देख्यौ त तिमीले ?
खोक्रो शरीररुपी भित्तामा टाँसिएका अनगिन्ती ती आँखाहरु
तिनीहरु मलाई नै एक तमासले हेरिरहेका छन्
घोँचुला झै….
अनि खाउँला झै…..
सुन्यौ त तिमीले?
ती आँखाहरुको हेराइमा म गिरेको छु रे
तर म गिरेको होइन
बरु तिनीहरुकै आँखाहरु तुर्लुङ्ग झोलिएका छन्
तिनीहरुकै आँखाहरु ट्याप्प टालिएका छन्
त्यसैले त तिनीहरु कहिल्यै माथि हेर्न सक्दैनन्
र ती सधैं तल गिरेका हुन्छन्
तर मैले त तिमीलाई आफ्नो आँखा माथि राखेर हेरे
तिम्रो आँखामा आफ्नो आँखा जुधाएर हेरे
त्यसैले म भन्छु म होइन मलाई हेर्ने ती आँखाहरु नै गिरेका छन्
थाहा पायौ त तिमीले?
ती खोक्रा शरीरहरुभित्र
मुटु नामको कुनै अंगै छैन
त्यहाँ त फगत कलपूर्जाहरु चल्छन्
जुन भावना शून्य छन्
जुन चाहनारहित छन्
अनि जब म जिउँदो मुटु लिएर तिनीहरु अगाडि उभिन्छु
सुन्यौ त तिमीले?
तिनीहरुको ठम्याइमा म एउटा जिउदो लाश हुँ रे
तर मैले त तिम्रो मुटुको धड्कनलाई महशूस गरेको थिए
ती खोक्रा शरीरहरुबिच एक्लिएकी तिमीलाई
आफ्नो सामिप्यताको न्यानो प्रदान गरेको थिए
त्यसैले म भन्छु म होइन ती खोक्रा शरीरहरुनै कुहिन नसकेका सिनाहरु हुन्
भेट्यौ त तिमीले?
आफ्नो जीवनको लक्ष्यहरु
लक्ष्यसम्म पुग्ने बाटोहरु
तर सावधान हुनु है
ती खोक्रा शरीरहरु तिमी हिंड्ने बाटोमा
तिमीमाथि खनिने छन्
बज्रिने छन्
ग्रहण बनेर तिम्रो बाटो अन्धकारमय बनाउन खोज्नेछन्
म कतै परबाट
जूनकिरी झै तिमीलाई धिप धिप प्रकाश दिइरहेको हुनेछु
तिमी हिंड्ने बाटोभरि, तिमीले गर्ने यात्राभरि
बुझ्यौ त तिमीले?
तिनीहरुले फेरि पनि मलाई असमाजिक भन्नेछन्
तर म त आँफैलाई सल्काएर अरुलाई उजेलो बाँड्ने मान्छे
आफ्नो लक्ष्य बिर्साएर अरुलाई बाटो देखाउने मान्छे
त्यसैले म भन्छु म होइन असामाजिक त तिनीहरु नै छन्
खोक्रा त तिनीहरु नै छन्
अनि तिनीहरुकै आँखाहरु गिरेका छन्
-राजु सिटौला
March 21, 2012
(स्रोत: Raju Sitaula’s Facebook)