठूलो ठूलो स्वरमा बोल्न थाल्यो । वास्तवमा उसको योजनाअनुरुप नै अरु सदस्यहरु पनि उसको नजिकमा आए ।
“हेर्नुहोस् अङ्कल म त्यसबारेमा स्पष्ट नै छु । समाजमा मेरो इज्जत छ प्रतिष्ठा छ । मैले जुन अध्ययन र चिन्तनबाट आफ्नो पृथक बाटो निर्धारण गरेको छु त्यसबाट म विचलित हुने प्रश्नै आउँदैन ।”

“तर तिम्रो विवाह कस्तो प्रकृतिको हो ?” यो प्रश्न उसको भिनाजुको थियो ।

विवाह एकदमै सामान्य तरिकाले हुन्छ साधारण प्रकारको । म चाहन्छु यो विवाहले समाजलाई परिवर्तनको दिशातिर उन्मुख गराओस् । नयाँ सोच प्राप्त गरोस् समाजले यो विवाहको कारणबाट । दाइजो ल्याउने कामको म घोर विरोध गर्छु मेरो व्यक्तित्व र प्रतिष्ठाको विरुध्दमा छ यो कुरा ।” उसले एकै श्वासमा आफ्ना कुराहरु भन्यो । उसको उद्घोष सुनेर पारिवारिक सदस्यहरुमाझ उदासीको गाढा रङ्ग लत्पतियो । उनीहरुलाई थाहा नभएको भने होइन उसले भनेका कुराहरुमा अब कुनै परिवर्तन हुन सक्दैन तर पनि उसलाई प्रभावित पार्न सकिन्छ कि भनेर केही सदस्यहरुले कसरत गर्न भने छोडेनन् । ऊ झन् अघिभन्दा कठोर भयो उसले कुनै पनि छुट कसैलाई दिन चाहेन ।

उसलाई चारैतिरबाट विवाहका प्रस्तावहरु आए । तस्बिरहरुको लाम लाग्यो । तस्बिर हेर्ने क्रममा एउटी राम्री केटीमाथि ऊ निकै बेर घोरियो र त्यस केटीका बारेमा सम्पूर्ण कुराहरु जान्न चाह्यो । केटी पढेलेखेकी शिक्षित परिवारकी थिई । साधारण जीवनपद्धतिमा हुर्केबढेकी थिई कुनै त्यस्तो सम्पन्न घरानाकी भने थिइन । केटीका प्रमुख दुई गुणहरुबाट ऊ अत्यधिक प्रभावित भयो । केटी पढाइमा अत्यन्त तीव्र थिई भने प्रतिभामा पनि अविश्वसनीयरुपले विलक्षण । उसलाई यही केटी नै सार्है मनपर्यो । समाजमा रहेको आफ्नो चर्चाअनुरुप कै उसले केटी फेला पारेको थियो । कुरा अघि बढ्यो । केटीका परिवार आफुले खोजेभन्दा माथिको ज्वाई पाउँदा निकै हर्षित थिए पनि । एक त उनीहरुलाई केटाको उच्च खानदानले आकर्षित गरेको थियो भने अर्को समाजमा रहेको उसको आदर्श नायकको छविका कारण प्रभावित पनि थिए ।

उसलाई ठीक एक बजे केटी हेर्न जानु थियो । ऊ समयमै आफ्ना मान्छेहरुसँगै केटीको घरमा पुग्यो । केटा र केटीले एक अर्कोलाई हेरे भेटे र मनपराए । टिकोटालो भयो र विवाहको मिति तय गरियो । केटाले हठात् एउटा अस्वाभाविक र अनपेक्षित प्रश्न गर्यो केटीका परिवारसँग “यो विवाहमा तपाईहरुले कति खर्च गर्न सक्नुहुन्छ ?”

सब झसङ्ग भए यस्तो प्रश्न सुनेर । यो प्रश्न समाजमा रहेको केटोको छवि अनुसारको थिएन ।

“हेर्नुहोस् यो मेरो प्रतिष्ठाको प्रश्न हो । मेरोजस्तो नाम र पहिचान भएको व्यक्तिले सामान्य तरिकाले विवाह गर्न मिल्दैन । तपाईहरुलाई थाहा नै छ समाजमा मेरो कत्रो इज्जत छ ! चर्चाको शिखरमा रहेको व्यक्तित्वले सामान्य तरिकाले विवाह गर्दा समाजले भोलि के सोच्ला यो विवाह मेरो मात्र होइन समाजको पनि हो ।” उसको अनुहारमा रेखिएको सङ्कल्पले अनौठो आकार धारण गरेको थियो ।

घटना दुर्घटनामा परिणत भैसकेको थियो । पारिवारिक सदस्यहरु उसको कुराबाट एकदमै खुशी भए पनि यस्तो कुराको आशा भने कत्ति पनि गरेका थिएनन् । झन् केटाका साथीहरु त उदेखि आक्रोशित नै थिए यस्तो प्रकारको उसको व्यवहार देखेर । टिकोटालो भएर विवाह तय भैसकेको थियो अब फिर्ता गर्न सकिने ठाउँ नै थिएन ।

विवाह भव्य रुपमा सम्पन्न भयो । केटाले खोजे अनुसार नै विवाह शानदार थियो । उसले यो विवाहबाट मूल्यवान विदेशी सामानहरुका सम्पूर्ण सेटसहित भर्खरै बजारमा आएको आधुनिक मोटरसाइकल पनि प्राप्त गरेको थियो । यस विवाहको खर्च धान्न केटीका परिवारका तर्फबाट पुख्र्यौली सम्पत्तिको रुपमा रहेको सम्पूर्ण घर जग्गा समर्पित गरिएको थियो । केटीका परिवार अब सडकमा आएको थियो । उसको आदर्श नायकको छवि भने समाजमा यथावत नै थियो ।

चितवन, भरतपुर
sangeetaayam@ntc.net.np

(स्रोत : KhassKhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.