~ताराप्रसाद खतिवडा~
उ आज सधैंभन्दा अलिक अबेरै उठ्यो । उठ्ता जिउ अचाक्लि दुखिरहेको रहेछ । झण्डै नाङ्ग्रै हुन आँटेको उसको शरिरमा झुन्डिएका पंहेला छालाहरुमा लछेप्रै सुम्लाहरु छापिएका रहेछन् । आफ्नॊ शरिर देखेर उ आफैं डरायो र हतार-हतार किलामा झुण्डाएको सर्ट तानेर शरिर छोप्यो ।
स्वास्नी पशुपति गैवरी धारामा पानी थाप्न तल झरिसकेकी थिई । जेठो टिके किताबको बिस्कुन फिँजाएर भुईंमा झोक्राइरहेको थियो भने कान्छो टंके अझै ओछ्यानमै लम्पसार थियो । छोरातिर हेरेर दिक्क मान्दै उसले झ्यालबाट बाहिर मुन्टो बटार्यो । सर्टको गोजिमा उबि्रएको चुरोट निकाल्यो । अलिकति तन्किएर टेवलको लाइटर तानेर चुरोट सल्कायो अनि धुवाँ तान्दै झ्यालबाट तल गल्ली चाहार्न थाल्यो । स्वास्नी सकिनसकी एक गाग्रो पानी बोकेर कराउँदै कोठाभित्र छिरी ‘जा-जा ठूले, बाल्टिको पानी लिएर आइज । यति पानी ल्याउन पनि कति गाह्रो । खुइय गर्दै खाटमा बस्दै गरेकी स्वास्नीतिर हेरेर उ करायो ‘नसक्नेले किन मरिमरि ल्याउनु ? यो टिकेले ल्याइहाल्थ्यो नि ।’ ‘ल्याउँछ नि, ल्याउँछ । आफु भने आठ बजेसम्म सुतेर भर्खर उठ्नु छ । उल्टै ठूलो स्वरले पो हप्काउनु हुन्छ । केहि काम छैन दिनभरि जुलुशमा कुद्यो । नेताहरुले के-के न दिन्छन् भन्ठान्या होला नी । यता कोठामा मट्टितेल सक्किराछ, चामल पनि ल्याउनु पर्ने, घर साहुनी भाडा माग्दै थिइन, टिके जाँच फिस तिर्नुपर्ने भनेर कराउँदैछ ………॥ ।’ स्वास्नीले उसको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै समस्याका ठूला चाङहरु उसको अगाडि यसरी थुपारीदिई कि मानौं जुलुसले उसका दैनिक आवश्यकताबाट पनि बिमुख गराइरहेको छ । स्वास्नी कराउदै तल झरिसकेकी थिई । उ भने केहि नबोली बाँकी चुरोट तानिरह्रयो ।
न्यानो घाम अग्ला घरहरुसँग लुकामारी खेल्दै उसको झ्यालबाट भित्र छिर्ने प्रयासमा थियो । तर झल्याक-झुलुक घाम देखिए पनि धेरैजसो उसको झ्यालमा भने तिनै अग्ला घरहरुका छायाँ मात्र पर्दथ्यो । न्यानो घाम एउटा प्रजातन्त्र उ जस्ता धेरै कार्यकर्ताहरुले हिडाएका जुलुशहरुको उपलब्धि । तर किन उ जस्ता अरु धेरैको झ्यालसम्म आइपुग्न सक्दैनन् हँ ? प्रजातन्त्रका न्याना घामहरु यस्तै ठूला घरहरुले पो छेकेका रहेछन् उसम्म आइपुग्न खोज्ने घामहरुलाई । यदि यस्ता घरहरुले नछेक्ने भए उ जस्ता सबैको आङमा घाम लाग्ने थियो कि ? सधैं छायाँमा मात्र बाँच्नु पर्ने नियतीबाट मुक्ति पाउन सकिन्थ्यो कि ? छायाँमा बसेर उसले न्यानो घामको मात्र कल्पना गर्यो।
यतिबेलासम्म स्वास्नीले स्टोभ बालेर कालो चिया उमालीसकेकी थिई । अल्छिमान्दै कोठाभित्रै बाटामा उसले मुख धोयो । अनुहार पुछेर ऐनामा हेर्यो । असाध्यै ख्याउटे भैसकेछ उ । अनुहारभरि काला दागहरु लछेप्रै टाँसिइसकेछन् । पैंतालीस नपुग्दै बैंश निथारिएको उ साच्चै बुढो पो देखियो ऐनामा । धेरैबेर ऐनामा हेरिरहन सकेन । स्वास्नीले गिलासमा हालिदिएको चिया टिपेर मुखसम्म पुर्यायो । ‘मट्टितेल छैन, खै पैसा दिनु’ चियाको गिलास बाटामा राख्दै स्वास्नीले भनी । ‘ला’ उसले सयको नोट स्वास्नीलाई थमाउदै अगाडि थप्यो ‘यतिले पुग्छ होला नी, अरु के-के छैन्’ ‘यतिले के गर्नु ? तेल पनि सकिरा’छ, तरकारी ल्याउनु पर्यो, दाल पनि थोरै छ ।’ कपाल मिलाउँदै स्वास्नीले अभाव तेर्स्याई । ‘अहिले त्यै मट्टितेल र तरकारी मात्र लेन, खै त्यो मोरो पाटनको साहू पनि खाली भाका मात्र राख्छ, पैसा चाँहि दिने होइन । तर आज जसरी भएनी नउठाई भा छैन् ।’ जिउ तनक्क तन्काउँदै उ आश्वस्त बन्यो । स्वास्नी केहि नबोली ग्यालेन बोकेर बाहिर निस्की ।
बाहिर निस्कदै गर्दा उसले स्वास्नीलाई राम्रोसँग हेर्यो । स्वास्नी पनि निकै दुब्लाई सकिछे । गाउँमा हुँदा कति मोटी र निरोगी थिई । तर काठमाण्डौ आएपछि सुक्दै गएकी छे । उ स्वास्नीप्रति ज्यादै चिन्तित देखियो । उ आफैं पनि त गाउँमा कति बलियो थियो । एक्लैले तिन-चार बिघा खेत जोत्थ्यो । अर्कैको खेत जोते पनि बर्षभरि खानलाउन खासै समस्या थिएन । खै किन हो यो सिमेन्टको जंगलमा पस्यो उसैलाई थाह छैन । शायद अझै बढी सुखको लालसामा हो कि ? हुन त यहि कुचो र डोरीको ब्यापारबाट शुरुका बर्षहरुमा राम्रै आम्दानी नगरेको होइन उसले । तर देशको परिस्थिती बदलिदो समय तथा यो ब्यापारमा भैयाहरुको अत्याधिक चापले गर्दा उसको कमाई दिनप्रतिदिन घटिरहेको थियो । अब त झन यो मक्किदै गएको शरिरले साइकलभरी ठूलो बोझ हालेर कति दिनसम्म तान्न सक्छ र उसलाई आजभोली ज्यादै थाकेको अनुभव भइरहेको छ ।
केहि समय अगाडिदेखि काठमाण्डौका सडकहरुमा आयोजना भइरहेको जुलुश महोत्सवमा उसको सहभागिता टुटेको छैन । कुनै अज्ञात लोभले तानिएर उ आफ्नो ब्यापारलाई थाँति राखेर भए पनि बेलुकीपख जुलुसका चर्का संगीतहरुमा नाच्न पुगिहाल्छ पुगिरहेकै छ । यस्ता जुलुसहरुमा उसकॊ सहभागिता छयालिस सालको जनआन्दोलनदेखि नै हो । त्यति बेला उ गाउँमै थियो । उसका नेताले माननिय पद धारण गरेर काठमाण्डौ छिरेपछि सँग-सँग जस्तो उ पनि काठमाण्डौ छिरेको हो । अहिले उसको भूतपूर्व माननीयको अग्लो घर उ बसेको डेरा अघिल्तिर पर्ने भएको तथा उनिसँगै उसको राम्रै चिनजानले गर्दा पनि उ जुलुसमा जाने गरेको छ । सँगै काठमाण्डौ छिरेका नेताले राजनैतिक ब्यापारबाट राम्रो नाफा आर्जन गरे भने उ चाँहि डोरीकुचोको ब्यापारबाट मुश्किलले दुई छाक टार्दैछ ।
अहिले पनि उ झ्याल छेउमा बसेर अघिल्तिर ठडिएको नेताको घर हेरिरहेको छ । उ अझै अगाडि सोच्दै गयो । उ जस्ता सयौं कार्यकर्ताहरु केवल सभा-समारोहमा ताली पड्काउन र आन्दोलनमा जुलुस हिडाउनको लागि मात्र बनाइएका रहेछन् । नेताहरु भने कार्यकर्ताहरुको काँधमा उक्लेर घाम लुड्याउँछन् जबकि कार्यकर्ताहरु भने छाँयामा नै रुमल्लिरहेका हुन्छन् । यत्रो समयसम्म जुलुसमा कुदेर खै के पायो र उसले शिवाय पुलिसका दर्जनौ लाठी अश्रुग्याँस अनि गोदामको बास बस त्यति होइन । आजैदेखि उसले जुलुसमा नजाने निर्णय गर्यो ।
‘भात खाने होइन?’ स्वास्नीले उसको कानमा आएर कराउँदा पो उ झसंग भयो । ‘के सोचिरहेको ? साहूकोमा जाने भनेको होइन ? आज त जसरी भए नि अलिकति पैसा ल्याउनु नि । चामल पनि भरेलाई मात्र छ । दुई महिनादेखिको कोठा भाडा तिर्नु छ । आजै कोठा भाडा नबुझाए कोठा छोडेर जानु भनेर साहुनी बिहानै पनि किचकिच गर्दै थिई ।’ स्वास्नीले एकपछि अर्को गर्दै भातसगै समस्याका चोइलिहरु पनि लोग्नेको अगाडि पस्कदै गई । मेरोपनि परीक्षा र दुई महिनाको फि बाँकि छ नतिरे परीक्षामा बस्न नदिने रे टिकेले आफ्नो समस्या अवगत गरायो । मेरो त झन् चार महिना देखिको फि बाँकि छ…छिटो नतिरे कक्षामा बस्न नदिने रे टंकेको झन ठुलो समस्या थियो । उ भात नथपि जुरुक्क उठ्यो । खै खानु भएन त भैगो र स्वास्नीको प्रश्नमा उसले ‘अँ’ मात्र भन्यो र चुठेर फटाफट पेन्ट लगायो अनुहार पुछ्यो र बाहिर निस्कियो । उ निस्कदा निस्कदै फेरि पनि स्वास्नि र छोराहरुले समस्या पुन स्मरण गराए ।
तल झरेर उसले साइकल टिप्यो र गल्लिको बाटो हुदै मुख्य सडकमा निस्कियो । दिनभरि पैसा उठाउने कसरत गरिरह्रयो र बेलुका भएपछि डेरातिर लम्कियो । सँधै झै आजपनि उसले जुलुस भेट्यो जुन चर्का नारा लगाउँदै सडकमा अगाडि बढ्रदै थियो । उसले विहानै जुलुसमा नजाने अठोट गरिसकेको हुँदा उ दर्शक भएर पेटिबाट जुलुसको तमासा हेर्दे गयो । जुलुसको अगाडि अगाडि नेताहरु थिए जसको लामो छायाँ भित्र कार्यकर्ताहरु नारा लगाउँदै थिए । जुलुसको छायाँ तन्किएर निकै टाढासम्म फैलिएको थियो । उसलाइ लाग्यो यि जुलुसहरुको उद्देश्य नेतालाइ मन्त्रि बनाएर उनिहरुको सात पुस्ता पुग्नेगरि सम्पति कमाउने देखि बाहेक अरु केहि छैन । अरु देश कहाँ बाट कहाँ पुगिसके हामी भने जुलुसका संगितहरुमा भोको पेट र पिलन्धरे खुट्टाहरु हल्लाइरहेछौ । जुलुसको यो अनन्त यात्रा हाम्रो कुन पुस्ता सम्म चलिरहने हो निरुत्तर उ भने विस्तारै त्यहि जुलुसको छायाँ टेक्दै डेरातिर लम्कियो ।
(टोरन्टो, क्यानडा)
(स्रोत : KhassKhass.com )