बादल प्रधानमन्त्री – बादल
आँप सभासद – आँप
नीलो धुवाँ शिक्षामन्त्री – नीलो धुँवा
बेरोजगारी उत्पादन गर्ने
विश्वबिद्यालयको एउटा उत्पादित थोक म
मेरो मस्तिष्कको भाउ
बजारको खसीको गिदीको जति पनि छैन
भन्नलाई त भन्छन् मेरै मति पनि ठिक छैन
इन्द्रेणी वादहरूको झोला जो कहिल्यै बोकिनँ
“हामी त्यसलाई शिक्षा भनिरहेछौं ,
जसले हामीलाई उल्लू बनाइरहेछ ”
म देवकोटाको कालजयी “पागल “पनि हुन सकिनँ
मलाई चाहिं एउटा जो भूत सवार भएको छ
कवि बन्ने , कहीं नभा’को
अब त…, म निदाए पनि त्यो निदाउदैन !
म भन्छु – मेरो गीत संग्रह आउंदैछ
भूपिको-” हल्लै हल्लाको यो देश “मा
यो हल्ला होइन मैले गरेको
मेरा मट्टी माला सपनाहरू
मेरा पूँवाला बिश्वासहरू
लाग्दैन यो आकाशमा नअट्ने
लाग्दैन यो धरतीमा नअट्ने
थाहा छैन
त्यहि पनि किन अम्लाबुँ जस्तो फुल्छन् हँ !
अनि म कहाँ पुग्छु, मेरो देश कहाँ पुग्छ
के भनेको ?
ए …!
ईश्वर बल्लभको -“प्रश्नै प्रश्नको यो देश” मा
यो प्रश्न होइन मैले सोधेको
“जति नै भत्के पनि हाम्रो जिन्दगी ,
मर्मत नै नहुने गरि भत्केको हुदैन ”
अम्बर गुरुङ बिश्वास बोक्छु
बलभद्र बन्ने सपना थियो
सरुभक्तको -“आँखा दुर्घटित हुने पोखरा ” मा
दुर्घटित भयो
अब त त्यो दुर्घटना पनि नराम्रो लाग्दैन
मलाई चाहिं एउटा जो भूत सवार भएको छ
कवि हुने ,कहिं नभा’को
अब त…, म निदाए पनि त्यो निदाउदैन !
सपना देख्दिनँ मात्रै साथी
ई यसरी लेख्छु पनि
डर लाग्यो ? नडराउ भो
तिमीलाई मन पर्दैन भने
चुरोटको धुवाँ जस्तै
मन परि -मन नपरि
फेंक्छु पनि
किन रिसाउथे एउटा दाई
के गर्छौ भन्दा
अब बुझ्दैछु – कति दुख्छ !
हरिभक्त कट्वालको -“एउटै छ धरती ,एउटै छ आकाश ” भएको देशमा
मेरो आकाश होइन तिमीले देखेको
तिम्रो आकाश होइन मैले देखेको
सायद , हाम्रो धरती अनि
अरु सप्पै सप्पै पनि त्यस्तै त्यस्तै हो
मलाई एउटीले ढुङ्गा भन्थी
जानिछे खुब
हो म ढुङ्गै रहेछु
ढुङ्गा बाहेक को बाँच्न सक्छ यसरी
मलाई चाहिं बाँच्नु पनि छ, नमर्नु मात्रै होइन
कमसेकम मलाई बेइमान नहुनु छ , महान हुनु होइन
मलाई चाहिं एउटा जो भूत सवार भएको छ
कवि हुने, कहिं नभा’को
अब त…, म निदाए पनि त्यो निदाउदैन !
एक मुरी पाँच पाथी उडेर
( उडेर होइन गुडेर भन्ने कि )
म जहिंको त्यहीं छु – किनार जस्तै
“जति हिडें पनि म त्यहीं रहेछु , जहाँ नहुनु पर्थ्यो ”
-पारिजात दुख्छु !
शिरिषको फूल नै कहिले नदेखेको हामी
उनको उपन्यास कति लियौं
म अनुमान गर्छु
यसको जवाफ समय भन्दा जटिल होला
“मृत्यु ठूलो कुरा नै होइन ,
मर्नु बिशेष कुरा हुँदै होइन ”
बरु ” त्यसै निस्सासिएर मान्छे सकिइन्छु कि ”
-बैरागी काइँला डराउँछु
“भ्रम बिना बाँच्नै सक्दैन मान्छे ”
-गुरुदत्त बोलेको सुन्छु
( गीता दत्त संग होइन वहीदा रहमान संग बोलेको )
“जिउनु पनि भ्रम नै हो कि ,जस्तो लाग्छ ”
कोहि संग शंकर लामिछाने साउती मार्छन् , सुन्छु
“लभ र अफेक्सन ” निफन्ने
कुनै आधुनिक नाङ्लोको आविष्कार नभएकोमा
जति गुनासो छ आन्तोन चेखोवको
त्यो भन्दा यति धेरै बढी मेरो गुनासो छ कि
भ्रम र सपना
निफन्ने कुनै नाङ्लो
र छान्ने छेब्दु आविष्कार नभएकोमा
सम्झौता गर्नै सक्दिनँ
तुलना हुनै सक्दैन
म मेरो सपना भन्छु
तिनीहरू भ्रम हो भन्छन्
त्यहीं पनि हेर बाँचेकै छु,अरू केहि छैन
मलाई चाहिं एउटा जो भूत सवार भएको छ
कवि हुने ,कहिं नभा’को
अब त…, म निदाए पनि त्यो निदाउदैन !
मेरो एउटा भाई भन्छ –
बुद्ध भारतमा जन्मेको हो, जसले भन्छ
उसले जानि राखोस् –
गान्धी नेपालको बिरगंजमा चटपटे बेच्थ्यो
म चाहिं म संग भएको केहि सपनाहरू बेच्छु
किन्नु , जो संग छैन जिउनको लागि भ्रम होइन सपनाहरू
म मेरो, म संग रिसाएर अर्को तिर फर्केको आकाश बेच्छु
र अर्को एउटा सुन्दर आकाश किन्छु
जहाँ मेरो सपनालाई भ्रम भनिने छैन
“ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो ”
तर म संग एउटा नीलो सपना छ
“संगीतमा ठूलो क्रान्ति ल्याउनु पर्छ
साहित्य संग निकट सम्बन्ध राखेर ”
म नारायणगोपाल हिड्छु
“आमा त्यो आउँछ र ?” म रिमाल सङ्लिन्छु
“आउँछ बा त्यो आउँछ ” मेरी आमा रिमालकी आमा सङ्लिन्छिन्
म अझै किनारमा छु
मेरो नगिचै मेरो सपनाको नीलो दह छ
“मरि लानु के छ “- कोहि सुसेल्छ
यी माथिका हरफहरू कविता बन्छन् कि बन्दैनन्,मलाई थाहा छैन
मलाई चाहिं एउटा जो भूत सवार भएको छ
कवि हुने, कहिं नभा ‘को
अब त…, म निदाए पनि त्यो निदाउदैन !
Wednesday, July 4, 2012
(स्रोत : Sabdahar Creations)