एउटा कुरोले मन चुलबुलियो अनि खुल्दुलियो । धेरै दिन भइसक्यो, यसलाई नपोखी नफ्याकी मेरो अशान्त मन कहिले शान्त भएन । मेरो दिमागी चटाइको कुरो के थियो भने ‘महिला’ शब्द । ‘महिला’ यो शब्दको जन्म कहिले कहाँ भयो अनि न्वारन कसले गर्यो – यसको सबै जानकारीकासाथ तिथिमिति पनि थाहा पाउने धेरै कोशिस गरेँ तर सब व्यर्थ भए ।
बितेका युगमा वा समयमा भनौँ महिलालाई सम्बोधन गर्दा विराङ्गाना नारी फलानो, विदुषी नारी भनेर प्रशंसा गरिन्थ्यो । ऐतिहासिक धर्मशास्त्रमा महिलाहरूलाई नारी शब्द प्रयोग गरेर फोहरी हुनबाट बचाइएको थियो । तर पछि नारी आफैँ अत्यन्त फोहरी भएर हो कि महिला भन्न थालिएको भन्ने अनुमान म गर्छु | भन्दासुन्दा त महिलाको अर्थ फोहोरमैला भन्ने त सुनिन्छ नि ! शहरको फोहोरमैला बढेजस्तो समाज जति सभ्य र सुसंस्कृत हुँदै गयो, महिलाहरू झन् फोहरी हुँदै गए होलान् । नत्र भने वैदिकयुगका वाङ्मयमा छ्यापछ्याप्ती भएका नारी शब्द अहिले आएर कसरी हराउँथे होलान् त ? अहिले नेपालीशब्द ढुकुटीमा महिला शब्द छ्यापछ्याप्ती छन् । त्यति त सहरको फोहोर पनि छैन होला । तर आखिर सहरमा फोहोरमैला गल्ली र सडकमा थुपार्ने पनि त महिला नै त हो नि । नानीको आची देखि लिएर श्रीमान्को छुच्ची पनि त महिला आफैले हुनुपर्यो नि हैन ?
परिवारमा सबैको स्वास्थ्य, शिक्षा, मानसिकताको सफाइको ख्याल राख्ने महिलाले गाउँको, देशको कुनै पनि विकासमा ध्यान दिन नसक्नु मुख्य कारण नै फोहोरमैला नै हो । किनभने परिवारको सम्पूर्ण सदस्यको स्वास्थ्यमा सफासुग्धर, शिक्षामा धुलोमैला फ्याँकेर चम्किलोपना, खानामा बासी सडेगलेको फ्याँकेर ताजापनाको ख्याल राख्दाराख्दै उसले आफ्नो बौद्धिकताको सफाइ गर्न भ्याएको नै हुँदिन । उसका आँखा, नाक, कान तिनै फोहोर मैलाले ढाकेर उसले केही नसुनेकी केही नदेखेकी हुनुपर्छ । उसो भए उसलाई महिला नभनेर के भन्ने त ? आखिर सबै सफा, वरिष्ठ र उत्तम हुने हो भने कमअसल कनिष्ठ अनि फोहोरमैलामा लुटपुटिने को हुने त ? अनि सबै हाकिम र वरिष्ठ भए सहायक र कनिष्ठ को हुने त ?
देशको राजधानी, महानगर, ऐतिहासिक गरिमाले चम्किएको हराभरा काठमाडौँ पनि त देशलाई सफा राख्दाराख्दा आफैँ फोहोरमैलामा लुटपुटिएको छ नि । अनि महिलाको त के कुरा गर्नु – काठमाडौँको फोहोर मैलाको लागि त धेरै सचेतक सचेत छन् अनि फ्याँक्छन् डम्पिङ साइटमा । तर महिलाको मानसिकतामा गाडिएको फोहोरमैलाको डम्पिङसाइड कसले खोज्छ त महिला आफैले नखोजेर ?
पुरुषहरू आफू नै सचेत भएर फोहोरमैलाबाट बन्चित भएका हुन्छन् । कसरी भन्नुहुन्छ भने उनीहरू समाजमा आफू मात्रै हैन पुरुष जात कै अधिकारमा जोड दिन्छन् अनि नचाहिने कुरामा समय नफ्याँकेर चाहिने क्लिष्ट र परिपक्वतामा बढी ध्यान दिन्छन् । हामी महिलाहरू समाजमा चलेका धेरै रुढीवादी विचारधाराबाट ग्रस्त छौँ । अनि आफूले आफ्नै महिला जातिलाई पर्छार्न कुनै कसर बाँकी राख्दैनौँ । जस्तै भन्नु हुन्छ भने हामी महिला जति नै पढेलेखेका भए पनि छोरा पाउँदा घिरौँला पनि होइन लौकाको जत्रो नाक पारेर छाती फुकाएर हिँड्छौँ अनि छोरी पाउँदा एक बित्ता पनि हैन तीन बित्ता ओठ लेपार्र्छौ । हामी महिलाको शक्ति पनि अपरम्पार छ । हामी शक्तिमा शक्तिस्वरुपनी माता दुर्गालाई पछारिदिन्छौँ। घर परिवारमा हाम्रो शक्ति जस्को हातमा छ, सासूको हातमा छ भने बुहारीलाई र बुहारीको हातमा छ भने सासूलाई देखाइदिन्छौँ अनि रोटेपिङमा घुमाए झैँ फनफनी घुमाउँछौँ । हाम्रो शक्तिको चमत्कार घरमा मात्रै हैन अफिसमा पनि मजाले देखाइदिन्छौँ । आम्दानी तान्न बौद्धिकता तान्न नसके पनि हामी हाम्रो साथीको खुट्टा तान्न असाध्यै सिपालु छौँ । रूपरङ्गदेखि लिएर फैसन र घरसजावटसम्ममा साथीलाई मात दिन हामी कुनै कसर बाँकी राख्दैनौ । आफ्नो अहमंलाई जिताउन गणितका जुनसुकै सूत्र अपनाउन तयार हुन्छौँ । हामीलाई कुनै सजाय दिनु परेमा आफ्नै जातिको प्रशंसा गरिदिए काफी हुन्छ । यसैले यिनै फोहोरमैला कुराले गर्दा होला नरबाट नारी भयो तर पुरुष बाट पुरुषी वा महिलाको महिलो नभएको होला जस्तो मलाई लाग्छ । महिला स्वयंले यस्तो फोहोरमैला बोकेर होला उसलाई महिला भन्दा कुनै असर पर्दैन । किनभने एकपल्ट म विराटनगरमा भएको बृहत साहित्यिक कार्यक्रममा गएकी थिएँ । त्यहाँ धेरै-धेरै वरिष्ठ, प्राज्ञ र विद्वानहरूको जमघट थियो । त्यहाँ वरिष्ठ साहित्यकार सम्माननीय देवकुमारी थापाज्यू मञ्चमा आसिन हुनुहुन्थ्यो । त्यस गरिमामय कार्यक्रममा एकजना साहित्यकारज्यूले देवकुमारी थापाज्यूलाई महिला साहित्यकार भनेर सम्बोधन गर्नु हुँदा मलाई खीर खाँदा खाँदै दाँतमा ढुङ्गा लागेझैँ भयो । हुन त यस्ता कयौँ कार्यक्रममा प्रायः महिला भनेर नै सम्बोधन गरिन्छ । हामीले आफूले आफूलाई महिला नै हौं भनेर शायद स्वीकारी सकेका छौँ । नत्रभने एउटा विशाल साहित्यिक पोखरीमा रमाउने म माछो पनि हैन सानो भ्यागुतालाई त यो कुरा दाँतमा लाग्छ भने हाम्रा वरिष्ठ नारी साहित्यकारहरू फोहोरबाट बच्ने कुरा किन गर्नुहुन्न ?
पुरुषलाई विवाह भएको नभएको भन्ने चिनारी समाजले केही दिएको छैन तर नारीलाई सुश्री र श्रीमती भनेर किन छुट्टयाइन्छ ? अनि विवाहिताले पहिरनदेखि घर परिवार नै किन फेर्नुपर्ने हुन्छ? श्रीमती भइसकेपछि लोग्नेसँग छोडपत्र भयो भने सुश्री भन्ने कि श्रीमती? सुश्री भन्ने हो भने विवाह भइसकेको छ । श्रीमती भनौ भने कसको श्रीमती त ? विवाह नभई तपाईँ अस्सी वर्षसम्म बस्नु भयो भने तपाईँलाई सुश्री भनीराख्न मन लाग्छ । सामान्यत सुश्रीको अर्थ युवती बुझिन्छ । तपाईलाई युवती बूढी भन्दा दाँतमा ढुङ्गा लाग्दैन त ? त्यसैले सबैलाई श्री भन्दा के हुन्छ ?
कुनै पुरुषले केही नाम कमायो भने उसलाई ‘गरेका थिए’ भनेर आकारान्त शब्द प्रयोग गरिन्छ तर एउटी नारीले ठूलो काम गर्यो भने सानी फुच्ची केटीलाई भनेजस्तै ‘गरी, भनी’ भनेर इकारान्त शब्द प्रयोग गरिन्छ किन? उसलाई पनि आकारान्त शब्द प्रयोग गर्दा के हुन्छ ?
वास्तवमा महिला भनेको समाजमा चलेका यस्ता फोहोर मैला कुराहरू र महिला आफैँले फोहोर बोक्ने प्रवृति हुन् । मेरो विचारमा कुनै बेलामा यो प्रवृत्ति नदेखेर कुनै पुरुष वा समाजले नारीलाई महिला भन्न थालेको हुनुपर्दछ ।
जे होस् महिला शब्दको अर्थ र यसको उत्पत्ति बारेमा यथाशक्ति मैले वर्णन गरिहालेँ । यी माथिका फोहोरमैला कुराले धेरै समय अघि देखि मेरो गिदी चाटिरहेको थियो । आज केही मात्रामा भए पनि मेरो गिदीको चटाई तपाईको गिदीमा पोखिदिएर मैले केही राहत पाएको महसुस गरिरहेछु । यदि तपाईँलाई पनि मेरो यो फोहोरमैला कुराले गिदी चाट्यो भने को माथि पोख्नु हुन्छ ? यदि पोख्ने भाँडो भेट्नु भएन भने आउनुहोस् एउटा ठूलो भाँडोमा सबैजना भएर पोखौँ अनि भक्कु उमालेर फिल्टर गरेर फोहोर मैला डम्पिङ साइटमा पुर्याऔँ अनि स्वच्छ र सफा नारीसम्बन्धी परिष्कृत धाराणालाई बौद्धिक खुराक बनाई पिऔं ।
यदि कसैले यो लेख पढेर महिला भनेको त पृथ्वीजस्तै सन्तानलाई पालना गर्ने भनेर महिलालाई भनिएको हो भन्नुहुन्छ भने म के भन्छु भने यो अर्थ पक्कै पनि यो लेख पढेपछि सिर्जना गर्नुभएको अर्थ हो भन्ने म मान्दछु ।
(इटहरी, सङ्गीत चोक)
2010-02-10
(स्रोत : Khasskhass.com )