~होमशंकर बास्तोला~
एक अधबैंसे मान्छे पुस्तक लिएर बजारमा बेच्न लाग्यो । बजारको एक छेउमा बसेर ऊ कराएर पुस्तकको प्रचार गर्न थाल्यो –‘पुस्तक किन्नुहोस्, ज्ञान बढाउनुहोस् । यो ठूलो विद्धानले लेखेको र चर्चित पुस्तक हो ।’
–‘किन्नोस ! किन्नोस !! यो पुस्तक जसले किन्छ ऊ पढेर विद्धान हुन्छ ।’ ऊ जति कराए पनि ग्राहक नआएकाले चिन्तित थियो ।
ऊ ग्राहकको प्रतीक्षामा चिच्याएरहँदा एउटा टाइसुट र कोट लगाएको मान्छे ऊतिरै आइरहेको थियो । पुस्तक बिक्रेताले टाइसुट लगाएको मान्छेले पुस्तक किन्लाजस्तो लागेर पुस्तक एक हातले उठाएर ठूलो स्वरले चिच्यायो –‘यो चर्चित पुस्तक हो । यसबाट धेरै कुरा जान्न सकिन्छ । यो पुस्तक पढ्दा पाठकको अन्र्तमनमा भुँइचालो जान्छ, मन उद्देलित हुन्छ ।’
उसले त्यो मान्छे नजिक आइपुग्ने वित्तिकै भन्यो –‘मित्र नयाँ पुस्तक किनौं, पुरानो कोट लगायौं ।’
टाइसुट लगाउने मान्छेले उसको नजिक उभिएर हातको पुस्तक हेर्दे भन्यो –‘साच्चै दाई ! यो पुस्तक राम्रो छ र ? यो पुस्तकमा त्यस्तो के कुरा छ । हेर्दा त त्यति राम्रो देखिन्न ?’
‘हेर्दा कभर राम्रो नदेखिए पनि यसको गुदी राम्रो छ । यो पुस्तक पढ्न सुरु गरेपछि नसकुन्जेलसम्म छाड्नै मन हुदैन । त्यसमाथि यस पुस्तकको कथावस्तु हामीले सेचेभन्दा पनि फरक किसिमको र राम्रो छ ।’ उसले बढाइचढाइ गरेर भन्यो ।
‘दाइ तपाईंले पुस्तको बारेमा राम्रै चर्चा गर्नुभयो । पुस्तक तपाइईले पढ्नु भएको छ ? पुस्तकको नाम र लेखक को हो नि !’
पुस्तक बिक्रेताले सहज रुपमा उत्तर दियो –‘भाइ त्यही पुस्तकमा हेर्नोस्न । आफू त परियो कालो अक्षर भैंसी बराबर ।’
(स्रोत : NepaliLaghukatha.com )