केही दिन अगाडि क्युवा र फलोरिडा हुंदै आएको समुद्री आँधीले डी.सी. वरिपरि पनि प्रभाव पार्ने जानकारी पाएपछि संकटको अवस्थामा नेपालमा भए खाना पकाउने ग्याँस र मट्टितेलको जोहो गर्नै पर्थ्यो । यहाँ चाहिँ साथीहरुको सल्लाह अनुसार पसलबाट टिसुपेपर, सलाई, मैनबत्ती र दुध ल्याएर यसो बस्न मात्रै पाएको थिइन लौ फोनको घन्टी बज्या बज्यै गर्न थाल्यो ।
सस्तो टेलिफोन कार्डको ब्यापार बढाउनेदेखि विभिन्न संस्थाहरुले आर्थिक सहयोग जुटाउनसम्म फोन गर्ने गरेकोले आजकाल फोनको घन्टी बजेपछि मनै गर्हौं हुन्छ । मन नलागी नलागी फोन उठाएँ । धन्य उहाँ आफ्नै मानिस रहेछन् । ढुक्क भएँ । तर कहिलै आफ्नोलागि कसैसंग केही नमाग्ने मित्रले यस पटक फोनमा ‘हेलो” मात्रै भन्न पाएको थिएँ सँचो बिसँचोको कुरै नगरी एकै सासमा “मेरो लेखको भनाइको समर्थन गर्न र चुनावमा भोट पनि दिनु पर्यो” भने ।
मैले कुरोको चुरो नबुझेकोले सोधें “केमा उठने सिनेटमा कि हाउस अफ रिपिजेन्टेटिभमा ? फेरि नोभेम्बरमा हुने चुनाबको लागि अहिले उठने निर्णय गरेर पनि हुन्छ ?”
“होईन, तपाई आजकाल वासिङ्टन डी.सी. बाहिरै बस्नुहुन्छ कि क्याहो ? ” उनले उल्टै प्रश्न तेर्स्याउँदै भने “हाम्रो समुदाएको सबै भन्दा पुरानो मात्रै होइन डी.सी. क्षेत्रकै सबै भन्दा ठुलो संस्थाको चुनाब हुनेभएको छ भन्ने पनि थाहा छैन ? हो, मैले पनि त्यसमा उमेदवारी दिने विचार गरेको छु ।”
मैले भने उक्त संस्थाको चुनाब हुने जानकारी त संचार माध्यमबाट पाएको थिएँ । अब म चुनाव लड्ने पनि होइन । नत्र चुनाव लड्न उताको जस्तै खसीकै व्यवस्था गर्नु पर्थ्यो । कस्ले गरोस् त्यो झन्झट ? त्यसैले मैले खासै ध्यान दिएको छैन । फेरि एक दुइटा संस्था बाहेक प्राय अन्य संस्थाहरुको चुनाव समयमा भएकै छैन । समयमा चुनाव नभए पनि अन्य कार्यक्रमहरु चाहि भै नै रहेका छन्। खासगरि नेताहरुको स्वागत र दशैंमा दुतावाससंग मिलेर संयुक्त भोज लगाएत चियापानको कार्यक्रम भएकै छ भने यिनै कामको लागि चुनावै किन गर्ने ?
तर मित्रलाई मेरो जवाफले चित्त बुझेनछ क्यारे उनले भने “देख्नु भएन अरुको विचारै नबुझी आआफ्नो फाइदा हुने किसिमले विधान संशोधन गरेर अध्यक्ष हुनको लागि एकलौटी व्यवस्था गरेको ? फेरि चुनाव गराउने समितिले पनि संस्थाको विधानको मर्म बुझेर चुनावको नियम जारि गरेको भए राम्रो हुन्थ्यो नि ।” मित्रलाई सान्त्वना दिने विचारले मैले भने “हेर्नोस हामी उताबाट आएका हौं जहाँ राजनैतिक दल र नेताहरुले आफ्नो फाईदाकोलागी अन्तरिम संविधानै पटक पटक संसोधन गरे । फेरि संबिधान निर्माण गर्न जनताले छानेका नेताले त २०सौं बर्ष लगाएर पनि देशलाई प्रजातन्त्रवादबाट साम्यवादतर्फ लैजाने कुरा गर्छन् भने यहाँका संचालकले संस्थामा यदि विधानै संसोधन गरेको हो भने पनि के नै आश्चर्य भयो त ?”
मैले फेरि भनें “तपाईको भनाइको समर्थन गर्ने कुराले मलाई अर्को एउटा महत्वपुर्ण कुरोको संझना भयो । हेर्नोस केही अपबादलाई छोडेर हामी गाडीमा घरमा लगाएत अन्य सामाजिक एवं ए. एन. ए. को कार्यक्रममा समेत हिन्दी गीत बजाउछौ । हो-हल्ला भएपछि अन्त्यमा हिन्दी गीत बन्द गरियो रे ! घरमा हिन्दीनै चलचित्रनै बढी हेर्छौं । लुगा गहना र खानाको स्वाद पनि भारतीयकै जस्तै चाहिने । विरोधै गर्नु छ भने संविधान पढेर कानुनि तरिकाले गरौ । हा-हामा चाहिँ नलागौ क्या । तपाईलाइ थाहै होला फ्रेंच जान्ने खैरेले रक्सी पिएपछि अंग्रेजीको सट्टा फ्रेंचमा कुरा गर्छन् भने सोमरस सेवनपछि हामी पनि हात हल्लाई हल्लाई हिन्दीमै कुरा गर्न थाल्छौं । हाम्रा नेताहरुका गुरुहरु भारतमै छन् त्यसको चाहिँ विरोध कसैले कहिले नगर्ने । नेताहरु खुसुक्क भारत गएर संझौताहरु गर्दा पनि विरोध नगर्ने, तर हिन्दीमा सपथ लियो भनेर विरोध चाहि गर्ने । फेरि त्यसको केहि समय पछि प्रधानमन्त्रीले सपथ लिए तर उनले कहिले काही कालो टोपी बाहेक राष्ट्रिय पोसाक लगाएनन् खै त्यस्को चाहिँ विरोध नगर्ने ।
अं, राष्ट्रियताको कुरा गर्दा मलाई एउटा कुराको संझना भयो, त्यो के भने प्रजातन्त्र मासेको दोष लागेका स्वर्गीय राजा महेन्द्रले उतिखेर भविष्यमा देश संकटमा पर्नसक्ने देखेरै राष्ट्रियता बचाउनलाई जनतामा एकबद्धता कायमगरी देश निर्माण गर्न पुर्ब पश्चिम राजमार्गको थालनी, नेपाली भाषाको उत्थान र नेपाली मुद्राको प्रचलन अनिवार्य गराएका थिए भने १४ मध्ये ११ वटा अचलको सिमाना उत्तरदेखि दक्षिणसम्मकोरी हिमाल पहाड र मदेशमा बस्ने सबैलाई हामी एक हौ भन्ने राष्ट्रिय भावना जगाए। त्यसबेला त्यसो नगरिएको भए उहिलै भारतीय मुद्रा र हिन्दी भाषाले देश ढाकिसक्ने थियो ।
साचै भन्ने हो भनॆ यो देशमा बसेर हामीले विरोध गर्न चाहिँ खुब सिकेकाछौं । उताको राजनैतिक उतारचढाब लगाएत नियुक्त आदि सबैमा हाम्रो विरोध भइ नै रहन्छ । उहिले यही अध्ययन गर्दै रहेका व्यक्तिलाई संयृक्त राष्ट्र संघमा स्थायी प्रतिनिधि बनाएकोमा पनि हामीले विरोधै गरेका थियौं भने केही बर्ष अगाडि चित्त नबुझ्ने लेख छापेको भन्दै दुतावास अगाडि गोरखापत्र जलाएर विरोध गर्ने कार्यक्रम पनि बनाएका थिए । समय नमिलेकोले होला उक्त कार्यक्रम भने भएन ।
२१सौं शताब्दीमा त्यसमा पनि बहुदलीए व्यवस्था मार्फत शान्ति संझौता गरेका र पछि जनताको समर्थन पाएका प्रधान मन्त्रीले केहीदिन अगाडिमात्रै बी. बी.सी.संगको अन्तरवार्तामा भने ‘उनको दलको अन्तिम लक्ष्य भनेको देशलाई साम्यवादतर्फ लैजाने नै हो।” खै प्रजातन्त्रवादी कसैले विरोध गरेनन् त । अब विरोध नगरेपछि मौनं संमति लक्षणम् नै त होला नि कि कसो ?
अहिलेको स्थितिमा केको विरोध गर्ने केको समर्थन गर्ने भन्नै गाह्रो छ । त्यसैले तपाईको भनाइको म समर्थन पनि गर्दिन, विरोध पनि गर्दिन । जहाँ सम्म चुनाव र भोट दिने कुरा आउँछ त्यो चाहिँ सोच्नै पर्छ । चुनाव गर्ने भनेर कहिलेकाहीं त संचालक समितिले आफुखुसी समय थपेको पनि उदाहरण छ । फेरि चुनावै नभए पनि यहाँ कोशीको बाढीले बगाउने कुरो छैन क्यारे !
यतिन्जेल धैर्य गरेर कुरा सुनिरहेका मित्रले कड्किएर भने “तपाईं निद्रैमा हुनुहुन्छ कि क्याहो ? यत्रो प्रजातान्त्रिक देशमा पनि यस्तो अप्रजातान्त्रिक व्यवहार भएपछि विरोध नगर्ने ? यहा चिन्ता बुढी मरी भनेर होइन काल पल्कियो भनेर भएको छ ।”
उनको कुरा सुनेर म एकछिन चुपै लागे ।
उतातिर दलका कार्यकर्ता भएकाहरु यहाँ आएपछि प्रायः सबै नेतानै भैसकेका छन् । आफु त्यो डयाङ्मा परिएन । अब पर्ने पनि कसरि ? उहिले पढुन्जेल मान्यजनहरुको कडा आदेश थियो ‘घरबाट बिध्यालय, बिध्यालयबाट घर- जिन्दावाद र मुर्दावाद भनेर सडकमा उफ्रने नगर” ।
तर त्यसो भन्दैमा मित्रको नेता हुने उत्साहलाई ठेस पुराउनु पनि भएन । बर्षौ सम्म चुनावको कुरै नगर्नेले अहिले आएर एकाएक उमेदवार हुने विचार गरे । यो पटक उनलाई चुनाव लड्ने विचार कहाँबाट आयो थाहा भएन । फेरि उनलाई समर्थन गर्ने मित्रहरु कति छन् र उनिहरु उक्त संस्थाको सदश्य छन् कि छैनन् त्यो पनि थाहा भएन । तर साथीले मद्दत मागेपछि नाई भन्न पनि मिलेन ।
मैले उनलाई एउटा व्यवहारिक सल्लाह दिदै भनें “असारमा आफुले चाहिँ धान नरोप्ने अनि अरुले रोपेको धान मंसिरमा काट्न अलि गाह्रो हुन्छ नि होइन र ? त्यसैले तपाई साच्चिकै चुनाव लड्ने नै हो भने यस पल्ट सदस्यमा मात्रै उमेदवारी दिनुहोस् । अध्यक्षमा चाहिँ अर्को पल्ट लड्नोस् । पहिले पहिले अरुले गरेको जस्तै आफैले रकम तिरेर सदस्यहरु भोट ब्याङ्क बनाउन थालिहाल्नॊस् ।”
मेरो कुरा सुनेपछि उनले “कुरो त सही हो, तर म अहिलेनै निराश चाहि भएको छैन” भने ।
“लौ, चुनाव लड्ने नै हो भनॆपनि ठिकै छ यदि शुल्क तिरेर मलाई पनि सदस्य बनाइदिने हो भने ‘मेरो भोट तपाईलाई पक्का भो’ भनेर फोन राखें ।
मेरील्यान्ड
2009-08-29
(स्रोत : Khasskhass.com )