करङ भाँच्चिन लागेका, समाउने हृयान्डल जसोतसो थामिएका अनि ओढिने छानो चाल्नोसमान पारदर्शी भएका । यस्ता धेरैथरी छाता बजारमा पाइन्छन् । आकारको त कुरै नगरौँ, चाहे भने मुसोले ओढ्न सुहाउने ‘मिनी अम्ब्रेला’देखि संयुक्त परिवारै अटाउने जम्बो छाता पनि किन्न सकिन्छ । तर यी सबैभन्दा पनि छाता र युवतीबीचको साइनो नै अलग र रोचक छ । बजारमा धेरैथरी छाताहरूको बीचबाट आँखै चिम्लिएर एउटा डन्ठी टपक्क टिपेमा युवतीहरूलाई काम चलिहाल्छ ।
लाली-पाउडर, प्रर्फ्युम्, स्यान्डल आदि सबै कुरा किन्दा चलेको ब्रान्ड हेरेर गुण मापन गर्ने युवतीहरू छाता किन्नुपर्दा भने त्यस्तो नापजाँचका कुरामा फिक्री गर्दैनन् । हुन पनि छातामा केको ब्रान्ड, केको गुणस्तर ! आधा बित्ताको डब्बे स्याम्पु किन्दा दुई बित्ताको छाता सित्तैमा पाइने उहार अफरको जमानामा छातालाई चिज गरेर नियाल्न कसले पो टाउको दुखाओस् ! बस्, एक झरी यसो घर-तरकारी बजार वा अफिस-क्यान्टीन गर्दै ओढ्यो अनि माकुराको गोलोमा सुम्पिदियो ।
उहिले-उहिले काका अनि हजुरबाले सुनौलो अक्षरमा ‘जय नेपाल’ लेखिएको बडेमानको कालो छाता कोट, स्टकोट वा कमिजको पछाडिपटिट भिरेर बाटाबाटै सानले हिँडेको देख्दा त्यसैगरी हिँड्न कम्ता लोभ जाग्दैनथ्यो । मान्छेको मन त्यस्तै त हो, कि लोभ लाग्छ कि त पाप जाग्छ । अचेलभरि त्यो लोभी मन चटक्क पुन्टे छातालाई टल्किने केशराशिमाथि ढल्काएर हिँड्ने युवतीतिर फर्किएको छ । मानौँ मस्का मार्दै हिँड्ने ती छातामय युवती विज्ञापनका महँगा अनुहार हुन् । घाम न पानी वित्थै छाता ओढ्दै हिँड्ने तिनले कतै छाताकै पो विज्ञापन गरिरहेका हुन् कि भन्ने भान पनि कतिपयलाई पर्छ । जे भए पनि छाता र युवतीबीचको साइनो खुट्याउन नसकेर धेरै जिल्ल पर्दा हुन् ।
एउटी दिदी उमेरकी युवतीसँग सहरको चोकमा भेट भएपछि छाताबारे यो रहस्यको पर्दा खुल्यो । ‘भाइ, के हो गालामा केके पिम्पल्स(दाग) आएछ त, घाममा अनुहार सेकिएपछि यस्तै हो । छाता ओढेर हिँड्नुपर्ने नि !’, दिदीले सुझाइन् । अनि पो थाहा भयो, तहतह मेकअपले पुरेको अनुहारलाई पानीले भिजाएर कतै सबै बगाउँछ कि, घामले गोरो अनि चिल्लो छाला डढाएर उमेरमै बूढी हुनुपर्ला कि भन्ने पीरले पो युवतीहरू छाता ओढ्दा रहेछन् । गुरुम्म हूल बाँधेर हिँड्दा पनि छिरिक्क घामले दखल देला भनेर ब्रहृमाजीका झैँ तीन-चार थान टाउकालाई एउटै छातामा घुसार्न उनीहरू हतारिन्छन् ।
युवतीहरूले छाता बोक्न किन छुटाउँदैनन् भन्ने अध्ययनमा लाग्दालाग्दै छाताविद् हुन कुनै समय लाग्दैन । यसको लागि खुला सडक वा फुटपाथतिर एक नजर छाडे छ्याङ्ग हुन्छ । सामान्यतया छाता ओढ्नुको कारण घामबाट टाउको नदुखोस्, अरु बिसन्चो बेहोर्नु नपरोस् अनि झरीमा भिजेर चिसो नलागोस् भन्ने हो । तर युवतीलाई तातो र चिसोको के पीर, तातो अर्थात् गर्मी भएमा आइसक्रिम छँदैछ अनि चिसोले सेकिएमा रप्याउनलाई पिरो चटपटे र अमिलो पानी-पुरीको बहाना ! धन्य तैपनि यो छाता ! युवतीको साथमा रहिरहन्छ ।
काठमाण्डौँ
2009-08-29
dhaibaji@gmail.com
(स्रोत : Khasskhass.com )