“तिमी चाहि सधै लेखेरै बस। अक्षरमै अनि शब्दमै सीमित रहन सक्ने कस्तो मान्छे हो तिमी?” शर्मिलाको क्रोधले भरिएका तिखा शब्दले कति पनि विचलित हुदैन नारायण। प्रत्युत्तरमा छोटो हासो त्योह पनि निरावाज।
“यो चुरोट पनि कति खान सकेको। छ्या! चुरोट खाउ शब्दमा रमाउ अरु केही मतलव छैन है तिमीलाई।” नारायण अन्तिम सर्को तानेर चुरोट निभाउछ अनि शर्मिला तर्फ फर्कदै भन्छ ” के भयो आज तिमीलाई? किन घर नै उचाल्ने गरि कराएकी? यो उपन्यासको अन्तिम अंश लेख्दैछु क्या। बरु भन न यसको अन्त्य कस्तो किसिमको बनाउ? तिमीलाई त थाहै छ यसको कथांश।”
“जे सुकै बनाउ, मलाई केही भन्नु छैन। म सँग सरोकार नराख्ने कुरामा मेरो के चासो? होइन यो कागज भरेर मात्र खान पुग्छ? घर व्यवहारको केही ख्याल छैन तिमीलाई? यस्तै व्यर्थको काम गर । भोकभोकै बस। होइन के पाउछौ तिमी यसरी लेखेरै मात्र? तिम्रो जीवनको सार यही साहित्य मात्र हो?” शर्मिला कारुणिक भावमा भन्छे।
“मलाई सन्तुष्टिख मिल्छ शब्दबाट। मेरो अन्तर्मनदेखिको आग्रहलाई म कसरी नकार्न सक्छु? बाहिरी रुपबाट देखिने प्राप्ति नै सबथोक होइन। मैले यसैमा जीवनको पूर्णता पाउछु अनि कलमले मलाई उर्जा दिन्छ। यहा भन्दा बढी के नै उपलब्धी हुन्छ मेरो निम्ती?” नारायण हर्षमिश्रित भावमा देखिन्छ।
“तिमी त अघाउछौ होला त्यसै। अनि बौलाहारुपी लेखन तिम्रो प्राप्ती होला तर म दुई छाक दुःखले खाएर मात्र जीवन बिताउन सक्दिन। मेरो पनि सपनारुपी आकांक्षाहरु छन् मन भरि। जीवनलाई अर्कै रङ्गमा पोतिएको सपना म पनि देख्छु अरुले झै। तिमीलाई भन्नु र कुनै ढुङ्गासामु बर्बराउनु समान हो। मलाई पटक्कै मन पर्दैन तिम्रो यस्तो लेख्ने बानी।”नारायण केही बोल्दैन। चुरोट सल्काउछ र मेचमा बस्छ धुवा उडाउदै।
प्रेम गरेर भगाएको हो शर्मिलालाई उसले। जबर्जस्ती होइन। शर्मिलाकै एकोहोरो निरन्तरको आग्रह नकार्न नसकि भगाएको हो। आफ्नो कुनै पनि बानीबारे लुकाएको थिएन। शर्मिला अनभिज्ञ थिइन नारायणसँग। उसको कविता अनि प्रत्येक रचना पढ्न पाउदा शर्मिला फुरुङ्ग हुने गर्दथी। अहिले उसलाई यिनै कुराहरु झिझर लाग्छ। नारायणको सम्पूर्ण कुरा उसलाई प्रिय लाग्थ्यो। नारायणलाई प्रेम गर्दथी उ। आजकल अभाव, भौतिकवादी सोच र विलासिताको दिवास्वप्नमा उसको प्रेम निस्सासिएको छ। अझ भनौ विलिन हुनै लागेको छ। आजकल त नारायणको प्रत्येकक व्यवहार उसको लागि क्रोधको कारण बन्दछ। नारायण अगाध प्रेम गर्छ शर्मिलालाई। उसका रचनामा शर्मिलाको अस्तित्वको खोजी हुन्छ। कल्पनामा अनि प्रत्येक नया कथामा शर्मिलाको प्रवेश हुन्छ। कतै प्रत्यक्ष त कतै नदेखिने रुपमा। शर्मिला उसकी शक्ति हो। त्यसैले त उसका रचना सुन्दर हुने गर्दछ। शर्मिला यी कुराहरु बुझ्दिन या बुझ्न चाहदिन उसैलाई थाहा होला। एकअर्कालाई माया गर्छु भन्दै दाबी गर्छन् दुवै। खै कस्तो प्रेम हो यिनीहरुको? नारायणलाई सम्झिन उनलाई फुर्सद हुदैन अनि नारायण लेखनक्रममा प्रत्येक शब्दमा शर्मिलालाई कल्पिएर कलम चलाउछ।
“तिमी अझै यही कुर्सीमै हराइरहेको छौ? मलाई आज साथीसँग बजार जानुछ किनमेल गर्नलाई। खै अलिकति पैसा लेउ। यसो गहना पनि छैन अलि राम्रो। अरुहरु कति झकिझकाउ भएर निस्कन्छन्। आफु भने…………।” शर्मिला के के गुनासो गर्दै यताउता घुमिरहन्छे।
“पैसा……………।पैसा त छैन त आज। अस्ति मात्रै त रासन ल्याएको। अहिले नै के खाचो भएको छ र घरमा? धेरै खर्च गर्नु पनि हुदैन। पैसा पनि त छैन अहिले, तिमीलाई थाहै छ। अनि गरगहनाले शोभा होइन खतरा बढाउँछ। तिमी त्यसै राम्री छौ नि।”
शर्मिला केही नबोली रिसले त्यहाँबाट हिड्छे। नारायण पुनः कलम चलाउन शुरु गर्छ। रचनामा उ शर्मिलालाई स्वाभिमानी नारीको रुपमा उभ्याउछ। एकदम निश्छल मन भएकी सुन्दर नारी पात्र। उ त्यसै त्यसै आनन्दित भई पानाहरु भर्दै जान्छ। शर्मिलासँग प्रेमपूर्ण समय बिताउँछ शब्द भरी।
आजभोलि शर्मिलाको किचकिच सुन्नु परेको छैन। खै किन हो शर्मिला कुनै फर्माइस गर्दिन अनि केही कुराप्रति विरोध जनाउदिन। नारायण निर्धक्क भई कुनै अवरोधबिना उपन्यास लेखनमा व्यस्त भएको छ। खान बोलाए नत्र सम्झिए खान्छ। कहिलेकाही खान बिर्सिन्छ तर पनि उ सुखी छ। लोभ लालच नभएको, सीमित आवश्यकतामा अल्झिएको नारायणको जीवन।
शर्मिला नया नया किसिमका महँगा कपडा लगायँछे। दिनभरी कता कता घुम्न जान्छे। कहिलेकाही नारायण प्रश्न गर्छ। जवाफमा शर्मिला भन्छे “तिमीलाई पो केही चाहिदैन। बाहिरी संसारसँग अपरिचित छौ तिमी र सधै यस्तै रहन्छौ। तर म यसरी गुम्सिएर बस्न सक्दिन। मेरो साथीहरु छन्। तिम्रो जस्तो कलम कापी होइनन्, मान्छेहरु छन् मेरा साथी। विविध कुराहरु अनि उद्देश्य बोकेका मान्छेहरु। उनीहरुसँग दिन बिताउछु। यो कपडा……………आमाले पठाउनुभएको। यो साथीको श्रीमानले बाहिरबाट ल्यायइदिनुभएको मलाई उपहार। अनि यो गहना फूपूले दिनुभएको। के यो सब कुरा तिमीलाई सुनाउनु सार्थक थियो? शायद अनावश्यक थियो। त्यै पनि भन्नुमा र तिमीले सुन्नुमा केही हानी पनि हुदैन। नारायण निर्जवाफ हुन्छ स्वास्नीको वचनले। उसले सुनाएकी हो कि रिस पोखेकी? या नारायणको अवस्थाप्रति व्यङ्गय गरेकी? नारायण बुझ्दैन। केहीबेर सोचमग्न हुन्छ अनि फेरी चुरोट सल्काउछ र कलम झिक्छ।
आजकल शर्मिला राति अबेर घर छिर्छे। नारायण केही सोध्ने साहस गर्दैन। सोधेमा आफ्नै उपेक्षा गर्छे भन्ने उ जान्दछ। शर्मिलाको मुखबाट अनेक विसङ्गतिका गन्ध निस्कन्छ। नारायण आफ्नो रिस र उत्तेजनाको सीमा नाघ्दै गर्जन्छ…………”के हो अब त रक्सी पनि पिउन थाल्यौ?”
“पार्टिमा गएकी थिए। साथीको श्रीमानको प्रमोशन भएको खुशीयालीमा बोलाइएको पार्टि। तिम्रो जस्तो लाचार जीवनशैली छैन उनीहरुको। खुशीयालीमा अलिकति बियर खाए। तिम्रो के बिगार्दिएकी छु र?”
जवाफ खोज्नु आफ्नै गल्ती सम्झी नारायण चुप लाग्छ। यहा भन्दा बढी जवाफको अपेक्षा राख्नु आफ्नै हिनताबोध बढाउनु मात्रै हो। त्यसैले उ सहन्छ स्वास्नीको तिखो वचन।
शर्मिला जतासुकै जाओस, नारायण केही भन्दैन। मनमा त धेरै कुरा गुम्सिएर बसेका छन् तर बोली पाएका छैनन् ती शब्दहरुले। आफ्नै कलम, कापी अनि शब्दमा हराउँछ नारायण। दुई दिन भयो शर्मिला घर नआएकी। नारायणको उपन्यासले अन्तिम गति लिदैछ। उसलाई शर्मिलाको ख्यालै छैन। उपन्यासको अन्त्य भएको छ तर शर्मिलाको गृहागमन भएको छैन। नारायणको रचनाको अध्याय सकिएको छ सँगै आफ्नै जीवनको एउटा महत्वपूर्ण अध्याय गुमेको उसलाई थाहै छैन।
(स्रोत : फेस्कुकको “कथा चौतारी” ग्रुप )