एउटै ढुंगामा
जीवनभर कुँजिएर
देवता भएर बाँच्नु पनि के बाँच्नु ?
मलाई मान्छे हुनुको
अन्तिम सत्यसँगै ज्युनु छ , पुरापुर ज्युनु छ ।
लेउ लागेका आद्रताहरु माझ
विराजमान एउटा भ्रम
सम्बोधनमा जे पनि भन्न सकिन्छ त्यसलाई
ढुंगा !…मूर्ति !!…वा देवता !!!…
जाबो एउटा ढुंगा पनि
कसरी हुनसक्छ आस्था कसैको ?
जाबो एउटा प्रस्तर पनि
कसरी हुन सक्छ मुक्तिको बाटो कसैको ?
जो आफै कुँजिएको छ
उसले कसरी गर्न सक्छ महायात्रा निर्वाणको ?
भो–भो , भैगो
मलाई त्यसरी कुँजिएर बाँच्नु छैन
मलाई कथित देवता पनि बन्नु छैन ।
अहम् अश्मि
अहम् अश्मि
अहम् अश्मि
अन्र्तमनको नादमा
अर्को एउटा नाद थप्न चाहन्छु
अतिशय दुखहरु नहदा हुन् त
अतिशय सुखहरु पनि कहाँ हुन्थे र ?
जीवनमा
चकलाभरिका सुखदुखहरु ओल्टाइपल्टाइ हेर्न चाहन्छु !
ए , अग्नि !
नभन , यो मान्छे बौलाइछ नभन
किनभने
म अग्निको कुण्डमा हाम फाल्न चाहन्छु
मान्छे हुनुको अर्थमा
अझै मान्छे भएर बाँच्न खारिन चाहन्छु
त्यसैले चाहन्छु –
लोहारको आरनमा
चिसो विवेक र विवेकको झुण्ड तताउन !
म जीवनलाई असाध्यै माया गर्छु
त्यसैले
फूललाई अनि फूलभित्रको पीडालाई पनि माया गर्छु
एकैछिन पर्ख !
आँखाभरि अघाउन्जेर हेर्न देउ–
फुल्दै गरेका फूलहरुको सम्पूर्ण आभा
र सुन्न देउ–
झर्दै गरेका फूलहरुको अन्तिम आहट पनि !
मान्छे हुनुको अर्थमा
भोगाइको सिमसारमा
असरल्ल पल्टिरहेका रुपकहरुलाई संरचना दिनु छ
प्रेमको हिमालबाट
प्रेमकै हिमनदी बनेर बग्नु पनि छ !
घाउहरुको कोलाजमा पनि
घटना, दुर्घटनाका जन्ती वा मलामी प्रहरहरुमा पनि
लेख्नु छ एउटा सत्य –
‘मान्छे हुनुको अर्थमा
मान्छे भएर बाँच्नुको अनुभूति अनुपम छ ।’
आत्महत्या
कि त कायरहरुले गर्छन्
कि त एउटै ढुंगामा कुँजिन मन पराउने देवताहरुले
मलाई त ज्युनु छ
मान्छे हुनुको
अन्तिम सत्यसँगै ज्युनु छ , पुरापुर ज्युनु छ ।
(स्रोत : Saraswati Pratishya’s Blog