कथा : नीला आँखा

~निर्मला खड्का~Nirmala Kadka

सानै देखि उपन्यास,कथा र कबिताका किताबहरु पढ्ने बानी रह्यो ।नीला आँखा हुने मान्छेहरु धोकेवाज हुने र उनीहरुको भर पर्न नहुने भनेर त्यसबेला पढिएका कथाहरु मध्येका एक कथामा पढेको सम्झना आउँछ | जीवन यहाँसम्म आइपुग्दा हजारौ कथा पढियो होला । कतिले मन छोएर गएका छन् भने कयौंले अमिट छाप छोड्न सफल भएकाछन,मस्तिष्कमा । त्यो नीलो आँखायुक्त पात्र भएको कथाको बस्तुस्थिती मैले बिर्से तर निला आँखा भएका मान्छे बिस्वासका पात्र हुँदैनन् भन्ने कुरा चै काँडाले चिथारेर लागेको चोटको नमेटिने गरी बसेको दाग झैँ बसेको छ मेरो मानसपटलमा । उसो र हाम्रा घाउँ घरमा नीला आँखा भएका मान्छे भेट्नु नै कहाँ ? काला र खैरा बाहेक देख्न पा’हैन । तर जिन्दगीका उतार चढाव संगै पैठेजोरी खेल्दै हिड्दा घरदेश छोडी परदेश पुगियो । अब भने निला ,काला,खैरा अनि हरीया आँखा प्रसस्त देख्न पाइन थालियो । परदेशको बसाईं संगसंगै भएका विभिन्न आँखासंगको झम्काभेट,परिचय र मित्रता संगै सम्बन्ध प्रगाढ हुदै जानु कुनै नौलो भएन ।

यसरी नै मध्य पश्चिममा मेरो भेट भएको थियो जोसेफसंग । आर्थिकोपार्जनका खातिर भौतारिएर अनेक हण्डर खादै ठुलो सपना बोकेका हामी चार दक्षिणपूर्वीय युवतीहरु मध्यपश्चिममा ठोक्किन पुगी जोसेफको अपार्टमेन्ट सामुन्नेको अपार्टमेन्टमा बस्ने गर्थ्यौ |आमुन्ने सामुन्ने अपार्टमेन्ट हुनाले देखा देख भै नै रहन्थ्यो । पहिला मैले ऊ प्रती त्यति ध्यान दिएकी थिईन तर कयौं पटकको देखादेख पछि आक्कल झुक्कल हाइ-हेल्लो हुन थाल्यो । एकदिन हाम्रो बिदाको दिन थ्यो । कोठामा कती बसी राख्नु भनेर हामी चारै जना साथीहरु बाहिर निस्कियौ । झिसमिस साँझले शहरको बातावरण निकै मनमोहक बनाएको थियो । हामीले पैदल हिड्दै त्यहि नजिकको एउटा गार्डेनलाइ आफ्नो गन्तब्य बनाउने निश्चय गर्यौ । गर्मी दिनको साँझ भएर होला पार्क भरि भराउ थियो । हामी पार्कमा पुगेर हरियो दुबो माथि थचक्क बसेर बिबिध कुराहरु गर्दै मनोरंजीत हुन शुरु गर्यौं ।

“हाइ गर्ल्स” अपेक्षा नै नगरिएको आवाजले हामीलाई झस्क्यायो

“हेई” हामी पनि के कम जवाफ फर्काइ हाल्यौ । सामुन्ने जोसेफ थियो ।

“म यहाँ तिमीहरु संग बस्न सक्छु”? उसले बिस्तारै सोध्यो ।

“पक्कै पनि” हामीले स्विकृती दियौ । ऊ हामीसंग बसेर गफमा गफ मिलाउन थाल्यो । तर ऊ अली लजालु किसिमको कम बोल्ने युवक जस्तो मानें मैले पहिलो भेटको कुराकानीमा किनकी ऊ हामीसंग बस्न भनेर त आयो तर अपेक्षाकृत हामी भन्दा धेरै कम बोल्यो । सामान्यतया यताउताको कुरा संगै हामीहरु कुन देशबाट आएका? तिमीहरुलाई युरोप कस्तो लाग्दैछ? या यहाँका मान्छे कस्ता भेट्यौ ?आदि इत्यादी कुरामा नै समाप्त भयो । हुन् त हामी चार चार जनाको ग्याङ्ग थियौ अनि ऊ एक्लो भएर पो हो कि ? त्यो दिन हामी लगभग तीन घण्टा सम्म संगै बसेर संगसंगै आ-आफ्नो गुड तिर फर्कियौ । यहि नै जोसेफ संगको पहिलो समय थियो मेरो ।

जोसेफ गोरो, अग्लो, साधारण फिगर तर नीलो आँखाको धनी थियो त्यसैले उसलाइ देख्न बित्तिकै मेरो दिमागमा उही बर्षौ अघि पढेको कथाको पात्र र धोकेबाज शब्द झल्यास आइ हाल्थ्यो । मैले साथीहरुलाई पनि भने मैले कथामा पढेको कुरा साथै जोसेफको निलो आँखाको बारेमा रहेको मेरो धारणा । उनीहरुले हाँसेरै उडाउन थाले । कथाको कुरा लिएर अब सबैलाई धोकेबाज नै सोचेर बसिरहेस् पनि भने । मैले त्यो कथा सत्य कथामा पढेको सत्य घटना थियो भनेर उनीहरुलाई भने आफ्नो कुरा राखे । उनीहरु झन् हाँस्न थाले पछी म चुप हुनु शिवाय कुनै उपाय थिएन । हामी चारै जनाको भेट यहि भएको थियो । हामी अलग अलग तरिकाबाट यहाँ आए पनि उद्धेश्य एउटै पैसा कमाउने थियो र केहि महिना देखि यो अपार्टमेन्टमा संगै बस्न थालेका थियौ । कहिले कहिँ कामको अवस्थाले गर्दा एक्ला एक्लै पनि हुनु पर्थ्यो कोठामा | यदाकदा चारै जनाको बिदा संगै पर्दा बाहिर निस्कने गर्थ्यौ अन्यथा उहि कोठा र काम नै हुन्थ्यो हाम्रो नियमित रुटिन । जानु आउनु पनि कहाँ यो पराई भूमीमा । समयको आफ्नै बहाव , बग्दै थियो । हामी समयका प्यादा नाचीदै थियौ उसकै इशारामा । जोसेफ संग हाम्रो मित्रता झन् झन् गहिरो हुदै गयो । ऊ शान्त तर रमाइलो मान्छे थियो । हामी संग संगै हिड्दा बोल्दा दुइ चार नेपाली शब्द पनि सिकी सकेको थियो । “म तिमीलाई माया गर्छु” “तिमीलाई कस्तो छ “ ‘राम्रो “ ‘नराम्रो “ यस्ता यस्तै सामान्य शब्दहरु । ऊ सोद्थ्यो अनि हामीले सिकाउथ्यौ ।

“अब आउने दिनमा तिमीहरु चारै जनाको बिदा कहिले छ?” एकदिन अचानक उसले सोध्यो । हाम्रो बिदाको सेरोफेरो नमिल्ने हुनाले सोधेको हुनु पर्छ उसले ।

“आउने आइतबार “। एकजना साथीले भनिन ।

“उसो भए यो आइतबार तिमीहरु सबै जना मेरो घरमा डिनर आउने है ।“उसले भन्यो । हाम्रो पनि खासै प्लान केहि थिएन । फेरी ऊ संग भेटे देखिको अवधि लगभग एक बर्षको हुन् लागी सकेको थ्यो र कयौं पटक हामी उस्को अपार्टमेन्ट गएर खान खाएका थियौ र ऊ पनि हाम्रोमा आएको थियो ।

“हुन्छ नि “तर केहि खास छ र जोसेफ? मैले सोधिहाले ।

“खास केहि हैन तर मेरो भाइ र बहिनि पनि आउने भनेका छन् त्यसैले तिमीहरु संग भेटाउ भनेर हो । अनि थाहा छ मैले तिमीहरुको बारेमा सधै कुरा गर्छु । त्यसैले उनीहरु पनि भेटन खोज्दै छन्” उसले जवाफ दियो ।

“ओह्ह, ठिकै छ बरु केहि सहयोग चाहिन्छ भने भन्नु है” मैले औपचारिकता निभाए ।

“हैन खासै नपर्ला, परेमा भनिहल्छु नि” उसले भन्यो।

आइतबार साँझ ऊ आफै आयो बोलाउन । हामी पनि तयारी गर्दै थियौ । सोध्यौं को को आ’को छ भनेर । बहिनी-ज्वाईं दुइ जना भाइ र दुइ जना भान्जी गरी छ जना छन् भनेर जवाफ दियो ।

अलि अलि ‘अड’ लागे पनि चार चार जना छौ भनेर हिम्मत गर्दै हामी ऊ संग गयौ । जोसेफलाइ पो नजिक बाट चिनेका थियौ र साथी जस्तै भएका थियौ । उस्को परिवार कस्ता होलान् ? आखिर खैरे त हुन् । कती घमण्डी हुन्छन कोइ-कोइ त । यस्तै यस्तै विचार एक आपसमा पोख्दै हामी उस्को कोठामा छिर्यौ ।

हाई गाइज़ “ एक मोटो लोग्ने मान्छे अगाडी आएर हात मिलायो सबै संग । ऊ जोसेफको भाइ रहेछ ।

जोसेफले सबैसंग परिचय गरायो । हामीपनि मुस्काउदै लाज मान्दै उनीहरु संगै बस्यौ ।

“तिमीहरुको कुरा गरी रहन्छ दाइले, तिमीहरुको आपसी समन्वय र मिलनसार पनको ।

‘कस्तो लागि रहेछ तिमीहरुलाई यहाँ आएर?’ उसकी बहिनी येप्पीले कुरा शुरु गरिन् |

“ हो ऊ पनि मिलनसार छ त्यसैले त हामी अर्कै मुलुककालाइ पनि माया गरेर साथी सम्झन्छ अनि सहयोग गर्छ ” मेरी एकजना साथीले कुरा थपिन् । कुराका सिलसिला चल्दैरहे । खानपिन् पनि चल्दैरह्यो । जोसेफ खाना पकाउन पनि निकै सिपालु रहेछ र ऊ भान्छामा काम गर्न पनि मन पराउने हुनाले सबै खानपिनको ब्यबस्था आफै गरेको रहेछ । उसकी बहिनीले कुरा गर्दागर्दै दाजुको प्रशंसा गर्दै भनेकी थिइन् । उसकी बहिनीसङ्गको सामिप्यता बढ्यो त्यो दिन । मेरो फोन नम्बर मागिन् उनले । मैले बोलाउदा हाम्रो पनि आउनु पर्छ है भन्दै अग्रिम बुक गरिन हामीलाई उनको पाहुना हुनका लागी । हामी पनि उस्को फरासिलोपनले प्रभावित भैसकेका थियौ त्यसैले “हुन्छ” भन्न पछी परेनौ ।

दिन आफ्नै रफ्तारमा बग्दै गयो । दिनचर्या उस्तै थियो । जोसेफ र हाम्रो मित्रता झन् झन् गहिरो हुदै थियो । हामी उसको बहिनीको घर पनि निम्तो मान्न गयौ । निक्कै रमाइलो संग त्यो साँझ बितेको थियो । यस्तै नयाँ बर्ष २0११ को “न्यु ईयर ईव” उनीहरु संगै बिताएका थियौ । जोसेफ र उसकी बहिनीले धेरै आग्रह गरेर हामीलाई बोलाएका थिए । उसको परीवार संगसंगै उनीहरूकी बुढी आमालाई पनि भेटेका थियौ । धेरै मिलनसार परिवार थियो जोसेफको । त्यो न्यु ईयर ईव हामीले जोसेफको आमाको घरमा मनाएका थियौ । त्यो रात हामी त्यहि बस्यौ । । जोसेफको परिवारका सबै सदस्यहरु जम्मा भएका थिए । त्यो रात सबै जना गरी हामी लगभग ३५ जना जति थियौं होला । कहिले तास खेल्दै, कहिले हल्का म्युजिक लगाएर झुम्दै , कहिले उनीहरु इंगलिस गीत गाउदै र हामी नेपाली गीत गाउँदै त्यो रात निक्कै मधुर वातावारणमा रम्दै बितेको थियो ।

“रोज, मलाई तिमीसंग केहि कुरा गर्न छ’ । ‘तिमी समय दिन तयार छौ भने हामी भित्र बसेर एकछिन् कुरा गरौ न “अचानक एप्पीले मलाई सोधिन । मेरो नाम रोजिना भएकोले प्राय साथीहरु सबैले रोज नै भन्ने गर्थे ।

“हुन्छ “मैले सामान्य मुद्रामा उनलाई जवाफ फर्काएँ । हामी भित्र कोठामा गयौ । उनले आफ्नी आमाको सबै घर देखाउदै मलाई सम्पूर्ण घरको जानकारी गराईन् । हामी दुइ कुरा गर्दै उनकी आमाको कोठा भित्र छिर्यौ । घर निक्कै ठुलो नै थियो ।

बस ! “एप्पीले कोठाको कुनामा राखेको सोफातिर देखाउदै भनिन् र आफु पनि बसिन् ।

रोज, “मैले अब गर्न लागेका कुराहरु मार्फत तिमीलाई सम्झाउन सक्छु या सक्दिन थाहा छैन तर तिमीले मलाई बुझ्ने प्रायश गर्नु है “एप्पिले नम्र भाषामा भनिन् । म असहज् महसुस गर्दै थिए किनकी उनको यो अनौठो पाराले कुरो शुरुवातको केहि तात्पर्य बुझ्न सकेकी थिइन ।

“मैले सक्दो प्रयाश गर्ने छु एप्पी बरु के कुरा हो भन न |“ मैले भने । कता कता मलाई अब मनमा खुल्दुली हुन लागी सकेको थियो । म हतारिनु र डराउनु दुवै एकैपटक भएको महसुश गर्दै थिएँ |

रोज “ मैले मेरो दाजु जोसेफको कुरा गर्न चाहेको तिमीसंग । उसले तिमीलाई धेरै माया गर्छ । उसले मलाई तिमीसंग कुरा राख भनेको त हैन तर तिम्रो बारेमा उसले म संग गरेको कुराको आधारमा मैले सुटुक्क तिमीलाई बुझ्न मात्र खोजेको हो । तिमीले अन्यथा पनि नलिनु है यो कुरालाई । उ साह्रै लजालु किसिमको छ सानै देखि । म तिमीसंग कुनै कुरा लुकाउदिन । जोसेफको बिहे भएको थियो र ऊ अहिले पारपाचुके हो । उसको एउटा छोरा पनि छ ११ बर्षको र उसको आमा संग बस्छ । मेरो दाइ ४० बर्षको भयो । जागीरे छ र राम्रो कमाउछ । तिमीलाई मैले यो सबै कुरा एउटा साथी जस्तै सोचेर भन्दैछु । जोसेफले तिमीलाई धेरै माया गर्छ भन्ने कुरा मैले उसको हाउभाउ बाट बुझें । उसले तिम्रो कुरा गर्न रुचाउछ । म संग तिम्रा धेरै धेरै कुरा गर्छ र भन्छ “कती साधारण अनि कती स्वच्छ भावना छ रोजमा”। माया त हो नि यो , हैंन र ? उसकी पत्नी “ लिली” धेरै महत्वकांक्षी भएर नै यिनीहरु अलग भएका हुन् । जोसेफ साधारण छ । म जोसेफलाई माया गर्छु । उ जस्तो मान्छे धेरै कम हुन्छन । उ मेरो दाइ हो त्यसैले मैले प्रशंशा गर्दै छु भनेर नसोच्नु नि । तिमीहरुले उसलाई चिनेको पनि त दुइ बर्ष हुन् लाग्यो ।“ उनले मेरो हात आफ्नो हातमा लिएर लगातार बोल्दै गईन । म अवाक् भएर उनको मुहार हेरी रहे । कल्पनै नगरेको अवस्थामा थिए म । कयौं पटक जोसेफले “म तिमीलाई माया गर्छु “ भनेको कुरा झल्झली याद आउँन थाल्यो । उसको गहिरो निलो आँखाहरु उस्तै मेरो सामु नाच्न थाल्यो । मैले त्यती बेला के सोचेकी भने उ नेपाली सिक्ने रहर गरेर बोल्दै छ यी शब्दहरु । पक्कै पनि जोसेफमा कुनै कमि थिएन । हामीले लगभग दुई बर्ष देखि उसको संगत गरेका थियौ । कुनै दिन उसको ब्यबहारमा नमिठोपन देखिएन । कहिल्यै कुनै नराम्रो संगतमा भेट्टिएन । यसरी उनकी बहिनीले कुरा राख्दा मलाई पूर्वीय सभ्यताको आभास दिलाएको थियो । साँच्चै यो पश्चिमको माहौल भए पनि उसको परीवारमा मैले पूर्वेली सुगन्ध पाएकी थिए ।

“सरी रोज, मैले तिम्रो मन दुखाएं कि?” मलाई सोचमग्न र मौन देखेर एप्पीले मलाई झस्काइन् ।

“हैन एप्पी, मैले यस बारेमा कल्पनै नगरेको भएर अल्मलिएको मात्र । एप्पी म दक्षिणपूर्वको एउटा गरीब देश अनि गरीब परिवारमा जन्मेकी छोरी हुँ । म संग मेरो परिवारका धेरै सपनाहरु जोडिएका छन् । मैले यी सबै कुराहरुमा ध्यान सम्म दिन पाएकी छैन । मैले यस्तो सोच र नज़रले जोसेफलाइ हेरेकै छैन । म यसबारे केहि भन्न सक्दिन अहिले । मलाई माफ गर “म अलि सामान्य हुदै भने तर मेरो बोलीमा पक्कै पनि खरोपन् थियो या जोसेफ प्रती कुनै चाह नरहेको अभिब्यक्ती मेरो रुखोपनमा घोलिएको थियो ।

“अरे! यसमा माफी माग्ने के कुरा भो ? मैले तिमीलाई बुझ्छु रोज । मैले तिम्रो सामु दाइको कुरा मात्र राखेकी हुँ । चाहेको सबै कहाँ पुग्छ र ? मैले दाईलाई पनि केहि भन्न सक्दिन तर हल्का रूपमा उसलाई तिम्रो विचार प्रष्ट पार्ने छु । तिम्रो विचार बुझे पछी उ त्यत्ती एकोहोरो पनि नहोला । तर तिम्रो मेरो बीच भएको कुरा उसलाई अहिले भन्दिन फेरी उसको के इच्छा छ हामीलाई थाहा पनि त छैन । मैले त तिमी प्रति उसको लगाव महसुस गरेर तिमीसंग कुरा राखेकी मात्र हुँ । तिमी ढुक्क हुनु है “ कती सुल्झिएको विचार पोखेकी थिइन् उनले त्यस बेला । भोलिपल्ट साँझ हामी फर्कने बेलामा जोसेफकी आमाले फेरी पनि आउनु है भनेकी थिइन् ।

जोसेफको परिवारसंग भेटेर आए पछी म अलि कम बोल्न थालेकी थिए उ संग । किन किन मनभित्र उकुस मुकुस हुन् थालेको थियो । म अलि चुपचाप भएको साथीहरुले महसुस गरेछन ।

“हैन, किन आजभोली त कम बोल्न थालेकी छस “ भनेर उषाले सोधिन् एकदिन ।

मैले जवाफ दिनै सकिन । मेरा सोचहरु उही नीलो आँखामा डुबी रहन थालेका थिए । मैले जोसेफलाइ कहिल्यै प्रेमिल नज़रले हेरेकै थिइन् । एप्पीले पक्कै पनि भनिन् होला मेरो कुरा जोसेफलाइ भन्ने कुरा मन मस्तिष्कमा सल्बलाउथ्यो । तर उसको ब्यबहारमा कुनै फरक देखिन्नथ्यो । उस्तै हँसिलो रसिलो अनि उस्तै साधारण ।

दिन रात अनि निरन्तर समयको बेग संगै केहि महिना बित्यो । यहाँ आएको तीन बर्षमा उषाले अचानक नेपाल जाने निर्णय गरीन् र नेपाल फर्किंईन । हामी अब कोठामा तीन जना मात्र थियौ र हाम्रो उस्तै दिनचर्या थियो ।

“रोज , आज बिहान आमाको मृत्यु भयो “ एक दिन दिउँसोतिर अचानक एप्पीको फोन आयो । दु:ख प्रशस्त थियो उनको रुझेको आवजमा । भोलि साँझ पाँच बजे अन्तिम बिदाईको समय तोकिएको छ । मिल्यो भने आउँ है “ उनले आग्रह गरिन । मैले सान्त्वनाका केहि शब्द संगै म बिदा मिल्यो भने आउंने छु भने । रश्मि र अनुलाई पनि भने जोसेफको आमाको बारेमा साथै एप्पीको कुरा पनि । भोलि काममा गएर मिलाउन सकियो भने निस्केर संगै भेट्न जाने सल्लाह भयो हाम्रो । अर्को दिन हामी त्यहाँ पुग्दा सात बजेको थियो । त्यसै बखत मैले जोसेफकि पत्नी “लिली “लाई भेटेकी थिए । एप्पिले नै परिचय गराएकी थिइन् र उनलाई चिन्ने मौका पाएकी थिए । निक्कै सुन्दर थिइन् उनी।

समय लम्किदै फेरी केहि महिना अगाडी पुग्यो । हामी जहीं त्यहि थियौ तर अनु दुइ महिना पछी अमेरिका जाने भईन । हामी फेरी घट्दै थियौ । उनी जानुमा कहिँ खुशी र कहिँ छुट्टिनुको पिडा मिश्रीत थियो हामी दुइ म र रश्मीमा । अनु जानु भन्दा अगाडी हामीले सानो ग्यादरिंग राख्यौ बिदाईको । केहि नेपाली साथीहरु अनि र जोसेफ अनि उस्को बहिनी र ज्वाईं पनि बोलाईएका थिए । लगभग १२ बजे सम्म रमाइलो गरेर बस्यौ हामी । मध्य रात पछि साथीहरु पातलिंदै गए । एप्पीले पनि बिदा लिईन् । अब हामी तीन र जोसेफ थियौ । सामान्य गफगाफ चल्दै थियो | रश्मीले अनुको अमेरिकामा भएको साथीको कुरा सुरु गरिन् जो संग निकट भविष्यमा अनु बिहे गर्दै थिइन् । त्यस पछी प्रेम,प्रेमी प्रेमिकाको कुरा हुन् थाल्यो ।

“म पनि तिम्रो साथीलाई माया गर्छु “ कुरा गर्दा गर्दै अचानक जोसेफले रश्मिलाई हेर्दै भन्यो । उसको आँखाको इशारा म तिर नै थियो ।

“को भन्ने मलाई थाहा छ “अनु लगभग चिच्याउदै भन्दै थिई ।

“रोजिना “भन्न किन डराएको होला “रश्मीको उस्तै झटारिलो बोली ।

“हाहाहा” गर्दै अनु र रश्मीको संयुक्त हाँसो ।

‘ हो गाईज, “रोज “ तर रोज मलाई माया गर्दिन भन्ने मलाई थाहा छ “ अच्चमको कसिलो बोलीमा जोसेफले स्वीकार गर्यो । उसको गहिरो नज़र त्यस समय मै माथि थियो ।

“ जोसेफ तिम्रो आँखाहरु नीला छन् र म नीलो आँखा हुने मान्छेलाई विश्वास गर्न सक्दिन । प्रेम त हुदै हुँदैन । उनीहरु धोकेबाज हुन्छन भन्ने सुनेको छु “ मैले कुरा सामान्य नै रहोस भन्ने हिसाबले जोसेफलाइ जबर्दस्ती जिस्काएकै झैं गरी भने ।

“कसले भन्यो? के तिमीलाई त्यो विश्वास लाग्छ ? म तिमीलाई केहि भन्दिन तर एक पटक मेरो आँखामा हेरेर भन त म धोकेबाज छु या हुन् सक्छु ? “ऊ मेरो एकदम नजिक दुवै आँखाले मेरो आँखामा हेर्दै भन्यो । म चुपचाप उसको आँखामा हेर्न थाले । उफ्फ्फ़ ! ती गहिरा नीला आँखा समुन्द्र भन्दा कम थिएनन् । त्यहाँ झुठ, फरेब ,धोका, मक्करी के होस् ,स्वच्छ निश्छल ती आँखाभित्र अथाह माया बाहेक केहि केहि थिएन । म त्यहाँ डुब्दै गरेको महसुस हुन थाल्यो आफैलाई । यसरी कसैको आँखा पनि पढ्न सकिदो रहेछ । मलाइ छटपटी भयो र मैले आफ्नो नज़र उसको आँखा बाट हटाए ।

“मलाई प्रेममा विश्वास छैन” यती बाहेक बोल्न केहि सकिन । बर्षौ बिते,हामी चार मध्ये दुई यहि परदेश सिच्दै छौ तर संगै छैनौ । रश्मिले यहि बिहे गरिन र अर्को शहरमा छन् । प्राय बिदा या चाड पर्व पर्दा भेट हुन्छ । अन्यथा फोनको र इमेलको माध्यम बाट जोडिएकै छौ । संसार धेरै सानो बनाई दिएको छ आजको संचार प्रगतीले । म एक्लो भए पछी फेरी नयाँ बथान खोज्नु नै पर्ने भयो साथीहरुको त्यसैले जोसेफको बस्ती देखि ४ घन्टाको दुरीमा आफ्नो गुड लगाएको पनि चार बर्ष हुन् थाल्यो । ऊ उस्तै छ ,मलाई माया गर्छु भन्ने मान्छे यी दिनहरुमा एक फोन पनि गर्दैन तर उसकी बहिनीले सम्पर्क गर्न छाडेकी छैनन् । कुनै पनि चाड होस् या बिहे या सामान्य ग्यादरिंग निम्तो गर्न भुल्दिनन् । म पनि एप्पिसंग नै दोहोरो सम्पर्क राखेर खुशी छु ।

“तिमी त मलाई खुब माया गर्छु भन्ने मान्छे,यति बर्षमा एक पटक फोन गर्न पनि सकेनौ “ गएको बर्ष उनीहरुकै एक बिहेमा सरिक हुँदा जोसेफ संग मैले सामान्य मैत्रीय गुनासो जस्तै गरे ।

“तिमीले पनि त गर्न सक्थ्यौ, गर्यौ ? म अझै पनि माया गर्छु तर तिमी गर्दिनौ । तिम्रो बारेमा जानकारी पाएकै हुन्छु । तिमी कहाँ छौ ? के गर्दै छौ ? कहिले मलाई भेट्न आउदै छौ ययावत सबै कुरा “ऊ मुसुक्क हाँसेको थियो ।

जीवन अनि यो प्रेम कस्तो अनौठो लाग्छ आज मलाई । मलाई चाहनेलाई मैले प्रेम गर्न नसक्नु , मेरो चाहत ,मेरो प्रेमले मलाई बुझ्न नसक्नु अर्थात मैले चाहे जसलाई उसलाई मैले पाउँन नसक्नु र मलाई निस्वार्थ चाहनेलाई मैले माया गर्न नसक्नुको पिडा मलाई भन्दा अरुलाई कमै थाहा होला जस्तो ,कस्तो यो बिडम्बना जिन्दगीको । यी उतार चढावहरुलाई मैले अती नै गहिरिएर अध्ययन गरेकै हुँ । समयले मलाई गतिलो बिषय बस्तु दिएकै हो । हामी समयका प्यादाहरु उसैको चाल अनि उसैको बहावमा छौ ।

FEB 6TH, 2015

(स्रोत : Sahityabakita )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.