यात्रा साहित्य : ओ हेलम्बु !!

~देवेन्द्र भट्टराई~

‘हेलम्बुकी शेर्पेनी’ बोलको कुमार बस्नेतको गीतमा हेलम्बु थातथलोका बारेमा थोरबहुत सुनिएको हो। महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नियात्राकार केशर लालसम्मका लेखनमा अलिकति हेलम्बु–वृतान्त पढिएको हो। कहिले कुनै मिथजस्तो, कहिले धेरै टाढाको कुनै भिन्न जीवन–जगत होला भनी हेलम्बु–छायाछवी मनमा गढेको थियो।

यसपटकको तिहार फुर्सद र पर्व–मुडमा काठमाडौं–मेलम्ची–तिम्बु–मेलम्चीघ्याङ–ठारेपाटी–कुटुमसाङ हुदै चनौटेतिरको पाँचदिने पैदलमा निस्कने साइत मिल्यो। यात्रामा साथीहरु थिए— जीवनमैं पहिलो र शायद अन्तिम पटक ट्रेकिङ्को सोख मनमा राखेर झापाबाट आएका केही लघु–व्यवसायीहरु। बिर्तामोडमा आगन मसला कम्पनी चलाउने प्रबन्धक सुवास खतिवडा(सुख), दमकमा पशु चिकित्सा केन्द्र चलाउने कुमार खड्का (कुख), मोरङ सातपीढि घर हुदै काठमाडौंमा साइवर–यात्रामा रमिरहेका बिनोद अधिकारी (बि.अ.) र भर्खरै कतारभूमीबाट फिरेका जयराज भट्टराई(ज.भ.)।

पदयात्रा थाल्नुअघि तल तिम्बुमैं न्यू तिम्बु लजका शेर्पा दाइले भनेका थिए—अब माथिका जंगलले घेरिएका बाटाघाटाहरु एकदमैं शून्य लाग्छन्। कतैकतै त चराचुरुङ्गी कराएको समेत सुनिन्न। बाटो झण्डै त्यस्तै रहेछ पनि। ठाउठाउमा पानीघट्टमा मकै, जौ पिसाइरहेका दाजुदिदीहरु भेटिन्थे। चियाखाजाका पसलहरु पनि उति थिएनन्। बरु हिडिरहेको बाटोबाट यसो छड्किएर भित्री घरहरुमा पसेर सुकुटी–शिकारको सितनमा ब्राम्हण–घरहरुमा पाइने अमिलो मोहीजस्तो छ्याङ भने पिइरहेका हुन्थे, सुख र कुखहरु।
उमेर औसतमा ३० का यी मधेशका जवानहरु पर्चा, पोष्टर र फिल्मी पर्दाहरुमा मात्रै पहाडी/हिमाली जीवन–जगतका बारेमा जानकार रहेछन्। तिम्बुबाट मेलम्चीको खानेपानी सुरुङ हेर्दै मोलम्चीघ्याङको असाद्ये उकालो हिडिरहेको पहिलो दिनमैं यिनीहरुको गतिगराश देखिन्थ्यो। ३ हजारभन्दा माथिको मिटरमा यात्रु बनेर हिडिरहेका बेला लेक लाग्ने त्रास र हल्लाका कारण अरुभन्दा पनि मधेशबाट भोल्भो चढेर काठमाडौं आएका कुख, सुख र जभ भने कुनै जन्मजात–मधौरुले बाटो काटिरहेझैं हविगतमा थिए, दुइ हातमा दुइ लौरोको सहारामा। मसला व्यवसायको चम्कदो बजार र हामीबीचमा राम्रो आर्थिक हैसियत रहेका आगन मसलाका सुख कहींकतै छोटी होटल वा चियापसल भेटिए पनि सोधिरहेका हुन्थे—’दाइ, यहाबाट हेलिकोप्टर चार्टर गरेर काठमाडौं जान कति लाग्ला?’

‘क्याराभान’का निर्देशक एरिक भ्यालीले आफूले अबको प्रोजेक्टमा ‘रोड टु ल्हासा’ फिल्म बनाउन चाहेको गफ सुनाएका थिए, केही बर्षअघि। लेखक केशरलालको काठमाडौं–ल्हासा ब्यापारमा जाने नेवार समुदायबारेको कृति आधारमा यो फिल्मी योजना भ्यालीले बनाएका रहेछन्। हेलम्बु जाने हामी हिडिरहेको मार्ग हुदै ‘रोड टु ल्हासा’ बन्ने सम्भावना छ/छैन, यो त्यति पत्तो हुने कुरो भएन। तर आफूलाई फिल्म निर्माता र डकुमेन्ट्री–मेकर भन्दै काठमाडौंका सभा–सेमिनारमा बेतोडका गफ दिइरहने पात्रहरु हेलम्बुका यी पाखाभित्ता र सौन्दर्यले भरिएका पहाडतिर कहिले आइपुग्लान् नि (?), मनमा यस्तै अनेक कुरा खेलिरहेको थियो।

‘होइन, म त खस्छु कि क्या हो,’झापा शनिश्चरेको मैदानमा हरेक दिन बिहान फुटबल खेलेर ज्यान निकै कसिलो बनाएको छु भन्ने दावी गर्ने सुख मेलम्चीघ्याङ नपुग्दै मारुनी–तालमा हिंड्न थालिसकेका थिए। कतारको ५० डिग्रीको तातोमा मरुभूमी–रेस गरेर आएका ज.भ.को पनि हाल उस्तै बेहाल थियो। बरु काठमाडौंबासी बि.अ. भने केही सद्ये लाग्थे। कुख बिहान खाएको अमिलो छ्याङ्को सुरतालमा मस्तराम देखिन्थे, कुनै अभ्यस्त पदयात्रु झैं।

पदयात्राका लागि मनाङको थोराङ्लापास पुगेपनि अथवा सिन्धुपाल्चोकको मेलम्चीघ्याङ पुगेपनि ‘दुर्दशा’ भने उस्तै हुदो रहेछ। नेपाल पर्यटन बर्ष भनेपनि अथवा भ्रमण बर्षको होहल्ला बीबीसी र सीएननमा छाएपनि नेपाली पदयात्रु र पर्यटकको हविगत भने ‘कपुरी क’ झैं अनुभुती भयो, यसपाला पनि। कहिले बाटो भुल्दै, कहिले अशक्त सहयात्रुलाई काँध थाप्दै साझको ७ बजिसकेको थियो, मेलम्चीघ्याङ पुग्दा। ‘ए दिदी, लजमा बास पाइएला?’,परैबाट बँचेखुचेको सास फुलाएर हामी सोध्थ्यौं।

तिहारको लक्ष्मीपुजाका साझमा घरघरमा मधुरो भएपनि बत्ती बलिरहेको देखिन्थ्यो। कतै देउसीभैलो सुनिन्थ्यो त कहीं ‘मुन्नी बदनाम हुइ’को ध्वनीमा ब्रेकडान्स चल्दै थियो। तर सोधिएका अधिकांस लजका दिदीदाजुहरु कि त केही बोल्दैनथे। बोल्नैपरे पनि सोधिरहेका हुन्थे—’के कुहिरे छ?’

दिनभरिको थकान, धनु कमजोर भएका सहयात्रुहरुको भार र भोकका कारण आफैं ‘कुहिरे’ होइन, ‘कुहिराको काग’ झैं बनिएको स्थिती जो थियो। अनि लजवाला दाइदिदीले हाम्रा अनुहार टल्कने गरी टर्चलाइट बाल्थे र भन्थे—’ए सबै नेपाली रहेछ। हाम्रो लजमा त कोठा छैन है भाइहरु…।’ अनि ढोका ढ्याप्प लाग्थ्यो।

केही उपाय नलागेपछि तासी देलेक तिबेतन लजमा हुल बाधेर हामी छिर्यौं। किनभने त्यहाँ देउसी–भैलेहरुको रमझम थियो। अनि लजवाली दिदी ल्हामु पाल्साङलाई बिन्तीभाउ गर्‍यौं, एक रात बासका लागि। अँध्यारोमा कन्तबिजोग स्थितीमा देखिने यात्रुका पोखिन लागेका आँशु देखेर मनकारी ल्हामु दिदीले बास दिइन्। अनि आलुको झोल र भात पनि पकाइदिइन्। एउटा सागुरो कोठामा ५ जना यात्रुको रात कसरी बित्यो होला, यसको आफ्नै कथा छ। लजका संचालक भिनाजु फिन्जो पाल्साङ् दुम्सीका काँडाजस्ता लाग्ने आफ्ना जुँगाको हार चलाउदै यताउता गरिरहेका हुन्थे। आफ्नो एउटा छोरो अमेरिकामा रहेको र यो दुरदराजमा बितेको ४० बर्षदेखि दुःखजिलो गर्दै जीवन बिताइरहेको उनी बताइरहेका थिए।
भाइटीकाको दिनमा यात्रा–गन्तव्य ठारेपाटी थियो, ३५ सय ५० मिटरको एउटा डाडोमा। बाटोका लागि ल्हामु दिदीले तिव्वती रोटी पकाइदिएकी थिइन्। यत्रो कहलिएको लाङटाङ् निकुञ्ज क्षेत्रको पदयात्रा मार्गमा न व्यस्थित होर्डिङ–बोर्ड देखिन्छ, न बाटो छुट्टयाउने संकेत चिन्ह। जंगलका भित्री बाटामा अनेक पटक हराउदै र रेड–पाण्डाको दुर्लभ–दर्शन चहार्दै ठारेपाटीको सुम्चो टप लजमा बेलुकी पुगियो। लजका संचालक जिम्बा शेर्पाले पनि हामी नेपाली यात्रुलाई आफ्नै काइदामा स्वागत गरे—’बसे बस, नबसे नबस…।’

गलेर लखतरान भएका बेलामा जिम्बा दाइले पालेको लोकल कुखुरा खाने सदिच्छा कुख र सुखले निकाले। मुश्किलले २ केजी तौलको ज्युदो कुखुरोको मुल्य २३ सय रुपैंया पर्‍यो। हेलम्बु–यात्रामा भिन्न स्वाद लिन पनि त्यो खानैपर्ने स्थिती थियो। ठारेपाटीमा अघिल्लो रात हिउ परेको रहेछ। त्यो रातभर पनि बाक्लै शित परिरह्यो। ‘मेरो त ओठमुख सुक्यो, नाक पनि फुटेजस्तो छ, भुडीभित्र गोला चलेजस्तो भैरहेको छ…म त खस्छु कि क्या हो !’,रातको दुइ बजेतिर सगै सुतेका मसले सुख बरबराएको सुनियो। रातमैं लसुनका दुइ/चार पोटी ख्वाएपछि, तातो पानी छर्केर सातो बोलाएझैं गरेपछि जसोतसो सुखले लामो शाश फेरे। यो अभ्यन्तरमा आएर कसो ती खसेनन् भन्ने भइरह्यो।

भोलीपल्टको गन्तव्य बढीमा कुटुमसाङ हुने निश्चित भैसकेको थियो। मागिनगोठमा बिहानको खाना खाएर कुटुमसाङ आइपुग्न अशक्त र लापरवाह पदयात्रुलाई ५ घण्टाभन्दा बढी लाग्यो, जुन बाटो मुश्किलले दुइ घण्टाजतिको मात्रै हो रे। यात्रुमध्ये ज.भ. र बि.अ.को स्थिती अत्यन्त नाजुक भएपछि र रोटेपिङ घुमेजस्तो खुट्टा घुमाउदै हिड्न थालेपछि साथमा रहेका पशु चिकित्सक कुखले घ्याङ तलको चौरीमा दुबै अशक्तलाई राखेर मल्हम लगाइदिने सेवाकारी काम गरे। ‘आखिर यसरी मालिश गर्ने र तर्केको नशा छाम्ने काम पशु र मान्छे दुबैको एकै हो,’कुख भनिरहेका थिए।

सुरुको योजना र इच्छा थियो, ठारेपाटी र गोसाइकुण्ड निक्लने। अथवा कम्तीमा कुटुमसाङबाट चिसापानी हुदै सुन्दरीजल निस्कने। तर साथीभाइहरुको हिडाइ लैनो गाईको हविगतमा पुगेको थियो। कुख र बि.अ. बाहेक अरु दुइलाई मिल्ने भए र पाइने भए नाम्ले–भरिया लगाउने बेला भैसकेको थियो। नियात्राकार, गीतकार र लेखकले बयान गरे झैं शेपेर्नी, राता गाला र स्याउको कथानक उति देख्न पाइएन। शायद सिजन पो थिएन कि? बरु धानखेतमा काम गरिरहेका दाजुभाइ, अन्नबाली भित्र्याउने चटारो, हुस्सुले छोपेको जंगल र जुका लाग्ने ओसिलो भुइ भने निकै छुन पाइयो। यही अपार–मार्ग हुदै आफ्ना स–साना नानीलाई डोकोमा बोकाएर पैदल मारिरहेका विदेशी यात्रुहरु पनि फाट्टफुट्ट भेटिन्थे।

सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटका सिमावर्ती पदमार्गहरु छिचोल्दै मेलम्ची बहिरहेको चनौटे छेउ आएपछि काठमाडौं आउने गाडीको हर्न सुनेपछि मात्रै सहयात्रुहरुले साथमा बोकेका दुइवटा सहारा लौरोहरु फालेका थिए। र, सुपर मेलम्ची यातायातमा बसिसकेपछि स्पष्टवक्ता भएर एउटा घोषणा गर्नैपर्ने भयो—’यस्ता हुतिहारा, धनु कमजोर भएका, पानीमरुवा र ट्रेकिङको विवरण–म्याप कुनै पुस्तकका गातामा मात्रै देखेका झापाली लघु व्यवसायीहरुसँग भने अबका दिनमा कुनै पदयात्रामा पनि निस्कने छैन। लुजास्त !!’

November 22nd, 2011
registandiary@gmail.com

(स्रोत : Mysansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.