व्यङ्ग्य निवन्ध : साहित्यकार कसरी बन्ने ?

~मनोज गजुरेल~

Manoj Gajurel

आखिर लेखक बन्ने सूत्र पत्ता लागेरै छाड्यो । कुनै जमाना यस्तो थियो–कवि बन्नका लागि साहित्यिक चेतना चाहिन्थ्यो । लेखक हुनका लागि बौद्धिक खुराक आवश्यक पर्दथ्यो । माना–पाथीका ठाउँमा ढक र तराजु आए जस्तै लेखनको क्षेत्रमा जमाना बदलिएको छ । गिदीमा घोडाको लिदी भए पनि चोर्ने कला छ भने, कत्रा कत्रा मै हँुं भन्ने लेखकहरू पनि थला पर्न सक्छन् । तिनीहरूकै रचना आफ्नो नाममा छपाएर तपार्इंले आफ्नो गलामा पाँच तोला सुनको पदक झुण्डाउन सक्नुहुन्छ ।

लेख्नु भन्नाले तीनवटा औंलाहरूको बीचमा कलम च्याप्नु र कापीमाथि अक्षर दौडाउनु मात्रै होइन । अरु कसैको रचना पढ्नु र त्यसलाई आफ्नो मौलिक रचना भनेर सम्पादकका आँखामा छारो हाल्न सक्ने नै वास्तविक लेखक ठानिन्छ । आकाशबाट असिना बर्सेजस्तो दिमागबाट कुरा बर्सिदैमा कोही पनि ‘माइ के लाल’ लेखक हेर्नै सक्दैन । मान्छेहरू भन्ने गर्छन्– लेखक बन्नका लागि गिदीमा टन्न गुदी हुनु पर्दछ ।

तर म यस कुरासँग पटक्कै सहमत छैन । मनग्य गुदी भएका जति सबै लेखक बन्ने भए मेरो मःम मार्टनर खप्परध्वज पनि ठूलै लेखक भइसक्नु पर्ने थियो । तर अहिलेसम्म सत्र किलोको घन्टाउको लिएर घुमी मात्र रहेको छ ।

लेख्नु भनेको कला हो । कला बिनाको कविता भैंसीको थला जस्तो उजाड देखिन्छ । तपाईंले सोच्नु भयो होला– कला नामकी कुनै मस्त मैयाँलाई अगाडि राखेर लेख्दा पो लेखक बनिने रहेछ कि ! माफ गर्नु होला, ‘कला’ भनेको तपाईंले चिन्नु भएकी मोडेल कला सुब्बाको कुरा गरेको होइन । न मेरी चाउमिन पार्टनर हरिकलाको कुरो हो, न त अरु कुनै चन्द्रकला, हेमकला वा प्रेमकलाको नै हो ।

कला भनेको तपाईंको टाउको हो । टाउको भन्नाले कपाल उम्रिने बाहिरी छाला मात्रै नसम्झनोस् है । टाउकोमा थु्रप्रै बालीहरू उम्रिने कुरो तपाईंलाई पनि थाहा छ । टाउकाभित्र बुद्धि विवेक मात्रै हैन, षडयन्त्र, चोरी, छल, धुत्र्यार्इं, धोका बेइमानी, चाकरी पनि फल्ने फुल्ने गर्दछ । यिनै फलफूलको प्रयोग गर्नुलाई कला प्रयोग गर्नु भन्ने गरिन्छ ।

तपार्इंले कुनै लेख लेख्न प-यो भने गिदीको प्रयोग गर्न खोज्नु भयो भने तपाईं जानु भयो– गोलखाडी, तर साडीको बारेमा कुनै कथा लेख्नु परेमा तपाईं टाउकाभित्रको कला प्रयोग गर्नुस्– मदन पुरस्कार पाउन सक्ने सम्भावना रहन सक्छ ।

साडीको बारेमा अरु कसैले लेखिसकेको रचना खोज्नोस् । त्यसलाई अगाडि राखेर आफ्नो कापीमा सार्न शुरु गर्नोस् । उपसंहारलाई माथि ल्याउनोस् । बीचको अंश काटिदिनोस् । तलमाथि पनि छाँटिदिनोस् । अब दुवैलाई जुधाएर हेर्नोस् त– कस्ले भन्छ, यो लेख तपाईंले चोर्नुभएको भनेर !

नाम चलेको सम्पादकसँग भेट्नोस् । भेट्ने स्थान पत्रिकाको कार्यालय होइन नि, कुनै रेस्टुरेन्ट वा बार नै सम्पादकलाई सोर्स लगाउने सबैभन्दा उत्तम स्थान हो । ट्वाँट खाएका सुरमा ल्वाँठ सम्पादकले जस्तोसुकै झुर रचना पनि नछापी सुखै छैन । नाम चलेको पत्रिकामा लेख छपाएपछि तपार्इं ढुक्कसँग उल्टै भन्दै हिड्नोस्– ‘मेरो रचना फलानाले चोरेर हैरान बनायो नि ।’

यो त सानो रचना कसरी लेख्ने भन्ने सानो–छोटो आइडिया भयो । अब ठूलो पर्दाको अजंग पटकथाकार कसरी बन्ने भन्ने सूत्र पनि सुनिराख्नोस् । हलिउड देखि बलिउड हुँदै कलिउडसम्मका हिट फिल्महरूको लिस्ट बनाउनोस् र क्रमैसँग हेर्न शुरु गर्नोस् ।

बलिउडको ‘शोले’ बाट कथा शुरु गर्नोस् । त्यसपछि ‘कुसुमे रुमाल’ बाट प्रेम प्रसंग जोड्नोस् । ‘कहो ना प्यार हे’ को गाना घुसाउनोस् । त्यसपछि ‘चिनो’ को षड्यन्त्रको प्रसंग थप्नोस् । ‘…बद्री’ चलचित्रबाट सानो हास्यदृश्य थपक्कै झिकेर कथालाई अगाडि बढाउनोस् । त्यसपछि तुलसी घिमिरेको ‘दर्पणछायां’ को क्लाइमेक्समा आएर कथा टुङ्याउनुहोस् र नाम राख्नोस्– ‘शोले–छायाँ’ ।

पत्रकार भेला गर्नोस् र सोमरसको प्याला थमाउनोस् । यसको चर्चा गरेवापत धेरथोर ज्याला पनि टक्राउनोस् । भोलिपल्टको पत्रिकामा हेर्नोस्– ‘नेपालमा नयाँ शैली, नूतन विषयवस्तु र नौलो कथाको सिनेमा बन्ने ।’ अब भन्नोस् त, लेखक, कथाकार बन्न कुनै गा¥हो कुरो रहेछ त ?

कविता लेख्नु पनि कुनै कविता नामकी केटीसँग प्रेम गरेभन्दा कम सजिलो छैन । छन्दमा लेख्न चाहनु हुन्छ भने आफ्नो घरमा भएको घरझगडालाई कोरी दिनोस्–
‘मैले तिमीलाई विहे गरे अवला सम्झेर तिमीले मेरा टाउकोमा बजायौं तबला सम्झेर ।’ बेछन्द (गद्य) मा लेख्ने भए त कुनै अप्ठेरो नै भएन । प्रेमिकालाई लेखेको पत्र नै छपाउनु भयो भने एउटा राम्रो निबन्ध बन्न सक्छ– ‘दिलमाया, तिमीले किन पहिले नभनेकी ? उहीबेला आइ लव यू भनिदिएको भए हाम्रो मिलन हुन्थ्यो । तर अब त…।’ यसैलाई तपाईंले कविता पनि बनाउन सक्नु हुन्छ । सिधा लेख्नोस् त्यो निवन्ध हुन्छ , त्यसैलाई ठाडो पारेर लेख्नोस्– गद्य कविता बन्दछ –

दिलमाया
तिमीले किन पहिले
नभनेकी ?
उहीबेला आइलबयू
भनिदिएको
भए हाम्रो मिलन हुन्थ्यो


.
।’

त्यसैले तपाईं पनि लेखक, कवि, कथाकार, पटकथाकारको सफलता देखेर नजल्नोस् । यही सूत्र प्रयोग गरेर आफू पनि ठूलो साहित्यकार बन्न सक्नुहुन्छ ।

काठमाडौं
2014-06-09

(स्रोत : Fitkauli.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.