नेपालको कर्मचारीतन्त्रमा सबैभन्दा प्रिय शब्द हो ‘माथि’ । यो ‘माथि’ शब्द नेपालको कर्मचारीतन्त्रमा यति लचिलो र व्यापक छ कि जुनसुकै कामकोलागीपनि यस शब्दको प्रयोग बढो प्रिय ढँगकासाथ भएको हुन्छ । कुनै आदेश तामेल गराउनु परेमा होस् या तखतामा राख्नु परेमा यस शब्दको प्रयोग गरिन्छ । सबैले ‘माथि’को शाब्दिक अर्थ बुझेपनि खास्सै ‘माथि’ भनेको को हो र कहिले, कसरी र किन तलकोलाई आदेश जारी गर्छ भन्ने चाहि कसैले बुझेको छैन र यो बुझने सँस्कारको वृद्धि भएको पनि छैन ।
भँसारमा सामान छुटाउनु परेमा होस् या रोक लगाउनु परेमा ‘माथि’को आदेशमा काम फत्ते हुन्छ । अड्डा अदालतमा वर्षोंदेखि अल्झिरहेको काम ‘माथि’को एक शब्दले चामत्कारिक रुपमा सुल्झिन सक्छ । कुनै अपराधमा खोरभित्र रहेको व्यक्ति ‘माथि’को एक आदेशमा रिहा हुनसक्छ । ‘माथि’को आदेशमा कसैको जागीर गइरहेको हुन्छ या ‘माथि’को आदेशमा अयोग्य व्यक्तिको नियुक्ति भईरहेको हुन्छ । ‘माथि’को आदेशमा कमाउने र गुमाउने ठाउँमा सजिलै सरुवा भई रहेको हुन्छ । भनौ ‘माथि’ नामक यो शब्द अति शक्तिशाली छ ।
‘माथि’ नामक शब्द कर्मचारीतन्त्रमा कहिले र कसरी प्रिय बन्न पुग्यो भनेर ठ्याक्कै भन्न नसकेपनि यो शब्द पक्कैपनि राणाकालदेखि बढि प्रचलनमा आएको अनुमान गर्न सकिन्छ । तर पँचायतकालमा यस शब्दको झन चरम प्रयोग गरिएको अनुभव गरिएको छ ।’माथि’को आदेश कुर्ने बानी परेका हाम्रा कर्मचारी प्रहरी या सेना आफ्नो विवेक र बुद्धिले काम गर्न छोडिसकेका छन् । ‘माथि’को आदेश पाएर तामेली गरेको काममा माथिबाट यश पाउने र त्यसको साथसाथै पुरस्कार, सरुवा, बढृवा आदि पाउने सम्भावना रहेकोले ‘विना आदेश काम किन गर्ने’ भन्ने मनशाय रहेको छ । फेरि ‘माथि’को आदेशमा काम तामेली गर्नपाए माथिप्रतिको चाकडीपनि राम्रै हुने भएकोले आफुलाई आफ्नो काम, कर्त्तव्य र जिम्मेवारीको राम्रै ज्ञान या बोध भएपनि यसलाई आदेशको प्रतिक्षामा थाति राखेका हुन्छन् । यसरी ‘माथि’को आदेश नआएसम्म यी निरिह र पँगु बनेका हुन्छन् र आदेश पाउनासाथ ब्याटरी राखेपछि चलेका पुतली झै एकाएक यिनिहरुमा तदारुकता र जाँगर आउँछ र आउँछन् एक्सनमा । अन्यथा ‘राजाको काम कहिले जाला घाम ।’
उदाहरणकोलागी केहि महिना पहिले काठमाण्डौमा भएका प्रहरीको सुरक्षाप्रतिको तदारुकता हाम्रो सामुन्ने छ । जुन गतिविधि रोक्नकोलागी वामदेव गौतमको आदेश आयो त्यहि रोक्न समाजका विभिन्न व्यक्तिहरुबाट समय- समयमा अनुनय- विनय नगरिएको होईन तर त्यसलाई न त स्थानिय प्रशासनले कुनै ध्यान दिएको थियो न त कुनै मँत्री या सरकारले । तर कारण जुनसुकै भएपनि वामदेव गौतमको त्यो आदेश सम्पुर्ण प्रहरीकोलागी ‘माथि’को आदेश भयो र सम्पुर्ण शक्ति परिचालित भयो । एकाएक काठमाण्डौवासीहरुले सुरक्षित अनुभव गरे । यस्तो सदाकालागी भए हुन्थ्यो भन्ने कामना काठमाण्डौँ वासीहरूले गरेका छन् र सपना देखेका छन् ।
अचम्मको कुरा के भने प्रहरी सँयन्त्र त्यहि हो । प्रहरीका हाकिम तिनै हुन् । हाकिमको काम तामेली गर्न खटिएका प्रहरी जवान तिनै हुन् । त्यस्तै कारवाहीमा पर्ने आपराधिक तत्व तिनै हुन्, तिनका ठेगाना र व्यवशाय तिनै हुन अनि तिनिहरुको व्यावशायिक प्रकृतिपनि तिनै हुन् । तर जनता र समाजप्रतिको आफ्नो काम, कर्त्तव्य, अधिकार र दायित्वको बोध हुँदाहुँदैपनि जनताको आवाज र अनुरोधलाई कानमा तेल हालेर बसेका थिए । कानमा तेल होईन ‘माथि’को आदेशको तामेली गर्न व्यग्रताकासाथ प्रतिक्षा गरिरहेका थिए । साथसाथै कालो धन्दामा लागेका व्यापारीहरुबाट अबैध आम्दानीपनि भई नै रहेको हुँदो हो र त ‘कसले विना आदेशमा किन टाउको दुखाउने’ भनेर सबै हात बाँधेर बसिरहेका थिए ।
वामदेवको आगमनले ‘माथि’को आदेश पाएर यसरी जागरुक भएका यी प्रहरीहरुमा यो जागरुकता कहिले सम्म रहने हो प्रश्न स्वभावतः उब्जिएको छ । तर सबैलाई वामदेव सदाकालागी आएका होईनन्, एक न एकदिन मानिसको परमधाम हुन्छ भन्ने ध्रुवसत्य झै वामदेवपनि एक न एक दिन उनको पदबाट खुस्किनेछन् भन्ने पनि थाहा छ । त्यसैले के कुरामा हामी पक्का हुनुपर्छ भने यो प्रहरीको तदारुकतापनि वामदेव गौतमसँगै जाने छ । यो वामदेव गौतमको गृहमन्त्रीत्वको आयूसँग तादात्म्यता राखेको हुनाले यो सुरक्षाको अनुभूति अस्थायी हो भन्ने हामीले बुझ्न जरुरी छ । प्रहरीको यो तदारुकता मूतको न्यानो झै हो ।
तर यसको विपरित सुरक्षा र शान्तिकोलागी कुनै व्यक्ति विशेषको आगमन या प्रत्यागमनबाट कुनै प्रभाव पर्न नपर्ने हो । त्यसकारण हामीलाई के लाग्छ भने यो सुरक्षा वामदेव आएपनि कामदेव गएपनि या जुन मन्त्री आएपनि-गएपनि कर्मचारी प्रहरीबाट पाउने सुरक्षा र सेवामा कहिल्यै कुनै कमी नआए हुन्थ्यो । तर ‘माथि’को आदेश तामेली गर्न प्रतिक्षामा बसेकाहरुबाट हामीले जे भोगी रहेका छौ त्यहि नै यथेष्ट छ भन्नु अत्यूक्त नहोला ।
भर्जिनिया
2009-08-29
(स्रोत : Khasskhass.com )
Pingback: व्यङ्ग्य : ‘माथी’ | harishjoshi1's Blog