कथा : अन्तिम रात

~होमशंकर बास्तोला~

तल्लाघरे रने अस्ति मात्र शहरबाट गाउँ आएको थियो । यो उसको लागि गाउँका पुराना साथीहरुसँग भेटघाट गर्ने सुनौलो अवसर थियो । ऊ धेरै जसो शहरमा बस्दथ्यो । ऊ शहरमा के गर्दथ्यो त्यो उसलाई मात्र थाहा थियो ।

जुनूका बाबु आर्थिक रुपले कमजोर थिए । विद्यालय पनि घरदेखि निकै टाढा भएको हुँदा यसले पढ्न पाएकी थिईन । ऊ साँच्चै निरक्षर नै थिई । दैनिक घाँसदाउरा र गाईबाख्रा चराउनमै उसका दिनहरु बितिरहेका थिए ।

पुसको जाडोमा एकाबिहानै आँगनमा सुकुल ओछ्याएर जुनूका बाबु घाम तापेर डोको बनिरहेका थिए । जुनू पनि बाबुसँग गफ गर्दै थिई । त्यसै समयमा रने उसको घरमा आयो । जुनूका बाबुले सुकुलमा बस्ने आग्रह गरेपछि ऊ बस्यो ।

“होइन बाबु ! तिमी शहरबाट कहिले आयौ ? अहिले कहाँ छौ ? के गर्छौ हँ ?” जुनूका बाबुले एकै वाक्यमा केही प्रस्नहरु सोधे । उसलॆ आफूले राम्रो काम पाएको र कामको लागि केही मान्छे खोजेर लानु पर्ने कुरा बतायो । गफको सुरमा उसका आँखा पटकपटक जुनूसँग जुधिरहेका थिए ।

“राम्रो काम पाइन्छ भने मलाई पनि लगेर लगाइ दिनु न अंकल ।” जुनूले बाबुको अनुहार हेर्दै भनी ।

“तिमीले त चिन्तै गर्नु पर्दैन ! राम्रो र धेरै तलव पाउने जागिर लगाइदिन्छु हिँड मात्र न।” रनेले कुरा थप्यो । जुनूका आमाबाबुसँगको तीन÷चार घण्टाको वातचितपछि ऊ फर्कदा जुनूलाई जागिर लगाइ दिने सहमतिका साथ बिदाबारी भयो ।

केही दिनपछि जुनू र रने शहरतिर लागे । दुई दिनसम्मको पैदल यात्राले ऊ थिकिसकेकी थिई । रने बस्ने शहर जानको लागि कटारीमा आएर बस चढ्नु पर्दथ्यो । जुनूले आजसम्म न बस देखेकी थिई न त चढेकी नै । कटारीका दुई÷तीन तले रङ्गरोगन गरेका पक्कीघरहरु देखेर ऊ पुलकित भइरहेकी थिई । ऊ गाउँमा हुँदा खोलापारिको डाँडामा देखिने टिन टल्केको स्कुलको छानो वाहेक अन्यत्र टिनको छानोसम्म देखेकी थिईन ।

अर्को दिन वीरगन्जको बसस्टेण्डमा आइपुगेपछि उनीहरु एउटा होटलतिर लागे । “अंकल, तपाई बस्ने शहर आइपुगेको हो ? जुनूले सोध्दा “कहाँ आइपुग्नु नि ! अझै दुई दिन लाग्छ’ भनेको र ऊ बस्ने शहर पुग्न रेल चढ्नु गर्ने बताएको थियो ।

साँझको बिजुली बत्तीमा घर-अफिसमा झुण्डयाएका बोर्डहरुमा आफ्नो नाम ठेगाना लेखिएका भए पनि जुनू पढ्न जान्दिन थिई । ऊ अग्लाअग्ला घरमा रङ्गीचङ्गी बत्तीहरु बलेको देखेर दङ्ग थिई । वीरगन्जमा दुई दिन बस्दा रनेले अनेक प्रलोभन देखाएर जुनूमा फक्रदै गरेको बैंस चुडेको थियो । जुनूले पनि जागिरको आशा र नमाने छोडी दिने उसको धम्कीले बिचल्लीमा पर्ने सोचेर उसलाई आफ्नो बैंस धोग्न दिएकी थिई ।

त्यहाँबाट ऊ बस्ने शहर पुग्न बोडर पार गर्नु पर्दछ । त्यसैले उसले पहिले नै जुनूलाई भनेको थियो “जुनू बोडरमा चेकिङ हुन्छ होस गर्नु पर्छ है । आइमाई र लोग्नेमान्छे एकै साथ हिँडेको देखेमा ‘कहाँ हिँडेका ? के गर्छौ के काम छ ? आदि सोधेर दिक्क लगाउँछन् । सोध्न महिलाहरु बसेका हुन्छन् । हामीसँग पासपोर्ट पनि त छैन नि ! सीमा पार गर्न त पासपोर्ट न चाहिन्छ । हामी सीमा पार गर्दा छुट्टाछुट्टै रिक्सामा चढेर जानु पर्छ । रिक्सा रोकेर तिमीलाई सोधीहाले भने सामान किन्न रक्सौल गएको भन्नु पर्छ है नत्र गाह्रो पर्छ नि ।”

उसलाई के थाहा भारतसँगको खुल्ला बोडरमा पासपोर्ट चाहिंदैन भन्ने । गाउँघरमा हुँदा तल्लाघर माथिल्लाघरका युवाहरु साउदी अरव, कतार र अन्य देशमा कामको खोजीमा जानको लागि पासपोर्ट चाहिन्छ भनेर बनाउन सदरमुकाम गएका छन् भन्ने सुनेकी थिई । उसले यहाँबाट पार हुन पनि पासपोर्ट चाहिएला भन्ने सोचेर हुन्छ भनेकी थिई ।

दिउँसो रेल छुट्ने हुँदा दुई घण्टा अगाडि नै उनीहरु वीरगन्जबाट रिक्सा चढेर रक्सौल लागेका थिए । वीरगन्ज भन्सार र शंकराचार्य गेटको बीचमा प्रहरीको जस्तै बिट बनाएर बसेका माइती नेपालका कर्यकर्ताहरु सँगसँगै हिँडिरहेका महिला-पुरुषहरुलाई सोधपुछ गरिरहेका थिए । जुनू त्यहाँ पुग्दा अगाडिको शंकराचार्य गेटले उसको एकाग्रता पिइलिएको थियो । अघिल्लो रिक्सामा रने र पछिल्लो रिक्सामा ऊ बसेर विनारोकतोक उनीहरु रक्सौलको प्लेटफारममा पुगिसकेका थिए । रक्सौल शहरको बुङबुङ धुलो र शडक छेउको फोहोरले ह्वास्स नमीठो गन्ध आइरहेको थियो । गन्तव्य स्थानतिर टुँ…टुँ… गर्दै आएको रेलमा चढेर उनीहरु मुम्बईतिर लागे । बाटोमा आउँदाको क्षण र त्यहाँ पुग्दाको क्षण त जुनूलाई रमाइलो लागेको थियो ।

मुम्बई शहरमा रेलले ओराली दिएपछि उनीहरु शहरको एउटा भित्री गल्लीतिर लागे । एउटा घरको गेटमा पुग्दा लामालामा जुँगा पालेको एउटा पाले गेटमा उभिरहेको थियो । रने र जुनू पुग्ने बित्तिकै उसले सलोट ठोकेर गेट खोल्यो । घरको आगाडि भाग आकर्षक देखिए पनि भित्र उदास र निराशजस्तो देखिने त्यो घरको अगाडि उभिएर रनेले देखाउँदै भन्यो “हेर ! यी यही हो तिमीले जागिर खाने घर । अब तिमी यही घरमा बस्नु पर्दछ ।”

“तपाई चाहिँ कहाँ बस्नु हुन्छ नि !” भनेर उसले सोध्दा “म पनि त यही बस्छु नि” भनेर भनेको थियो ।

घरभित्रको बैठक कोठामा पुग्दा एउटी मोटी आइमाई र एउटी नेपालीजस्ती देखिने आइमाई नेपाली भाषमा गफ गरिरहेका थिए । उनीहरुलाई देख्ने बित्तिकै त्यो नेपाली आइमाई ढोकाबाट बहिर निस्की । मोटी आइमाईलेभित्र आएर बस्ने संकेत गर्दै रनेलाई भनी “स्वागत ! माल बहुत अच्छा हैं !”

कोठाभित्र बसेपछि उनीहरुले हिन्दीमा के के वात गरे उसले केही बुझिन । केहीबेरपछि त्यो मोटी आइमाई बाहिर निस्की । उसको जिउडाल र रुपरंग हेर्दा ईश्वरले नै ठगेजस्तो लाग्दथ्यो ।

“तिमी यही बस्दै गर हैं । म तिमीलाई केही मेकअफका सामान र कपडाहरु किनेर ल्याइदिन्छु । अफिसमा बस्दा यस्तो लुगा लगाएर कहाँ बस्नु हुन्छ र यहाँ कस्ताकस्ता मान्छेहरु आउँछन् ।” सोफाबाट उठ्दै रनेले भन्यो ।

“म पनि तपाईसँगै जान्छु न कपडा नाप्नु परेन ? “अबोध मनले आफू जाने स्वीकृत उसले मागी ।

“पर्दैन तिमी यही बस ! मेरो बाहिरतिर घुम्ने काम पनि छ । फेरि तिमी ट्रेनको यात्राले थाकेकी पनि त छ्यौ । आराम गर्दै गर म हेरेर ल्याइदिन्छु ।”- उसले त्यहाँबाट छुट्कारा पाउन छिटै आउने बाचा गरेर उम्कियो ।

जब साँझ पर्दै जान्थ्यो जुनूभित्र डर थपिदै जाँदै थियो । झमक्क साँझ परिसक्दा रने नआउनु र त्यहाँको वातावरण त्यस्तै देखिनुले ऊभित्र विभिन्न शंकाहरु उब्जिरहेका थिए । साँझ छिपिदै गएपछि मोटी आइमाई जुनू नजिक आएर गाला मुसार्दै भनी “कति राम्री ! बिचरा !”

उभिएर आदेश गर्दै भनी “जा ! कोठीमा ग्राहक आइसक्यो । नत्र ग्राहक भड्किन्छ ।”

ऊ छाँगाबाट खसेजस्तो भएर अतालिएको स्वरमा बोली “कस्तो ग्राहक ?”

“छिटो जा भनेको किन टेर्दिनस् तँलाई मैले त्यसै यहाँ लिएकी छु ? मेरो पच्चीस हजार खर्च भएको छ ।” हातको पन्जा उठाएर खाउँला झैँ गरी ।
“आमा ! उसले मलाई बेच्यो, जागिर लगाइ दिन्छु भन्थ्यो ।” ऊ छाँगाबाट खसेजस्ती भई र काल्लिएर चिच्याउन थाली । “यत्रो विश्वास गरेको धोकेवाज बजिया ! अब म एक्लै कसरी घर पुग्न सक्छु ”

“ए ! घर जाने ? पच्चीस हजार ले अनि मात्र यहाँबाट उम्कन पाउँछेस् । यहाँबाट उम्कन सजिलो ठानेकी छस् तैंले तुरुन्त कोठामा जा, ग्राहक उम्कन लागिसक्यो ।” कोठी मालिक्नीले उसलाई पाखुरामा अठ्याएर झड्कारी ।

“मलाई दिएको छ र पैसा जसलाई दिएको छ उसैसँग माग्नोस् न !” उसले घुकघुक रुँदै कोठी मालिक्नीको हात छुटाउन खोजी ।

“के रे राँड मुखमुखै लाग्छेस् । पैसा नउठाइ इन्द्रको बाउ चन्द्रले पनि छाड्न सक्दैन ।” ऊ दाह्रा किटेर चिच्याई । केही छिन अगाडिको त्यहाँको मौन वातावरण तनावपूर्ण भइरहेको थियो । दुई जनाबीचको सामान्य भनाभनमा मोटी आइमाईले जुनूलाई जगल्ट्याई । केही छिनमै दुई जना गुन्डाजस्तै देखिने युवक कोठी मालिक्नी नजिक आएर उभिए । जुनू भने घुकघुक रुदै ‘दिदी मलाई यो काम वाहेक जेसुकै काम लगाउनुहोस् म गर्छु । यो काम म गर्न सक्दिन ।’ ऊ आँखाबाट आँसुका ढिकाहरु झारेर हात जोडिरहेकी थिई । गालामा झरेका आँसु पुछ्दा उसका हात हिलै भएका थिए ।

“तँलाई यही काम गर्न मैले पैसा तिरेकी छु। तु ! यसलाई लगेर कोठीमा थुन ।” मोटी आइमाईले आदेश दिएर हिंडी ।

त्यहाँ उभिएका दुई युवकले जुनूलाई एकएक पाखुरामा समाएर कोठामा लगेर थुने । ऊ कोठाभित्र ढोका र भित्तामा हिर्काउँदै रातभरि रोइरहेकी थिई । उसले बिहानी दुई प्रहर मात्र आँखा जोडेकी थिई । कोठामा ल्याइदिएको खाना पनि केही दिन त उसले खाएकी थिईन तर खानै पर्यो । दैनिक जसो कोठी मालिक्नीका गाली र कार्यमा तयार नहुँदा पाएको शारीरिक र मानसिक यातनाले ऊ ग्राहकलाई सन्तुष्टि प्रदान गर्न थालिसकेकी थिई । आफूले नचाहँदा नचाहँदै ग्राहकहरुलाई शरीर सुम्पेर उसले धेरै चोटि आँसु बगाएकी थिई ।

पाँच वर्षसम्मको त्यो नारकीय जीवनले उसलाई प्राणघातक रोग एड्स लागिसकेको थियो । उसलाई एड्स लागेको कारण कोठी मालिक्नीले गलहत्याएर कोठीबाट बाहिर निकालिदिई । “अब कहाँ जाने यस्तो प्राणघातक रोग लिएर घर जाँदा परिवार समाजले के भन्ला फेरि म बाबुकी एक्ली सन्तान न हुँ । तर कसरी यस्तो मुख लिएर जानु ?” ऊ एकछिन उभिएर रोई । हिँड्दै जाँदा ऊ सडकको बीच भागमा उभिई ।

सडकको पूर्वतिरबाट आएको तूफान गाडीबीच सडकमै रोकेर ड्राइभरले रन्किएर भन्यो “मरना है क्या ?”

“मर्न त खोजेको हो तर …… ” आँखा पुछ्दै ऊ बोली । हिन्दीको प्रश्नमा नेपालीको उत्तरले ड्राइभरलाई अचम्म लाग्यो । “यो नेपाली केटी हो कि क्या हो” भन्ने सोची ड्राइभर सडकमा ओर्लेर उसलाई सोध्न थाल्यो । जुनू घुकघुकका खित्कासँगै आफूले भोगेका विगत र वर्तमानका कहाली लाग्दा दिनहरुको वर्णन गरिरहेकी थिई । उसको विगत र वर्तमान सुन्दै जाँदा ड्राइभरका अनुहारमा दया र करुणाका रेखाहरु प्रष्ट दौडिरहेका थिए । च्व…च्व……र बिचरा……बिचरा……। भन्दै ड्राइभर जुनूका कुराहरु सुनिरहेको थियो । ड्राइभर ट्रकमा सामान लिएर रक्सौलतिर आइरहेको थियो । उसले जुनूको सबै विवरण सुनॆपछि रक्सौलसम्म पुर्याइदिने बाचा गरेर त्यहाँसम्म ल्याइदियो । जुनूका साथमा शरीर ढाकेको कपडा वाहेक केही पनि थिएन । रक्सौलमा पुगेपछि ड्राइभरले तीनसय रुपैयाँ दिएर स्नेहपूर्ण बिदाइ गर्दै भनेको थियो “बैनी तिमी मेरो छिमेकी जिल्लाकी रहिछ्यौ । अरु त म तिमीलाई के सहयोग गर्न सक्छु र यो तीन सयले घर जान सामान्य सहयोग हुन सक्छ ।” जुनूले आँखा पुछ्दै ‘धन्यवाद दाइ’ भनेकी थिई ।

ऊ गाडीबाट ओर्लेपछि प्लेटफार्मतिर लागी । जहाँबाट ऊ पहिले ट्रेन चढेर नरकमा लागेकी थिई । प्लेटफार्ममा बसेर उसले यताउता हेरी । ट्रेन प्रस्थान गर्न लागेको र वरिपरि मान्छेको घुइँचो थियो । उसले ती सयौं मान्छेबीच चिनेको मान्छे कोही छ कि भनेर हेर्दा हेर्दै साँझ पर्यो । “अब के गर्ने !” ऊ सोचिरहेकी थिई । साँझको बत्तीको प्रकाशमा ऊ प्लेटफार्मबाट शहरतिर लागी । प्लेटफार्मको एक छेउमा पुग्दा उक्त ठाउँ सुनसान र एकान्तपूर्ण थियो । त्यस छेउको एकान्त कुनामा तीन जना युवाहरु भूईंमा मातेजस्तै लडेका थिए । उनीहरुलाई देख्ने बित्तिकै जुनू डराई । एक युवक उठेर जुनूको हातमा जवर्जस्ती अँठ्याएर मायालु पारामा भन्यो “ओहो ! कता हिँड्यौ प्रिय एकछिन बसौंन ।”

अर्को जुवक लर्बराउँदै उठेर जुनूलाई आँखा तर्दै बोल्यो “कति राम्री रैछिन् । हा हा ……” ऊ हाँस्यो ।
पहिलो युवकले समाएको हात छुटाउन खोज्दै ऊ चिच्याई “मलाई छाड्दे !” जुनू उनीहरु बीचबाट छुट्न धेरै प्रयास गरी । उसले चिच्याएर सहयोग मागी “गुहार ! ……बचाउ ……” यत्ति हो त्यसपछि त्यो रात त्यहाँ कुनै चिच्याहट सुनिएन । एकदम एकान्त र सुनसान ।

दुवेकोल-७ खोटाङ

(स्रोत : KhassKhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.